'सबै क्षेत्र खुल्यो, फिल्म हल कहिले खोल्ने ?' 

निर्माता भन्छन्, 'हल नखोले टिकटक र म्यूजिक भिडियो बनाएर बसे भो !' 
रीना मोक्तान

काठमाडौँ — बानेश्वरको आइप्लेक्स मलमा मानिसको चहलपहल उस्तै छ जसरी कोभिडअघिका समयमा हुने गर्दथ्यो । पसलहरु खुलेका छन् । ग्राहकहरु आउने जाने क्रम जारी छ । पार्किङमा गाडी भरीभराउ छन् । पहिलाझैं अस्तव्यस्त देखिने यो महलमा खाली एउटा कुरा भने बन्द छ- मलभित्रको फिल्म हल ।  

मलको होहल्लाबीच मौन रहेका हलहरुको चित्रण गर्छ यो वान सिनेमाजले । टिकट काउन्टर धुलाम्मे छ । हल प्रवेश द्वार खाली देखिन्छ । दर्शकको हाँसो, रोदन र ताली गुञ्जने हल चकमन्न छ । फुड काउन्टर आफैं भोकोजस्तो देखिन्छ । सँधै उज्यालो बत्तीहरु बलिरहने प्रतीक्षालय अँध्यारो छ । यहाँ दर्शकको आउजाउ नभएको ९ महिना भयो ।

सोमबार वान सिनेमाज पुग्दा केही मानिस हलको सरसफाइमा व्यस्त देखिन्थे । पीपीई सुटमा एकजना हलका सिटमा डिसइन्फेक्ट गर्दै गरेका भेटिए । 'सरकारले हल खोल्न कहिले देला थाहा छैन तर हामी त तयार बस्नु पर्‍यो । भोलिबाट खोल भन्यो भने पनि खोल्ने भनेर तयार बसेको अवस्था हो यो,' सरसफाइका काम नियालिरहेका वान सिनेमाजका म्यानेजर उमेशराज गिरीले बताए । उनका अनुसार हरेक हप्ता हलको सरसफाइ गरिन्छ । प्रोजेक्टर, जेनेरेटरको सर्भिसिङ हुन्छ । दर्शक बस्ने सिट र कार्पेटमा धुलो बस्न नदिन सरसफाइमा विशेष ध्यान दिइएको छ ।

०००

धेरैजसो फिल्मको कार्यक्रम भइरहन्थ्यो कुमारी हलमा । कार्यक्रम नभए पनि कलाकार र दर्शकको आउजाउ हुन्थ्यो । ९ महिना भयो यो हलको ढोकामा ताला झुन्डिएको । कुमारी हलको दृश्य पनि वान सिनेमाजको भन्दा फरक छैन । टिकट काउन्टरको छेउमा बलिउड फिल्म 'थप्पड', 'अंग्रेजी मिडियम' र नेपाली फिल्म 'आमा'को पोस्टर टाँसिएको छ । पार्किङ क्षेत्र खाली छ । हलको प्राङ्गणमा दर्शकको जुत्ता/चप्पलको छाप भेटिँदैन । हलमा गुँड बनाएर बसेका चराचुरुङ्गीको प्वाँखहरु प्राङ्गण वरिपरि छरिएको भेटिन्छ ।

दर्शकको बाक्लो भीड रहने यो हल पुग्दा सुरक्षामा खटिएका सेक्युरिटी गार्ड कुमार रानामात्रै भेटिए । काम गरेको डेढ वर्षमा कहिल्यै उनले कुमारी हललाई यसरी एक्लो देखेका थिएनन् । 'पहिला त भिड हुन्थ्यो दर्शकको । अहिले त सुनसान छ,' हलको अवस्थाबारे सुनाउँदै भने,'पहिला त ढोकामा चेकिङ गर्नु पर्थ्‍यो । अहिले त आवश्यक नै छैन । कलाकारहरु पनि देख्न पाइन्थ्यो । अहिले त एक्लै दिन काट्न पनि गाह्रो ।'

