१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

गायक/गायिकाको दसैँ : न स्टेज कार्यक्रम, न हर्षोल्लास

रीना मोक्तान

काठमाडौँ — गायक प्रमोद खरेलले राम्ररी दसैँ मनाउन नपाएको ६ वर्ष भयो । दसैँको समयमा अक्सर विदेशका स्टेज कार्यक्रममा व्यस्त हुन्थे उनी । कोरोना महामारीका कारण अहिले देश/विदेशका कार्यक्रम ठप्प छन् । त्यसै उनी पनि व्यस्त छैनन् । लामो समयपछि दसैँमा घर बस्न पाए पनि दसैँको उल्लास भने उनमा छैन ।

गायक/गायिकाको दसैँ : न स्टेज कार्यक्रम, न हर्षोल्लास

'दसैँ त दसैँजस्तो छैन पहिलोचोटी । दसैँ आएकै छैन। दसैँ आउनलाई त रमाइलो हुनुपर्छ, भेटघाट हुनुपर्छ, उर्जाशील हुनुपर्छ, हर्षोल्लास हुनुपर्छ,' उनले सुनाए, 'लामो समयपछि आफन्तसँग भेट हुने चाड हो यो । तर योपटक कोरोनाले गर्दा भेट गर्न भएन । वल्लो घरदेखि पल्लो घर जानु हुँदैन । रमाइलो जमघट नभएसम्म त दसैँ नै आएको छैन नि ! बजारमा सपिङ गर्न जाउँ मिल्दैन, कोरोनाको बिगबिगी छ ।'

यो दसैँमा त आफन्त पनि घर आइदियोस् भन्ने माहोल नरहेको उनी बताउँछन् । 'चाडपर्व त यसपालि आएन नै भनौं । दसैँ पनि अर्कोपालि आउँछ,' उनी सुनाउँछन्, 'मलाई दसैँ पटक्कै लाग्या छैन । दसैँ त यस्तो हुँदै हुँदैन । दसैँ आउनु १ महिना अगाडिदेखि नै रमाइलो हुन्थ्यो अरुबेला त । दसैँका धुनहरु बज्छन्, घर जाने टिकट खुल्छ । बजारभरि भीड हुन्छ । हामी कलाकारको त कार्यक्रमहरु हुन्थ्यो । यी कुनै कुराहरु छैन नि त त्यसैले दसैँजस्तो छैन । क्यालेण्डरमा मात्र दसैँ आएको छ।'

यसपालि उनको दसैँ यतै बित्दैछ । यता आमा, बुवा र प्रमोदमात्र । आफन्तकहाँ जाने सोचेका पनि छैनन् । 'आफन्तकोमा गए न हामीलाई सुरक्षा हुन्छ न त उहाँहरुलाई नै । त्यैसैले अरुकोमा जान हुँदैन यसपालि,' उनले भने । उनी कतिपटक विदेश कार्यक्रममा भए पनि अन्तिम दिन टिका भ्याउने गरेर घर फर्कन्थे । टिका थाप्न नपाए पनि अरुबेला फ्यानसँग दसैँ मनाउँथे । 'पहिले त दसैँको माहोल टिभी र सामाजिक सञ्जालमा हेरेरै थाहा हुन्थ्यो । कन्सर्टमा बाहिर भए पनि आह्हा ! दसैँ आयो भन्ने अनुभव हुन्थ्यो । रमाइलो हुन्थ्यो । जे होस् देशबाहिर हुँदा त्यताकै आफन्तहरुसँग भेट हुन्थ्यो । अहिले त त्यस्तो छैन,' उनले भने।

अवस्था सामान्य हुँदो हो त दसैँमा उनी काठमाडौंकै आफन्त कहाँ टिका थाप्न जाने थिए । झापाका आफन्तसँग भेटघाट गर्ने थिए । यो वर्ष त गाउँ/घरमै पनि कोरोनाको त्रासले दसैँको उल्लास नरहेको उनी बताउँछन् । 'घर/गाउँतिर रोगसँग डराइरहेका छन् । दसैँभन्दा रोग ठूलो भनिरहेका छन्,' उनले भने, 'अहिले त मजदुरले काम गर्न पाका छैनन् । काम गर्न नपाएपछि हातमा पैसा हुँदैन । कतिलाई खानै गाह्रो छ । यस्तो अवस्थामा दसैँको उल्लास त मनमा आउँदै आउँदैन । भोलि सबै निको भएर, काममा फर्किएपछि सबै खुशी भएर आह्हा ! दसैँ भनेको दिन साँच्चै दसैँ लाग्नेछ मलाई ।'

यसपाली स्टेज कार्यक्रम नभएपछि दसैँभरिको समय परिवारसँग बिताउन पाएकी छन् गायिका मेलिना राईले । गत वर्ष त टिकाको दिनमात्र उनी घर फर्किएकी थिइन् । यसपालि परिवारसँग दसैँ मनाउन पाउँदा उत्साहित छिन् उनी । 'पहिला हामी दसैँमा घरमा बस्न पाइँदैन थियो । यसपालि महामारीले गर्दा परिवारसँग दसैँ मनाउन पाइयो,' उनले सुनाइन् ।

