‘मिस नेपाल २०२०’ को दौड सुरु- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मिस नेपाल २०२०’ को दौड सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना महामारीका कारण आयोजना अन्योल बनेको मिस नेपाल प्रतियोगिता अन्तत: हुने भएको छ । वर्ष २०२० को प्रतियोगितामा छानिएका २१ युवतीलाई मंगलबार एक समारोहबीच सार्वजनिक गरिएको छ । आयोजक संस्था हिडेन ट्रेजरले नेपाल सरकारको मापदण्डअनुरूप सुरक्षाविधि अपनाएर प्रतियोगिता थालनी गरिएको जानकारी दिएको छ ।

गत अप्रिलमा हुनुपर्ने प्रतियोगिता लकडाउन भएपछि रोकिएको थियो । अब डिसेम्बर ५ मा ग्रान्ड फिनाले हुनेछ । यो मिस नेपालको २६ औं संस्करण हो ।

यस पटकको प्रतियोगिताका लागि काठमाडौंबाहिर पोखरा, चितवन र भैरहवासहित आठ सहरमा अडिसन लिइएको थियो । तर, काठमाडौंको अडिसन बाँकी हुँदै लकडाउन भएपछि बाँकी प्रक्रिया रोकिएको थियो । हिडेन ट्रेजरका निर्देशक सुवर्ण क्षत्रीले कोरोना भाइरस केही समय हामीमाझ रहने देखिएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएरै प्रतियोगिता गर्न लागिएको बताए । ‘कोरोनाकै कारण हामी लामो समय रोकियौं तर अब हामी नयाँ परिस्थितिको अवस्थामा अगाडि बढ्नुपर्ने भएको छ,’ उनले भने, ‘त्यसैअनुरूप हामीले प्रतियोगिताका केही ढाँचा परिवर्तन गरेका छौं ।’

उनका अनुसार प्रतियोगीहरूको ८० प्रतिशत प्रशिक्षण अनलाइनबाटै हुनेछ, अन्तिम चरणका केही प्रशिक्षणका लागि भने सबै प्रतियोगीहरूको पीसीआर परीक्षण गरी बूढानीलकण्ठस्थित पार्क भिलेज होटलमा ‘क्लोज क्याम्प’ मा राखिनेछ । त्यसपछि फिनालेपछि मात्र उनीहरू बाहिर निस्कन पाउनेछन् । सीमित अतिथिबीच फिनाले सोही होटलमा हुनेछ, जसको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ ।

यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए, जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका हुन् । यस पटक चिकित्सा विज्ञान पढेका युवतीको बाहुल्य छ । अर्को वर्षदेखि शारीरिक उचाइको मापदण्ड पनि परिवर्तन हुने क्षत्रीले जानकारी दिए । अहिले प्रतियोगितामा सहभागी जनाउन घटीमा ५ फिट ४ इञ्च हुनुपर्छ ।

यो वर्षकी विजेताले मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । कोरोनाकै कारण मिस वर्ल्ड २०२० हुने सकेन । मिस वर्ल्डमा नेपालको उपस्थिति दरिलो हुँदै गएको निर्देशक क्षत्रीको दाबी छ । ‘पछिल्लो सात वर्षमा तीन वर्ष मिस वर्ल्डको मुटु मानिने ‘ब्युटी विद अ पर्पस’ सबटाइटल जित्यौं, यो ठूलो उपलब्धि हो । मिस नेपालका विजेताहरूले नेपालकै सामाजिक र अन्य पेसागत क्षेत्रमा उल्लेखनीय काम गरेका छन्,’ उनले भने । इशानी श्रेष्ठ (२०१३), शृंखला खतिवडा (२०१८) र अनुष्का श्रेष्ठ (२०१९) ले मिस वर्ल्डमा ‘ब्युटी विद अ पर्पस’ जितेका हुन् ।

प्रकाशित : कार्तिक २५, २०७७ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीमा स्वाब परीक्षण न्यून

शुल्क तिर्नुपर्ने नीति ल्याएपछि परीक्षण दर घटेको छ
चाँदनी कठायत

वीरेन्द्रनगर — पछिल्लो समय कर्णालीमा कन्टयाक्ट ट्रेसिङका माध्यमबाट पीसीआर परीक्षण कार्य रोकिएको छ । चिकित्सकको सिफारिसमा स्वाब परीक्षण हुन थालेपछि कोरोना संक्रमितको संख्यामा पनि कमी देखिन थालेको छ ।

दसैंपछि हालसम्म कर्णालीका विभिन्न प्रयोगशालाबाट २ हजार ९ सय १६ जनाको मात्र स्वाब परीक्षण भएको छ । कात्तिक ११ गते कर्णालीका चारवटै प्रयोगशालामा एक जनाको पनि स्वाब परीक्षण भएन । कात्तिक ९ र १२ गते पनि दैलेखस्थित प्रयोगशालाबाहेक अन्यमा परीक्षण शून्य रह्यो । कात्तिक १६ गते पनि दैलेख र रुकुमबाहेक अन्य प्रयोगशालामा परीक्षण नभएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत आइतबार पनि कर्णालीका ३ वटा प्रयोगशालामा परीक्षण भएन ।

कर्णालीमा सुर्खेतस्थित प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी अस्पतालमा स्वाब परीक्षण हुने गरेको छ । सरकारले शुल्क तिर्नुपर्ने नीति ल्याएपछि परीक्षण दर घटेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताए । उनका अनुसार स्वाब परीक्षणका लागि व्यक्तिहरू पनि कम आउने गरेका छन् । ‘पहिला समुदायमै गएर स्वाब संकलन गथ्र्यौं,’ उनले भने, ‘सरकारले अहिले डाक्टरको सिफारिसपछि मात्रै स्वाब परीक्षण गर्ने भनेकाले यो काम पनि प्रभावित भयो ।’ उनले पछिल्लो समय कन्टयाक्ट ट्ेरसिङ पनि नभएको बताए ।

स्वाब संकलन कम भएका कारण परीक्षण पनि घटेको निर्देशनालयका ल्याब इन्चार्ज ओम आचार्यले बताए । उनले प्रदेश अस्पतालको प्रयोगशालामा थोरै परीक्षण गर्दा खर्च बढी हुने भएकाले पनि कुनै दिन परीक्षण नै नगरिएको जानकारी दिए । कर्णालीमा सोमबारसम्म ८९ हजार ९ सय ३५ स्वाब परीक्षण गरिएको छ । सबैभन्दा धेरै सुर्खेतमा ४६ हजार ३ सय १६, जुम्लामा २७ हजार ३ सय १८, रुकुम पश्चिममा ९ हजार ६ सय २९ र दैलेखमा ६ हजार ५ सय ८३ स्वाब परीक्षण भएको हो ।

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर अन्य प्रदेशभन्दा न्यून छ । अहिलेसम्म ६ हजार २ सय ६८ संक्रमित रहेको कर्णालीमा १६ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये ५ हजार ६ सय १ जना निको भएर घर फर्किएका छन् । निर्देशनालयका अनुसार संक्रमितमध्ये कर्णालीमा ०.००२५ प्रतिशतको मात्रै मृत्यु भएको छ । अहिले कर्णालीका विभिन्न आइसोलेसनमा ६ सय २६ जना संक्रमित भर्ना गरिएका छन् । कोरोना महामारी सुरु भएपछि प्रदेश सरकारले १० वटै जिल्लामा स्वास्थ्य पूर्वाधारमा गरेको सुधारले पनि संक्रमितको उपचारमा सजिलो भएको हो ।

प्रकाशित : कार्तिक २५, २०७७ १९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×