कहिलेकाहीँ उनलाई ढोकामा देखेर 'हल खुलेको हो ?' भन्दै सोध्ने पनि गर्छन् । उनी 'होइन' भन्दै दर्शकलाई फर्काइदिन्छन् । कोरोना महामारीका कारण कुमारी मात्रै होइन नेपालभरको हलको अवस्था यस्तै छ । कुमारी हलको यो शून्यतासँग अभ्यस्त हुँदै गए पनि कुमारलाई लाग्छ,'चाँडै हल खुले त अरु कर्मचारी साथीहरुसँग भेट हुन्थ्यो । उनीहरुसँग कुराकानी गर्न पाइन्थ्यो ।'

०००

कोरोना महामारीका कारण सरकारले सुरुमै फिल्म हल बन्द गर्ने निर्णय गर्‍यो । अहिले लामो/छोटो दुरीका यातायत सञ्चालनमा छन् । होटल/रेस्टुरेन्ट खुले । बैंक तथा विभिन्न उद्योग खुल्दा हलमा अझै ताला झुन्डिएको छ । बन्द भएको ९ महिना बितिसक्दा पनि सरकारले हल खोल्ने निर्णय नगर्दा हल सञ्जालकहरु आक्रोशित छन् । चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान हल खोल्ने इजाजत नदिए हलको चाबी सरकारलाई बुझाउने बताउँछन् ।

'हल त जतिसक्दो चाँडो खोल्न दिनुपर्‍यो । ९ महिनादेखि हामीले कर्मचारीलाई आधा तलब दिएर राखेका छौं । बत्तीको पैसा बुझाउँदैछौं । बैंक ब्याज तिरिरहेका छौं । हलको भाडा तिर्दैछौं, 'उनले भने, 'अहिले सम्पूर्ण क्षेत्र खुलिसक्यो । १२ को परिक्षा सञ्चालन भयो । भाटभटेनीमा खुट्टा राख्ने ठाउँ छैन । तर, पनि हामी सरकारको प्राथमिकतामा पर्न सकेको छैनौं । सरकारले हल खोल्न नदिनुका चित्तबुझ्दो जवाफ दिनुपर्‍यो । नभए हामी हलको साँचो सरकारलाई बुझाउँछौं ।'

देशभर २ सयको हाराहारीमा हल छन् । हलमा प्रत्यक्ष ३५-४० हजार कर्मचारी आश्रीत छन् । प्रत्यक्ष अप्रत्यक्ष गरेर ९ महिनादेखि १ लाख बढी श्रमजीवी बेरोजगार बनेको अध्यक्ष प्रधानको दावी छ । मल्टिप्लेक्स अन्तर्गतको क्युएफएक्स बन्द हुँदा करिब ७ सय जनाले रोजगारी गुमाएको बताउँछन् क्युएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगा । 'कर्मचारीहरु बेतलबी बिदामा छन् । उनीहरु त्यतिकै कुरिरहेका छन् । सरकारले नबुझेको किन हो ?' उनले प्रश्न गरे ।

निर्माता एवं कलाकार रवीन्द्रसिंह बानियाँ परीक्षणकै लागि पनि हल खोल्न दिनुपर्ने बताउँछन् । हल बन्द हुँदा धेरै निर्माताको लगानी फ्रिज अवस्थामा छन् । फिल्मको प्रदर्शन रोकिएको छ । निर्माताको उत्साहका लागि पनि हल खोल्नुपर्ने रवीन्द्र बताउँछन् । 'हुन त हल खोलेपछि दर्शक आउलान्/नआउलान् भन्ने अवस्था छैन । तर, सबै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हल खोल्न दिनुपर्छ भन्ने हो,' उनले भने, 'हल खोलेपछि वातावरण सहज देखियो भने हामीलाई पनि उत्साह बढ्छ । हल नखोले अरु विकल्प नै भएन । हलवाला, निर्माताभन्दा पनि चलचित्र क्षेत्र नै चलायमान बनाउन हल खोल्नु पर्‍यो । हल खोलेन भने टिकटक र म्यूजिक भिडियो बनाएर बसे मात्रै हो ।'

