कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

भेनिसमा चिनियाँ निर्देशकको फिल्म उत्कृष्ट

एजेन्सी

भेनिस — कोरोना महामारीले संसारलाई नै गाँजेका बेला विश्वकै पुरानो मानिने इटलीको भेनिस फिल्म फेस्टिभल भने रोकिएन । धेरै फेस्टिभल र सम्मेलनहरु स्थगित वा भर्चुअल माध्यमबाट भइरहँदा भेनिस भने भौतिक उपस्थितिसहितको फेस्टिभलका रुपमा देखा पर्‍यो ।

भेनिसमा चिनियाँ निर्देशकको फिल्म उत्कृष्ट

र, यसको ७७ औं संस्करणमा केही एशियाली मूद्यका प्रतीभाहरु विजेताका रुपमा प्रकट भए ।

फेस्टिभलको मुख्य अवार्ड उत्कृष्ट फिल्मको गोल्डन लायन जित्यो 'नोम्याडल्यान्ड' ले । अंग्रेजी भाषाका फिल्म बनाउने चिनियाँ निर्देशक क्लोइ चाओले निर्देशन गरेको यो फिल्ममा दुइपटकको ओस्कर विजेता फ्रान्सिस म्याकडोरम्यान्डले मुख्य भूमिकामा अभिनय गरेकी छन् । २०१० मा सोफिया कोपोलाले 'समह्वेर'का लागि गोल्डन लायन जितेको १० वर्षपछि अर्की महिला निर्देशकले यो सफलता पाएकी हुन् । २००१ मा मिरा नायरले यो अवार्ड जितेकी थिइन् ।

पछिल्ला वर्षहरुमा भेनिस विजेताले ओस्करमा पनि ठूलो सफलता हात पार्न थालेका छन् । ओस्करमा चर्चित भएका 'सेप अफ दि वाटर', 'रोमा' र 'जोकर' जस्ता फिल्म भेनिसका गोल्डन लायन विजेता हुन् । फेस्टिभलमा ग्रयान्ड जुरी प्राइजका रुपमा फिल्म 'न्यु अर्डर'का लागि मेक्सिनक फिल्ममेकर मिलेर फ्रान्कोले सिल्भर लायन जिते । उत्कृष्ट निर्देश र पटकथाको अवार्ड पनि यसपाली एशियालीले नै जिते । 'वाइफ अफ स्पाइ' का लागि जापानी निर्देशक किओसी कुरोसावाले उत्कृष्ट निर्देशकको सिल्भर लायन हात पारे ।

सोभियत रुसको ऐतिहासिक कथा 'डियर कमरेड्स'का लागि रुसी निर्देशक आन्द्रेई कोन्चाब्लोस्कीले स्पेसल जुरी प्राइज पाएको फेस्टिभलमा उत्कृष्ट पटकथाको अवार्ड भारतीय लेखक चैतन्य तम्हानेले हात पारे । उनले यो पुरस्कार भारतीय फिल्म 'दि डिसाइपल'का लागि जिते । फिल्म समीक्षकहरुले स्वतन्त्ररुपमा दिने फ्रिप्रेस्की अवार्डमा यही फिल्म उत्कृष्ट पनि घोषित भयो ।

उत्कृष्ट अभिनेत्री र अभिनेताको सिल्भर लायन क्रमश: इटली र बेलायतका कलाकारले जिते । बेलायती अभिनेत्री वानेसा किर्वेले हंगेरीको फिल्म 'पिसेज अफ वुमन'का लागि जितिन् भने उत्कृष्ट अभिनेता पियरफ्रान्सिस्को फेभियानोले 'प्याड्रेनोस्टो'का लागि हात पारे । युवा कलाकारको अवार्ड इरानी निर्देशक माजिद माजिदीको फिल्म 'सन चिल्ड्रेन'का लागि रुहोल्ला जम्मानीको हात पर्‍यो ।

फेस्टिभलकै अर्को प्रतिस्पर्धामा इरानी निर्देशक अहमद बहरामीको फिल्म 'दि वेस्टल्यान्ड' उत्कृष्ट घोषित भयो भने फिलिपिनि निर्देशक लभ दियाजले यसमा 'जिनियर पान'का लागि उत्कृष्ट निर्देशकको अवार्ड जिते । चार वर्षअघि उनको फिल्म 'द वुमन हु लेफ्ट'ले फेस्टिभलको उत्कृष्ट अवार्ड गोल्डन लायन जितेको थियो ।

फ्रान्सको कान, जर्मनीको बर्लिन र इटलीको भेनिस फिल्म फेस्टिभल संसारका सबभन्दा ठूला फिल्म फेस्टिभल मानिन्छ । यीमध्ये हरेक वर्ष सबभन्दा पहिला भेनिस हुने गर्छ । यसवर्ष कोरोनाका बीच आयोजना गरिएकाले उत्कृष्ट फिल्म विजेता फिल्मकी निर्देशक लगायतका फिल्ममेकरहरु फेस्टिभलमा उपस्थित थिएनन् ।

प्रकाशित : भाद्र ३०, २०७७ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?