युट्युबमा अभिनेत्रीहरु : खाली समय आफ्नै च्यानललाई- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युट्युबमा अभिनेत्रीहरु : खाली समय आफ्नै च्यानललाई

हेडिङबाट भ्यु बढाउनलाई कलाकारको भएको सम्मान पनि घटाउन थालेपछि आफ्नै च्यानल खोलें : प्रियंका  
भ्युज बढाउन होइन, दर्शकसँग जोडिनलाई युट्युब : स्वस्तिमा
योजना र टिम बनाएरै युट्युब भिडियोहरु बनाउँदैछु : रिमा
रीना मोक्तान

काठमाडौँ — लकडाउनमा न फिल्मको छायाङ्कन थियो न प्रचार । सबै काम ठप्प । खाली समय के गरी बिताउने ? अभिनेत्री स्वस्तिमा खड्कालाई 'आइडिया' फुर्‍यो- युट्युब च्यानल खोल्ने । युट्युब अकाउन्ट पहिल्यै थियो । भिडियो राखेकी थिइनन् । अरुले नै खिचेका आफ्ना फोटोसुटका केही भिडियो युट्युबमा अप्लोड गरिन् । 

'ती अरुकै लागि खिचिएका भिडियो थिए, मैले आफ्नो च्यानलमा राखेको मात्र हो । मलाई युट्युब खोल्न त अगाडिदेखि नै मन थियो । तर काममै व्यस्त थिएँ । समय दिन पाइँदैन भनेर खोलेकै थिइनँ । यो लकडाउनमा समय भयो । समय कटाउनु पनि पर्ने भयो । त्यसैले खोलें,' स्वस्तिमा सुनाउँछिन्, 'म सामाजिक सञ्जालमा सक्रिय नै हुन्छु । यो अर्को एउटा प्लेटफर्म पनि हुन्छ भनेर खोलेकी हुँ ।'

लकडाउनबीच नै प्रश्नोउत्तर भिडियोले उनको युट्युब 'मनिटाइज' भयो । स्वस्तिमा प्रश्नोउत्तर नै च्यानलको अफिसियल भिडियो रहेको बताउँछिन् । अभिनेता नाजिर हुसेनसँगको ५ वर्षको मित्रतालाई लिएर पनि उनले भिडियो बनाएर सार्वजनिक गरिन् । युट्युबमा राखेका भिडियोबाट आशा गरेभन्दा राम्रो प्रतिक्रिया पाएपछि स्वस्तिमालाई युट्युबमा सक्रिय हुन मन लागेको हो । 'भ्युज पनि राम्रै आयो । त्यसैले हरेक हप्ता भन्दा पनि महिनाको एकपटक भिडियो ल्याउने तयारी छ । अरु काम पनि भइहाल्छ । अब महिनामा एउटा भिडियो बनाउने सोच्दै छु,' उनले भनिन् ।

लकडाउनमा स्वस्तिमा मात्र होइन अन्य अभिनेत्रीहरु पनि युट्युबमा सक्रिय देखिए । प्रियंका कार्की, केकी अधिकारी, रिमा विश्वकर्मा, वर्षा राउत पनि लकडाउनबीच युट्युबमा व्यस्त देखिए । साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि चार दिनअघि मात्रै आफ्नो युट्युब च्यानल खोलेकी छिन् । लकडाउनकै समयमा युट्युब च्यानल खोल्नेमा केकी पनि पर्छिन् ।

पर्दापछाडिका दृश्य राख्न युट्युब : स्वस्तिमा खड्का

बिहाइन्ड दि सिन (बिटिएस) अर्थात् पर्दापछाडिको दृश्य राख्ने उद्देश्यले स्वस्तिमाले युट्युब च्यानल खोलेकी हुन् । 'मलाई मेरो कामको 'बिटिएस' राख्ने मन थियो । एक दर्शकको हिसाबले मलाई पनि बाहिरतिरको फिल्म हेर्दा बिटिएस हेर्न रमाइलो लाग्छ । पर्दापछाडि कसरी कलाकारले काम गर्छ होला, निर्देशकले कसरी सोचिरहेको हुन्छ होला भन्ने हेर्न मलाई रमाइलो लाग्छ । अब यहाँका दर्शकलाई पनि त्यस्तै अनुभव हुन्छ होला भनेर युट्युब अकाउन्ट बनाएँ,' उनले सुनाइन् ।

