२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

वेब सिरिजतिर सक्रिय फिल्मकर्मी

नेपालमा पछिल्लो समय वेब सिरिज निर्माणकाे संख्या बढेको छ । लकडाउनमा फिल्मका सबै काम ठप्प हुँदा पनि केही फिल्मकर्मीले वेब सिरिजको काम थालेका छन् । महामारीबीच नै केहिले टेलिश्रङ्खला त केहिले वेब सिरिजको घोषणा गरे ।
रीना मोक्तान

काठमाडौँ — अभिनेता विनय श्रेष्ठ बुधबार 'लभसुत्र'को छायांकनका लागि पोखरा हिँडिसकेका छन् । 'लभसुत्र' उनले निर्माण गरेको नयाँ वेब सिरिज हो । सिरिजको ८० प्रतिशत छायांकन सकिसकेको छ । क्लाइमेक्स दृश्य खिच्न उनको टिम पोखरा हिँडेको हो । पाँच दिनमा क्लाइमेक्सको छायांकन सकिन्छ । सिरिजको पोस्ट प्रोडक्सन भने सुरु भइसकेको छ ।

वेब सिरिजतिर सक्रिय फिल्मकर्मी

'लभसुत्र' विनयको प्रोडक्सन कम्पनी 'भि मोसन पिक्चर्स' र 'ओएसआर डिजिटल'को सहकार्यमा बन्ने वेब सिरिज हो । विनयले सिरिजको काम थालेको करिब १० महिना भयो ।

कोरोना महामारीबीच वेब सिरिज निर्माणमा लाग्ने विनय एक्ला भने होइनन् । फिल्मका सबै काम ठप्प हुँदा लकडाउनमा केही फिल्मकर्मीले वेब सिरिजको काम थालेका छन् । महामारीबीच नै केहिले टेलिश्रङ्खला त केहिले वेब सिरिजको घोषणा गरे । फिल्म निर्माणमा ठूलो समूह चाहिन्छ । तर, सिरिज सानो समूहमा नै बनाउन सकिने हुँदा फिल्मकर्मीकाे ध्यान त्यता माेडिएकाे हाे ।

नेपालमा पछिल्लो वर्षयता वेब सिरिज निर्माण संख्या ह्वात्तै बढेको छ । त्यसैले त होला लकडाउनमा वेब सिरिजहरु रोकिएनन् ।

लकडाउनबीच पनि 'लभसुत्र'को काम खासै रोकिएन । लकडाउन खुकुलिएसँगै विनयको टिमले सतर्कता अपनाएर छायांकन थालेको हो । 'हामी एउटै होटलमा बस्छौं । सुटिङ अन्तिमतिर पुगिसक्यो । किन रोक्ने भनेर हामी सुटिङमा निस्किएका हौं,'उनले सुनाए । अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मलाई लक्षित गर्दै उनले वेब सिरिज गरेका हुन् ।

अन्तर्राष्ट्रिय प्लेटफर्ममा प्रदर्शन गर्ने सोचसहित विनयले सिरिज निर्माण गरिरहेका हुन् । त्यसैले पनि उनको टिम कन्टेन्ट निर्माणमा समय खर्चिरहेको बताउँछन् । 'अन्तर्राष्ट्रिय प्लेटफर्ममा प्रदर्शन गर्ने लक्ष्य छ । अब त्यता प्रस्ताव राख्नलाई पनि प्रमुख कुरा त कन्टेन्ट नै राम्रो हुनुपर्‍यो । हामी कन्टेन्ट बनाउनतिर ध्यान दिइराखेका छौं,' उनले भने ।

टिमले दसैंसम्म टिजर सार्वजनिक गर्ने तयारी गरेकाे छ । विनयलाई प्रदर्शन मिति तोकिहाल्ने हतारो पनि छैन। 'हामी पहिला त कन्टेन्ट बनिसकेपछि त्यसले कस्तो प्लेटफर्म माग गर्छ त्यही हेरेर प्रदर्शन गर्ने सोचिरहेका छौं । अहिले नै प्रदर्शन मिति तोक्नु या प्लेटफर्म तोक्नुभन्दा पनि कन्टेन्ट नै राम्रो बनाउने हाम्रो लक्ष्य हो,' उनले सुनाए, 'हामी कहाँ फिल्मको प्रदर्शन मिति तोकिहाल्न हतार हुन्छ । पछि कन्टेन्टमा केही हुँदैन । त्यस्तो नहोस् भनेर अहिले कन्टेन्टमा धेरै समय दिइरहेका छौं हामी ।'

