कंगनाको राजनीतिक बोली !

लाखौं किसानले कृषि विधेयकको विरोध गरिरहँदा कंगना भने समर्थनमा उत्रिएकी छिन् । पछिल्लो समय कंगना मोदी सरकारको समर्थनमा खुलेरै लागेको देखिन्छ ।
कान्तिपुर संंवाददाता

आफ्नो पहिचान खोज्न घरबाट भागेर कंगना रनावतले पहिलो पटक विद्रोह गरिन् । बलिउडमा संघर्ष गरिरहँदा पनि आफूमाथि भएको दुर्व्यवहारबारे बोल्न डराइनन् । फिल्म क्षेत्रको बेथितिबारे बोल्ने साहस गरिरहिन् ।

कंगनाको राजनीतिक बोली !

करण जोहरको सामुन्‍ने नै उनलाई 'नातावाद'को झण्डा बोक्नेदेखि 'मुभी माफिया'सम्म आरोप लगाउने दुस्साहस सायदै अरुले गर्न सक्छन् । ऋतिक रोशनसँगको प्रेम सम्बन्ध मिडियामा छताछुल्ल हुँदा पनि बुलन्द रुपमा प्रस्तुत भइन् ।

फिल्म क्षेत्रका मुद्दामा खरो टिप्पणी गर्ने उनै कंगना हिजोआज राजनीतिक रुपमा भने पूर्वाग्रही देखिन थालेको टिप्पणी सुनिन्छ । त्यसो त राजनीतिक टिप्पणी गर्ने उनी पहिलो होइनन् । यसअघि बलिउड वामपन्थी र दक्षिणपन्थी विचारधारामा विभाजित हुँदै आएको छ । तर उनको यो आवाज कुनै पार्टीको विचारधाराबाट निर्देशित भएको भान हुन्छ । ‍पछिल्ला केही गतिविधिलाई उनी राज्यसभाको टिकट पाउन बीजेपी प्रवेशको बेजोड तयारीको संकेतका रुपमा पनि अर्थ्याउन थालिएको छ । कंगनाले भने आफ्ना पछिल्ला कदमहरु राजनीतिका लागि नभएको दावी गर्दै आएकी छिन् । फिल्महरुमै व्यस्त हुन चाहने कंगना पछिल्लो समय किन राजनैतिक विवादमा मुछिइरहेकी छिन् त ?

केही समयअघि 'मणिकर्निका' फिल्म रिलिज हुने बेला कंगनाको विरोधमा उत्रिएको बीजेपीको ठूलो तप्का अहिले उनको समर्थनमा देखिन्छ । त्यतिबेला ठाउँठाउँमा फिल्मको प्रदर्शन रोक्न विरोधमा उत्रिएको करणी सेना यसपटक कंगनाको स्वागत गर्न मुम्बई विमानस्थलमा पुगेको थियो । सरकारले 'वाई प्लस' सुरक्षा उपलब्ध गराएका कारण करणी सेनाको त्यो इच्छा भने पूरा भएन ।

कंगनाका अभिव्यक्तिका बारेमा भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहकै शब्दमा 'क्रोनोलोजी' हेर्नुपर्छ ।

अभिनेता सुशान्तसिंह राजपुतको मुद्दामा निरन्तर बोल्दै आएकी कंगनाले पछिल्लो समय मुम्बई प्रहरी र महाराष्ट्र सरकारले सुशान्तको मृत्युको दोषीलाई बचाएको आरोप लगाइन् । मुम्बई प्रहरीमाथि सुशान्तको मृत्युलाई लिएर प्रश्न उठाइरहिन् । त्यसपछि शिव सेनाका नेता र कंगनाबीच आरोपप्रत्यारोप सुरु भयो । उनले शिव सेनाले मुम्बईलाई पाकिस्तान बनाउन खोजेको अभिव्यक्ति दिँदै आफूलाई मुम्बईमा असुरक्षित महशुस हुनेसमेत ट्विटरमार्फत जनाइन् ।

