१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

किसानका भोगाइमा नाटक मञ्‍चन 

रीना मोक्तान

काठमाडौँ — सेतो कुर्ता, सेतै धोती अनि गलामा पहेंलो रङको गम्छा भिरेका व्यक्तिलाई बीचमा घेरेरे बसेका छन् केही मानिस । कालो रङका लुगा पहिरेका उनीहरु एकैस्वरमा गाउँछन्, 'तुम्हारे भरोसे किसान बाबु मिल खोललियै... ।' अर्थात् 'तिम्रो भरोसामा हामीले मिल खोलेका छौं ।' गीत गाउनेहरु हुन्, चिनी मिल मालिक । अनि माझका बसेका पात्र हुन् उखु किसान चिनी नारायण । 

किसानका भोगाइमा नाटक मञ्‍चन 

यो दृश्य हो, बिहीबार उखु किसान आन्दोलनलाई समर्थन गर्दै माइतीघरमा देखाइएको सडक नाटकको । 'तिमी चिन्ता नलिइ उखु उब्जाउ, तिम्रो सबै समस्याको भार हामी उठाउँछौं' उखु किसानकै भरमा मिल खोलेका मालिकले यत्ति भनिसकेपछि चिनी नारायणले बाँकीका सबै खेतमा उखु लगाउँछ । महाजनसँग चर्को ब्याजमा ऋण लिएर खाद्द छर्छ । खेतमा उखु बढ्दै जान्छ, चिनी नारायण खुसी हुँदै जान्छ । खेतका प्रत्येक उखुलाई हेर्दै सपना बुन्छ, 'यसपाली १५ क्विन्टल उखु हुन्छ ।'

उखु बेचेर कमाएको पैसाले छोरीको बिहेमा लिएको ऋण तिरिदिने योजना बनाउँछ । हुर्कँदै गरेका हरेक उखुका डाँठसँगै उसका अनेकन सपना पलाउँदै जान्छ । घरमा गाईवस्तु बिरामी छ । तर चिनी नारायणलाई उखुकै चिन्ता छ । उ रातदिन उखुकै रेखदेखमा बिताउँछ । उता महाजनले पत्नीसँग पैसा मागेरै किचकिच गरिरहन्छ । एकदिन खानामा रोटीमात्रै दिँदै चिनी नारायणलाई पत्नीले भन्छ, 'बाँकीका सबै खेतमा उखु लगायौं । चिनी मिलले पैसा दिएको छैन । अब यो बाहेक के खान्छौ ?, अर्को सालदेखि यो पनि पाउँदैन ।'

दृश्य हेरेर माइतीघरमा आन्दोलित उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय मुसुक्क हाँसे । अन्य किसानहरु पनि एकअर्कालाई हेर्दै गललल हाँसे । सर्लाही छोडी आएका पत्नी अनि ती भोगाइलाई नाटकमा दुरुस्तै पाउँदा पाँचदिनदेखि आन्दोलित किसानको मुहारमा एकैछिन हाँसो छायो । कलाकारहरु आन्दोलित किसानको ठीक अगाडि नाटक प्रस्तुत गर्दैछन् । मञ्‍चन भइरहेको नाटक हेर्न किसानसँगै अन्य दर्शकको भीड बढ्दै गयो ।

मल ल्याउँदा भारत र नेपालतर्फको भन्सारमा किसानले पाउने पीडा नाटकमा देखाइएको थियो । चेकमा समस्या पनि । भारततर्फको भन्सार कर्मचारीको नानाथरी भनाइ सहेर मल भित्र्याउँछ चिनी नारायणले । नेपालतर्फको भन्सारमा तस्करदेखि 'विभिन्न व्यापारीको लागि काम गरेको नमिठो भनाइ सहन्छ । भन्सार कर्मचारीले तस्करी समेतको आरोप लगाउँछन् । मल ल्याउन दुई देशको भन्सारमा चिनी नारायणले पाएको दु:ख हेर्दा उखु किसानको अनुहारमा एक किसिमको मौनता छाएको छ । चिनी नारायणको अनुहारमा देखिएको निराशा उनीहरुको आँखामा प्रस्टै देखिन्छ ।

यो दृश्यले नाटक हेर्ने भीडलाई हँसायो । तर, आन्दोलित उखु किसान हाँस्न सकेनन् । सायद हरेक पटक मल ल्याउँदाको पीडा फेरि उनीहरुले चिसो सडकमा अनुभव गरे । नाटकको यो दृश्यलाई त ७० वर्षीया गगनदेव रायले घत मानेर हेरे । आफ्नो आधा उमेर नै उखु पेसामा लगाएका गगनदेवले मलकै लागि भन्सारमा कत्ति चोटी हात जोड्नु पर्‍यो होला ?

