१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कलाकार मानकृष्णको सहयोगार्थ फिल्म बन्‍ने 

काठमाडौँ — नेपाल भाषाको टेलिश्रृङ्खला 'ख्वताबजि'का चर्चित कलाकार हुन् मानकृष्ण वावा । अभिनयसँगै उनी हार्मोनियम र तबला प्रशिक्षक हुन् । हार्मोनियम उस्तादकै रुपमा उनी चिनिन्छन् । मानकृष्ण अभिनय र हार्मोनियमबाट आएको कमाइले नै जीवन गुजारा गर्दै आएका छन् । 

कलाकार मानकृष्णको सहयोगार्थ फिल्म बन्‍ने 

५७ वर्षीय मानकृष्ण फोक्सोको समस्याबाट पीडित छन् । डेढ वर्षदेखि उनी यो रोगबाट ग्रस्त छन् । भाडाको कोठामा बस्दै आएका उनी हरेक महिना उपचारका लागि अस्पताल धाउँछन् । खर्च लाग्छ, १५-२० हजार । आर्थिक हिसाबले उनको अवस्था नाजुक छ । अभिनय र तबला प्रशिक्षणबाट आउने केही रकम खाना र घरभाडामा सकिन्छ ।

केही समयअगाडि यही रोगले सिकिस्त परे उनी । औषधि खर्चसमेत तिर्न सकेनन् । १० वर्षदेखि अभिनय गर्दै आएको टेलिश्रृङ्खला 'ख्वताबजि' टिमले उनलाई डेढ लाख सहयोग गर्‍यो । मानकृष्णको आर्थिक अवस्था देखेर नै 'ख्वताबजि'का निर्देशक सुरेन्द्र तुलाधरले उनको सहयोगार्थ फिल्म बनाउने निर्णय गरेका हुन् ।

माघबाट छायांकनमा जाने नेपाल भाषाको फिल्म हो, 'लुँगायु' । यसको नेपाली अर्थ 'सुनको तक्मा' हो । 'मानकृष्ण निको त हुनुभयो अहिले तर पूर्णरुपले निको हुनुहुन्न । त्यही भएर उहाँको नाममा स्वास्थ्य संरक्षण कोष खोलेर १०/१५ लाख जम्मा गरिदिन सोचेका छौं,' निर्देशक तुलाधर सुनाउँछन्, 'ख्वताबजिकै कलाकारले फिल्ममा अभिनय गर्नुहुन्छ । फिल्मको आम्दानी सबै त्यही अक्षय कोषमा राखिदिनेछौं ।'

उनका अनुसार आफूहरुबाट नै पैसा संकलन गरेर यो फिल्म निर्माण गरिनेछ । फिल्मबाट कलाकारले पारिश्रमिक पनि लिने छैनन् । वितरक गोपाल काजी कायस्थको निर्माण रहने फिल्म पारिवारिक कथामा आधारित रहनेछ । 'यो फिल्म पारिवारिक कथाको फिल्म हो । बाबु र छोराको कथा यो फिल्ममा समेट्छ,' वितरक कायस्थले भने ।

फिल्ममा मानकृष्ण आफैं पनि बुवाको भूमिकामा देखिँदैछन् । यसअघि नेपाल भाषाकै फिल्म निर्देशनमा सक्रिय तुलाधर नै फिल्मको कथा लेखेका हुन् । केही समयअगाडि फिल्मको शुभ मुहर्त गरिएको थियो । सुखावती मल्टी प्रोडक्सनमा बन्ने फिल्ममा नील शाक्यको संगीत र भोगेन्द्र मानन्धरको नृत्य रहनेछ ।

फिल्ममा देवेन्द्र महर्जनको छायांकन, सविन शाक्यको सहनिर्देशन रहनेछ । फिल्ममा मानकृष्णसँगै सुरज व्यञ्जनकार, भोगेन्द्र मानन्धर, रोजिना सुवार, रञ्जना सितिखुलगायतको अभिनय रहनेछ ।




प्रकाशित : पुस १४, २०७७ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?