१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

समीक्षा : कस्तो छ ‘मिर्जापुर २’ ? 

गोकर्ण गौतम

काठमाडौँ — ‘सेक्रेड गेम्स’को पहिलो सिजन मन नपर्ने को होला ?

सायदै कोही छन् ।

‘सेक्रेड गेम्स’को दोस्रो सिजन मन पर्ने को होला ?

सायदै कोही छन् ।

समीक्षा : कस्तो छ ‘मिर्जापुर २’ ? 

अब यही प्रश्न हिन्दीभाषको अर्को चर्चित वेब सिरिज ‘मिर्जापुर’को हकमा सोध्दा फरक उत्तर आउने छ । अर्थात्, जसलाई ‘मिर्जापुर’ को पहिलो सिजनले फ्यान बनाएको छ, तिनलाई यसको दोस्रो सिजनले निराश बनाउँदैन । उधुम मन नपर्ला अलग कुरा तर पहिलो सिजनको स्वाद बिगार्दैन । यसमा ढुक्क भए हुन्छ ।

‘सेक्रेड गेम्स’का फरक प्रवृत्तिका पात्र र कथावाचनको झर्रोपनसँग दर्शकहरु लठ्ठ भएका थिए तर दोस्रो सिजनमा यी दुई तत्व विलिन भए । स्टाइलिस र नयाँ पात्रलाई घुसाउने चक्करमा यसले आफ्नो मौलिक सुन्दरता गुमायो । ‘मिर्जापुर २’ भने यो संक्रमणबाट लगभग मुक्त छ । ‘पेसिङ’, पात्रहरुको प्रवृत्ति, कथाबुनोट र विकासक्रममा पहिलो सिजनभन्दा धरमर हुन दिइएको छैन । पहिलो सिजनको अन्त्य र दोस्रोको सुरुवात निकै चलाखीपूर्ण तरिकाले गरिएको छ । यसको जस निश्चय नै निर्देशकद्वय करण अंशुमान र गुरमित सिंहलाई जान्छ ।

‘सेक्रेड गेम्स’ नेट्फिलिक्सको हो, ‘मिर्जापुर’ अमाजोन प्राइमको । फरक प्लेटफर्म र फरक समयमा प्रिमियर भएका यी दुई सिरिजलाई किन दाँजियो भन्ने लाग्ला, त्यसको कारण छ । एक त ओरिजिनल हिन्दी वेबसिरिजमा यिनीहरु एकदमै प्रतिस्पर्धी हुन् । यी दुई जत्तिको चर्चा सायदै अरु हिन्दी वेबसिरिज भएको छ । दोस्रो कारणचाहिँ, दुईको अन्तर्यमा हिंसा, गुन्डागर्दी, तस्करी, सेक्स, ड्रग्स र राजनीति छ । ‘सेक्रेड गेम्स’मा आतंक पनि जोडिएको छ, ‘मिर्जापुर’चाहिँ आपराधिक परिवारको पुस्तान्तरणको रस्साकस्सी हो ।

अबचाहिँ ‘मिर्जापुर’को मात्र चर्चा गरौं ।

तपाईंले ख्याल गर्नु भएको थियो ? ‘मिर्जापुर’को पहिलो र अन्तिम दृश्य एउटै थियो, बिहेमा मुना (दिभ्यन्दु शर्मा)को ताण्डव । उत्तर प्रदेशको मिर्जापुर जिल्लाका खुंखार डन कालीनभैया (पकंज त्रिपाठी)को छोरो मुन्नाले अनाहकमा बेहुलाको हत्या गरेपछि उनको परिवारले कानुनी लडाई लड्ने साहस देखाउँछन् । त्यसपछि ‘मिर्जापुर’को मूल कथा सुरु भएको थियो । र, सिरिजको अन्तिममा पनि मुन्ना बिहेमै पुग्छन्, बेहुलामात्र होइन, आफूले मन पराएर नपाएकी केटी (स्वीटी) र उनको श्रीमान्को दाई बब्लु (विक्रान्त मेस्सी)को हत्या गर्छन् ।

