१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सदाबहार लाइभ पर्फमर

हिट र फ्लप, भ्युज र ट्रेन्डिङको लहडभन्दा माथि उठेर संगीत साधनामा तल्लीन छन् नवीन के. भट्टराई
गोकर्ण गौतम

काठमाडौँ — मेरो पनि कसैलाई यादहरू आउँछ र ?
मेरो लागि नि कसैको आँखाहरू रसाउँछ र ?

सदाबहार लाइभ पर्फमर

नवीन के. भट्टराईले बन्दाबन्दीमा जन्माएको गीत हो यो । विजय शिवाकोटीले लेखेको यो गीतलाई लयबद्ध र रेकर्डिङ उनले घरमै गरे । भिडियो पनि घरैमा खिचे । कोरोना महामारीकै दौरान उनले पाँच गीत तयार पारे । एल्बम निकाल्ने ध्याउन्नमा छन् । ‘लकडाउन मज्जैले सदुपयोग भयो । नत्र यति छिटो कहाँ एल्बम तयार पार्न सकिन्थ्यो र,’ उनी मुस्कुराए, ‘संगीतमै तल्लीन भएर होला, भाइरसको त्रासले त्यति धेरै सताउन पाएन ।’

जब कोरोना भन्ने बेइमानी भाइरसले यो दुनियाँलाई त्राहिमाम बनाएको थिएन, कन्सर्टहरूमा नवीनको दौडधुप बाक्लो थियो । लाइभ ब्यान्डमा मात्र पर्फमर गर्ने उनको शैली अरू कलाकारभन्दा फरक छ । शब्द र मेलोडीको गहिराइमा डुब्छन्, गायकी बिछट्टै बेग्लै हुन्छ । उनी भन्छन्, ‘म आत्मादेखि गाउँछु ।’ उनले नभनेको अर्को वास्तविकताचाहिँ ‘उनको आवाज पनि सुन्नेको आत्मासम्मै पुग्छ, मन भरिन्छ ।’ त्यस्तो हुँदैनथ्यो भने अढाई दशक कुनै गायक अनवरत ‘बाँचिरहन’ सक्थ्यो त ? सुरुवाती दिनतिर उनले कमाएका खाँटी श्रोता उनीसँगै छन्, समयसँगै नयाँ पुस्ता पनि उनको स्वरमा मोहित हुँदै गए । ‘ए झरी नझरी देऊ त त्यसरी,’ ‘साँझपख एकान्तमा,’ ‘डर लाग्छ तिम्रो मेरो,’ ‘छैन जून किन जून जस्तो’ र ‘तिमी हौ लाखौंको धड्कन’ लगायतका सूची लामो छ, जसलाई सुन्न आज पनि श्रोता हुरुक्क गर्छन् ।

उनी नेपाली पप संगीतको दायरा फराकिलो बनाउने एउटा यस्तो जब्बर हस्ती हुन्, जो गायनलाई विशुद्ध व्यवसाय मान्दैनन्, अन्तरमनको आवाज ठान्छन् । जसले कहिल्यै हिट र फ्लपको लेखाजोखा गरेनन्, सिर्फ गाइरहे । व्यावसायिक कोणबाट नवीन कहिले शिखरमा पुगे, कहिले आधारशिविरमा झरे । संगीतप्रतिको लगाव र साधनाबाट विचलित भएनन् । यही कारण हुनुपर्छ, उनका अधिकांश समकालीन संगीतकर्मी कोही कतै छुटे, कोही कतै । उनी भने उही गतिमा साधनारत छन् । उनीसँग फ्यानको प्रेम छुटेको छैन ।

उनी आफैं भन्छन्, ‘हिजो सुप्पर–डुप्पर हिट भएको बेला पनि यो क्षणिक मात्र हो भन्ने बोध थियो, कुनै भ्रम थिएन । त्यतिबेला पनि म मनको खुसीका लागि गाउँथें र मेरा गीतले सुन्नेहरूको मन खुसी होस् भन्ने ठान्थें । आज पनि त्यही हो ।’ गीत ‘हिट’ हुँदा होइन, गीतले आयु पाउँदा फुरुङ्ग पर्छन् । ‘मेरो प्रयास सदा दीर्घजीवी गीत गाउनमा हुन्छ, बाँकी गौण हुन्छन्,’ उनले संगीत–ध्येय सुनाए ।

प्रारम्भतिर उनी ‘द स्टिल ह्वील्स’ ब्यान्डमा जोडिएका थिए । अंग्रेजी गीतहरू गाउँथे । तर, यो सहकार्यले निरन्तरता पाएन । ब्यान्डका सदस्यहरू विदेशतिर लागे । अंग्रेजी गीत गाएर मात्र प्यास मेटिएको थिएन, त्यसैले नेपाली गाए । पूर्वीय र पश्चिमी संगीत फ्युजन गर्न थाले । उदाहरण हो– ‘साँझपख तिमीलाई ।’ रक र रागलाई फ्युजनबाट ‘रात बित्यो’ जन्मियो । ‘आँखामा तिमीलाई’ ले उनलाई स्टार बनायो । स्वरमा नयाँपन थियो । शब्द चयन र मेलोडीमा विशेष ध्यान दिन थाले । फलतः पप गीत भन्नासाथ मुन्टो बटार्नेले पनि उनका गीत सुन्न थाले । उनको बुझाइमा शब्दले आयु दिन्छ , मेलोडीले आत्मा भर्छ । जब दुवैको सहज सम्मिश्रण हुन्छ, गीत अमर बन्छ । भन्नु परेन कि, उनी सर्वदा यस्तै गीत सिर्जनामा तल्लीन हुन्छन् । उनका लागि गीत कहिल्यै ‘ग्ल्यामर’ भएन, मार्मिक अभिव्यक्ति मात्र भयो । २०५५/५६ तिर उनको एल्बम ७५ हजारको हाराहारीमा बिक्थ्यो । जबकि त्यतिबेला २५ हजार बिक्नु भनेको ‘हिट’ हुनु मानिन्थ्यो ।

