सिनेमा हल सम्झना बिर्सना- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिनेमा हल सम्झना बिर्सना

सन्जु पौडेल

तिलोत्तमा — दशकअघि जस्ता सिनेमा हल अब रहेनन् । हेर्दै सफासुग्घर, टिकट पनि अनलाइनबाट किन्न मिल्ने र फिल्म हेर्न जाँदा पनि बेग्लै आनन्द अनुभव गर्थे दर्शक । संसारभर टेलिभजन र अनलाइन कन्टेन्टले चुनौती दिएपछि सिनेमा घरहरूको स्वरूपमा मात्रै परिवर्तन आएन, प्रविधि धेरै फरक परिसक्यो ।

सिनेमा घर सञ्चालकको लगानी पनि निकै थपियो । यतिबेला हल सञ्चालक टाउकोमा हात लगाइरहेका छन्, दर्शकचाहिँ कोरोना हटेर फेरि भीडभाडका साथ फिल्म हेर्न जाने दिनको प्रतीक्षामा छन् ।

तिलोत्तमा–२ शंकरनगरकी रिया मल्ल प्रत्येक साताको सोमबार सपरिवारसँगै हलमा फिल्म हेर्न जान्थिन् । लकडाउनयता धेरै परिवर्तन आयो । ‘फन मिस भएको छ,’ उनी भन्छिन्, ‘रिफ्रेसमेन्टको माध्यम नै भएन ।’ हलको वातावरण नपाए पनि मकै भुटेर खाँदै टीभी हेरेर समय बिताइरहेको उनले सुनाइन् । ‘युट्युबबाट फिल्म हेर्दा न क्वालिटी लाग्छ, न हलमा जस्तो आवाज नै दमदार,’ उनले भनिन्, ‘कहिले खुला र जाम्लाजस्तो भइसक्यो ।’ पपकर्न र चिप्स खान रुचाउने उनले हलमा हेर्नुको मजै बेग्लै हुने गरेको बताइन् । ‘अहिलेका डिजिटल हलमा पर्दाबाट कलाकार नै आँखाअगाडि आएजस्तो हुने,’ उनले भनिन्, ‘जताबाट सुने पनि आवाजै एउटै । यस्तो टेक्नोलोजीले लोभ्याउने गरेको छ ।’

उनीजस्तै साथीभाइको जमघटमा बस्न रुचाउने देवदह–१० भलुहीकी आँचल खनालले हलभित्रको हाँसो साह्रै मिस गरेको बताइन् । ‘नेपाली फिल्म लाग्नेबित्तिकै हल जान्थ्यौं,’ उनले सुनाइन्, ‘भेला भएर हेर्न पाउँदा रमाइलो लाग्थ्यो ।’ कोरोनाका कारण मनोरञ्जन सबै छुटेको उनले बताइन् । देवदहबाट बुटवल आई हलमा फिल्म हेर्दा खुसी नै बेग्लै हुने उनको अनुभव छ । हलबाट निस्कनेबित्तिकै फोटो खिच्ने, फिल्मका डाइलग सामाजिक सञ्जालमा स्टाटसका रूपमा राख्ने कुरा पनि हराएको खनालले बताइन् ।

रूपन्देहीमा मल्टिप्लेक्स हल कासी सिने कम्प्लेक्स छ । यसमा साढे दुई करोड रुपैयाँ लगानी गरेको सञ्चालक ओम जैसीले बताए । सीमावर्ती भारतबाट पनि दर्शकको ओइरो लाग्ने सिनेमा घर गत चैतदेखि बन्द छ । उनले भने, ‘सेनिटाइज गरी, ज्वरो नापेर ४० प्रतिशत मात्र दर्शक राखेर भए पनि सिनेमा हल खोल्न पाउने वातावरण भए केही सन्तोष गर्ने बाटो हुन्थ्यो ।’

