२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

दर्शक हँसाउने छटपटी

पूर्वनिर्धारित कार्यक्रमहरू सबैजसो स्थगित भएपछि फुर्सदिला भएर घरै बसेका कलाकारहरू कोरोनाकालसँगै दर्शक हँसाउने विषयहरूमा परिवर्तन आउने आकलन गरिरहेका छन् ।
रीना मोक्तान

काठमाडौँ — कोरोनाको त्रासका बेला हाँस्न–हँसाउनु सके मानिसको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यस्तो समयमा कलाकारहरु भर्चुअल दुनियाँबाट केही गर्न खोज्दै छन् । सर्वसाधारणका लागि पर्याप्त छैन, तैपनि उनीहरूको प्रयास विभिन्न माध्यमबाट जारी छ ।

दर्शक हँसाउने छटपटी

‘के छ खबर ?’ भन्दै फोन गर्नेहरुलाई हिजोआज कमेडियन मनोज गजुरेल ठट्टा गर्दै भनिदिन्छन्, ‘हिजो पोखरामा कार्यक्रम थियो, आज धनगढी जाँदै छु र पर्सि अस्ट्रेलिया उड्दै छु भन्ने दिन पनि गइहाले । ती दिन फर्केर नआउन्जेलसम्म चुप्प लागेर घरमै बसेको ६ महिना भयो ।’

उनका कुरा सुनेर खबर सोध्ने व्यक्ति फोनमै खित्का छाड्छन् । आफ्नो पीडालाई पनि हास्य रसमा प्रस्तुत गर्नु कमेडियनका विशेषता भइहाल्यो । तर उनको ठट्टामा स्टेज कार्यक्रमबाट टाढिएका हरेक हास्य कलाकारदेखि गायक गायिकाको समस्या भेटिन्छ । कोरोना महामारीका कारण स्टेज कार्यक्रम लामो समयदेखि ठप्प छन् । त्यसैले यतिखेर स्टेज कार्यक्रममै भर पर्ने कलाकारलाई समस्या परेको सुनाउँछन् गजुरेल । ‘अहिले कामदार वर्गको अवस्था जे छ हाम्रो क्षेत्रको अवस्था त्यही छ । काम छैन । कामबिना नै घरमा बसेका छौं । आर्थिक भार पर्ने नै भयो,’ उनले भने ।

दसैं नजिकिँदै आउँदा देशविदेशमा स्टेज कार्यक्रम गर्न उनलाई भ्याइनभ्याइ हुन्थ्यो । चाडपर्वमा मेला महोत्सव हुन्छ । नयाँ वर्ष, तीज, गाईजात्रा, दसैंतिहारपछिका समय पनि उनी व्यस्त नै हुन्थे । तर यसपालि पहिला झैं भएन । गाईजात्राका कार्यक्रम पनि भर्चुअल रूपमा आयोजना गरे । महिनामा कम्तीमा १५ वटा कार्यक्रम गरिरहेका हुन्थे उनी । हास्यव्यंग्य गर्न थालेको वर्षौंपछि पहिलोपटक लामो समय बिदामा बस्नुपर्‍यो । गाईजात्रापछाडि मंसिर पुससम्म पनि व्यस्त हुने गजुरेल अहिले फुर्सदमा छन् ।

अहिले स्टेज खुबै मिस हुने गरेको उनी बताउँछन् । ‘महिनाभरि साना ठूला कार्यक्रम गर्न व्यस्त भइन्थ्यो । त्यो ठ्याक्कै बन्द हुँदा अब के त भन्ने त हुन्छ । स्टेज मिस हुँदो रहेछ । गरिरहेको कर्मबाट पछाडि सर्नुपर्दा दर्शकसँग प्रत्यक्ष जोडिने माध्यम अभाव हुँदो रहेछ,’ उनले भने, ‘राज्यले ल्याएका नियम पालन गर्दै अब बिस्तारै उठ्नुपर्छ, जाग्नुपर्छ । अब सधंैभरि लकडाउन गर्नु उचित हुँदैन भन्ने लागेको छ ।’

पछिल्लो समय उनले जुम एपमार्फत नि:शुल्क दर्शकलाई हँसाए । अहिले उनी एउटा नयाँ कार्यक्रमका लागि स्क्रिप्ट तयार पारिरहेका छन् ।

दर्शकलाई हँसाउन नपाउँदा छटपटी भएको छ हास्यकलाकार जितु नेपाललाई । ‘माइक समात्न एक प्रकारको तलतल हुँदो रहेछ हामीलाई । दर्शकसँग प्रत्यक्ष भेट्न नपाउँदा तनाव भयो । उनीहरुलाई हँसाउन नपाउँदा एकदमै छटपटी हुँदो रहेछ,’ उनले अनुभव सुनाए ।