‘मिर्जापुर २’को कथा यहींबाट अगाडि बढ्छ ।

भन्नु परेन, यो बदलाको कथा हो । बदला धेरै पात्रको धेरैसँग छ । बदलाको केन्द्रमाचाहिँ मुन्ना छन् । पहिले बब्लु र उनका भाई गुड्डु (अली जाफर)ले कालीनभैयासँगै काम गरेका थिए तर मुन्नाको कारण वैमनस्यता बढ्यो । सोही कारण मुन्नाले गुड्डीकी पत्नी स्विटी र बब्लुलाई मारिदिन्छन् । स्विटीकी बहिनी गोलु (श्वेता त्रिपाठी) र बल्लुको प्रेम हुन्छ । सोही कारण मुन्ना र कालीनभैयालाई सक्काउन लागिपर्छन्, गुड्डु र गोलु । उता, गुड्डुलाई मार्न नसकेको अधुरो काम पुरा गर्नु छ मुन्नालाई । गुड्डुले हत्या गरेका बिहार जोनपुरका डन रतिशंकरका छोरा शरद शुक्लाचाहिँ मुन्ना, कालीनभैया र गुड्डु सबैलाई सिध्याउने योजनामा छन् । र, सबैलाई मिर्जापुर चाहिएको छ । मुन्ना त बुबालाई मारेरै भए पनि मिर्जापुरको राजा बन्न चाहन्छन् । उनले आफूलाई घोषणा गरिसकेका छन्– ‘किङ अफ मिर्जापुर’ ।

बदलापछि बफादारिताको कथा छ, ‘मिर्जापुर २’मा ।

कालीनभैयाप्रति मकवुल (शाजी चौधरी)को बफादारिता, गुड्डुप्रति मकवुलका भान्जा बाबर (आसिफ खान) को बफादारिता । युपीका मुख्य मन्त्रीप्रति कालीनभैयाको बफादारिता, कालीनभैयाप्रति मुख्यमन्त्रीको । स्वार्थ पूरा भइन्जेल बफादारिताको इनाम दिने, नत्र आफैं सक्काउने भयानक प्रवृत्तिले सबैमा एकअर्काप्रति घोर डर र अविश्वास छ । पात्रहरुको यही बिथोलिएको मनोविज्ञानलाई मूल कथासँग निर्देशकद्वयले चाखलाग्दो ढंगले जोडेका छन् । त्यसैले ‘अब के होला ?’ भन्ने कौतुहलले १० एपिसोडको सिरिज हेरुन्जेल पछ्याइरहन्छ ।


पहिलेका पात्रलाई उही रफ्तारमा ‘स्पेस’ दिइएको त छ नै, नयाँ पात्र पनि थपिएका छन् । बिहारका बाहुबली शुक्ला, उनका जुम्ल्याहा छोराहरु, रहस्यमयी लगानीकर्ता रोबिन, युपीका मुख्यमन्त्रीका भाई जेपी यादवकी सहयोगी जरीना, मुख्यमन्त्रीकी विधवा छोरी माधुरी यादव आदि–आदि । पहिलो सिजनमा झल्याक–झुलुक देखापरेका शरद शुक्ला यसपालि देखापरिरहन्छन् । तर, अपेक्षाकृतरुपमा अन्त्यसम्मै उनको पात्र बलियो लाग्दैन । बाबुको हत्यापछि बाध्य भएर गुन्डागर्दीमा लागेका शरदसँग बदला लिने र मिर्जापुर हत्याउने लालसा त छ तर सोही अनुपातमा आँट र रणनीति छैन । छाँया बन्दा–बन्दा यो सिजन सकिन्छ ।