मुलुकभर शाखा विस्तार गरिरहेको क्यूएफएक्स सिनेमाजको मल्टिप्लेक्स हल बुटवलमा खुलेपछि दर्शकको ध्यान केन्द्रित गरेको थियो । ‘सीटमा सुतेरै हेर्न पाइने भएपछि बरु अलि महँगै भए पनि केही हुँदैन भन्ने सोचले दर्शककको ओइरो लाग्न थालेको थियो,’ क्यूएफएक्सका सीईओ रोशन अडिगाले भने, ‘बुटवलमा हल खुलेको २ महिनामै बन्दाबन्दी सुरु भयो, त्यसले धेरै असर गर्‍यो ।’ विश्वमै समस्या रहेकाले दसैंसम्म खुल्ने आशा गरेको भन्दै अडिगाले दैनिक करिब साढे २ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको बताए । बुटवलको भाटभटेनीमा क्यूएफएक्सले नयाँ प्रविधिसहित फिल्म देखाउन थालेको थियो । क्यूएफएक्सका अपरेसन म्यानेजर सुशील मानन्धरले भने ‘काठमाडौंमा बस्नेहरूले मात्रै क्वालिटीको हलमा फिल्म हेर्छन् भन्ने सोचाइ परिवर्तन गर्न बुटवलमा सुरु गरेका हौं,’ उनले भने, ‘युवा र बालबालिकाले बढी रुचाएको पाएका थियौं ।’

बुटवलमा क्यूएफएक्सका १ सय ९६ र १ सय ७६ सिट क्षमताका दुईवटा पर्दा छन् । ७ करोडभन्दा बढी लगानी रहेको बुटवलको भ्यु सिनेमा हल २ सयभन्दा बढी सिट क्षमताको छ । बुटवलका अधिकांश व्यवसायी र जागिरेको बिदाको दिन भरिभराउ रहने यो हलले दैनिक डेढ लाख बढीको नोक्सानी व्यहोरिरहेको प्रबन्धक कृष्ण श्रेष्ठले बताए । ‘सरकारले केही मापदण्ड तोकिदिएर खोल्न भने हुन्थ्यो,’ उनले भने, ‘हल नचल्दाको समस्या एकातिर छ भने उपकरण प्रयोग नहुँदा बिग्रिने डर छ ।’

प्रकाशित : भाद्र २६, २०७७ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्

बालबालिकामाथि पौष्टिक अन्याय

बजारु पत्रु खानाले बालबालिकाको भविष्य कमजोर र अँध्यारो बनाउँछ, अभिभावकको पैसा नाश गर्छ, नेपालीलाई रोगी बनाउँछ र समग्र नेपालको स्वास्थ्यलाई उँधो धकेल्ने काम गर्छ ।
अरुणा उप्रेती, शान्ता दीक्षित

हाम्रो देशमा थाहा नपाउने गरी धेरै खानेकुरा, खासगरी बालबालिकाका खानेकुराको बजारीकरण भएको छ । चाउचाउ (काँचै खान हुने), पफ बल्स, कुरकुरे, गुणस्तरहीन बिस्कुट इत्यादिले परम्परागत खाना र खाजालाई सजिलै विस्थापित गरेका छन् । होस नपुर्‍याउँदा यसले हाम्रो अर्थतन्त्रका साथै बालबालिकाको स्वास्थ्यमा समेत दीर्घकालीन रूपमा नराम्रो असर पुर्‍याउँछ ।

प्लास्टिकको प्याकेटमा आउने पत्रु खाना (जुन सबैलाई मीठो लाग्छ, खान नहुने स्वादिष्ठ तत्त्वको मिसावटका कारण) ले नेपालका हरेक गाउँमा जरो गाडिसक्यो । हरेक गाउँका बाटाघाटामा बजारु खानाका थरीथरीका प्लास्टिक प्याकेट यत्रतत्र फ्याँकिएका पाइन्छन् । यसरी गाउँको मुहारलाई नै कुरूप पारेर वातावरणलाई प्रदूषित पारेको छ प्लास्टिकले । यो प्रदूषणले नेपाली बालबालिकामाथि भएको ‘पौष्टिक अन्याय’ लाई उजागर गर्छ ।

