१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

यस्तो रह्यो कलाकारहरुको भाइटीका

रीना मोक्तान

काठमाडौँ — अभिनेता नाजिर हुसेनले यो वर्ष पोखरामा रहेकी दिदी फ्लोरेन्स कार्कीसँग मात्रै भाइटीका मनाए ।

यस्तो रह्यो कलाकारहरुको भाइटीका

अघिल्लो वर्ष काठमाडौंमा फ्लोरेन्ससँगै सरु, सोनी, सुनिता राई दिदीको हातबाट उनले टीका थापेका थिए । यसपालि पनि काठमाडौंमा गत साल जसरी नै सबै दिदीसँग तिहार मनाउने योजना थियो उनको । तर, गाउँमा भाइहरुको निधार खाली होला भनेर सरु र अन्य दिदी बारा गइन् । नाजिरलाई पनि 'सँगै जाऔं' भनेकी थिइन् । तर, उता पोखरामा दिदी फ्लोरेन्स एक्लै होलिन् भनेर नाजिर त्यतै बसे ।

फ्लोरेन्सकै हातबाट यसपालि नाजिरको निधार रंगियो । गाउँ गएका दिदीहरुसँग फोनमै कुरा गरे । 'सरु दिदीहरु गाउँ फर्कनु भयो, उता प्रशस्त दाइहरु छन् । अनि पोखराको दिदी काठमाडौं आउन पाउनु भएन । कुस्मामा भर्खर उहाँहरुले बन्जी खोल्नु भएको थियो । त्यताको कामै व्यस्त भएर दिदी काठमाडौं आउन पाउनु भएन । त्यसैले म पोखरा आएँ,' उनले सुनाए, 'सबै दिदीहरुसँग तिहार मनाउन नपाउँदा सम्झँना आउँदो रहेछ ।'

सरुको बुवा लीलाराम राईलाई नाजिरकी आमाजी मीना बेगमले भाइ बनाएपछि नाजिरले सरुको हातबाट टिका लगाउन सुरु गरेका हुन् । धार्मिक हिसाबले नाजिर मुस्लिम । सरुका परिवार किराँत । सानो छँदै बुवा आमाले गाँसेको सम्बन्धबाट नाजिर सरुको भाइ बने । सानैदेखि सरु र उनका अन्य दिदीबहिनीबाट नाजिरले भाइटीका मनाउन थालेका हुन् ।

यसपाली सबै दिदीलाई फोनबाटै सबैलाई शुभकामना दिए । नाजिरले फ्लोरेन्ससँग भाइटीका मनाउन थालेको भने २ वर्ष भयो । यसपालि दिदीलाई उपहारमा लुगा किनिदिएको सुनाउँछन् नाजिर ।

नाजिरले फ्लोरेन्सलाई चिनेको भने पाँच वर्ष भयो । एक भेटपछि फ्लोरेन्सको मिल्ने साथी भए नाजिर । त्यसपछाडि २/३ वर्ष साथीकै रुपमा उनी दुईको भेट हुन थाल्यो । दुवै नजिकिँदै गए । एकदिन फ्लोरेन्स र नाजिरले एकअर्कासँग आफ्ना जिन्दगीका भोगाइहरु बाँडे । त्यसपछि दुईबीच दिदी भाइको सम्बन्ध गाँसिएको उनी सुनाउँछन् । 'त्यो दिन दिदीले मेरो कान्छो भाइ भइदिएको भए म यसरी नै हुर्कन्थ्यो होला भनेर भन्नुभयो । त्यसपछि मैले कुरा भएको भोलीपल्ट मेरो दिदी बन्न त भनें,' उनले भने,'आमाजीले जसरी लीलाराम राईलाई भाइ बनाउनु भएको थियो त्यसरी नै मैले फ्लोरेन्सलाई दिदी बनाएँ ।'

हरिवंश आचार्यको 'कूल तिहार'

