कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चुनावमाथि हरिवंशको व्यंग्यात्मक गीत 

काठमाडौँ — कलाकार हरिवंश आचार्यले देशको बिग्रदो राजनीतिमाथि व्यंग्यात्मक गीत सार्वजनिक गरेका छन् । उनले 'मह सञ्चार'को युट्युब च्यानलबाट 'एउटा कुरा छ' बोलको गीत सार्वजनिक गरेका हुन् ।

चुनावमाथि हरिवंशको व्यंग्यात्मक गीत 

गीतमा एकजना गाडा चलाउने व्यक्ति छन् । जो आफ्नो साथीलाई ज्योतिषले आफूलाई नेता बन्ने भविष्यवाणी गरेको सुनाउँछन् । चुवान लड्यो भने धनी हुन्छ भन्ने सपना ज्योतिषले उक्त व्यक्तिलाई सुनाएको हुन्छ । उनले गाडा चलाउँदै धनी हुने कल्पना गरे दृश्य भिडियोमा समेटिएको छ । भिडियोमा गाडा चलाउने व्यक्तिको भुमिकामा गायक हरिवंश स्वंय देखिएका छन् ।

देशको विद्यमान राजनीतिक घट्नाक्रमपछि यो गीत फुरेको हरिवंश सुनाउँछन् । 'एउटा गीत बनाउने सोच्दै थिएँ । अनि देशमा चुनाव हुने कुरा सुनें,' उनले गीत बुन्दाको समय सम्झे,'चुनाव जति गरे पनि देश धनी भएन । व्यक्तिहरु धनी भए । हामीले धेरै वटा चुनाव लडिसक्यौं, जति चुनाव लडे पनि देश माथि गएन । नेताहरु मात्र धनी भए । त्यसैले यही विषयमाथि गीत बनाएँ ।' थपे,'कत्ति चुनाव गर्ने के । चुनावपछि त देश बन्नुपर्छ नि ।'

चुनावमा नेता धनी बन्ने प्रवृत्तिमाथि आफूले गीतमार्फत व्यंग्य गरेको उनी सुनाउँछन् । 'सबैभन्दा धनी हुने माध्यम नै चुनाव लड्दा हुन्छ भनिन्छ । खुट्टामा चप्पल नहुनेहरु सत्तामा पुग्नासाथ धनी हुन्छन् । चुनाव लड्यो धनी हुने प्रवृति धेरै छ । त्यसैलाई थिम बनाएको हो गीतमा,' हरिवंशले भने,'अनि रत्नपार्कको वरिपरि जोतिषलाई हात देखाइरहने मानिसको दृश्य दिमागमा आयो । त्यसलाई पनि गीतमा समेटें । ज्योतिष राख्यो भने रमाइलो हुन्छ भन्ने भयो ।'

तीन महिनाअगाडि हरिवंशले 'तिमी के को जान्ने' बोलको गीत सार्वजनिक गरेका थिए । गीतमार्फत अरुका कुरा नसुन्ने र आफैं जान्नेसुन्ने भइटोपल्ने नेताहरुमाथि व्यंग्य हानेका थिए । हरिवंशकै शब्द संगीतमा तयार भएको गीतमा, सागरराज शर्माको निर्देशन, प्रविण श्रेष्ठको रंग संयोजन, किरण तुलाधरको एरेन्ज र सत्यदीप केसीको सिनिमेटोग्राफी छ । यो गीत हरिवंशले गाएको १५ औं गीत हो ।

प्रकाशित : पुस २२, २०७७ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?