सहयोग जुटाउने संगीत- मनोरञ्जन - कान्तिपुर समाचार

सहयोग जुटाउने संगीत

इन्द्रेणीमा करिब २६ जनाको टिम भए पनि लकडाउनमा उनी छ जना लिएर हिँडिरहेका छन् । कोरोना संक्रमण नदेखिए पनि निमोनियाका कारण समूहका अधिकांश सदस्य अहिले आइसोलेसनमा छन् ।
कलेन्द्र सेजुवाल

सुर्खेत — हेर्न रहर जागेपछि रङ इन्द्रेणीको

आँखै मागौं जस्तो भयो सँग इन्द्रेणीको

अप्ठ्यारोमा परेकालाई खोज्दै–खोज्दै आउनुभयो

सधैं चञ्चल चंग रहोस् चंग इन्द्रेणीको

राउटे महिला आफ्नो मनको व्यथा सुनाउँदै । तस्बिर : कलेन्द्र सेजुवाल

सोमना खड्काले यसो भन्दा गायक तथा सञ्चारकर्मी कृष्ण कँडेलका आँखा रसाए । उनी लकडाउनका कारण समस्यामा परेका दृष्टिविहीन, अपांगता भएका व्यक्ति, मिर्गौला र क्यान्सर रोगका बिरामीलाई आर्थिक सहयोग गर्न असार पहिलो साता सुर्खेत आएका थिए । कँडेलले ३२ वर्षीया दृष्टिविहीन सोमनालाई राहतस्वरूप १० हजार रुपैयाँ दिन खोजेका थिए । उनी भने आँखाको ज्योति माग्ने भावनात्मक गहिराइसम्म पुगिन् । निकै उद्देलित भएका कँडेलले गीति लयमै सोमनालाई सम्झाए–

मिल्यो भने यसैगरी फेरि गीत गाउँला

अझै ठूलो कष्ट परे फेरि फर्की आउँला

यही प्रकृति कर्णालीमा चोखो माया लाउँला

सुर्खेत, बाबियाचौरका कँडेल इन्द्रेणी कार्यक्रमका कारण चर्चित छन् । सोही कार्यक्रममा गीत–संगीतको माध्यमबाट दुःखमा परेकालाई सहयोग जुटाउँछन् । कुनाकन्दरामा रहेका लोकभाकालाई इन्द्रेणीमार्फत गुन्जाउँछन् । त्यसैले त सोमनाजस्ता दृष्टिविहीनसमेत उनीबाट प्रभावित छन् । सोमनाले भनिन्, ‘हुन त मेरा बाहिरी आँखाले उहाँ को चिन्दैनन्, मनको आँखाले भने कति सफाचट देखेका ?’ कँडेलको समाजसेवा गर्ने तरिका अरूभन्दा भिन्न छ । उनले सहयोग (समाज सेवा) अभियानलाई गीत–संगीतसँग जोड्ने गरेका छन् । त्यसैले पनि उनीमार्फत सहयोग गर्ने दाताहरूको कमी छैन । एक दशक लामो यात्रामा करिब ३४ करोड रुपैयाँ सहयोग हन्तान्तरण गरिसकेको कँडेलको भनाइ छ । ‘तराईका बाढीपीडितदेखि पहाडका पहिरोपीडितलाई सहयोग जुटाइयो, विदेशमा मृत्युदण्ड पाएका नेपालीलाई बचाउन ‘ब्लडमनी’ पनि संकलन गर्‍यौं,’ उनी भन्छन्, ‘हामी त सहयोग जुटाउने माध्यम मात्र हौं, हाम्रो कार्यक्रम हेरेर दाताहरूले सहयोग गर्ने गर्नुहुन्छ ।’

कँडेलले संगीतलाई समाज सेवासँग जोड्ने अभियान थालेको करिब ११ वर्ष भयो । यो क्रममा उनले देशका करिब ६० जिल्लाका विभिन्न ग्रामीण बस्तीमा पुगेर लोकभाकालाई संकलन गरेर प्रसारण गरेका छन् । पछिल्लो समय कोरोनाका कारण भएको लकडाउनमा गरिएको सहयोग कार्यक्रम भने निकै उल्लेखनीय रहेको उनी बताउँछन् । चैतयता करिब ४ करोड रुपैयाँको सहयोग वितरण गरेको बताउने कँडेलले सुर्खेतमा मात्र करिब ३ सय जनालाई आर्थिक सहयोग गरेका छन् । तीमध्येका एक हुन्, मिर्गौला रोगबाट पीडित इत्रामका १९ वर्षीय प्रभात पन्त । ‘उमेर छँदै दुइटै मिर्गौला काम नलाग्ने भए, प्रेसरले हानेपछि आँखा पनि देख्दैन,’ उनले कँडेलसँग भने, ‘बेला–बेला यस्तै सहयोग पाए त अलिकति भए पनि राहत मिल्ने थियो ।’

