३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

किम्फको १८ औं संस्करण भर्चुअल रुपमा आयोजना हुने 

काठमाडौँ — काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १८ औं संस्करण भर्चुअल रुपमा आयोजना हुने भएको छ । यही मंसिर २५ देखि २९ गते (डिसेम्बर १० देखि १४) सम्म यो महोत्सव हुने भएको हो । यो पटक १५ देशका १८ फिल्महरु प्रदर्शनका लागि छानिएका छन् । 

किम्फको १८ औं संस्करण भर्चुअल रुपमा आयोजना हुने 

त्यस्तै 'नेपाल पानोरामा' अन्तर्गत १३ कथानक र डकुमेन्ट्री देखाइने बताइएको छ । फिल्म प्रदर्शनसँगै भर्चुअल रुपमा अन्तर्क्रिया र परिसंवाद कार्यक्रम पनि संचालन गरिने जनाइएको छ ।

अन्तर्राष्ट्रिय फिल्महरुमा पर्वतीय जनजीवन, संस्कृति, वातावरण र पर्वतारोहण तथा साहसिक क्रिडाकर्म समेटिएका छन् । नेपाल पानोरामामा प्रतिभाशाली युवा नेपाली फिल्मकर्मीको प्रस्तुति देखाइने छ ।

कोरोना महामारीले उत्पन्न गरेको संकटसित जुध्दै आशा र विश्वासका साथ अघि बढ्ने ध्येयअनुसार फेस्टिलको यसपालीको सन्देश 'तमसोमा ज्योतिर्गमय' राखिएको छ । किम्फको उद्घाटन चर्चित भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ फिल्म 'लुकिङ फर अ लेडी विथ ल्याङ्गस एन्ड अ मुस्ट्याच'को प्रदर्शनबाट हुनेछ । फिल्मको सम्पूर्ण छायांकन नेपालमै गरिएको थियो । फेस्टिभलमा रिम्पोचेले भर्चुअल प्रवचन दिनेछन् ।

महोत्सवकै अवसरमा दिवंगत लेखक पिटर कार्थकको हिमाल किताबद्वारा प्रकाशित 'नेपाली म्यूजिकमेकर्स' नामक पुस्तकको नेपाली अनुवादको विमोचन गरिनेछ । त्यस्तै कोभिड-१९ र लकडाउनबारे बनाइएका विशेष डकुमेन्ट्रीहरुको प्रदर्शनपछि त्यसबारे छलफल गरिने आयोजक बताउँछन् ।

यस पटकको तीन सदस्यीय निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्रीमेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार र फिल्ममेहर लिजा रुस्ली र नेपालका नयनराज पाण्डे रहनेछन् । निर्णायक मण्डलले अन्तर्राष्ट्रिय खण्डतर्फ उत्कृष्ट तीनवटा चलचित्र तथा नेपाल पानोरामातर्फ उत्कृष्ट कथानक (फिक्सन) र उत्कृष्ट डकुमेन्ट्रीको छनोट गर्नेछ । फेस्टिभलमा अन्तर्राष्ट्रिय खण्डका १२ देशका १८ र पानोरामाको १३ फिल्मबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तर्राष्ट्रिय खण्डमा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मले क्रमश: नगद २ लाख, १ लाख ५० हजार र १ लाख पुरस्कार पाउनेछन् । पुरस्कार राशी नेपाल पर्वतारोहण संघ, हिमालय इन्टरनेसनल माउन्टेन फिल्म अफ चाइना (हिम्फ) र स्वीट्जरल्यान्डका व्यवसायी उर्सुला तथा फ्रेडी ओहल्यान्डद्वारा उपलब्ध गराइएको हो । उत्कृष्ट नेपाली कथानक र डकुमेन्ट्रीले नगद १ लाख र ७५ हजार प्राप्त गर्नेछन् । यो पुरस्कार मिला प्रोडक्सन्स र चलचित्र विकास बोर्डले उपलब्ध गराइएको हो ।


प्रकाशित : मंसिर १६, २०७७ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?