मुम्बईको तुलना पाकिस्तान अधिनस्थ कश्मीर(पीओके) सँग गरेको भन्दै शिव सेनाका नेता आक्रामक भए । यो त शिव सेनाको स्वभाव भइहाल्यो । कंगनाको अभिव्यक्तिले बिच्कँदै शिव सेनाका नेता सञ्जय राउतले कंगनालाई मुम्बई नआउन धम्की दिए । कंगना पनि के कम ! सामाजिक सञ्जालमार्फत् सञ्जय र शिव सेनाविरुद्ध भिड्न थालिन् ।

शिव सेनाले आफ्नो मुखपत्र 'सामना'मा आपत्तिजनक शब्द (हरामखोर) प्रयोग गर्दै कंगनालाई मानसिक रोगीको संज्ञा दियो । महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखको निशानामा पनि परिन् कंगना । गृहमन्त्री देशमुखले त पहिल्यै कंगनालाई लागेको लागूऔषध सेवनको आरोपमाथि पनि छानबिन गर्ने कुरा उठाए । कंगना र शिवसेनाबीचको शितयुद्ध त्यतिमै सीमित रहेन । त्यसपछि अवैध रुपमा निर्माण गरेको भन्दै बृहन्‍मुम्बई महानगरपालिका (बीएमसी)ले कंगनाको कार्यालय भत्कायो ।

त्यसपछि त कंगना आगो भइन् । मुख्यमन्त्री उद्धव ठाकरेलाई 'तँ' सम्बोधन गर्दै ट्विटरमार्फत प्रहार गरिन् ।कंगनालाई यी शक्तिहरुसँग एक्लै लड्न केले उक्सायो ? महाराष्ट्रको मुख्यमन्त्रीलाई 'तँ' सम्बोधन गर्दै बोल्न के उनकै आवेग मात्र काफी थियो ? कंगनाको समर्थनमा हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरदेखि बीजेपीका एक से एक प्रवक्ताहरु अगाडि देखिए ।

महाराष्ट्र सरकार र शिव सेनासँग विवाद चर्किरहँदा मोदी नेतृत्वको केन्द्र सरकारले कंगनालाई वाई श्रेणीको सुरक्षा दिनुलाई यसको प्रमाण मान्नेहरु पनि छन् । आफ्नो कार्यालय भत्काइएपछि कंगनाले सहजै महाराष्ट्रका गभर्नर भगतसिंह कोश्यारीसँग भेट पाइन् । यसअघि भारतीय राजनीतिमा विपक्षी दलका नेताहरुले गभर्नरलाई भेटेर सरकारप्रतिको असन्तुष्टि जाहेर गर्न खोज्दा समय नपाएका थुप्रै उदाहरण छन् ।

कंगनाको कार्यालय भत्काएको भन्दै बीजेपीबाट महाराष्ट्र सरकारको आलोचना त हुँदै आएको थियो । तर यस्तैमा बीजेपीको राजनैतिक कदममा प्रयोग भइन् कंगना । महाराष्ट्रमा कांग्रेस, एनसीपी र शिवसेना गठबन्धको सरकार बनेपछि शिव सेना र बीजेपीबीच 'कोल्ड वार' जारी छ । शिव सेना नेतृत्वको गठबन्धन सरकारसँग आरोपप्रत्योपमा लगातार लडिरहेकी कंगनालाई बीजेपीले साथ दिएकै देखिन्छ ।

कंगनालाई वाइ श्रेणीको सुरक्षा दिएर बीजेपीले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई कमजोर देखाउन खोजेको सिद्धार्थ भाटियाले 'द वायर'मा उल्लेख गरेका छन् । भाटियाले लेखेका छन्, 'राज्यको सेना, एनसीपी, कांग्रेस गठबन्धनहरुको आमधारणा छ कि यो उद्धव ठाकरेलाई कमजोर बनाउन चालेको कदम हो । जसको उद्देश्य उनको सरकार ढाल्नु हो ।'

