३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बीबीसी सिरिजमा दीपिका कुँवर

लन्डन क्विन म्यारी युनिभर्सिटीबाट मेकानिकल इन्जिनियरिङका ग्राजुएट दीपिका कुँवर अथक परिश्रम र अडिसनपछि छनोटमा परेकी हुन् ।
नवीन पोखरेल

लन्डन — बीबीसी र अमेरिकी टेलिभिजन च्यानल एफएक्सले संयुक्त रूपमा निर्माण गरेको ‘ब्ल्याक नार्सिसस’ टीभी मिनी सिरिजमा यतिखेर नेपाली चेलीले चर्चा बटुलिरहेकी छन् ।

बीबीसी सिरिजमा दीपिका कुँवर

गाउँकी एक स्थानीय युवती ‘कान्छी’ को भूमिका निर्वाह गरेकी लन्डन फिन्चले सेन्ट्रल निवासी दीपिका कुँवर पहिलो टीभी शोबाटै चम्किएकी हुन् । अमेरिकामा एफएक्समा गत सोमबार र हुलुमा मंगलबार तीनवटै सिरिज प्रिमियर भएपछि राम्रो प्रतिक्रिया पाएको उनले बताइन् ।

‘सुरुमा त डेब्यु प्रोजेक्टको कस्तो रिभ्यु आउने हो, चिन्तित थिएँ,’ उनले भनिन्, ‘तर सबैतिरबाट सकारात्मक प्रतिक्रिया आउँदा उत्साहित छु ।’ असाधारण प्रेमकथा र रहस्यले मिनी सिरिज उत्कृष्ट बनेको उनको भनाइ छ । क्रिसमसका बेला आउँदो डिसेम्बर अन्तिम सातादेखि बीबीसी वानमा उनी अभिनित सिरिज प्रसारण हुँदै छ । प्रत्येक सिरिज एक घण्टा लामो हुनेछ ।

सन् १९३० को दशकको समाजमा आधारित ‘ब्ल्याक नार्सिसस’ उपन्यासमा ब्रिटेनको एक कन्भेन्टमा बसोबास गर्ने महिला भिक्षुहरू नेपाल गएको र त्यहाँ एउटा दुर्गम ठाउँमा अवस्थित मोपु दरबारमा आफ्नो सम्प्रदाय खडा गर्न खोजेको कथा छ । सन् १९३९ मा बेलायती लेखिका मार्गरेट रमर गोडेनले लेखेको उक्त उपन्यासमा आधारित रहेर सन् १९४७ मा बनाइएको फिल्मको रिमेक हो ‘ब्ल्याक नार्सिसस’ । यौन दमन र प्रेम निषेध विषयवस्तुमा केन्द्रित उक्त उपन्यास अत्यधिक बिक्री भएका कृतिमध्ये पर्छ ।

बाफ्टा अवार्ड विजेता अमान्डा कोले तयार पारेको स्क्रिप्टमा तीन सिरिजमा दीपिकासहित गेम्मा आर्टरर्टन, एलेसान्ड्रो निभोला, आयलिन फ्रेन्सीओसी, रोजी काभालियरो, प्याटसी फेरान, डायना रिग, जिम ब्रोडबेन्ट, जिना मकी, क्यारेन ब्राइसनजस्ता कलाकारको मुख्य भूमिका छ । डेनिस सिनेम्याटोग्राफर सार्लो ब्रुस क्रिसटेन्सनले सिरिज निर्देशन गरेकी हुन् ।

‘ब्ल्याक नार्सिसस’ गत वर्ष अक्टोबरदेखि ४ महिनासम्म नेपालको जोमसोम र यूके पाइनउड स्टुडियोमा छायांकन भएको थियो । हलिउड कलाकारहरूका साथमा छायांकनका क्षण एकदम अविस्मरणीय रहेको दीपिकाले सुनाइन् । निर्देशक, लेखक, कलाकारहरू सबै सहयोगी भएकाले काम गर्न सहज भएको उनको अनुभव छ ।

१७ वर्ष हुँदा बाबुआमा रोहित र दीपासँग बेलायत आएकी दीपिकालाई नेपालमा छँदा नाटकमा रुचि थियो तर अभिनय गर्छु भन्ने कहिल्यै सोचेकी थिइनन् । सानैदेखि अमेरिकी टेलिभिजन शो तथा चलचित्र हेर्ने लत भने थियो । उनले बेलायत आएर त्यस क्षेत्रमा थप रिसर्च गर्न थालिन् । साथीसंगत र त्यही क्षेत्रका दिग्गज भेट्न थालेपछि उनलाई यसको रुचि बढ्न थाल्यो । फिल्म, वृत्तचित्र निर्माण गर्ने विभिन्न संस्थामा इमेल गरेर केही वर्षको प्रयासपछि उनले सन् २०१६ मा एउटा एजेन्टसँग सम्झौता गरिन् ।

लन्डन क्विन म्यारी युनिभर्सिटीबाट मेकानिकल इन्जिनिरिङमा ग्राजुएट गरेकी उनी अथक परिश्रम र अडिसनपछि यस सिरिजका लागि छनोटमा परेकी हुन् । ‘मेरो डेब्यु प्रोजेक्टमै प्रमुख भूमिका पाएर चर्चा हुँदा खुसी छु,’ उनले भनिन्, ‘काम गरुन्जेल पनि मलाई टिमबाट धेरै सहयोग भयो । परिवारको समेत साथ पाउँदा अप्ठेरो महसुस नै हुन पाएन ।’

अभिनय मन पर्ने र यसमा भर्खर करिअर सुरु भएकाले निरन्तरता दिने उनको सोच छ । फुर्सदमा फिल्म र नाटक हेर्न रुचि राख्छिन् । कोरोना संक्रमण रकेथामका लागि बेलायतमा लामो लकडाउन हुँदाको समयलाई उनले सदुपयोग गर्दै पेन्टिङ सिकेको सुनाइन् ।

प्रकाशित : मंसिर १४, २०७७ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?