वेब सिरिजमा युवा दर्शकको क्रेज बढेसँगै फिल्ममेकरको झुकाव यतातिर बढेको देखिन्छ । गत वर्ष अभिनेत्री प्रियांका कार्कीले पनि वेब सिरिज 'जस्ट अनोदर लभस्टोरी' को निर्माण/ निर्देशन गरेकी थिइन् । 'ट्वान्टी फस्ट लभ','हाम्रो हाइस्कूल', 'रङ टाइम', 'डियर लभ'लगायत वेब सिरिजले दर्शकमा आफ्नो पकड बनाएका छन् ।

विनय श्रेष्ठ

आफूले बनाएको कन्टेन्ट विश्वसामु पुगोस् भन्ने इच्छा थियो विनयको । त्यसैले त्यो इच्छा पूरा गर्न वेब सिरिज निर्माणमा लागेको उनी बताउँछन् । 'कलाकार/मेकरका हिसाबले हामी जुन कुरा मिहेनत लगाएर बनाउँछौं, त्यो विश्वभर पुगोस् भन्ने हुन्छ नि,' उनले भने, 'जुन बजारका लागि हामी २/४ वर्ष खर्च गरिरहेका हुन्छौं । त्यो अनुसारको दर्शक पाउँदैनौं । त्यसैले यसपटक 'लभ सुत्र'लाई अन्तर्राष्ट्रिय बजार लक्षित गरेर बनाउँदै छौं ।'

१२ वर्ष बलिउडमा काम गरिसकेका कासिम क्यालोले 'लभसुत्र' सिरिज लेखेका हुन् । उनको निर्देशन तथा लेखनमा बनेको 'गन केश'ले पछिल्लो समय चर्चा बटुलेको थियो ।

लगानीका हिसाबले ओटीटी(ओभर दि टप) उपयुक्त देख्छन् विनय । भन्छन्,'नेपालमा करोडौं लगानी गर्दा लगानी उठ्ने टुङ्गो नै हुँदैन । तर ओटीटीमा त्यो डर कम हुन्छ । त्यसैले लगानीका हिसाबले पनि ओटीटी उपयुक्त लाग्यो । सबै उमेर समूहले मन पराउने किसिमको सिरिज हो यो ।'

'लभसुत्र'बाट विश्व बजारमा छाप छोड्न चाहन्छन् विनिय । रोमान्टिक कमेडी विधामा आधारित सिरिजको पहिलो सिजनमा पाँच श्रृङ्खला हुनेछ । सिरिजमा विनयसँगै शिल्पा मास्के, संजोग कोइराला, सुरक्षा पन्त, रविन्द्र झा लगायतको अभिनय रहनेछ ।

त्यस्तै फिल्म लेखक मनोरञ्जन श्रेष्ठ पनि वेब सिरिज ल्याउने तयारीमा छन् । एनबी महर्जन, गोकुल सुवेदीसँग मिलेर उनले 'सतरञ्ज'निर्माण गरेका छन् । लकडाउनअघि नै सिरिजको सम्पूर्ण छायांकन सकिएको हो । सिरिजको सम्पूर्ण छायांकन बुटवलमा भएको हो । अहिले सिरिजको पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

थ्रिलर जनरामा बनेको सिरिजमा कलाकारमा सम्पदा बानियाँ, सरु नेपाल, ध्रुव कोइराला, गोकुल सुवेदी, अनिता केसी लगायतको अभिनय रहनेछ । 'मर्डर मिस्ट्रीको कथा छ। नारी संवेदना पनि छ । आफ्नो श्रीमानको हत्यारासँग श्रीमतीले लिने बदलाको कथा समेटेको छ,' श्रेष्ठले सुनाए ।

एक्कसि सिरिज निर्माणतिर ?