यसबीच उनलाई लागेछ – ‘कोरोना संक्रमित भएर क्वारेन्टाइनमा बसेका दर्शकलाई हँसाउने कार्यक्रम गर्न पाए सुरक्षा अपनाएर गर्न सकिन्थ्यो ।’ तर त्यस्तो कुनै कार्यक्रम गर्ने अवस्था नभएकाले घरमै हात बाँधेर बसिरहेका छन् जितु (मुन्द्रे) ।

भुइँचालोपछाडि उनी १२ वटा प्रभावित जिल्लामा हास्यव्यंग्य प्रस्तुत गर्न पुगेका थिए । लगभग ३६ वटा कार्यक्रम गरे । तनावमा रहेका दर्शकलाई हसाउँदाको वास्तविक खुसी उनलाई थाहा छ । त्यसैले होला क्वारेन्टाइनमै गएर दर्शक हँसाउने कल्पिरहन्छन् । तर, यो पटक दर्शक हँसाउन समयले उनलाई साथ दिएन । स्टेज कलाकारका लागि कोरोना दुश्मन बनेर आएको उनी बताउँछन् । ‘कोरोना त स्टेज कार्यक्रम गर्ने गायक गायिका, स्ट्यान्डअप कमेडियनका लागि त दुश्मन नै भयो । हामीलाई दर्शक चाहिन्छ, तर यो समयमा भीड गर्न पाइँदैन,’ उनले भने ।

लकडाउनबीच यस्तै कुराले उनलाई तनाव भएको थियो । सुनाउँछन्, ‘आफू बोल्दा दर्शक हाँस्थे । त्यो कुरा नहुँदा के नभएको जस्तो लाग्यो । हास्य कलाकारिता कहिल्ये सुरु होला भन्ने अन्योल । कार्यक्रमका लागि मोबाइल बजिरहन्थ्यो अहिले त्यो पनि शून्य छ ।’

घरमै बस्दा दिमाग पनि सुस्त भयो । अमेरिकामा गर्ने भनिएको पाँचवटा कार्यक्रम कोरोनाले गर्दा नै रद्द भए । अहिले उनी जुमबाटै दर्शक हँसाउने तलतल मेट्दै छन् । लकडाउनदेखि नै उनको ‘मुन्द्रेको कमेडी सो’ को सुटिङ पनि रोकिएका छन् । जितुका ७० वटा बढी स्टेज कार्यक्रममा लकडाउनले असर गर्‍यो ।

कोरोनाले ‘कमेडी च्याम्पियन सो’ का विजेता हिमेश पन्तको करिअरमा समेत असर पारेको छ । विजेता घोषणा भएको एक महिनामै उनको ‘वर्ल्ड टुर’ थियो । उनकै शब्दमा भन्नुपर्दा ‘वर्ल्ड टुरमा खत्रा कमेडी गर्ने’ सोचमा थिए हिमेश । तर, उनले विजेता भएको खुसी बटुल्दै गर्दा देशमा कोरोनाको त्रास फैलिसकेको थियो । कोरोनाकै कारण पनि ‘कमेडी च्याम्पियन सो’ को ग्रान्ड फिनाले सोचेजस्तो भव्य भएन । ‘असर त एकदमै धेरै गर्‍यो नि । म पछाडि धकेलिएँ । वर्ल्ड टुर पनि सिजन–२ सँगै गर्ने कुरा आएको छ । कोरोनाले गर्दा फिनाले राम्रो भएन,’ उनले आफ्नो समस्या बेलिबिस्तार लगाए ।

अझै स्टेज कार्यक्रम गर्ने अवस्था छैन । अवस्था सामान्य हुँदो हो त अहिले विदेशको कुनै स्टेजमा नेपाली दर्शक हसाउँदै हुन्थे हिमेश । तर, अहिले उनी घरभित्रै खुम्चिएका छन् । लकडाउन खुकुलिएपछि युट्युबमा भिडियोहरु बनाउन थालेका थिए । त्यो पनि निषेधाज्ञाले गर्दा रोकियो ।

‘खत्रा कार्यक्रम गर्छ भनेर दर्शकले आस गर्नुभएको होला । कोभिडले गर्दा पूरा गर्न सकिनँ । सरकारले कार्यक्रम गर्न दिएपछि त्यो अपेक्षा पूरा गर्छु,’ उनी आशावादी सुनिन्छन् । अहिले उनी निर्माता सन्तोष सेनको ’हुतुतु’ फिल्मका लागि संवाद लेख्दै छन् । २० जना दर्शक राखेर स्ट्यान्डअप कमेडी बनाउने तयारी पनि गर्दै छन् ।

