कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हलमा दर्शक शून्य, नयाँ फिल्मले दर्शक आउने सञ्‍चालकको आस

रीना मोक्तान

काठमाडौँ — कोरोना महामारीका कारण ९ महिनादेखि बन्द सिनेमा हल पुस १० गतेबाट खुले । सबै क्षेत्र खुकुलिँदै जाँदा हललाई सरकारले बेवास्ता गरेको भन्दै नेपाल चलचित्र संघले १० गतेदेखि हल खोल्ने स्वघोषणा गरेको थियो । त्यही मितिदेखि अधिकांश हल खुले पनि ।

हलमा दर्शक शून्य, नयाँ फिल्मले दर्शक आउने सञ्‍चालकको आस

सार्वजनिक यातायात र क्लब रेस्टुरेन्टको भीड हेर्दा हलमा दर्शक आउलान् भन्ने सोचेका थिए हल सञ्चालकले । सुरक्षाका मापदण्ड अपनाएर सञ्चालकले हल त खोले । तर हलमा दर्शक भने आएनन् । महामारीअघि प्रदर्शनमा आएका 'आमा' र 'सेन्टिभाइरस'ले हलमा दर्शक तान्न सकेन । नयाँ फिल्मको अभावमै हलमा दर्शकको उपस्थिति नभएको क्यूज सिनेमाका सञ्चानलक सुमित मैनाली बताउँछन् ।

'दर्शक छैन । हामीसँग देखाउन नयाँ फिल्म नै छैन । हल खोलेर बसेका छौं । नेपाली फिल्मवाला घरमा फिल्म राख्छन् अनि हल चलाउनुपर्छ भन्छन् । अहिले हल खोलेको र नखोलेको बराबर नै छ । दर्शक उपस्थिति शून्य छ अहिले । हल खोलेर त्यहीमाथि कर्मचारीको खर्च थपियो,' मैनालीले सुनाए ।

क्यूज सिनेमा खोलेदेखि अहिलेसम्म १७ जना दर्शक आए फिल्म हेर्न । उनका अनुसार हल खोलेको तीन दिनसम्म त २ जना दर्शकका लागि पनि सो चलाइदिए । हल खोलेको पहिलो शनिबार ६/७ जना दर्शक उपस्थित थिए । नयाँ फिल्म नभएसम्म दर्शकको उपस्थिति यस्तै रहने बताउँछन् मैनाली । अब उनी माघ १ लाई प्रदर्शन मिति तोकेको नेपाली फिल्म 'एउटा यस्तो प्रेम कहानी'बाट दर्शक संख्या बढ्नेमा आशावादी छन् । भन्छन्,'शिव श्रेष्ठले आँट गर्नु भएको छ । फिल्म भयो भने अलिअलि दर्शक आउलान् भन्ने आश छ ।'

मैनाली मात्र होइन 'एउटा यस्तो प्रेम कहानी'ले प्रदर्शन मिति तोकेसँगै हल सञ्चालक आशावादी बनेका छन् । मल्टिप्लेक्स च्यानलअन्तर्गतको क्यूएफएक्सका कार्यकारी अधिकृत रोशन अडिगा भन्छन्,'हलमा दर्शक उपस्थिति एकदमै कम छ । एउटा सोमा बढीमा ५/६ जना मात्रै छन् छ । नयाँ फिल्म नभएर दर्शक नआउनु भएको हो। नयाँ फिल्म रिलिज भएपछि दर्शक आइहाल्नुहुन्छ नि।'

क्यूएफएक्सले पनि अहिले २ जना दर्शकका लागि फिल्म देखाउँदै आएको उनी सुनाउँछन् । यो शुक्रबार हलिउड फिल्म 'मोन्स्टर हन्टर'पनि प्रदर्शनमा आउँदैछ । यो फिल्मले हलमा दर्शकको उपस्थिति बढाउनेमा उनी ढुक्क छन् । दर्शकको अनुपस्थिति भए पनि आफूहरु हल बन्द गर्ने अवस्थामा नरहेको बताउँछन् उनी । 'बन्द गर्ने सोच त छैन । हल खोलेपछि स्वत: हलको खर्च बढेको छ,' उनले भने ।

नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान आफूहरुले दर्शकमा हल खुल्यो भन्ने सन्देशका लागि हल खोलेको बताउँछन् । हलमा नयाँ दर्शक नभएकै कारण हल दर्शकविहीन बनेको उनको भनाइ छ । 'अब फिल्म हल खोल्नेबित्तिकै हाउसफूल दर्शक आउनुहुन्न । हामीसँग दर्शकलाई लोभ्याउने कन्टेन्ट पनि त छैन । आमा, सेन्टिभाइरस फिल्म त अधिकांश दर्शकले पहिल्यै हेरिसके नि । बीचमा धेरै फिल्म डिसहोम, युट्युबमा प्रदर्शन भयो,' उनले भने,'यो पुस महिना हामीले परीक्षण मात्र गरेका हौं । हामीले त ९ महिनासम्म बन्द हल खुल्यो भन्ने सन्देश पठाउन मात्र खोलेका थियौं । हामीसँग नयाँ फिल्म भएको भए हल चल्थ्यो ।'

'एउटा यस्तो प्रेम कहानी'ले दर्शकलाई हलसम्म डोर्याएउनेमा उनी विश्वस्त छन् । 'फिल्मको उत्पादक निर्माता हो । निर्माता यस्तो अवस्थामा जोखिम मोल्न चाहँदैनन् । अब माघबाट शिव श्रेष्ठको फिल्म छ । अब माघबाट आउँछन् दर्शक,' उनले सुनाए,'शिवरात्रीमा 'लप्पन छप्पन' भन्ने फिल्म छ । त्यसपछि 'म यस्तो गीत गाउँछु'आउँछ । नयाँ फिल्मसँगै हलमा दर्शक बढ्दै जान्छ ।'

खोलेको ६ महिनामै हल बन्द गरेका वान सिनेमाजका सञ्चालक/निर्माता प्रज्ज्व।ल शम्शेर जबरा दर्शक नयाँ फिल्मको पर्खाइमा रहेको बताउँछन् । 'हलमै पनि नयाँ फिल्मबारे सोध्न कति दर्शक आउँछन् । हलको फेसबुक पेजमा पनि सोधिरहेकै हुन्छन् । पुरानै फिल्म देखाउनुपर्ने बाध्यता छ हाम्रो,'उनले भने,'हामीले हाम्रो व्यवसाय सुरु गर्न पाएका छौं । यो शुक्रबारबाट नयाँ फिल्म आउँछ । नेपाली फिल्मप नि छ । अब दर्शक पनि आउनुहुन्छ भन्नेमा आशावादी छौं ।'

सामान्य बेला औसत ६० प्रतिशत दर्शक आउँथे वान सिनेमाजमा । अहिले पाँच प्रतिशत मात्र दर्शक आउने गरेको उनी सुनाउँछन् । 'दर्शक खासै छैनन् । अहिले एउटा स्क्रिन चलाइरहेका छौं । अब एउटा ठूलो फिल्म आयो भने हल पहिलाकै गतिमा जाला,' उनले सुनाए ।

अर्का हल सञ्चालक प्रदीपकुमार उदय भने माघबाट नै हल खोल्ने तयारीमा छन् । 'एउटा यस्तो प्रेम कहानी'ले प्रदर्शन मिति तोकेसँगै आफूले हल खोल्ने तयारी गरेको उनले बताए । 'अहिले ठूलो हलमा दर्शक आउनु भएको छैन । हाम्रो सानो ठाउँमा पुरानो फिल्म हेर्न को आउनुहुन्छ र ?' उनले भने,'माघमा शिव श्रेष्ठको छोरा र करिश्मा मानन्धरकी छोरी कविता अभिनित फिल्म आउँदैछ । पक्कै दर्शक आउनुहुन्छ ।' इटहरीको इलाइट र बुटवलको द्वारिका उदय हलका सञ्चालक हुन् उदय ।

हलमा दर्शकको उपस्थिति नभएकै कारण निर्माताहरु नयाँ प्रदर्शनलाई लिएर अझै मौन छन् । तर लामो समयदेखि प्रदर्शन अलमलमा परेको 'एउटा यस्तो प्रेम कहानी'ले हालै माघ १ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरोस् ।

फिल्म हेर्न दर्शक आउलान् त ?

'एउटा यस्तो प्रेम कहानी'का निर्मातासमेत रहेका अभिनेता शिव श्रेष्ठ हलमा दर्शक आउने विश्वास राख्छन् । 'हामीलाई दर्शकमा विश्वास छ । सय प्रतिशत विश्वास। हाम्रो फिल्म हेर्न दर्शक आउनुहुन्छ,' उनले भने,'माघ १ गतेबाट फिल्म लगाउने भन्दा गल्ती गर्नुभयो भन्नुभयो कतिले पहिला । तर यो हाम्रो टिमको निर्णय हो भनेर सुनायौं । पक्का आउँछ हाम्रो फिल्म । उनका अनुसार फिल्मका अन्य निर्माता दिनेश दर्शनधारी र यशोदा राईले नै माघ १ मा फिल्म प्रदर्शन गर्ने निर्णय गरेको हो ।

प्रकाशित : पुस २३, २०७७ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?