तर, लकडाउनका बीच उनले पर्दापछाडिका दृश्य युट्युबमा राख्न पाइनन् । फिल्मको छायाङ्कन भइरहेको थिएन । एक हप्तायता उनी विज्ञापन र म्युजिक भिडियोको काममा व्यस्त भएकी छन् । आफ्नो च्यानलका लागि पर्दापछाडिको दृश्य खिचेकी छिन् । सम्पादनको क्रममा रहेको उक्त भिडियो आफ्नो युट्युब च्यानलमा राख्ने तयारीमा छिन् स्वस्तिमा ।

युट्युबका लागि भिडियो बनाउन धेरै समय खर्च हुने उनले अनुभव गरेकी छिन् । नाजिरसँगको भिडियो तयार पार्न पाँच दिन लाग्यो । आफूलाई मेकिङतिर पनि रहर भएकाले त्यतातर्फ अनुभव बटुल्न पाएको उनी बताउँछिन् । 'समय दिन त एकदमै गाह्रो हुँदो रहेछ । अरु बेलामा तयार सेटमा गएर काम गरिन्छ । यता त लाइट, क्यामेरा, साउन्ड आफैंले हेर्नुपर्छ । साउन्डले बेलाबेला धोखा दिन्छ । झ्याउलाग्दो पनि हुँदो रहेछ । मेकिङतिर रहर भएर होला यता अनुभव गर्न रमाइलै भयो । पर्दापछाडिको काममा कति समय दिनुपर्दो रहेछ भनेर थाहा पाएँ,' स्वस्तिमाले भनिन् ।

स्वस्तिमा भिडियो बनाउनुअघि कन्टेन्टबारे योजना बनाउँछिन् । घर नजिकैको स्टुडियोमा त्यहीकै एकजना भाइले भिडियो र सम्पादनको काम गरिदिन्छन् । भ्युजले कत्तिको अर्थ राख्छ ? प्रश्नको उत्तर दिँदै भनिन्, 'भ्युजले अवश्य नै अर्थ राख्दो रहेछ । जति धेरैले हेरे उति धेरैकहाँ भिडियो पुग्ने हो । त्यसको मतलब भ्युजको लागि जे पनि गर्ने, बोल्ने त गर्दिनँ । मेरो उद्देश्य भनेकै क्यान्डिड भिडियो होस्, म कस्तो छु भन्ने देखियोस् ।'

युट्युबबाट पैसा कमाउने सोच भन्दा पनि यो प्लेटफर्मलाई प्रयोग गर्न खोजेको उनी बताउँछिन् । 'जति आफ्नो च्यानलमा समय दिन्छु त्यति नै समय अरुलाई दिएँ भने त्योभन्दा बढी कमाउन सक्छु म । यो त मैले एउटा प्लेटफर्म मात्र सिर्जना गर्न खोजेको त हो । पैसाका लागि होइन । पैसा नआउने भन्ने होइन तर पैसा नै प्राथमिकतामा छैन,' उनले भनिन् ।

सिरिज र लघु फिल्मका लागि युट्युब : प्रियंका कार्की

लकडाउनको पहिलो एक महिना प्रियंकाले पनि खाली बसेरै बिताइन् । दोस्रो महिनाबाट भने युट्युबमा 'कुकिङ रेसीपी' हेर्न थालिन् । त्यस्तै परिकार पकाएर परिवारलाई खुवाउन थालिन् । सबैले उनको परिकारको तारिफ गरे । त्यसपछि प्रियंकाले पनि युट्युबमा 'कुकिङ रेसिपी' राख्ने सोचिन् । समयको सदुपयोग पनि हुने भयो । 'एनिबडी क्यान कुक' ट्यागलाइनमा युट्युबमा 'चप चप डायरिज'का भिडियो बनाउँदै राख्न थालिन् । युट्युबबाट दर्शकसँग जोडिन पनि पाइन् ।