इन्द्रेणीमा करिब २६ जनाको टिम भए पनि लकडाउनमा उनी ६ जनाको समूह लिएर हिँडिरहेका छन् । कोरोना संक्रमण नदेखिए पनि निमोनियाका कारण समूहका सदस्यहरू भानु देउवा, दीपक घिमिरेलगायत अहिले आइसोलेसनमा छन् । यसले गर्दा म्याग्दी र कालीकोटका बाढीपीडित तथा हुम्लाका अग्निपीडितलाई सहयोग गर्ने कार्यक्रम स्थगित गरिएको कँडेलले बताए । उनका अनुसार बाढीपीडितका लागि ४५ लाख र अग्निपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने योजना बनाइएको छ । ‘साथीहरू सन्चो भएपछि सहयोग अभियान फेरि सुरु गर्ने सोच बनाएका छौं,’ उनले भने, ‘मान्छेलाई सहयोग चाहिने भनेकै विपद्का बेला हो, हामीमाथि जोखिम भए पनि सावधानी अपनाएर फेरि सहयोग अभियानमा हिँड्नेछौं ।’

लोकभाकाको खोजी

असार पहिलो साता सुर्खेत, साटाखानीको राउटे बस्तीमा पुग्नेबित्तिकै मुखिया ऐनबहादुर शाही र अर्का युवा प्रकाश शाहीले उनलाई चिनिहाले । कृष्ण त्यसअघि पनि बस्तीका पुगेका थिए । उनले तीन–चार जनाको समूहलाई इन्द्रेणीको काठमाडौंस्थित स्टुडियोमै लगेर कार्यक्रम रेकर्ड पनि गराएका थिए । ‘तुमी कृष्ण कँडेललाई हामी चिन्दाछौं, आज क्या ल्याएर आयौ त,’ मुखिया ऐनबहादुरले सोधिहाले, ‘गीत पनि गाउँला, चामल र खसी पनि दिनुपर्छ ।’

कँडेलले मिनी ट्रकमा चामल, दाल लगेर गएका थिए । राउटे परिवारलाई वितरण गरे । राहत वितरणपछि राउटेका रैथाने गीत, नाच क्यामेरामा कैद गरे । ‘यति सुन्दर लोकभाका र कला–संस्कृतिलाई हामीले अहिल्यैदेखि जोगाउनुपर्छ, संरक्षणका लागि पहल गर्नुपर्छ,’ उनले भने, ‘हामीले त्यही भएर कार्यक्रमलाई सहरभन्दा गाउँ केन्द्रित गर्ने गरेका छौं ।’ हुन पनि कृष्णको कार्यक्रममा पूर्वदेखि पश्चिम र तराईदेखि हिमाल–पहाडका लोकभाकाहरू गुन्जिएका छन् । भाषा–संस्कृति समेटिएका छन् । त्यहाँका स्रष्टाहरूले स्थान पाएका छन् । सुर्खेतका वरिष्ठ कलाकार प्रेमदेव गिरी कँडेलले आफ्नो कलाकारितालाई समाज सेवा र पत्रकारितासँग जोडेको बताउँछन् । ‘गाउँका कुनाकाप्चामा गएर लोप हुन लागेका भाकालाई उजागर गर्नु र मान्छेका सुख–दुःखका कथालाई देखाएर आर्थिक सहयोग जुटाउनु भनेको समाज सेवा र पत्रकारिता दुवै हो,’ उनले भने, ‘आफूभित्र भएको कलाकारितालाई उहाँले नयाँ ढंगले सदुपयोग गर्नुभएको छ ।’

कसरी जुट्छ सहयोग ?

कँडेलको सहयोग जुटाउने प्रमुख माध्यम सांगीतिक कार्यक्रम इन्द्रेणी हो । साप्ताहिक रूपमा एउटा टेलिभिजनमा समेत प्रसारण हुने उक्त कार्यक्रमको युट्युबमा मात्र १७ लाख ४० हजार ‘सब्सक्राइबर’ छन् । सुख, दुःखका कथालाई सांगीतिक शैलीमा हेरेर रुचाउनेहरूले नै कार्यक्रममार्फत सहयोग पठाउने गरेको कँडेल बताउँछन् । ‘धेरै जनाले सहयोग गर्न खोजेको व्यक्तिको नामै तोकेर रकम पठाउनुहुन्छ, हामीले सम्बन्धित व्यक्तिलाई भेटेर हस्तान्तरण गर्छौं,’ उनले भने, ‘कतिपयले आवश्यकताअनुसार सहयोग गर्नुहोला भनेर रकम दिनुहुन्छ ।’ लकडाउनअघिको कार्यक्रम हेरेर विभिन्न व्यक्तिलाई हस्तान्तरण गर्न दाताहरूले पठाएको करिब ८० लाख रुपैयाँ बैंकमा थन्किएको उनले बताए । अहिलेको प्राथमिकता लकडाउनबाट प्रभावित बिरामी, अपांगता भएका व्यक्ति र काम गुमाएका मजदुरहरू रहेकाले सहयोग कार्यक्रम त्यसमै केन्द्रित गरिएको उनको भनाइ छ ।