हाँस्य कलाकार हरिवंश आचार्यले दुई दिदीको हातबाट टिका थापेर तिहार मनाए । परिवारका सबैजना भर्खरै कोरोना मुक्त भएका हुनाले तडकभडकबिना नै तिहार मनाउने योजना बनाएका थिए । श्रीमती र बुहारी टिका लगाउन माइतीतिर । घरमा छोरा मोहन र उनीमात्रै । दुवैजानले थोरै सेल पकाए । 'आज घर, महसञ्चारको अफिस र सुटिङ गर्ने स्टूडियोमा पूजा गर्‍यौं । त्यसपछि सेल पकायौं । दिदीहरुसँग टिका लगाएँ । मास्क लगाएर टिका लगाउनु पर्‍यो,' उनले भने ।

हरिवंशकी दिदी शारदा अर्याल बानेश्वरमा बस्छिन् । शारदाकै घरमा भाइटिका मनाए उनले । माइली दिदी गीता ढकाललाई उनले उतै लिएर गएका थिए । अस्ट्रेलियामा रहेकी कान्छी दिदीसँग भने भिडियोमार्फत शुभकामना आदनप्रदान गरेको उनी सुनाउँछन् । 'अस्ट्रेलियामा भएको दिदीलाई पनि उपहार किनेर राखेको छु । अब आउनु भएपछि दिन्छु,' उनले भने ।

नेपालमा भएका दुई दिदीलाई भने तिहारमा उपहार र दक्षिणा दिए उनले । दिदीहरुले पनि उनलाई सेलरोटी र लुगा दिएका थिए । सँधैजसो दिदीहरुलाई उपहारमा सारी किनिदिन्थे उनी । यसपालि उपहारमा दिदीहरुलाई स्वेटर दिएको उनले सुनाए । 'तीनजना दिदीको लागि उपहारमा स्वेटर किनिदिएको थिएँ । ठिकै भएछ, आज मौसम पनि जाडो थियो,' उनले भने,'सारी दिएपछि बाहिर निस्कनु हुन्थ्यो । अब कोरोनाको बेलामा बाहिर जानु भएन नि !'

यस वर्ष कोरोनाले गर्दा तिहार फरक भयो । 'अहिले छोरा र म मात्र घरमा । यसो बाहिर निस्किउँ भनेर गाडी लिएर घुम्न निस्केको । पोहोरको भन्दा बत्तीहरु पनि कम छ । मानिसहरुको चहलपहल पनि कम छ । भैलोदेउसीको आवाज पनि सुनिएन । पटका पड्केको आवाज पनि आएन । यसपाली 'कूल तिहार' भयो,' उनले भने ।

अभिनेत्री केकी अधिकारीको तिहार घरभित्रै सीमित भयो । अरु बेला मामा र ठूलो आमा उनको घरमा भाइटीका मनाउन आउँथे । केकी भने भाइसँगै मामा घर गएर तिहार मनाउँथिन् । यो वर्ष उनको तिहार घरमै सीमित भयो । 'पहिलोजस्तो रौनक छैन । आ-आफ्नै घरमै मनाइयो । देउसी भैलो पनि छैन । पहिला जस्तो तिहार छैन,' उनले भनिन् । भाइ बिम्वलाई उनले टिका लगाइदिइन् । भाइटीकाका लागि आवश्यक सामाग्री अनलाइनबाट मगाइन् । यसपटक उपहारमा भाइलाई सर्ट उपहार दिएको केकीले बताइन् । परिवारसँग रमाइलो गर्न उनले तास पनि खेलिन् ।

भाइटीकाको अघिल्लो दिन धनगढीबाट काठमाडौं फर्केका हुन् अभिनेता पुष्प खड्का । त्यसअघि उनी म्यूजिक भिडियोको सुटिङमा व्यस्त थिए । यसपटक बहिनी राधा खड्का जोशीको हातबाट टिका थापेर उनले तिहार मनाए । दिदी कैलालीमै थिइन् । जुठो परेको हुनाले यसपाली दिदीको हातबाट टिका थाप्न पाएनन् । 'बिहिनी पनि घर गएकी थिइन् । टिका चाहिँ नछुटाउँ भनेर हाम्रो कुरा भयो । अनि उ पनि यता आइन्,' उनले सुनाए ।

प्रकाशित : मंसिर १, २०७७ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?