शिव सेना र कंगनाबीचको झगडामा शिव सेना र बीजेपी दुवैलाई फाइदा भयो । महाराष्ट्रको विभिन्न ठाउँमा फैलिरहेको कोरोना भाइरसको विषयलाई लिएर प्रश्न गर्नेहरु कंगनाको मुद्दातिर मोडिए भने अर्कोतर्फ बीजेपीले यसै कारणले उत्तर भारतीय राज्यमा राजनीतिक फाइदा उठाउन पायो । त्यसो त शिव सेनाको राजनीतिको मूल आधार 'मराठी प्राइड' फेरि एक पटक चर्चामा आयो ।

सरकार निकट टिभी च्यानलहरुले कंगनाको विषयलाई लगातार केन्द्रमा राखेर प्रसारण गरे । यसरी त कोरोनाले नित्याएका समस्याहरु ओझेलमा पर्ने नै भए । पछिल्लो समय यस्ता सञ्‍चारमाध्यमले राजनैतिक विकर्षणका लागि बलिउडका मुद्दालाई उठाउँदै आएको देखिन्छ । यहाँसम्मकी दिनरात मोदीका कदमबारे चर्चा गर्ने च्यानलले यस पटक मोदीका कदम पनि कभर गरेका छैनन् ।

कृषि विधेयकको विरोधमा भारतभर किसान आन्दोलनमा उत्रिँदा एनडीटीभीलगायतका केही टेलिभिजनबाहेकका च्यानलमा यस्ता खबरले विरलै प्राथमिकता पाएका छन् । यहाँसम्म कि करिब ३ दर्जन किसान संगठन र विपक्षी दल विधेयकको विरोधमा उत्रिँदा कंगना भने विधेयकको समर्थनमा देखिइन् । मोदी सरकारले किसानको सशक्तीकरण र उनीहरुलाई आत्मनिर्भर बनाउले ल्याएको लोककल्याणकारी योजनालाई विपक्षीले रोक्न खोजेको आरोप कंगनाले लगाइन् । यसको विरोध गर्ने किसानलाई आतंककारीसमेत भन्न भ्याइन् । कोरोना महामारीका कारण लाखौं भारतीय युवाले जागिर गुमाएका बेला कंगना र लागूऔषधको मुद्दा उचालिँदा सरकारलाई राहत महसुस हुने नै भयो ।

कंगनालाई बीजेपीले परिचालन गरेको भन्ने धारणा त सामान्य नै भएको बताइन्छ । तर कंगनाले आफूलाई कसैले प्रयोग नगरेको बताउँछिन् । उनकै दाबी मान्ने हो भने कंगनालाई मोहरा र खेलाडीको रुपमा प्रयोग गर्ने कोही जन्मेकै छैन । केही दिनअघि बीबीसीले बिजेपी र शिव सेनाको लडाईंमा कंगना मोहरा कि खेलाडी ? शीर्षकमा समाचार सार्वजनिक गरेको थियो । उक्त समाचार सेयर गर्दै ट्विटरमा कंगनाले लेखेकी थिइन्, 'कंगना रनावत न मोहरा हो न त एक खेलाडी । र आजसम्म त्यो व्यक्ति जन्मेको छैन जो मलाई मोहराको रुपमा प्रयोग गर्न सक्छ ।'

सिधा बोल्ने छवि बनाएकी 'कन्ट्रोभर्सी क्वीन' कंगना आफ्नै कुरामा चिप्लिइन् । उनले नस्विकारे पनि बीजेपी सरकारले उनलाई प्रत्यक्ष/अप्रत्यक्ष प्रयोगमा ल्यायाे । बीजेपीको समर्थनमा बोलिरहेकी हुन्छिन् कंगना । शिव सेनाका सांसद प्रताप सैनिकले त कंगनाको ट्विटर बीजेपीले चलाउँदै आएको बताउँछन् । उनले 'द प्रिन्ट'लाई भनेका थिए, 'हामीलाई प्राप्त जानकारीअनुसार कंगना रनावतको ट्विटर अकाउन्ट वास्तवमा बीजेपीको आइटी सेलले प्रयोग गर्दै आएको छ ।'