असार पहिलो साता कँडेल बुलबुले गेटमा सहयोग लिनका लागि जम्मा भएका केही मान्छेसँग कुरा गर्दै थिए । हिँड्ने बेला स्थानीय एक महिलाले कँडेलको हातमा चेक थमाउँदै भनिन्, ‘मेरोतर्फबाट दीन–दुःखीलाई सहयोग गर्नुहोला, कृपया मेरो नाम उल्लेख नगर्नुहोला, भिडियो पनि नखिच्नुहोला ।’ बुलबुले गेटबाट उनी सहयोग वितरण गर्दै देउतीबज्यै चोकमा पुगे । त्यहाँ पनि सहयोगको अपेक्षामा मान्छेहरू लस्करै लागेका थिए । एक महिलासहित दुई पुरुषले उही शैलीमा कृष्णलाई सहयोग रकम हस्तान्तरण गरे । ‘हुन त उहाँहरूले आफैं सहयोग गरे पनि हुन्थ्यो, तर हामीप्रतिको विश्वासले कार्यक्रममार्फत सहयोग गर्न चाहनुहुन्छ,’ कृष्णले भने, ‘हामी दान दिने र लिनेलाई जोड्ने सेतुको भूमिका निर्वाह गरिरहेका छौं ।’

कँडेलको अनुभवमा नेपालीहरू कोमल मनका हुन्छन् । विदेशमा बस्नेहरू त अझ बढी भावुक हुन्छन् । गाउँघरका लोकभाका, कला–संस्कृति, रीतिरिवाजलाई जस्ताको तस्तै टिपेर प्रसारण गर्दा विदेशमा बस्नेहरू निकै प्रभावित हुने गरेका उनले बताए । ‘संगीतसँग जोडेर दुःखका कथा प्रसारण गरेपछि सहयोगको ओइरो नै लाग्छ,’ उनले भने, ‘यस्तै सहयोगका कारण कतिले नयाँ जीवन पाए, कतिको जीवन फेरियो भनेर सम्भव छैन ।’ ३ वर्षअघि करेन्ट लागेर हातखुट्टा काट्नुपरेका रुकुमका कृष्ण ओलीको कथा प्रसारण गर्दा ८४ लाख रुपैयाँ संकलन भएको उनले बताए । त्यस्तै साउदी अरबमा मृत्युदण्डको सजाय तोकिएका काभ्रेका रामचन्द्र तिमिल्सिनालाई इन्द्रेणीमार्फत ५० लाख जुटेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २६, २०७७ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्

सिनेमा हल सम्झना बिर्सना

सन्जु पौडेल

तिलोत्तमा — दशकअघि जस्ता सिनेमा हल अब रहेनन् । हेर्दै सफासुग्घर, टिकट पनि अनलाइनबाट किन्न मिल्ने र फिल्म हेर्न जाँदा पनि बेग्लै आनन्द अनुभव गर्थे दर्शक । संसारभर टेलिभजन र अनलाइन कन्टेन्टले चुनौती दिएपछि सिनेमा घरहरूको स्वरूपमा मात्रै परिवर्तन आएन, प्रविधि धेरै फरक परिसक्यो ।

सिनेमा घर सञ्चालकको लगानी पनि निकै थपियो । यतिबेला हल सञ्चालक टाउकोमा हात लगाइरहेका छन्, दर्शकचाहिँ कोरोना हटेर फेरि भीडभाडका साथ फिल्म हेर्न जाने दिनको प्रतीक्षामा छन् ।