'लकडाउनमा सबैजना केही नयाँ गर्न चाहन्थे । मैले पनि यो डिजिटल प्लेटफर्मलाई प्रयोग गरेर अगाडि बढ्ने सोचें । चप चप डायरिजलाई राम्रै प्रतिक्रिया आइरहेको छ । पकाउँदै गएपछि मलाई पकाउनेतिर इच्छा रहेछ भन्ने बुझें । कन्टेन्टमा त १/२ दिनमै १ लाख भ्युज कटिरहेको छ । लकडाउन लम्बिँदै गएपछि कसरी हुन्छ युट्युबलाई सक्रिय पारौं भन्ने भयो । अहिलेको समयमा यो नै प्रमुख बजारजस्तो लागेर युट्युब चलाएको हुँ,' उनले सुनाइन् ।

हुन त गत वर्षदेखि नै प्रियंकाले युट्युब च्यानल खोलेकी थिइन् । लघु फिल्म र सिरिज राख्न आफूले युट्युब च्यानल खोलेको उनी बताउँछिन् । लकडाउन नहुँदो हो त 'जस्ट एनोदर लभस्टोरी'को सिजन २ अहिले आइसक्थ्यो । तर, लकडाउनले गर्दा प्रियंकाले सिरिज छायाङ्कन गर्न सकिनन् । लकडाउनबीच नै उनले ३ लघु फिल्मको स्क्रिप्ट भने लेखिसकेको बताउँछिन् ।

उनी युट्युब भिडियो घरमै बसेर छायाङ्कन गर्छिन् । पति अभिनेता आयुष्मानले भिडियो खिचिदिन्छन् । दुवैजना मिलेर भिडियो सम्पादन गर्छन् । 'भिडियो बनाउन गाह्रो भएको छैन, रमाइलै भइरहेको छ,' उनले सुनाइन् ।

युट्युबका भिडियोमा आउने भ्युले आफूलाई अर्को भिडियो बनाउन हौसला दिने उनको भनाई छ । युट्युबबाट राम्रै कमाइ हुने प्रियंकाको अनुभवले भन्छ । 'जस्ट एनोदर लभ स्टोरी'को समयमा पनि युट्युबबाट मैले राम्रै कमाएँ । लगानी उठेर पनि नाफा भएको थियो । अहिले पनि मिहेनत गरेर महिनामा ४/५ वटा राम्रो भिडियो राख्नुभयो भने राम्रै कमाइ हुन्छ,' आफ्नो अनुभव सुनाइन् ।

युट्युबमा सक्रिय भइरहँदा प्रियंकालाई एउटै कुरा मिस भयो । 'बाहिर स्वतन्त्र भएर निसक्ने मन छ । भीडमा गएर निडर भएर फिल्मको काम सुरु गर्ने मन त छ,' उनले आफ्नो कुरा राखिन् ।

दर्शकसँग जोडिन युट्युब : रिमा विश्वकर्मा

लकडाउनबीच रिमाले पनि युट्युबमा भिडियोहरु बनाइरहिन् । खासमा रिमाले सन् २०१६ मै युट्युब च्यानल खोलेकी हुन् । 'नेपाल आइडल'को 'वर्ल्ड टुर'का विभिन्न भिडियो सार्वजनिक गर्न युट्युबमा राख्थिन् उनी । 'दर्शकलाई प्रतिस्पर्धीहरुका बारेमा जानकारी दिन रमाइलोको लागि युट्युब खोलेकी थिएँ । लकडाउनको समयमा प्रशस्त समय भयो । मैले कविता लेखें । स्केच बनाउन कोशिस गरें । दर्शकसँगको अन्तरक्रिया मिस भा'को जस्तो पनि भयो । अनि फेरि युट्युबमा सक्रिय भएँ,' रिमाले भनिन् ।

युट्युबप्रति उनको रुचि बढ्दै गएको छ । आफ्नो युट्युबका लागि उनी नयाँ टिम नै खडा गर्दैछिन् । अवस्था सामान्य भएपछि पनि युट्युबलाई सक्रिय बनाउन टिम निर्माण गरिरहेको रिमा बताउँछिन् । उनी योजना बनाएरै भिडियो बनाइरहेकी हुन्छिन् । अहिले मोबाइलबाट भन्दा पनि क्यामेरा नै प्रयोग गरेर भिडियो खिच्छिन् । 'प्रोडक्सनको सबै काम हेर्छु आफैंले । हामीलाई त प्रोडक्सनको बानी छैन । अलिकति झ्याउलाग्दो रहेछ,' उनले भनिन् ।