खासमा शिव सेनालाई कंगनाले उक्साएको बताउँछन् महाराष्ट्रको राजनीतिलाई नजिकबाट बुझेका हेमन्त देसाई । उनले बीबीसीलाई भनेका थिए, 'कंगनाले जसरी बाबर शब्दको प्रयोग गरिन् । त्यसले प्रष्ट्याउँछ कि कंगनाले पनि राजनैतिक भाषा प्रयोग गरेकी छिन् । उनी पनि उक्साउनेवाला भाषामा कुरा गरिरहेकी छिन् ।'

कंगना र शिवसेनाबीचको भनाभन बिहारको चुनावसम्म लम्बिने विज्ञहरुको आकलन छ । अहिले पनि कंगना शान्त छैनन् । मंगलबार मात्रै आफ्ना छिमेकीलाई नोटिस पठाएको भन्दै कंगनाले आपत्ति जनाएकी छिन् । आफूलाई समर्थन गरेकै आधारमा छिमेकीलाई बीएमसीले नोटिस पठाएको उनको आरोप छ ।

उनी फिल्म उद्योग क्षेत्रको यौन दुर्व्यवहारदेखि लागूऔषधका मुद्दामा बेतुकका धारणा राखिरहेकी छिन् । फिल्मकर्मी अनुराग कश्यपमाथि अभिनेत्री पायल घोसले यौन दुर्व्यवहारको आरोप लगाएपछि कंगनाले अनुरागको पक्राउको माग गरिन् । अपराध प्रमाणित नहुँदै सजायको माग गरेर उनले ह्यासट्याग अरेस्ट अनुराग कश्यप नै चलाइन् । धेरैले उनको यो गतिविधिलाई लिएर आलोचना गरे ।

महिलामाथि अपमानजनक टिप्पणी गरेको भन्दै सोमबार मुम्बई प्रहरीले युट्युबर साहिल चौधरीलाई पक्राउ गरेको छ । त्यसमा पनि कंगना चुप रहिनन् । पायल घोषले एफआईआर दर्ता गराउँदा पनि निर्देशक अनुराग कश्यपलाई पक्राउ नगरेको तर कसैले एफआईआर दर्ता गराएकै भरमा साहिललाई प्रकउ गरेको भन्दै उनले ट्विटरमा भारतीय कांग्रेसलाई मेन्सन गर्दै 'के हो यो सब' भन्दै प्रश्न गरेकी छिन् ।

जसरी सुशान्तको मृत्युलाई नातावादको विषयतिर डोर्‍याउन उनले भूमिका खेलिन्, त्यसरी नै विभिन्न विषयहरुमा उनी आफ्नो विचार लाद्ने ढंगले अगाडि बढेको देखिन्छ । किसान आन्दोलनलाई पनि उनले उपयुक्त नरहेको बताइन् । सिद्धार्थले 'द वायर'मा मुम्बईलाई पाकिस्तानसँग तुलना गरेर कंगानले अनर्गल टिप्पणी गरेको उल्लेख गरेका छन् । आफ्नो कार्यालय भत्काउँदा भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी किन मौन भन्दै उनले प्रश्न गरिन् । यी सब घटना नियाल्दा अब निडर कंगना आफ्नो करियरलाई लिएर चिन्तित हुनुपर्ने बेला देखिन्छ ।

बीबीसी हिन्दीमा केही दिनअघि समीक्षक तनुल ठाकुरले भने अनुसार राजनैतिक क्षेत्रतिर झुकाव राख्दा कंगनाले आफ्नो करियरलाई महत्त्व दिन छोडेकी छिन् । 'व्यक्तिगत रुपले कंगनाको व्यवहारले मलाई एकदम दु:ख लाग्छ । सायद उनले आफ्नो एक्टिङ करियरलाई महत्त्व दिन बन्द गरेकी छिन् । सायद उनी राजनीतिमा जाने संकेत दिँदैछिन् ।'

–एजेन्सीहरूकाे सहयाेगमा रीना माेक्तानलेे तयार पारेकाे रिपाेर्ट

प्रकाशित : आश्विन १३, २०७७ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?