फिल्म हल नखुले पनि हलवालाले बत्तीको डिमाण्ड शुल्क दिनुपर्छ । बैंकको ब्याज र हलभाडा तिर्नैपर्छ । आफूहरुले बत्तीको डिमान्ड शुल्कसँगै अन्य विषयमा सरकारसँग माग राख्दै आएको बताउँछन् मधुसुदन । 'हलमा तालाबन्दी छ । बत्ती हामीले प्रयोग गरेका नै छौनौं तर त्यसको डिमान्ड शुल्क तिर्नुपर्छ । यो त ठूलो अन्याय हो नि,' मागहरुबारे उनी भन्छन्, '२ वर्षका लागि भ्याट र मनोरञ्जन कर तिर्न नपरोस् । चलचित्र विकास शुल्क पनि केही घटाउनु पर्ने माग छ । उद्योग चलायमान बनाउन हामीलाई यी कुरामा राहत दिनुपर्‍यो ।'

राष्ट्रिय बाणिज्य बैंकबाट मौद्रिक नीतिमा पाँच प्रतिशत ब्याजदर दिने भन्ने कुरा अहिलेसम्म कागजमै सिमित भएको उनी गुनासो गर्छन् । हल नचले पनि हलवालाले प्रत्येक महिना २०/२५ लाखको घाटा बेहोर्नुपरेको छ । त्यसैले नोक्सानी कम गर्न पनि हल खोलिहाल्नु पर्ने बताउँछन् वान सिनेमाजका मार्केटिङ हेड विवेक ढकाल । 'हल क्षेत्रलाई महत्वमै नराखेको जस्तो भयो । दु:खलाग्दो कुरा पनि त्यही भयो । हलवाला धेरै नै मारमा परेका छन् । अहिलेसम्म खोल्ने अनुमति नदिएर बेवास्ता गरेको छ,' उनले सुनाए, 'हलबाहेक सबै क्षेत्र खुलेको छ । अहिले फाइदाभन्दा पनि नोक्सानी कम गरौं भन्न पनि हल खोल्न दिनु पर्‍यो । केही नगरेर नोक्सानी बेहोर्नुभन्दा दर्शकलाई हलमा बिस्तारै तान्न पनि हामीले पनि हल चलाउन पाउँ भन्ने हो ।'


पीपीई सुटमा हलका सिटमा डिसइन्फेक्ट गर्दै एक कर्मचारी । तस्बिरः अगंद ढकाल/कान्तिपुर

धेरै हलवालाले दसैंअगावै हल खोल्न पाउने आसा राखेका थिए । तर दसैं/तिहारमा पनि हल नखोलेपछि हलवाला निरास भएका छन् ।

निर्देशक विनोद पौडेल नयाँ रणनीति बनाएर हल खोल्नुपर्ने बताउँछन् । 'सुरक्षा अपनाएर हल खोल्नुपर्छ भन्ने लागेको छ । अगाडि पनि त बढ्नु पर्‍यो,' उनी सुनाउँछन्, 'शक्तिको खेलमा अड्किरहेको छ देश । जताततै निराशा छाएको देखिन्छ । जसोतसो हल खोल्नुपर्छ अब ।'

अर्का निर्देशक नवल नेपाल भन्छन्, 'अधिकांश होटल रेस्टूरेन्ट सञ्चालनमा छन् । बजारमा चहलपहल छ । व्यापारिक हिसाबले खोलेका सबै ठाउँहरु खोलेका छन् । होटलहरु जुन मापदण्डमा खुलेका छन् फिल्म हल पनि त्यसै गरि चलाउन ल्याउन सकिन्छ । हलमा आवद्ध श्रमजीवि कर्मचारीहरु मारमा छन् । त्यसकारण हल शतप्रतिशत भोलिदेखि नै खोल्नुपर्छ भन्ने मेरो मान्यता छ ।'

चलचित्र संघका अध्यक्ष मधुसुदन सरकारले चाँडै हल खोल्न नदिए आन्दोलनमै उत्रने बताउँछन् । 'यो विषयमा यो हप्ता वार कि पार हुन्छ । हामी अन्तिमपटक छलफलका लागि जाँदैछौं,' उनले भने । हल खोल्नेमात्र नभएर आफूहरुले राखेको माग सरकारले पूरा गरिदिनु पर्ने उनको भनाई छ ।

चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको भनाई पनि एउटै छ,'सबै क्षेत्र खुल्यो, फिल्म हल किन खुलेन ?' हल खोल्ने अनुमतिका लागि बोर्डको तर्फबाट आठवटा चिठ्ठी सरकारलाई पठाइसकेको उनी बताउँछन् । 'बोर्डबाट २ महिनाअगाडि नै सिफारिस पठाइसकेका छौं । संचार मन्त्रालयबाट पनि हल खोल्नलाई उपयुक्त भएको भनेर सिफारिस गइसकेको छ । सिसिएमसीले मन्त्रिपरिषदमा लानु पर्ने हो । किन रोकिरहेको हो थाहा छैन,' उनले कान्तिपुरलाई भने, 'हिजोमात्रै पनि यथाशीघ्र खोल्नु पर्‍यो भनेर चिठी पठाएँ । अब चाँडै हल खोल्ने अनुमति देलान् ।'

थपे, 'हलमा भीडभाड होला भनेर सोच्नु भएको होला । स्वास्थ्य मापदण्ड अपनाएर हामी हल खोल्छौं भनेपछि सरकार नआत्तिनु पर्ने हो ।'

कसरी खोल्ने हल ?

हल खुल्ने टुङ्गो नभए पनि हलवालाहरु कोभिडले निमत्याएको परिस्थितिसँगै हल सञ्चालन गर्ने वातावरण सृजना गर्दैछन् । सरकारले हल खोल्ने अनुमति दिएपछि दर्शक अकुपेन्सी ५० प्रतिशत राखेर हल खोल्ने तयारी छ अधिकांश हलवालाको । 'मानव सम्पर्क कम गर्न केही उपाय अपनाउँदै छौं । इन्ट्री गेटमा चेकिङ गर्दैनौं । मानिससँगको सम्पर्क कम गर्न आफैंले चेक गर्ने योजना बनाउँदै छ । भीड धेरै भयो भने त्यसमा पनि कम गर्ने उपायको तयारी छ,' वान सिनेमाजका विवेक बताउँछन्, 'दर्शक त ढुक्कले आउने वातावरण भएपछि हलमा आउने हो । त्यसैले दर्शक आउने वातावरण बनाउने तयारी छ हाम्रो ।'

त्यस्तै म्यानेजर उमेश दर्शक बसेको वरपरको ठाउँलाई खाली राखेर सिट व्यवस्थापन गरिने बताउँछन् । 'परिवार आए भने सिटमा सँगै बस्न पाउनेछन् । तर एक्लै छन् भने दुईवटा सिट छोडेर दर्शक राख्ने उपाय अपनाउँछौं । फिल्मको टिकटमा खानेकुरा एकैसाथ मगाउन मिल्ने बनाउने तयारी छ ।' हलमा एसीको साटोमा फ्रेस हावा नै चलाउने पनि तयारी छ ।

अधिकांश हलवाला फिल्म हल खोलेपछि डिजिटल पेमेन्टमा जोड दिने तयारीमा रहेछन् । 'डिजिटल पेमेन्टमा ध्यान दिने । भीडभाड कम गर्ने । सामाजिक दूरी कायम गर्ने, सरसफाइमा ध्यान दिन्छौं । मास्क अनिवार्य भइहाल्यो । फ्रेस एयर चलाउने मापदण्ड अपनाउँछौं,' क्युएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सुनाए ।

हल खोलिसकेपछि हलमा देखाइने कन्टेन्टमा समस्या देखिने अध्यक्ष मधुसुदनको भनाई छ । 'अरु व्यापारजस्तो छैन फिल्म हल । आज खोल्दैमा दर्शक आउने होइन। कन्टेन खोज्नु पर्‍यो,' उनले भने । निर्माता रवीन्द्रसिंह बानियाँ सुनाउँछन्,'हल खोल्दा पनि के फिल्म दिने त भन्ने समस्या छ । पूरानै दोहोर्‍याउने कि के गर्ने भन्ने बारेचाहिँ गम्भीररुपमा सोचविचार गर्नुपर्छ ।' प्रकाशित : मंसिर १७, २०७७ १८:३८

प्रतिक्रिया
पठाउनुहोस्
×