तर, पहिलो सिजनमा खासै महत्व नदिइएका र कथाक्रममा पनि दबाइएका केही पात्र यसपटक शक्तिशाली रुपमा देखापरेका छन् । जस्तो ः गोलु । चुनावमा उठे पनि पहिलो सिजनमा उनी कथाको मूल वेगमा अटाएकी थिइनन् तर यसपाली मेरुदण्ड बनेकी छन् । गोली चलाउँदिनन् मात्र, अवैध व्यापारको सञ्जाल बिस्तारमा जोडतोडले लाग्छिन् । पुरुष डनहरुको दबदबा भएको सिरिजमा उनको उपस्थितिले अनेक अर्थ राख्छ । ससुराबाट बलात्कार भएर पनि चुप बस्न बाध्य विना भाबी (रसिका दुगल) ले यसपटक प्रतिशोधका लामै श्रृंखला पार गर्छिन् । उनी आफैं बन्दुक चलाउँदिनन् तर उनको षड्यन्त्रले त्रिपाठी परिवार ध्वस्त हुन सघाउ पुग्छ । कालीनभैयाकै घरमा काम गर्ने अर्की एक युवतीले सत्यानन्द त्रिपाठी (कुलभूषण खरबन्दा) लाई सक्काएको दृश्यलाई यौन हिंसाविरुद्धमा महिलाहरुमा मौलाएको आँट र एकताका रुपमा अर्थ्याउन सकिन्छ ।

युपी र बिहार अपराधको अखडा मानिन्छ । सत्तामा पुग्न र टिकिरहन अपराधीलाई च्याप्ने प्रवृत्ति त्यहाँ खुब मौलाएको छ । कतिसम्म भने न्याय र शान्तिको दुहाई दिने रामकान्त पण्डितजस्ता वकिलसमेत बन्दुक नबोकी हिँड्न सक्ने अवस्था छैन । अपराध र राजनीतिको त्यही ‘नेक्सस’लाई ‘मिर्जापुर २’ मा उदांगो पारिएको छ । राजनीतिमा अपराध हुन्छ वा अपराधमा राजनीति ? अपराधी नेता बन्छन् कि नेता अपराधी ? खुट्याउनै मुस्किल पर्छ । अपराधको आडमा मन्त्री बनेका त्रिपाठी र अपराधीलाई संरक्षण दिएर सत्तामा पुगेका यादवजस्ता पात्रहरु हामीकहाँ पनि बग्रेल्ती छन् । चुनावमा पुनः बहुमत ल्याउनकै लागि अपराधीसँग छोरीको बिहे गरीदिन्छन्, मुख्यमन्त्रीले । विधवा छोरीको बिहे गरिदिएको भनेर सस्तो प्रचार गर्छन् । बहुमत ल्याएपछि सम्धीलाई मन्त्रीमण्डलमा ल्याउँछन् । यस्ता दृश्यहरुले हाम्रै राजनीतिक घटनाक्रमलाई सम्झाउँछ ।

अश्लील गालीगलौज र काटमार पहिलो सिजनको भन्दा रत्तिभर कम छैन । हिंसाका कतिपय दृश्य अतिरञ्जित लाग्छन् । केही पात्र र तिनीहरुको हर्कतलाई एकदमै क्रुर देखाइएको छ । तर, यौनका दृश्यलाई भने धेरै हदसम्म कलात्मक बनाउन खोजिएको छ । सत्यानन्द, जेपी यादवझैं विकृत यौन मानसिकता बोकेका पात्रहरु हाम्रो समाजभित्र कति होलान् ? उनीहरुलाई झैं सजाय दिने बिना भावी, जरीनाजस्ता साहसी महिलाहरु होलान्/नहोलान् ? यौन प्यासमा तड्पिरहेका गोलु र माधुरी यादवहरु पनि यही समाजका प्रतिनिधिहरु हुन् । युपी र बिहारमा मौलाइरहेको गोली र ड्रग्सको बिगबिगीलाई मूल कथामा विश्वसनीय ढंगले उन्न सक्नु निर्देशकद्वयको खुबी हो ।