सरिता शाह निर्देशित नाटकले आन्दोलित किसानका समस्या, पीडा समेटेको छ । उखु किसानको ऋणका समस्या, महाजनको किचकिचदेखि मिल मालिकले पैसा नदिँदा उनीहरुका जीवनमा परेको प्रभावलाई नाटकमा देखाइएको थियो । किसानका व्यथा, संघर्ष र भोगाइ समेटिएको नाटकले वास्तविक चिनी नारायणहरुको कथा बोलेको छ । खेतमा छोडी आएका उखु र देखेका सपना सर्लाहीमै थाँती राखेर चिनी नारायणहरु अहिले आन्दोलनका लागि काठमाडौं आएका छन् । बिहान ११ बजेदेखि ३ बजेसम्म धर्ना बस्छन् ।

उनीहरु वर्षौंदेखिको उखु बेचेको पैसा उठाउने आसमा काठमाडौं आएका हुन् । सरकारले बक्यौता रकम नदिएसम्म घर नजाने अडान लिएका उनीहरु काठमाडौंको चिसोमा आन्दोलित छन् ।

चिनी थप्दै गुलियो चिया पिएर मिल मालिकहरुले गफिँदै गरेको नाटकको अर्को दृश्य सशक्त छ । एकजना मिल मालिक भन्छ 'किसानले जति आन्दोलन गरे पनि उखु बेच्न हाम्रै शरण पर्नुपर्छ । आन्दोलन गर्ने केही किसानको पूरै पैसा दिउँ । बाँकी किसानलाई केही प्रतिशत रकम दिउँ । अरु त हामीलाई फाइदा नै हुन्छ नि !'

अर्को थप्छ, 'हामीले सय प्रतिशतको २० प्रतिशत यो किसानहरुलाई दिने अनि ८० प्रतिशत हामी लिने । फाइदा हामीलाई ।'

यो दृश्यले पक्कै वर्षौदेखि उखु किसानलाई रुवाएका मिल मालिकको निर्दयीपनलाई देखाउँछ । मिल मालिकले गरेको अत्याचार र ठगीको प्रतिबिम्व गर्छ यो दृश्यले । चियामा चिनी थप्दै गरेको दृश्यमा चिनी नारायण आफैलाई घोलिएको बिम्बात्मक दृश्य पनि नाटकमा देखाइएको थियो । ८ कलाकारको अभिनय रहेको यो नाटकले उखु किसानको जीवनलाई प्रस्तुत गरेको छ । उखु किसानका प्रत्येक समस्या र भोगाइ देखाइएको यो नाटक जीवन्त छ । प्रप्सहरुको प्रयोग निकै सान्दर्भिक थियो । नेपाली र भोजपुरी भाषाका संवाद निकै अर्थपूर्ण थियो । सरिता फाउन्डेशनले प्रस्तुत गरेको यो नाटक छोटो समयमै तयार पारिएको हो ।

'मंगलबार टिममा बसेर नाटकको कथा तयार पार्‍यौं । बुधबार अभ्यास गर्‍यौं । र बिहीबार देखायौं,' नाटककार सरिताले सुनाइन्, 'एकदिनमा तयार पारेको नाटक हो । हामी तराईकै पर्‍यौं, किसानको समस्या हामीलाई थाह भइहाल्छ । हामी आफै पनि किसानकै सन्तान हौं । त्यसैले नाटक तयार पार्न समय लागेन ।'

छोटो समयमै किसानका समस्या र भोगाइलाई नाटकमा प्रस्तुत गर्न सफल भएकी छिन् सरिता । नाटकमा कलाकारहरुले प्रशंसालायक अभिनय गरेका थिए । विजय यादवको अभिनयले चिनी नारायणको भूमिकालाई बलियो प्रस्तुत गरेको थियो । उनले ती सम्पूर्ण किसानको भोगाइलाई आफ्नो अभिनयबाट न्यायोचित ढंगले प्रस्तुत गरे । त्यस्तै चिनी नारायणकै पत्नीको भूमिकामा देखिएकी नाटककार सरिता आफैले पनि आफ्नो पात्रलाई न्याय दिने अभिनय गरेकी थिइन् । नाटकमा विजय र सरितासँगै कलाकारहरु जानुका दाहाल, रेनु योगी, अम्रिता शाह, ज्यासन पण्डित, सञ्जय गुप्ता, कालु पाण्डेको अभिनय थियो ।

प्रकाशित : पुस २, २०७७ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?