हप्ताको एउटा भिडियो बनाउने तयारी छ रिमाको । उनी युट्युबलाई लामो समयसम्म निरन्तरता दिन चाहन्छिन् । भविष्यमा लघु फिल्म बनाएर युट्युबबाटै सार्वजनिक गर्ने उनको योजना छ ।

युट्युबरसँगको विवाद

पछिल्लो समय युट्युबमा आएका अश्लील कमेन्टलाई लिएर अभिनेत्री र युट्युबरबीच विवाद भयो । अभिनेत्रीहरुले आफूले दिएको अन्तरवार्तामा आएका अश्लील कमेन्ट हटाउन युट्युबरसँग अनुरोध गरे । केहिले ती अश्लील कमेन्ट डिलिट पनि गरिदिए, कतिले गरेनन् । त्यसपछि पनि अभिनेत्रीहरुले युट्युबरलाई दिएको अन्तरवार्ताका हेडलाइनलाई लिएर आपत्ति जनाए । अन्तरवार्ता नै नदिनेसमेत भनेपछि भने युट्युबरहरुसमेत जुर्मुरिएका थिए ।

त्यसैपछि हो अभिनेत्रीहरुले धमाधम युट्युब च्यानल खोल्न थालेको । युट्युबरसँगको त्यही विवादले गर्दा कलाकारले युट्युब खोलेको प्रियंका बताउँछिन् । 'युट्युब चलाउनु नराम्रो होइन । तर, तपाईंले कुनै कलाकारलाई बोलाएर त्यो कलाकारलाई सम्मान दिनुहुन्छ कि भएको सम्मान पनि खोस्दिदिनुहुन्छ भन्ने कुराले फरक पार्ने हो । म कुनै कलाकारलाई कार्यक्रममा बोलाउँदा कतिखेर त्यसले नराम्रो बोल्ला र त्यसको हेडलाइन बनाउँछु भनेर कुरिरहेको हुँदिन,' उनले भनिन्, 'युट्युबमा अन्तरवार्ता दिनु हामीलाई समस्या छैन । नकारात्मक कमेन्टले गर्दा हामीले युट्युबमा अन्तवार्ता दिन कम गरेको हो । आफ्नो युट्युब खोलेपछि कसैलाई काहीँ जानै पर्दैन। यो सबै त्यही नेगेटिभीटिको उपज हो ।'

प्रियंका थप्छिन्,'उहाँहरु कलाकारको इज्जत गए पनि युट्युबको भ्यु बढ्नुपर्छ भन्ने सोच राख्नुहुन्छ । कुनै बेला भन्न खोजेको कुरा मिलेर नआइदेला, बोली चिप्लएला तर म मेरो युट्युबमा त्यो कुरा ध्यान दिएर काटदिन्छु । तर त्यस्तो कति युट्युबरले हामी गर्छौं भन्न सक्छन् ?'

स्वस्तिमालाई पनि हेडलाइनलाई लिएर युट्युबरहरु गम्भीर नभइदिएको लाग्छ । त्यसैले आफ्नो च्यानलमा उनी ती कुरामा ध्यान दिने बताउँछिन् । 'युट्युबरहरुले जे पनि बोल्ने, जस्तो पायो उस्तै हेडलाइन राख्ने म त गर्दिनँ,' उनले भनिन् ।

प्रकाशित : आश्विन २३, २०७७ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्

फिल्म हल सञ्चालक भन्छन्– 'करोडौं घाटा भयो, अब हल खोल्न देऊ'

भारतले अक्टोबर १५ देखि हल सञ्चालनमा ल्याउने निर्णय गरेसँगै नेपालका हल सञ्चालकलाई नेपालमा पनि हल खोल्न अनुमति दिनुपर्ने लागेको छ ।
रीना मोक्तान

काठमाडौँ — गत असोजमा बानेश्वरको आइप्लेक्स मलमा नयाँ हल खुलेको थियो, 'वान सिनेमाज' । हल सञ्चालक एवं निर्माता प्रज्वल सम्शेर जबराले सोचेका थिए,'पायक पर्ने ठाउँमा हल खुलेको छ । पहिलो वर्षबाटै उत्साहजनक व्यापार होला ।'

