हरायो भोजपुरी फिल्म गतिविधि

शंकर आचार्य

पर्सा — नेपाली भाषाका फिल्मपछि मुलुकमा बराबर निर्माण भइरहने हैसियत बनाउनेमा गुरुङ र भोजपुरी फिल्म छन् । कोरोना महामारी बढ्दा लकडाउनसँगै गत चैतदेखि बन्द सिनेमाघर अझैसम्म खुलेका छैनन् । फिल्म निर्माणका सबै गतिविधि ठप्प छन् ।

हरायो भोजपुरी फिल्म गतिविधि

नेपाली भाषाकै फिल्म निर्माण ठप्प छ । तैपनि कलाकार टेलिभिजन र युट्युबका लागि कार्यक्रम बनाउँदै आफ्नो उपस्थिति बलियो पार्दैछन् । गुरुङ र भोजपुरी भाषाका फिल्म निर्माता र कलाकार भने चुपचाप बसेका छन् । बाहिर निस्कँदा संक्रमणको त्रास, ननिस्कँदा फिल्म निर्माणका गतिविधि नै ठप्पको अवस्था छ ।

एक समय तराईका सिनेमाघरमा भोजपुरी फिल्मको बेग्लै धाक थियो । हिन्दी र नेपालीपछि राम्रै व्यापार गर्ने भोजपुरी भाषाका फिल्ममा भारतकै दबदबा रहिआएको छ । यसमा नेपाली सिनेकर्मीले प्रयास नगरेका होइनन् । केही राम्रा फिल्म बने । व्यापार पनि राम्रै हुँदा कलाकर्मीको संख्या पनि थपिँदै थियो । वीरगन्जलाई आधार क्षेत्र मानेर निर्माण हुने भोजपुरी फिल्मका गतिविधि यतिबेला ठप्प छ । कोरोनाले यो उद्योगलाई ठूलो धक्का दिएको छ । कोरोनाबाट भोजपुरी फिल्म उद्योगले दुई कलाकार पनि गुमाएको छ ।

गत साता कोरोनाले पहिलो भोजपुरी टेलिशृंखला ‘कइसे भइल’ का नायक श्रीराम उपाध्यायको निधन भयो । यसै वर्ष भोजपुरी कलाकार पुष्पा पाण्डेको पनि मुटु रोगले निधन भयो । व्यावसायिकतातर्फ उन्मुख हुँदै गएको यो उद्योगलाई कोरोना महामारीले ठूलै धक्का दिएको छ ।

त्यसो त लकडाउनअघि नै भोजपुरी फिल्म उद्योग समस्यामा थियो । भारतीय फिल्मका कारण छायामा परेको नेपाली उद्योगलाई नयाँ उत्साह थप्न भोजपुरी चलचित्रको निर्माण आवश्यक थियो तर अचानक कोभिड महामारी सुरु भएपछि त्यसले झन् समस्या थपेको भोजपुरी फिल्मका निर्देशक अनिल सर्राफ बताउँछन् । वीरगन्जमा सिनेमाघरका सञ्चालकसमेत रहेका उनी महामारीले यो क्षेत्र तहसनहस पारेको बताउँछन् । उनले ‘ना मिलल सास–ससुर के प्यार’ र ‘प्यार करेला हिम्मत चाही’ निर्देशन गरेका फिल्म हुन् ।

भोजपुरी फिल्मका कलाकार प्रदेशी साहले भोजपुरी, मैथिली, थारूजस्ता क्षेत्रीय भाषाका फिल्म र कला क्षेत्रलाई जोगाउन संघ र प्रदेश दुवै सरकार गम्भीर हुनुपर्ने बताए । ‘हालसम्म हामी कलाकर्मीले आफ्नो प्रयासमा भोजपुरी र मैथिली भाषाका फिल्मको जगेर्ना गर्‍यौं,’ उनले भने, ‘अब यो क्षेत्रको संरक्षण र उन्नयनको काम सरकारी स्तरबाट हुन जरुरी छ, त्यो संघ वा प्रदेश सरकार जसले गर्दा पनि हुन्छ, नत्र एउटा पहिचान बनाइसकेको भोजपुरी र मैथिली फिल्म उद्योग इतिहास बन्नेछन् ।’

सरकारी पक्षबाट भोजपुरी चलचित्र क्षेत्रलाई जोगाउने काम नभए ‘धर्ती मैया’, ‘गंगा किनारे मोरा गाँव’, ‘नदिया के पार’, ‘सजनवा बैरी भइले हमार’ जस्ता पुराना भारतीय भोजपुरी फिल्म हेरेर हुर्किएका आफूहरूको पुस्ता फेरि भारतीय भोजपुरी फिल्मतिरै आकर्षित हुने बाध्यता रहेको कलाकार शिवजी विश्वकर्माले बताए । ‘राजनीति’ र ‘मेला’ नेपाली चलचित्रका निर्माता/निर्देशक हरि पन्त स्थानीय कलाकारहरूलाई समेटेर नयाँ भोजपुरी फिल्म बनाउने योजना कोभिड महामारीले स्थगित भएको बताउँछन् ।

