माघदेखि नाटकघर खुल्ने

नाट्यकर्मी अशेष मल्ल भन्छन्, 'नाटकघर खोल्न केको हतार'

काठमाडौँ — बन्द भएको करिब १० महिनापछि नाटकघर खुल्ने भएको छ । नाट्यकर्मी आफैँले आगामी माघ १ गतेबाट नाटकघर खोल्ने निर्णय गरेको हो । नाटकघर खुलेको सन्देश दर्शकमा पठाउन नाट्यकर्मीको समूहले यो निर्णय गरेको मण्डला नाटकघरकी अध्यक्ष सिर्जना सुब्बा बताउँछिन् ।

माघदेखि नाटकघर खुल्ने

'मण्डला पनि माघबाट खोल्ने तयारी हो । योचाहिँ हामीले नाटकघर खोल्यौं है भन्ने सन्देश पठाउन मात्र हो । खोलेकै दिन सबै नाटकघरमा नाटक मञ्चन हुन्छ भन्ने होइन,' सिर्जना सुनाउँछिन्,'हाम्रो थियटर हब भन्ने नाट्यकर्मीको समूह छ । समूहका साथीहरुले नै माघबाट थियटर खोल्ने निर्णय गरेको हाै‌ं ।'

नाटकघर खोलेपछि अन्तरक्रियात्मक कार्यक्रम गर्दै अगाडि बढ्ने मण्डलाको योजना छ । 'सुरुमै नाटक देखाउँदैनौं । नाटकलाई लामो तयारी चाहिन्छ । त्यो हामीले गरेको छैन अहिलेसम्म,' सिर्जनाले भनिन् ।

शिल्पीले भने नाटकघर खोलेको दिनदेखि नै नयाँ नाटक मञ्चन गर्दैछ । घिमिरे युवराजको निर्देशनमै तयार भएको नाटक १० दिनसम्म मञ्चन हुनेछ । नाटककार घिमिरे भन्छन्,'माघबाट नै अधिकांश नाटकघर खुल्नेछ । सबै नाटकघरले आ-आफ्नो क्रियाकलाप देखाउनेछन् । हामीकहाँ चाहिँ नाटक तयार भएको हुनाले देखाउन लागेको हो । अरु थियटरले पनि आफ्नो पायक पर्ने समयमा नाटक देखाउनुहुन्छ ।'

नाट्यकर्मीहरुले धेरै समयदेखि नाटकघर खोल्ने योजना बनाएका थिए । यसबीच हल खुले । सबै क्षेत्र खुल्दै गएपछि आफूहरु नाटक खोल्ने निर्णयमा पुगेको घिमिरे बताउँछन् । 'सार्वजनिक यातायातमा भीड छ। पार्टी प्यालेस र रेष्टुरेन्ट चलिरहेका छन् । कति क्षेत्र त अनुशासन नअपनाएरै खुलिरहेको छ । हामीलाई थोरै दर्शकको उपस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नाटक खोलौं न भन्ने भयो,' उनले भने ।

लामो समयपछि नाटकघर खोल्दा कस्तो अनुभव हुन्छ ?

उनले प्रश्नको जवाफमा भने,'डर हुँदो रहेछ । कति दर्शक आउलान् । प्रतिक्रिया कस्तो आउला, दर्शकले कसरी यसलाई लिन्छ होला भन्ने चिन्ता छ ।' सुरक्षाका मापदण्ड अपनाएर नाटक खोल्ने तयारीमा रहेको उनी बताउँछन् । 'एउटा कुर्सी छोडेर अर्कोमा दर्शक राख्ने व्यवस्था मिलाएका छौं । शिल्पीमा २ सय दर्शक क्षमता छ । अब सयजना दर्शक राखेर नाटक मञ्चन गर्छौं ।'

नाटक 'छ पात्रको एकालाप' डेढ महिनाको रिहर्सलपछि तयार भएको हो । यो नाटक मञ्चनको १० दिनपछि मञ्चन गर्ने/नगर्ने दर्शकको प्रतिक्रियामै भर पर्ने घिमिरेले बताए ।

माघदेखि नै बानेश्वरको थापागाउँमा रहेको कुञ्ज नाटकघर पनि खुल्दै छ । कुञ्जका संस्थापक अध्यक्ष कमल ढकालका अनुसार १ गतेबाट नाटक खोल्ने तयारी भए पनि नयाँ नाटक मञ्चन गराउने/नगराउने छलफल भइसकेको छैन । 'युवा साथीहरुले 'टीका' नामक नाटकको तयारी गर्दै हुनुहुन्छ । नाटकघर खोलेपछि यो नाटक सोच्दै छु । माघबाट नै मञ्चन गर्ने/नगर्ने तय भइसकेको छैन,' ढकालले सुनाए ।

लामो समयपछि नाटकघर खोल्दा खासै उत्साह छैन उनलाई । '१० महिना बन्द हुँदा नाटकघरतिर हेर्नै मन नलाग्ने । त्यो कोठामै छिर्न मन लाग्ने भयो । भित्र पनि अँध्यारो बाहिर पनि अँध्यारो,'ढकालले सुनाए,'अब अहिले खोल्दा पनि खासै उत्साह छैन । अब नाटकघर चल्न पनि त समय लाग्छ ।'

नाट्यकर्मी आकांक्षा कार्की पनि 'कौसी' नाटकघर खोल्ने तयारीमा छिन् । 'नाटक गरेर खोल्न त भ्याउँदैनाैं । तर माघ २ गते प्लेब्याक थियटर(चौतारी नाटक) गर्ने तयारी छ । लकडाउनमा हामीले भर्चुअल रुपमा प्लेब्याक थियटर गरेका थियौं । राम्रो प्रतिक्रिया आएको थियो,' उनले भनिन्,'प्लेब्याक हुन्छ भनेर इन्स्टाग्राममा जानकारी गराएकी थिएँ । धेरैले आउने कुरा गर्नु भएको छ । अब पहिलो दिन ३० जना दर्शक राखेर प्लेब्याक गर्छौं ।' थपिन्,'२ गतेको कस्तो प्रतिक्रिया आउँछ हेरौं । त्यही अनुसार अरु नाटकको तयारी गर्छौं ।

काठमाडौंको कालिस्थानमा अवस्थित सर्वनाम नाटकघर भने अझै खोल्ने तयारीमा छैनन् । 'यस्तो अवस्थामा हतार गरेर नाटकघर खोल्नु हुँदैन । समाजप्रतिको जिम्मेवारी केही त होला नि हामीसँग पनि । सरकारले छ महिनामा खोप ल्याउने कुरा गरेको छ । अब किन हतार गर्ने,' सर्वनामका संस्थापक अशेष मल्ल भन्छन्,'नाटकघर भनेको पसल थापेको होइन नि । पसल चल्दै चलेन भन्ने तरिकाले अगाडि बढ्नु भएन । युरोपमा देखिएको नयाँ कोरोना देखियो भने के गर्ने?'

अवस्था सामान्य नभएसम्म सर्वनाम नखुल्ने उनी बताउँछन् ।

प्रकाशित : पुस २६, २०७७ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?