तर सोचेजस्तो भएन, परिस्थिति उल्टियो । सञ्चालनमा आएको ६ महिनामै कोरोना महामारीले गर्दा हल बन्द गर्नुपर्‍यो । ६ महिना नाघिसक्यो 'वान सिनेमाज'को ढोकामा ताला झुन्डिएको । लामो समय हल बन्द गरेर बस्दा करोडौंको घाटा बेहोर्नु परेको जबरा बताउँछन् । 'असर त अलि धेरै नै गर्‍यो नि ! हल सुरु गर्न नपाउँदै बन्द गर्नुपर्दा धेरै गाह्रो भयो । पछिसम्म यसको असर पर्छ हामीलाई,' उनले आफ्नो समस्या सुनाए, 'अहिलेसम्म लगभग २ करोडको घाटा भइसक्यो ।'

हल सञ्चालनमा आएको केही महिनामै वान सिनेमाजले 'पिकअप' लिन सुरु गरिसकेको थियो । अन्य मल्टिप्लेक्स हलसँग प्रतिस्पर्धामा उत्रिन थालेको थियो । कोरोनाले गर्दा वान सिनेमाजको द्रूत गति धिमा भयो । 'अकुपेन्सी राम्रै थियो । ‍औसत ६० प्रतिशत अकुपेन्सी हुन्थ्यो । विकेन्डमा त ८०/९० प्रतिशत नै अकुपेन्सीमा हल चलिरहेको थियो । सञ्चालनमा आएको नयाँ र पुरानो मल्टिप्लेक्समध्यमा शीर्ष तीनमा थियो वान सिनेमाज । तर, महामारीपछि चिन्ताजनक नै छ अवस्था,' जबराले भने ।

२ पर्दाको हल खोल्न जबराले १० करोड लगानी गरेका थिए । अहिले हल नचलेपछि आम्दानी शून्य छ । हलको भाडा, बैंकको ब्याज र कर्मचारीको पारिश्रमिक गरेर हरेक महिना २५ लाख बराबरको घाटा बेहोर्नु परेको उनी बताउँछन् । 'महिनामा २५ लाख खर्च हुन्छ । यो सात महिनामा २ करोड बढीको घाटा भयो ।'

उनको हल बन्द हुँदा हलमा कार्यरत ४५ कर्मचारी बेरोजगार भए । पहिलो लकडाउनमा त कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिएर अवस्था सम्हालेका थिए । तर लकडाउन अवधि लम्बिएसँगै कर्मचारीलाई बेतलबी बिदामा राखेका छन् । कोरोनाको प्रतक्ष्य प्रभाव पारेको यस क्षेत्रलाई सरकारले ‍सहुलियत दिनुपर्ने जबराको भनाइ छ ।

सरकारले हललाई सहुलियत नदिए हलहरु संग्रालयमा परिणत हुने बताउँछन् अर्का हल सञ्चालक सुमित मैनाली । भन्छन्, 'सरकारले हललाई अलिकति भए पनि सहुलियत दिएन भने नेपालका हल जति संग्रालय हुन्छन् । एकादेशमा नेपालमा पनि हलहरु थिए भन्ने मात्र हुन्छ । हल खुल्न दिए पनि अब केही हल बन्द हुने परिस्थितिमा पुगेका छन् ।'

दरबारमार्गमा रहेको मैनालीको हल 'क्यूज सिनेमा' पनि ६ महिनादेखि बन्द नै छ । हल बन्द हुँदा हलमा कार्यरत ६५ जना कर्मचारी रोजगारी गुमाएकोमा उनलाई चिन्ता छ । अहिले हलमा चारजना सेक्युरिटी गार्ड मात्र काम गर्छन् । हलको भाडा हरेक महिना १० लाख दिनुपर्छ । हल बन्दा हुँदा महिनामा २६ लाख बराबरको घाटा व्यहोर्नुपरेको मैनाली बताउँछन् । 'असोजसम्मको हिसाब गर्दा २ करोड ७५ लाख जति घाटा भयो । हल भाडा, बत्तीको पैसा, कर्मचारीलाई तलब, हल नचले पनि बैंकको ब्याज दिनुपर्‍यो । मलको कम्युनिटी चार्जसहित गरेर २६ लाख हरेक महिना गइरहेको छ । यो अवस्था कहिलेसम्म जान्छ त्यो पनि थाहा छैन,' उनले आफ्नो समस्या सुनाए ।