तिलोत्तमा–२ शंकरनगरकी रिया मल्ल प्रत्येक साताको सोमबार सपरिवारसँगै हलमा फिल्म हेर्न जान्थिन् । लकडाउनयता धेरै परिवर्तन आयो । ‘फन मिस भएको छ,’ उनी भन्छिन्, ‘रिफ्रेसमेन्टको माध्यम नै भएन ।’ हलको वातावरण नपाए पनि मकै भुटेर खाँदै टीभी हेरेर समय बिताइरहेको उनले सुनाइन् । ‘युट्युबबाट फिल्म हेर्दा न क्वालिटी लाग्छ, न हलमा जस्तो आवाज नै दमदार,’ उनले भनिन्, ‘कहिले खुला र जाम्लाजस्तो भइसक्यो ।’ पपकर्न र चिप्स खान रुचाउने उनले हलमा हेर्नुको मजै बेग्लै हुने गरेको बताइन् । ‘अहिलेका डिजिटल हलमा पर्दाबाट कलाकार नै आँखाअगाडि आएजस्तो हुने,’ उनले भनिन्, ‘जताबाट सुने पनि आवाजै एउटै । यस्तो टेक्नोलोजीले लोभ्याउने गरेको छ ।’

उनीजस्तै साथीभाइको जमघटमा बस्न रुचाउने देवदह–१० भलुहीकी आँचल खनालले हलभित्रको हाँसो साह्रै मिस गरेको बताइन् । ‘नेपाली फिल्म लाग्नेबित्तिकै हल जान्थ्यौं,’ उनले सुनाइन्, ‘भेला भएर हेर्न पाउँदा रमाइलो लाग्थ्यो ।’ कोरोनाका कारण मनोरञ्जन सबै छुटेको उनले बताइन् । देवदहबाट बुटवल आई हलमा फिल्म हेर्दा खुसी नै बेग्लै हुने उनको अनुभव छ । हलबाट निस्कनेबित्तिकै फोटो खिच्ने, फिल्मका डाइलग सामाजिक सञ्जालमा स्टाटसका रूपमा राख्ने कुरा पनि हराएको खनालले बताइन् ।

रूपन्देहीमा मल्टिप्लेक्स हल कासी सिने कम्प्लेक्स छ । यसमा साढे दुई करोड रुपैयाँ लगानी गरेको सञ्चालक ओम जैसीले बताए । सीमावर्ती भारतबाट पनि दर्शकको ओइरो लाग्ने सिनेमा घर गत चैतदेखि बन्द छ । उनले भने, ‘सेनिटाइज गरी, ज्वरो नापेर ४० प्रतिशत मात्र दर्शक राखेर भए पनि सिनेमा हल खोल्न पाउने वातावरण भए केही सन्तोष गर्ने बाटो हुन्थ्यो ।’

मुलुकभर शाखा विस्तार गरिरहेको क्यूएफएक्स सिनेमाजको मल्टिप्लेक्स हल बुटवलमा खुलेपछि दर्शकको ध्यान केन्द्रित गरेको थियो । ‘सीटमा सुतेरै हेर्न पाइने भएपछि बरु अलि महँगै भए पनि केही हुँदैन भन्ने सोचले दर्शककको ओइरो लाग्न थालेको थियो,’ क्यूएफएक्सका सीईओ रोशन अडिगाले भने, ‘बुटवलमा हल खुलेको २ महिनामै बन्दाबन्दी सुरु भयो, त्यसले धेरै असर गर्‍यो ।’ विश्वमै समस्या रहेकाले दसैंसम्म खुल्ने आशा गरेको भन्दै अडिगाले दैनिक करिब साढे २ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको बताए । बुटवलको भाटभटेनीमा क्यूएफएक्सले नयाँ प्रविधिसहित फिल्म देखाउन थालेको थियो । क्यूएफएक्सका अपरेसन म्यानेजर सुशील मानन्धरले भने ‘काठमाडौंमा बस्नेहरूले मात्रै क्वालिटीको हलमा फिल्म हेर्छन् भन्ने सोचाइ परिवर्तन गर्न बुटवलमा सुरु गरेका हौं,’ उनले भने, ‘युवा र बालबालिकाले बढी रुचाएको पाएका थियौं ।’

बुटवलमा क्यूएफएक्सका १ सय ९६ र १ सय ७६ सिट क्षमताका दुईवटा पर्दा छन् । ७ करोडभन्दा बढी लगानी रहेको बुटवलको भ्यु सिनेमा हल २ सयभन्दा बढी सिट क्षमताको छ । बुटवलका अधिकांश व्यवसायी र जागिरेको बिदाको दिन भरिभराउ रहने यो हलले दैनिक डेढ लाख बढीको नोक्सानी व्यहोरिरहेको प्रबन्धक कृष्ण श्रेष्ठले बताए । ‘सरकारले केही मापदण्ड तोकिदिएर खोल्न भने हुन्थ्यो,’ उनले भने, ‘हल नचल्दाको समस्या एकातिर छ भने उपकरण प्रयोग नहुँदा बिग्रिने डर छ ।’

प्रकाशित : भाद्र २६, २०७७ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×