त्यति बेलैबाट एल्बमका सबै गीत राम्रो बनाउन र एल्बमको भाउ बढाउन लागिपरे । उनको साख आमगायकको भन्दा अलग र अग्लो हुनुको अर्को कारण उनले सधैं लाइभ म्युजिकमा गाए, खल्तीमा ट्र्याक बोकेर हिँडेनन् । अभ्यासबिनै सोझै कन्सर्टमा गाउने गरेनन्, हरेक सोका लागि अभ्यास गर्थे । आज पनि उस्तै हो । उनकै भनाइमा, सायदै त्यस्तो कुनै दिन हुन्छ रियाज नगरेको । नियमित साधनाकै करामत हो, उनका हरेक सोमा दर्शक मन्त्रमुग्ध हुनु । ‘हरेक गीत, हरेक पमर्फमेन्स पहिलोझैं लाग्छ, त्यहीअनुरूप संवेदनशील हुन्छु । अभ्यासले आत्मविश्वास दिन्छ,’ संगीतमा स्नातकोत्तर नवीनले भने ।

नवीन आउने बेला क्यासेट र एफएमको जगजगी थियो, अलिपछि सीडीहरू आए । अहिले युट्युबको भ्युज नै कलाकारको सफलताको मानक हुन थालेको छ । जसको धेरै भ्युज, उही ‘लोकप्रिय’ । रातारात हिट हुने र रातारातै हराउने विडम्बनाबीच गुज्रिरहेको अहिलेको नेपाली संगीत । तर, भ्युजको यो कृत्रिम गोलचक्करमा नवीन कहिल्यै फसेनन् । यसो रे, यो उनले हिँड्ने बाटै होइन् । ‘बुस्ट गरेर, खर्चेर गायक भइन्न । कम्प्युटरको प्रयोगले होइन, श्रोताको मन जित्यो भने गीतले जीवन पाउँछ,’ थोरै मुस्कुराउँदै भने, ‘उमेर घर्केर पनि होला, यस्तो क्षणिक र बनावटी चर्चाको मोहले तान्दै–तान्दैन ।’

नवीन आफूलाई ‘युट्युब सिंगर’ होइन, ‘लाइभ पर्फमर’ मान्छन् । जसलाई अहिले बजारमा कस्ता गीत चलिरहेका छन् भन्नेले अर्थ राख्दैन, कसरी मार्मिक गीत सिर्जना गर्न सकिन्छ भन्ने ध्याउन्न मात्र हुन्छ । ‘जस्तो हिट भइरहेको छ, त्यस्तै गाउने लहडले त आफ्नो सिर्जना मर्छ, आफ्नोपन हराउँछ । सर्जकले आफ्नो शैली स्थापित गर्नुपर्छ,’ नवीनले भने, ‘गीत आजका लागि मात्र होइन, भोलिका लागि पनि गाइन्छ ।’ शब्द, संगीत र गायिकीभन्दा भिडियोमा भर पर्ने कलाकार देख्दा उनलाई उदेक लाग्दोरहेछ ।

फेसबुक चलाउँछन् तर खासै सक्रिय छैनन् । आजकल उनका गीतहरूले युट्युबमा लाखौं–लाख भ्युज पाउँदैनन्, ट्रेन्डिङमा छाउँदैन । आजभोलिको भाषामा भन्दा ‘भाइरल’ हुँदैन । यसो हुँदा आफू किनारामा परेको जस्तो लाग्दैन ? उनले झट्ट जवाफ फर्काइहाले, ‘अहँ, लाग्दैन । गलामा लगाए पनि वा खाल्डो खनेर गाडे पनि सुन सुन नै हुन्छ, माटो हुँदैन । गीतमा भावना छ भने त्यो कहिल्यै मर्दैन, गीतको मूल्यांकन भ्युजले गर्दैन ।’

उनी यत्तिमै रोकिएनन् । थपे, ‘मेरा लागि युट्युब दर्शक/श्रोतासम्म पुग्ने माध्यम मात्र हो, न कि हिट/फ्लपको मापनयन्त्र । तर, हरेक गीत सार्वजनिक भएपछि के–के कमजोरी छन्, खोजिरहन्छु । अर्कोपटक सुधार्ने प्रयास गर्छु ।’ नवीनमा पिंक फ्लोयड, डिप पर्पल र द डुअर्सको गहिरो प्रभाव छ । कुन्ती मोक्तान र सुरेशकुमार क्षेत्रीको फ्यान हुन् ।

तस्बिर : नवीन के भट्टराईको फेसबुकबाट

प्रकाशित : आश्विन ९, २०७७ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?