अझै हल खोल्ने निर्णय नहुँदा आफूहरुमा अन्योल छाएको उनी बताउँछन् । 'हल अझै खोल्ने/नखोल्ने टुङ्गो छैन । के होला भन्ने चिन्ता छ । हल चलेको भए केही आम्दानी हुन्थ्यो । अहिले त उल्टै पैसा गइरहेको छ,' उनले भने ।

मैनाली र जबराको मात्र समस्या होइन, देशभरका हल सञ्चालकको साझा समस्या हो यो । त्यसैले हल सञ्चालक अब सरकारले हल खोल्ने निर्णय गर्नुपर्ने बताउँछन् । 'हामीलाई हल कहिले खोलौं भइसक्यो । सरकारले अब त अनुमति दिनुपर्ने हो,' क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगा बताउँछन् ।

बुटवलमा नयाँ हल सञ्चालन गरेको वर्ष दिनमै हल बन्द गरेर बसेका हल सञ्चालक प्रदीपकुमार उदयको गुनासो पनि उस्तै छ । 'अहिले एक किसिमले सामान्य भइसक्यो अवस्था । यातायत, होटल, रेस्टुरेन्ट, बैंक, उद्योग सबै खुल्यो । हल मात्र खुलेन । त्यसैले अब हामीलाई हल खोल्नु दिनुपर्‍यो । स्वास्थ्य सुरक्षा अपनाएर हामी हल खोल्न तयार छौं,' उनले भने ।

भारतले अक्टोबर १५ देखि हल सञ्चालनमा ल्याउने निर्णय गरेसँगै नेपालका हल सञ्चालकलाई नेपालमा पनि हल खोल्न अनुमति दिनुपर्ने लागेको छ । 'हल सञ्चालन सुरु गर्न पाए आर्थिक मार घट्थ्यो कि भन्ने हो । संसारको झण्डै ९५ देशमा हल खुलिसकेको छ । हवाई उडानदेखि होटलहरु खोल्न दिइएको छ । तर अझै सरकारले हल खोल्न दिएको छैन,' आक्रोश मिसिएको स्वरमा जबराले भने, 'एउटा व्यवसायलाई खोल्न दिने अर्कोलाई खोल्न नदिने गर्न मिलेन । अरु व्यवसायमा संक्रमण नहुने हाम्रोमा चाहिँ हुने भन्ने हुँदैन । हामीले सबै सुरक्षा मापदण्ड अपनाएर काम गरिहाल्छौं ।'

सरकारले अझै मनोरञ्जन क्षेत्रतर्फ चासो नदेखाउँदा आफूहरु सरकारको प्राथमिकतामा नपरेको उनी बताउँछन् । भन्छन्, 'सबैभन्दा मारमा परेको उद्योग व्यवसायमा पर्छ चलचित्र क्षेत्र पर्छ होला । अरु व्यापार व्यवसायले सरकारबाट पाएको प्रोत्साहन हामीले पाएनौं । अहिलेसम्म सरकारबाट हल खोल्ने निर्देशन नआएको हुनाले अन्यौलमा छौं हामी ।' हल खोल्न दिए २/३ वर्ष लगाएर भए पनि अहिलेको घाटाबाट उकास्न सकिने लागेको छ उनलाई ।

कहिले खुल्ला त हल ?