'खासमा एनबी, गोकुल र मैले हलका लागि धेरै काम गर्‍यौं, अब सानो पर्दाका लागि गुणस्तरीय विषयवस्तु पस्कौं भनेर छलफल भयो । अनि सिरिज बनाउने निर्णय भयो। बनिरहेका सिरिज हल्काफुल्का मात्रै थियो । तर हामीले फिल्मी लेभलको सिरिज बनाउने सोच्यौं,' उनले भने ।

सुरुमा टेलिभिजनमा सिरिज प्रदर्शनमा ल्याउने उनीहरुको तयारी थियो । अब ओएसआरको डिजिटल प्लेटफर्मबाट सिरिज प्रदर्शन गर्ने तय भएको छ । सिरिज निर्माणमा ठूलो बजेट खर्च भएको बताउँछन् मनाेरञ्जन । 'फिल्मभन्दा कम छैन हाम्रो सिरिज । १३ एपिसोडका लागि १९ लाख खर्च गरेका छौं । धेरै मिहेनत गरेका छौं,' उनले भने ।

महामारीले गर्दा फिल्मको काम ठप्प हुँदा सिरिज निर्माणतिर लागेर 'राम्रो गरेछु' भन्ने लागेको छ मौनतालाई ।

लकडाउनमा दर्शक 'बोर' नहुन् भनेर विवेक रसाइलीले पनि आफूले लेखन तथा निर्देशन गरेको सिरिज 'डियर लभ' युट्युबमा सार्वजनिक गरे । तर, युट्युबमा सोचेजस्तो भ्यूज प्राप्त नभएको बताउँछन् उनी । खासमा यो सिरिजलाई आइफ्लिक्सले किनेको थियो । आइफ्लिक्समा प्रदर्शनमा आउँदा धेरैले सिरिजलाई मन पराइदिएको विवेक सुनाउँछन् । तर, लकडाउन भएको केही महिनामै आइफ्लिक्स बन्द भयो । त्यसपछि उनले युट्युबमा सार्वजनिक गरेका हुन् ।

अहिले उनी 'काठमाडौं लभ स्टोरी' भन्ने सिरिजको तयारीमा जुटेका छन् । सिरिजको छायांकनका लागि सामान्य अवस्थाको पर्खाइमा छन् । २ वर्ष अगाडि उनले 'डियर लभ' निर्देशन गर्दा खासै धेरै सिरिज बन्दैन थियो । तर अहिले त सिरिज निर्माण संख्या बढेको उनी बताउँछन् ।

विवेक रसाइली

कान्तिपुर फिल्म एकेडेमीबाट फिल्म पढेका विवेकलाई बलिउडमा निर्माण भइरहेको सिरिज देखेर यतातिर काम गर्न मन लागेको हो । 'मलाई सिरिज पनि मन पर्ने । राम्रो काम गर्न सकियो भने दर्शक तान्न सकिन्छ भयो, त्यसैले सिरिज निर्माण गर्न थालें,' उनले सुनाए,' नेपालमा पनि एक लेभलको वेब सिरिज बनाउनु पर्छ भन्ने भएको थियो । सिरिज फिल्म जस्तै हो । तर, सिरिजमा धेरै मिहेनत हुन्छ । राम्रो काम गर्‍यो भने दर्शकले मन पराइदिनु हुन्छ ।'

दर्शकमा डिजिटल प्लेटफर्मको पहुँच बढेसँगै धेरैले सिरिज निर्माण गरेको उनी बताउँछन् । उनी आफूले निर्माण गर्ने नयाँ सिरिज अन्तर्राष्ट्रिय प्लेटफर्ममा प्रदर्शन गर्ने सोचमा छन् ।

नेपाली दर्शक 'कला'मा खर्च गर्ने बानीको कमी भएको बताउँछन् विवेक । त्यसैले यो बानीको निर्माण गर्न अन्तर्राष्ट्रिय प्लेटफर्मतिर सिरिज लैजाउने तयारी रहेको बताउँछन् उनी ।

'नेपाली दर्शकमा पैसा तिरेर हेर्नुपर्छ भन्ने बानी पनि छैन । नेपाली फिल्म हलबाट निस्केपछि युट्युबमा आउँछ भन्ने मानसिकता छ । त्यसैले कति त हलसम्म जानुहुन्न,' उनले भने, 'हामीले सिरिज पनि युट्युबमा राख्यौं भने त्यहाँ निःशुल्क उहाँहरुले हेर्नुहुन्छ । निशुल्क हेर्ने बानी पर्दै जान्छ । कलालाई पनि किनेर हेर्नुपर्छ भनेर अन्तर्राष्ट्रिय प्लेटफर्म ताकेको हो ।'

प्रकाशित : आश्विन १६, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?