‘स्ट्यान्डअप’ कमेडीबाट दर्शकमा आफ्नो छुट्टै पहिचान बनाएका लेखमणि त्रिताल स्टेज कार्यक्रम बन्द हुँदा आयस्रोत सुकेको बताउँछन् । ‘स्टेज सो नै हाम्रो मुख्य आयस्रोत हुन्थ्यो । तर त्यो सोहरु सबै बन्द छन् । धेरै असर गरेको छ हाम्रो क्षेत्रलाई,’ उनले भने । तीन महिनाको लकडाउनभर ‘नेप ग्याजम’ को कमेडीलाई पनि असर गर्‍यो । तर, अहिले निषेधाज्ञा खुकुलिएपछि उनको टिम फेरि भिडियो बनाउन सक्रिय छ । सुरुवातका दिनमाझैं आफ्नै समूहमा भिडियो बनाएर युट्युबमा अपलोड गर्न थालेका छन् ।

‘हालै कोरोना र छुवाछुत’ शीर्षकमा उनले व्यंग्य गरेका थिए । आफूहरुले सतर्कता अपनाउँदै सानो समूहमा भिडियो बनाउने गरेको उनी बताउँछन् । एकै दिन ३/४ वटा भिडियोको सुटिङ गर्छन् । अहिले युट्युबमा स्ट्यान्डअप कमेडीको भिडियो बनाउन नेप ग्याजम अग्र स्थानमै देखिन्छ । लकडाउनपछि नै नेप ग्याजमले ९ वटा बढी भिडियोहरु युट्युबमा सार्वजनिक गरेका छन् ।घरमा बस्दा सृजनशीलता हराउँदै गएकाले भिडियो निर्माणमा सक्रिय भएको उनी बताउँछन् ।

‘कोरोना र छुवाछुतको प्रतिक्रिया कस्तो आयो ?’ प्रश्नको जवाफ दिँदै भने, ‘हाँसो मात्र नभएर समाजमा सन्देश दिने किसिमले त्यो भिडियो बनाएका थियौं । सोचेजस्तो दर्शकबीच पुगेन त्यो । तर हेरेका जतिले मनपराइदिनुभएको छ ।’ समसामयिक विषयमा उनको टिमले व्यंग्य गर्दै आएको छ । अब भीड जम्मा गर्न नपाउँदासम्म उनी यसरी नै अगाडि बढ्ने तयारीमा छन् ।

कोरोना पछिको व्यंग्यको शैलीमा परिवर्तन आउने बताउँछन् हास्यकलाकार गजुरेल । अब राजनैतिक विषयको व्यंग्यले मात्र नभई उत्प्रेरणाका कुरा मिसिने उनको भनाइ छ । ‘हामीले हिजो जे–जे विषयमा हसाउँदै थियौं । नेतालाई गाली गर्ने, महिलालाई मात्र उडाउने, हल्काफुल्का कुरा मात्र गर्ने कि अब दर्शकलाई उत्प्रेरणाका कुरा दिने । युग नै नयाँ भएपछि हास्यव्यंग्यको फम्र्याट नै नयाँ हुन्छ,’ उनी भन्छन् ।

अहिले दर्शकको सोच परिवर्तन भइसक्यो । कोरोनाका कारण दर्शकमा तनाव छ । जनचाहना सम्बोधन हुने व्यंग्यले मात्र दर्शकलाई हसाउन सकिने उनी बताउँछन् । उनले भने, ‘मैले प्रचण्डलाई मात्र जोक बनाएर, ओली र ट्रम्पलाई उडाएर मात्र दर्शक हाँस्दैनन् अब । उसको अन्तर मनमा भोलिको अन्योल छ, बेरोजगारी छ, भोकमरी छ । अबको विषयवस्तु मानिसको जनचाहनालाई सम्बोधन गर्न सकिएन भने मोटामोटा विषयले मात्र दर्शक हाँस्दैनन् ।’

हास्यकलाकार हरिवंश आचार्य पनि कोरोनापछिको व्यंग्यमा विषयगत कन्टेन्ट परिवर्तन आउने बताउँछन् । कमेडी च्याम्पियन हिमेशको मत पनि उस्तै छ, ‘राजनैतिक कुरा थियो होला पहिला । अब हामीले फरक विषय छानेर दर्शक हँसाउनुपर्छ ।’

प्रकाशित : भाद्र ३०, २०७७ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?