पहिलो सिजनमा हातमात्र चलाउने गुड्डुले दोस्रो सिजनमा दिमाग पनि चलाएका छन् । पत्नी र दाईको वियोगले उनमा परिपक्वता आएको देखिन्छ । जसले दुश्मन सक्काउन गोलीमात्र होइन, रणनीतिको पनि सहारा लिन्छन् । अलीको अभिनय पनि यसपालि निकै संवेदनशील लाग्छ, पात्रलाई जीवन्त बनाउन उनले सक्दो मेहनत गरेका छन् । अनुहारबाटै उनीभित्रको आवेग अनुभूत हुन्छ । देख्दा र बोल्दा कालिनभैया उत्तिकै ‘कूल’ छन्, भलाद्मी लाग्छन् । तर, उनको आपराधिक र शक्तिमा बसिराख्ने मोह अझ आकासिएको छ । विडम्बना के भने न उनी छोरालाई विश्वासमा लिनसक्छन्, न आफ्नो विश्वासपात्रलाई जोगाइराख्न । उनको लागि शत्रु पराइभन्दा आफ्नै बढी छन् । पंकजका लागि कालीनभैयाको भूमिका निश्चय नै ‘माइलस्टोन’ हो ।

आफ्नो विश्वासपात्र कपाउन्डरलाई आफैंले मार्नुपरेपछि मुन्ना अझ उदण्ड र अहंकारी भएका छन् । आफूलाई कसैले मार्नै नसक्ने दम्भ छ उनीसँग । मिर्जापुरको गद्दी हत्याउन उनी जुनसुकै हर्कत गर्न तयार छन् । अवगुणै–अवगुणले भरिएको यस चरित्रमा दिभ्यन्दु शर्मा निपूर्ण लाग्छन् । ‘मसान’की सोझी प्रेमिका श्वेता त्रिपाठी यसमा ग्याङस्टार बनेकी छन् । पात्रका रुपमा उनको रुपान्तरण गज्जब छ । रसिका दुग्गल, शाजी चौधरी, इशा तलवार, मेघना मलिकजस्ता हरेक कलाकारले पात्रलाई न्याय गरेका छन् ।

पहिलो सिजनको तुलनामा यसपालि चोटिला संवादहरुको मात्रा ज्यादा छ । कहाँ कतिखेर कसलाई कसले मार्छ टुंगो हुन्न । क्राइम–थ्रीलर जनरालाई पछिल्लो समय भारतीय समाजको नियतिसँग सर्लक्कै अन्तरघुलन गराउने पहिलो जस अनुराग कश्यपलाई जान्छ । यसको बिउ उनले खासगरी ‘ग्याङ्स अफ वासेपुर’ १ र २ बाट रोपेका हुन् । ‘सेक्रेड गेम्स’ त्यसको परिवर्तित र आधुनिक स्वरुप हो । ‘मिर्जापुर’लाई यो श्रृंखलाबाट अलग राख्न सकिन्न । यत्ति भनेपछि यो सिरिज कसलाई मन पर्नेरहेछ, भनिरहनु नपर्ला ! काटमार र गालीगलौजलाई पचाउन नसक्नेलाई भने यसले तनावमात्र दिन्छ । ग्याङस्टार, तस्करी, पारिवारिक लफडा, राजनीतिभित्रको अध्याँरो पाटो हेर्न चाहनेले यो सिरिज नछुटाउँदा हुन्छ । पहिलो सिजन नहेरी दोस्रो सिजन नबुझिने वा मज्जा नआउने होइन तर पनि पहिलो सिजन हेरेकै जाती । यो हेर्न अमाजोन प्राइमको एकाउन्ट हुनैपर्छ भन्ने पनि नहोला, तपाईं इन्टरनेट चलाउन जान्नुहुन्छ भने अनेक उपाय छन् । भन्छन् नि, ‘खाने मुखलाई जुंगाले छेक्दैन ।’

र, अन्त्यमा, ‘मिर्जापुर’का फ्यानलाई दुई खुशीको खबर ।

पहिलो, भारतीय मिडियाका अनुसार सबैभन्दा धेरै हेरिएको हिन्दी बेवसिरिजमा ‘मिर्जापुर’ दर्ज भएको छ ।

दोस्रो, यसको तेस्रो सिजन पनि आउने भएको छ । पहिलो सिजनको बजेट १२ करोड भारु थियो, दोस्रोको ६० करोड पुग्यो, तेस्रोको ९० करोड आसपासमा हुने बताइएको छ ।

प्रकाशित : कार्तिक ९, २०७७ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?