१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सचेतनाको लय

सुशीला तामा‌ङ

काठमाडौँ — कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन र निषेधाज्ञा गरियो । हात धुन, मास्क लगाउन र सामाजिक दूरी कायम गर्न सिकाइयो । तर संक्रमणको दर घटेको होइन । समाज जे भोग्दै छ, सर्जक तिनलाई गीत संगीतमा पनि पस्किँदै छन् ।

सचेतनाको लय

लोकभाका टिप्ने कलाकार पुरुषोत्तम न्यौपानेदेखि आधुनिक गीतलाई फ्युजन गराउने दीपक वज्राचार्यसम्म आफ्ना गीतमा कोरोनाकालमा अपनाउनुपर्ने सचेतना पस्किरहेका छन् । समाजले जे भोगिरहेको छ, त्यो कलाकर्मीले सिर्जनामा पनि व्यक्त गरिरहेका छन् । यो अभियानमा मेलिना राई, विनय कार्की, सबिन लामा, धर्मराज न्यौपाने शिशिर, शोभा थापा, रेशम सापकोटा, नरेश खाती क्षत्री, एलिना चौहान र हेमन्त कञ्चन रसाइलीलगायत पनि पछि छैनन् । उनीहरूका स्वरमा आएका कोरोनासम्बन्धी गीतहरूमा सन्देशमूलक सूचना छन् । संगीतलाई सबै तहका मानिसमा छिटो र सहज रूपमा सूचना प्रवाह गर्ने सशक्त माध्यमका रूपमा लिन्छन् यिनै सर्जकहरू ।

सांगीतिक क्षेत्रका सर्जकलाई मनोरञ्जन दिने साधकका रूपमा मात्र नभएर समाजको यथार्थ चित्रण गर्ने संवाहकका रूपमा लिन्छन् लोक गायक पुरुषोत्तम न्यौपाने । लामो समयदेखि लोक संगीतकै माध्यमबाट लोक जीवनका मौलिक पक्षलाई जस्ताको तस्तै पस्किरहेका उनले कोरोना महामारीको यो विपत्लाई ‘कोरोना भाइरस रोकथाम लोकदोहोरी गीत’ शीर्षक दिएर लोक संगीतमै प्रस्तुत गरेका छन् । बजार र व्यवसायभन्दा पनि आम जनमानसका लागि भए पनि गीत ल्याएको उनले सुनाए । ‘सामाजिक सचेतना र कोरोनाबाट मानसिक रूपमा बलियो भई सुरक्षित बनौं भन्ने सन्देशमूलक मेरो गीत दूरदराजसम्मका जनतालाई हो,’ उनले भने, ‘मिडिया तथा कुनै प्रविधिको पहुँच नपुगेको ठाउँका मानिसले पनि गीत सुनेर नै कोरोनाबारे थाहा पाउन सक्छन् ।’ अशिक्षित वर्गका मानिसले समेत गीतैमार्फत कोरोनाबारे जानकारी पाउन सकिने उनको ठहर छ ।

गायक वज्राचार्यको ‘द कोरोना’, सापकोटाको ‘कोरोना भाइरसबाट बच्ने उपाय’, खातीको ‘कोरोना भाइरस’, रसाइलीको ‘नेपालमा आयो रे कोरोना भाइरस’ जस्ता गीतहरूमा कोरोना सचेनताकै सन्देशहरू समेटिएका छन् । मनोरञ्जनसँगै समसामयिक विषयवस्तुलाई समेटिएकाले गीतहरूलाई दर्शक, श्रोताले रुचाएको गायक सापकोटा बताउँछन् । उनका अनुसार गीतले कोरोनाबारे सकारात्मक तथा नकारात्मक विविध प्रचारले विक्षिप्त र भ्रममा रहेका मानिसलाई मानसिक रूपमा बलियो बनाउन सघाउनुका साथै सुसूचित हुन सिकाउँछ । उनले गीतैमार्फत अन्य मुलुकहरूझैं नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको कुरा व्यक्त गरेका छन् । कोरोना लागेपछि उच्च जरो, रुघाखोकी, सास फेर्न गाह्रो हुने लक्षण देखा पर्ने र यसबाट बच्न मास्क, सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नेलगायतका उपायहरू उनको गीतमा समेटेका छन् । स्वास्थ्यकर्मी तथा कुनै माध्यमबाट आएका सुझावहरूभन्दा गीतमार्फत मानिसले सजिलै ग्रहण गर्न सक्ने उनको विश्वास छ ।