काठमाडौं कोरोनाको हटस्पट बन्दै गएकाले अझै हल खोल्ने टुङ्गो नभएको बताउँछन् चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान । उनले भने, 'संक्रमण दिनप्रतिदिन बढेको बढ्यै छ । हल कहिले खुल्छ भन्न सक्दिनँ । हल खोल्न दिनुपर्‍‍यो भनेर सरकारसमक्ष कुरा राखेका छौं । दसैंसम्म हल खुल्न सक्ने सम्भवाना त छ तर ठोकुवासाथ भन्न सक्दिनँ,' अध्यक्ष प्रधानले भने ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि हल खुल्ने निश्चित निर्णय नभएको बताउँछन् । 'हामीले सबै क्षेत्र खुल्न थालेपछि हल पनि खोल्न दिनुपर्‍यो भनेर कुरा राखेका छौं । तर सरकारबाट हल खोलिहाल्ने संकेत आएको छैन । हल खोल्न त खुल्छ नै तर कहिले एकिनका साथ भन्न सकिन्न,' उनले भने, 'मनोरञ्जन क्षेत्रलाई अब बिस्तारै कोभिडसँग सहयात्रा गर्नुपर्छ भन्ने भएको छ । हल बन्द भएको धेरै समय भयो । सरकारले हल खोल्ने निर्णय नगरेसम्म केही भन्न सकिन्न ।'

यसबीच हल सञ्चालकले सरकारसँग बैंकको ब्याज, बिजुली डिमान्ड शुल्क र आयकरमा छुट पाउनुपर्ने माग राख्दै आएका छन् । बैंकको ब्याजको विषयलाई सम्बोधन गरे पनि अन्य कुरामा सरकारले हलवालाको समस्या नसुनेको बताउँछन् अध्यक्ष प्रधान । 'हामीले हाम्रो सबै समस्या सरकारमा राखेका थियौं । तर सरकारले हाम्रो समस्या सुनिदिएन ।'

सुमित पनि अहिलेसम्म सरकारबाट कुनै राहत नपाएको बताउँछन् । 'विकास बोर्डले हलबाट महिनापिच्छे उठाउँदै आएको रकमको केही प्रतिशत हामीलाई दिनुपर्‍यो भनेर कुरा राख्यौं । हललाई टिकाउनको लागि हामीले हाम्रो माग राखेका थियौं । तर हामीले कुनै सहुलियत पाएनौं,' उनले भने ।

हल खुलिसकेपछि पनि २ वर्ष 'ट्याक्स फ्रि' गराइदिनुपर्ने हल सञ्चालक प्रदीप उदयको माग छ । 'यो ६/७ महिनामा जति असर परेको छ हामीलाई । त्यसबाट उम्किनको लागि अब २ वर्ष सरकारले ट्याक्स फ्रि गराइदिनु पर्‍यो,' उनले भने ।

हलवाला र निर्माताको तालमेल

हल खोल्ने तत्काल कुनै निर्णय नआए पनि हलवाला र निर्माताबीच केही समयअगाडिदेखि फिल्म प्रदर्शनलाई लिएर छलफल जारी छ । फिल्म हलमा दर्शक आउने वातावरण नभएसम्म नेपाली फिल्म हलमा प्रदर्शन गर्न तयार छैनन् निर्माता । त्यसैले हल खोलेपछि दर्शक तान्न पुराना फिल्महरु पुन:प्रदर्शन गर्नुपर्ने निर्माताको कुरा छ । तर केही हलवाला भने यसो गर्न तयार छैनन् ।

यसरी पुराना फिल्म पुन:प्रदर्शन गरेर हलको घाटा बढ्ने सुमित बताउँछन् । 'हल खोलिहाले पनि नेपाली निर्माताले नयाँ फिल्म नलगाउने कुरा छ । पहिला बलिउड र हलिउड फिल्म चल्न दिनुपर्‍यो रे । यसरी त अहिले भइरहेको घाटामा थप घाटा हुन्छ,' सुमितले भने, 'तीनजना दर्शक आए पनि एसी चलाउनै पर्‍यो । त्यसमा १० लाख खर्च उठ्छ । ८० प्रतिशत स्टाफ बढाउनै पर्‍यो , त्यसमा १५ लाख खर्च हुन्छ । अर्को २५ लाख खर्च गरेर कसले हल खोल्ने ? मचाहिँ यसरी पुराना फिल्म चलाएर हल खोल्न तयार छैन ।'

हल सञ्चालक जबरा यस विषयमा निर्माता, वितरक र हलवालाले सम्झौतामा गरेर अघि बढ्नुपर्ने सल्लाह दिन्छन् ।

प्रकाशित : आश्विन २१, २०७७ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×