कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

आफ्नै 'बायोपिक' निर्देशन गर्दै म्याडोना 

एजेन्सी

न्युयोर्क — गायिका म्याडोनाको जीवनीमा फिल्म बन्ने भएको छ । फिल्मलाई म्याडोनाले नै निर्देशन गर्ने बीबीसीलगायतकाका अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

आफ्नै 'बायोपिक' निर्देशन गर्दै म्याडोना 

हालै युनिभर्सल पिक्चर्सले म्याडोनाको निर्देशनमा 'पप स्टार'माथि फिल्म घोषणा गरेको थियो । फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । चलचित्रमा न्युयोर्कको सुकुम्बासी बस्तीदेखि 'ग्लोबल स्टारडम' सम्मको यात्रा समेटिने बताइएको छ ।

म्याडोना फिल्ममा आफ्नो जीवन यात्रालाई प्रस्तुत गर्न चाहिन्छिन् । 'जीवनले कलाकार, संगीतकार, डान्सरको रुपमा अविश्वसनीय यात्रामा लगेको छ । एक मानिस जो आफ्नो बाटो यो संसारमा बनाउँदै छ,' उनले भनेकी छिन् ।

म्याडोनाले फिल्म मूलत: संगीतमै आधारित हुने उल्लेख गरेकी छिन् । 'संगीतले अगाडि बढ्न र कलाले मलाई जीवित राखिरह्यो । मेरो जीवनमा धेरै नभनिएका र उत्प्रेरणा दिने कथा छन् जसलाई मैलेबाहेक कसले राम्ररी भन्न सक्छ,' उनको बयानमा उल्लेख गरिएको छ ।

फिल्मलाई एमी प्यास्कलले निर्माण गर्ने बताइएको छ । यसअघि एमीले सन् १९९२ मै उनले 'अ लिग अफ दियर ओन' बनाउने क्रममा नै म्याडोनासँग काम गरेकी थिइन् । फिल्मको स्क्रिप्ट भने म्याडोनाले ओस्कर विजेता स्क्रिनराइटर डियाब्लो कोडीसँग मिलेर लेख्नेछिन् । कोडीले सन् २००७ मा चलचित्र 'जुनो'का लागि ओस्कारमा बेस्ट स्क्रिनप्ले अवार्ड जितेकी थिइन् ।

स्क्रिप्टराइटिङका क्रममा लेखक डियाब्लो कोडीसँग म्याडोना तस्बिर : म्याडोनाको इन्स्टाग्रामबाट

६२ वर्षीया म्याडोनाले भने यसअघि सन् २००८ मा ब्रिटिस ड्रामा 'फिल्थ एन्ड विज्डम' निर्देशन गरेकी थिइन् । उनको अन्तिम एल्बम भने सन् २०१९ को 'म्याडम एक्स' हो ।

पछिल्लो समय पप र रक गायक/गायिकामाथि बायोपिक बनाउने क्रम बढिरहेको छ । यसअघि एल्टन जोनमाथि बनेको चलचित्र 'रकेटम्यान' र फ्रेडी मर्करीमाथि बनेको 'बोहेमियन र्‍याप्सोडी' निकै सफल भएका थिए । 'बोहेमियन र्‍याप्सोडी'बाट अभिनेता रामी मलिकले ओस्कारमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यस चलचित्रले उत्कृष्ट अभिनेतासहित चार विधामा ओस्कार जितेको थियो ।

प्रकाशित : भाद्र ३१, २०७७ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?