खाती र चौहानको गीतको म्युजिक भिडियोमा ऋषि धमलादेखि कोमल वली, दीपाश्री निरौला, रमेश बीजी, पशुपति शर्मा, बद्री पंगेनीलगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । अहिलेको समयमा कोरोना रोकथाम र सुरक्षाका लागि सरकारको मात्र मुख ताक्नुभन्दा प्रत्येकले आ–आफ्नो ठाउँबाट सक्दो सक्रियता देखाउनुपर्ने गायक खातीको तर्क छ । उनी भन्छन्, ‘अग्रपंक्तिमा जो–जो खटिएर लागिरहनुभएको छ, त्यसरी नै हामी सर्जकहरूले पनि संगीतमार्फत राज्य र जनतालाई सहयोग गरेर दायित्व पूरा गर्न सकिन्छ ।’ संगीतको धुनमा लयसँगै समाजको चित्रण भएकाले आम मानिसको मनमा छिट्टै प्रभाव पार्न सक्ने उनको भनाइ छ ।

‘विश्वभरि फैलियो भाइरस, के हो नि हो डर मात्रै लाइराछ

नेपालमा नि आयो रे कोरोना, केही हुँदैन पापी मन नरोन’

गायक हेमन्त कञ्चन रसाइलीले सारंगी बाजाको धुन मिसाएर कोरोनाको कहरलाई गीतैमार्फत अभिव्यक्त गरेका छन् । कोरोना नौलो रोग भएकाले सबैको मनमा त्रास छ । विश्वमा मृत्यु हुनेको संख्या थपिइरहेकाले सबै जनाले आफू बचेर आफू बचौं भनेर उनले गीतैबाट आग्रह गरेका छन् । कोरोनासँगै भएको लामो समयको लकडाउनले ल्याएको मानसिक छटपटी, पीडा र आम मानिसको भोगाइलाई संगीतमा चित्रण गरेको उनी सुनाउँछन् ।

सांगीतिक क्षेत्रमा माथि उठ्ने र आर्थिक रूपमा बाँच्ने हुटहुटीमा बजारिया तत्त्वलाई आधार मानेर आएका गीतहरू अहिले नगन्य छन् । त्यसैले भ्युज र ट्रेन्डिङको माहोलमा जनचेतनामूलक गीतहरू न्यून नै छन् । यसप्रति राज्यको नै उदासीनता रहेको न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘प्राकृतिक प्रकोप तथा राजनीतिक घटनाक्रमलाई नियालेर संगीतमा ढाल्ने स्रष्टा तथा सर्जकलाई राज्यले खोजी गर्नुपर्छ ।’ कतिपय सर्जकहरूले देश र जनताका लागि संगीत सिर्जना गर्ने सोच बनाए पनि आर्थिक लगानीको चिन्ताले नै गर्न नसकेको उनको दाबी छ । जनताप्रति आफ्नो उत्तरदायित्व निभाउन भए पनि न्यौपानेले आफ्नै थोरै लगानीमा ‘मिर्मीमुनि काली थुनेको’ बोलको पुरानै लोकगीतको ट्र्याकमा कोरोना गीत भिडियोसहित प्रस्तुत गरे ।

चिनजानकै साथीभाइमार्फत रेकर्डिङ, छायांकन र पोखरास्थित आफ्नै दोहोरी साँझमा अभिनयका लागि आर्थिक लगानी नभए पनि अन्य पक्षहरूमा एक लाख हाराहारीको उनले लगानी गरेको सुनाए । विभिन्न कार्यक्रम तथा अन्य क्षेत्रमा अर्बौं लगानी गर्ने राज्यले संगीत क्षेत्रप्रति गरेको बेवास्तामा उनको दुखेसो छ । द्रुत र प्रभावकारी ढंगमा सूचना प्रवाहका लागि राज्यले लगानी गर्ने हो भने जुनसुकै विपत्तिलाई संगीतमा प्रस्तुत गर्न सर्जकहरू तत्पर रहेको उनी बताउँछन् । आर्थिक लगानीको भार नपर्ने भएपछि जनहितमा जारी सूचनामूलक गीतहरू तीव्र रूपमा स्वतः सिर्जना हुने उनको अनुमान छ ।

प्रकाशित : आश्विन १४, २०७७ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?