१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बयान दिँदा भावुक बनेकी दिपिकालाई एनसीबीले भन्यो, 'इमोस्नल कार्ड' नखेल्नुस्

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको लागू औषध नियन्त्रण ब्युरो (एनसीबी)ले अभिनेत्री दिपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग लागूऔषध मामिलामा सोधपुछ गरेको छ । 

बयान दिँदा भावुक बनेकी दिपिकालाई एनसीबीले भन्यो, 'इमोस्नल कार्ड' नखेल्नुस्

बलिउड उद्योगका सदस्यको लागूऔषध सम्बन्धमा उनीहरुसँग एनसीबीले सोधपुछ गरेको हो । एनसीबीको अनुसन्धान सुरुवातमा अभिनेता सुशान्तसिंह राजपुतको मृत्युमाथि भएको थियो । त्यसै क्रममा लागूऔषध कारोबारमा उनकी प्रेमिका रिया चक्रवर्तीलाई पक्राउ गरियो । शुक्रबार अभिनेत्री रकुलप्रित सिंह, जया शाह र करिश्मा प्रकाशसँग एनसीबीले सोधपुछ गरेको थियो ।

धर्मा प्रोडक्सनको पूर्व कर्मचारी क्षितिज रवि प्रकाशलाई पनि एनसीबीले शुक्रबार सोधपुछपछि पक्राउ गरेको थियो । शनिबार उनलाई मेडिकल जाँचका लागि अस्पताल लगिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

धर्मा प्रोडक्सनका प्रमुख, निर्माता एवं निर्देशक करण जोहरले क्षितिज र अनुभव चोपडासँग कुनै सम्बन्ध नभएको बयान सार्वजनिक गरेका छन् । अनुभवलाई पनि यो मुद्दामा सोधपुछ गरिएको छ । क्षितिज दिल्लीमा हुँदा एनसीबीले उनको घरबाट मेरुवानाको केहि मात्रा बरामद गरेको थियो ।

करणको बयानपछि एनसीबीले यो अनुसन्धान सन् २०१९ को पार्टीलाई लिएर नभएको उल्लेख पनि गरेका छन् । शनिबार एनसीबीले करिश्मा, जया, रकुल र फेसन डिजाइनर सिमोन खम्बाटाको मोबाइल जफत गरेको छ ।

अभिनेत्री पादुकोण बयान दिने क्रममा तीनपटक भावुक भइन् । त्यसपछि एनसीबीले उनलाई 'इमोस्नल कार्ड' नखेल्न अनुरोध गरेको इन्डिया टूडेमा समाचार उल्लेख छ । यसअघि एक ह्वाट्सएप ग्रुपमा लागूऔषधको प्रयोगबारे संवादमा दिपिकाको पनि मेसेज गरेको कुरा सार्वजनिक भएको थियो ।

एनसीबीको बयानमा ह्वाटसाप च्याट गरेको स्विकारे पनि लागूऔषध उपभोग र कारोबार आफूले नगरेको बताइन् । दिपिकालाई पाँच घण्टा सोधपुछ गरिएको थियो । सुशान्तसिंह राजपुतको मृत्युबारे भने उनलाई केही प्रश्‍न सोधिएन ।

अभिनेत्री श्रद्धाले पनि एनसीबीको अगाडि लागूऔषध उपभोग नगर्ने बयान दिइन् । ६ घण्टाको सोधपुछपछि उनी घर फर्किएकी थिइन् । साराअलीले आफूले चुरोट सेवन गरे पनि लागूऔषध उपभोग नगर्ने बताइन् । 'केदारनाथ'को छायांकनको समयमा सुशान्तसँग नजिक भएको पनि बताइन् । एनसीबी र ड्रग्स मामिलाको कुनै पनि समाचार सम्प्रेषण र प्रशारण नगर्न रकुलले दिल्ली उच्च अदालतमा निवेदन दिएकी छिन् ।

प्रकाशित : आश्विन ११, २०७७ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?