यसपाली परिवारमा जुठो परेको छ । त्यसैले आफन्तसँगको जमघटमै रमाइलो गरेर दसैँ मनाउने योजना बनाएकी छिन् उनले । 'आफन्त आउने तयारीमा हुनुहुन्छ । घरमा रमाइलो गर्ने, खाने पिउने । वर्षमा आउने एउटा चाड हो । मनाउनु त परिहाल्यो । पहिलाको जस्तो छैन अवस्था तर पनि खुशीसँग मनाउने योजनामा छौं,' उनले भनिन् ।

यसपालि कोरोनाले गर्दा दसैँको रौनक हराएको उनी बताउँछिन् । 'यसपालि कोरोनाले खत्तम पारिहाल्यो । पहिलाको जस्तो दसैँको रौनक देखिन्नँ । अहिले कोरोनाको त्रास छ,' उनले सुनाइन् । बाल्यकालमा पिङ खेल्न रुचाउँथिन् मेलिना । अहिले भने ठूलाबडाबाट आशिर्वाद लिएर दसैँ मनाउँछिन् उनी । दसैँले बाल्यकाल फर्काइदिएको अनुभव हुन्छ उनलाई ।

गायक शिव परियार यसपालिको दसैँ उल्लासमय नरहेको बताउँछन् । 'यो वर्ष सदाको जस्तो उल्लासमय अवस्था छैन । उल्लासमय अवस्था हुनको लागि परिवारमा खुशी छाउनु पर्‍यो । छिमेकमा खुशी छाउनु पर्‍यो । छिमेक सँगसँगै टोलमा र देशमा खुशी छाउनु पर्‍यो । त्यसपछि आफ्नो मन पनि खुशी हुन्छ,' उनले भने ।

घरका सदस्यहरुसँग नै दसैँ मनाउने योजना छ उनको । 'कोभिडको चरम संक्रमणको कारणले गर्दाखेरी आफू पनि अरुबाट पीडित नभइयोस् अरुलाई पनि आफूले गर्दा केही नहोस् भनेर स्वास्थ्य सुरक्षाका कुरामा ध्यान दिएर आफ्नै घरभित्र बुवाआमाको हातबाटमात्र टिका जमरा थाप्ने निर्णय गरियो,' उनले आफ्नो योजना सुनाए । परिवारमा आमाबुवा, बहिनी, श्रीमती र छोरी छन् । यसपालिको दसैँ परिवारभित्रै सिमित हुने उनी बताउँछन् । ‍'पहिला त पाहुना आउनुहुन्थ्यो । हामी पनि आफन्त कहाँ जान्थ्यौं । यसपालि त पाहुना जानलाई पनि जोखिम छ । भोलि हामी जम्मा भएको परिवारमा कोरोना संक्रमण देखियो भने हामीलाई नमज्जा हुने भयो,' उनले भने, 'एक हिसाबले स्वास्थ्य संकटकाल नै घोषणा गर्नुपर्ने अवस्था आइसक्दा पनि सरकारले आफ्नो उपचार आफैं गर्नुपर्छ भन्ने निर्णय गर्‍यो । गैरजिम्मेवारीपन देखायो । चाडको समयमा अलिकति 'हामी कोसिस गर्दैछौं है' भन्ने ढाडस दिएको भए पनि दसैँको बेलामा जनतामा खुसी छाउँथ्यो होला ।'

दसैँको बेला पनि स्टेज कार्यक्रममा व्यस्त हुने गरेका शिव यसपालि घरमै छन् । कोरोनाकै कारण उनी बजार पनि निस्किएनन् । 'दसैँमा गर्ने सपिङको छुट्टै मज्जा छ । दसैँ भन्ने बित्तिकै टिका जमरा, दक्षिणा, नयाँ लुगा, पिङ, चंगा यो सबै जोडिएर आउँछ । अरु बेला जति नै राम्रो लुगा किने पनि दसैँको बेलामा किन्दा 'लुगा किनियो है' भन्ने महसुस हुन्थ्यो,' उनले भने, 'अहिले बजार निस्कन पनि अनुकूल वातावरण छैन । घरमा वृद्ध आमाबुवा हुनुहुन्छ । आफ्नो कारणले घरपरिवारको वृद्ध सदस्यलाई असर नपरोस् भनेर भीडभाडमा जाने काम बन्द नै छ ।'

गायिका एलिना चौहान परिवारसँग दसैँ मनाउन झापा पुगिसकिन् । दुई दिनअघि मात्रै उनी काठमाडौंबाट झापा हिँडेकी हुन् । उनलाई पनि यसपालिको दसैँ खास लागिरहेको छैन । 'पहिलाको जस्तो दसैँ आएको अनुभव नै भएको छैन । पहिला दसैँ भन्नेबित्तिकै तयारी सुरु हुन्थ्यो । लुगा किन्न गइन्थ्यो । यसपालि वास्तै लागेको छैन,' उनले भनिन् । उनी आमा, हजुरबुवा, भाइबहिनीसँग बसेर दसैँ मनाउने सोच्दैछिन् । आफन्त कहाँ टिका थाप्न जाने योजना भने अहिलेसम्म बनाएकी छैनन् एलिनाले । 'आफन्तहरु टिका थाप्न आउनुहुन्छ । म जान्न कतै । कोरोनाको केस बढिरहेको काठमाडौंबाट आको भनेर डराउनुहुन्छ होला ।'

प्रकाशित : कार्तिक ६, २०७७ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?