पछिल्लो समय मैथिली चलचित्र उद्योगमा सक्रिय रहेको भोर फिल्म्स प्रालि पनि कोभिड महामारीले आफ्ना नयाँ योजना तुहिएका कारण निष्क्रिय बन्न पुगेको छ । भोरका संस्थापक राजकुमार महतो कोभिड महामारीकै कारण ठूलो बजेटको महात्त्वाकांक्षी मैथिली फिल्म ‘सलहेस’ को छायांकन पछि धकेलिएको बताउँछन् । ‘हामी सुटिङ थाल्ने सुरसारमा थियौं,’ उनले भने, ‘तर कोरोनाले गाह्रो पार्‍यो । स्थिति सामान्य नभएसम्म हामी पछि हटेका छौं ।’

यसै कम्पनीले गत वर्ष नेपाली चलचित्र ‘राज्जा रानी’ लाई मैथिलीमा डब गरेर प्रदर्शन गरेको थियो । यसबाहेक कम्पनीले नेपाल, भारत र बंगलादेशमा रहेका मुसहर जातिको स्वास्थ्य समस्या समेटेर निर्माण गरेको एउटा डकुमेन्ट्री पनि प्रदर्शनमा समस्या भएको महतो बताउँछन् ।

नेपाली भोजपुरी फिल्मको इतिहास करिब दुई दशकको छ । वीरगन्जमै बसेर मूलधारका आधा दर्जन बढी नेपाली चलचित्र बनाइसकेका निर्माता/कलाकार नन्दु श्रीवास्तवले २०५८/५९ सालतिर पहिलो भोजपुरी फिल्म ‘कब होइ मिलनवा हमार’ बनाएका थिए । नेपाली फिल्मका स्थापित निर्देशक किशोर रानाको निर्देशनमा बनेको उक्त चलचित्रमा रवि किशन, निरुता सिंह, कमल किसन, विजय खरेलगायत बलिउड र कलिउडका कलाकारले अभिनय गरेका थिए । पहिलो चलचित्रको व्यावसायिक सफलतापछि श्रीवास्तवले २०६२ मा अर्को भोजपुरी चलचित्र ‘सास ननद भौजाई’ बनाए । यो चलचित्रमा कलिउडका कल्याण घिमिरे, गरिमा पन्त, गीता घिमिरेलगायत अनुहार थिए ।

२०६४ मा नन्दु श्रीवास्तवको दोस्रो भोजपुरी फिल्म ‘सजनवा अनाडी सजनी खिलाडी’ प्रदर्शनमा आयो । उनले किशोर रानालाई निर्देशनमा दोहोर्‍याए भने बलिउडका कृष्णा अभिषेक, कलिउडका निखिल उप्रेती, अरुणिमा लम्साललाई नायक–नायिकाको भूमिकामा राखे ।

२०६७ मा श्रीवास्तवले किशोर रानाकै निर्देशनमा अर्को फिल्म ‘तु हमार साथी रे’ ल्याए । यस फिल्ममा रवि किशन, निखिल उप्रेती, मिथिला शर्मा, उषा पौडेल, सौजन्य सुब्बालगायत बलिउड र कलिउडका कलाकारले अभिनय गरेका थिए । यो फिल्मपछि श्रीवास्तवले फेरि भोजपुरी फिल्ममा हात हालेनन् । हाल उनी अमेरिकामा छन् ।

त्यसपछि शोभा देवी निर्माता रहेको ‘ना मिलल सास ससुरके प्यार’ २०६८ मा आयो । अनिल सर्राफको निर्देशनको यो फिल्ममा कल्याण घिमिरे, गरिमा पन्त, कमल किशन र शिवजी विश्वकर्माले अभिनय गरेका थिए । २०७० मा शोभा देवीको दोस्रो फिल्म ‘प्यार करेला हिम्मत चाही’ प्रदर्शनमा आयो । अनिल सर्राफकै निर्देशनमा बनेको यो फिल्ममा बिराज भट्ट, सुदीप पाण्डे, रेजिना उप्रेती, प्रिया शर्माले अभिनय गरेका थिए । यसै चलचित्रबाट कलिउडका एक्सन नायक विराज भट्ट भारतीय भोजपुरी चलचित्र उद्योगमा स्थापित हुन पुगे ।

२०७४ मा ‘एसपी खरेल द रियल हिरो’ प्रदर्शनमा आयो । ३ वर्षको अन्तरालपछि गत माघको चौथो साता रमन बस्नेतको निर्देशनमा रहेको फिल्म ‘मधेसी बाबु’ प्रदर्शनमा आयो तर एक महिना नबित्दै सुरु भएको कोरोना महामारीका कारण यो फिल्मले राम्रो व्यापार गर्न पाएन ।

प्रकाशित : कार्तिक १६, २०७७ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?