बजारु पत्रु खानामा केवल स्वादिलो तत्त्व र पोषणरहित पीठो हुन्छ र बालबालिकालाई यसको लत छिट्टै लाग्छ । खान्छु भनेर रोएपछि व्यस्त अभिभावकले किनिदिन्छन् र यस्तो पत्रु खानेकुराको दैनिक रूपमा उपभोग हुन थाल्छ । यस्तो लत छुटाउन एकदम गाह्रो हुन्छ र छुटाउनुपर्छ भनेर अभिभावकलाई सामाजिक अभियानमार्फत सुसूचित गरिएको पनि छैन । पैसाको नाश एक ठाउँमा छ, तर यसले हाम्रा बालबालिकालाई कुपोषित बनाई ठूलो क्षति पुर्‍याउँदै छ । नेपालका एकतिहाइभन्दा बढी बच्चा कुपोषित हुने एक मुख्य कारण पत्रु खानाको सेवन हो भनेर अनुसन्धानले पुष्टि गरेको छ । अफसोस के छ भने, आयस्रोत जस्तो भए पनि अरूको लहैलहैमा लाग्ने कम चेतना भएका अभिभावकहरूका बच्चामा कुपोषण झन् धेरै छ ।

बजारीकरणले सबै कुरा सजिलो बनाएर आमाबाबुलाई आफ्ना छोराछोरीको हेरचाह गर्ने, राम्रो पोषण दिने अधिकारलाई पनि कुण्ठित गरेको छ । याद रहोस्, यस्तो खाना उत्पादन गर्ने र यसको व्यापार गर्ने ठूला व्यापारिक घरानाले यस्ता पत्रु खाना आफ्नै बालबालिकालाई भने खुवाउँदैनन् । उनीहरूलाई थाहा छ, ‘खाना’ बनाउन कस्ता सामग्री र तत्त्व मिसाइएका हुन्छन् र यो कति पत्रु छ भनेर ।

छ महिनासम्म आमाको दूध खाएपछि ठोस खाना खान बच्चा तयार हुन्छ । ठोस खाना खाँदा एकैचोटि थरीथरीका पीठो मिसाएर बनेको लिटो दिँदा बच्चालाई अपच हुन्छ । त्यसैले एक थरी अन्नको मात्र पीठोको लिटो खुवाउने अनि तीन–चार दिनपछि अर्को गर्दै तीन–चार थरी पीठो बच्चाले पचाएपछि मात्र मिसाएको पीठोको लिटो खुवाउनुपर्छ । सात–आठ महिना भएपछि फेरि अर्थोक पनि खुवाउनुपर्छ, जस्तै— फलफूल, तरकारी, दही, अण्डा आदि । यो पनि बिस्तारै एक–एक गर्दै केही दिन बिराएर खुवाएको राम्रो ।

दस महिना वा एक वर्ष भएपछि बच्चाले घरमा खानेकुराहरू बिस्तारै खान थाल्छ । तर, उसलाई अझै पनि दूध र घरमै तयार पारिएको लिटो (यसैलाई भन्नुपर्छ सर्वोत्तम पीठो) पनि खुवाउनुपर्छ । बच्चालाई राम्रो गर्ने थरीथरीका खाना के–के हुन् ? सयौं वर्षदेखि अनुभवका आधारमा हाम्रो मुलुकका क्षेत्र–क्षेत्रमा बच्चालाई खुवाउन उपयुक्त देखिएका खाना र तयारीका तरिका के–के हुन् ? तिनमा कस्ताकस्ता भिटामिन र खनिज पदार्थ पाइन्छन् र कसरी खुवाउने ? यसबारे केही उदाहरण तल प्रस्तुत गरिएको छ ।

दाल र अन्न

विभिन्न दाल र अन्न, जस्तै— चामल, जौ, गहुँ, कोदो, मकै, जे पाइन्छ (एक थरीको दाल र दुई–तीन थरीका अन्न) बराबर मात्रामा मिसाएर स्वस्थकर खाना बनाउन सकिन्छ । उदाहरणका लागि, ५० ग्राम दाल र अरू दुई–तीन थरीका उत्तिकै अन्न राम्रोसँग केलाउने, भिजाउने र राम्ररी घाममा सुकाउने । सुकेको मिश्रणलाई राम्रोसँग पिँध्ने र हावा नछिर्ने बट्टामा टम्म पारेर राख्ने । राम्रोसँग पानीमा पकाउने, अलिकति घिउ हाल्ने र बच्चालाई खान दिने ।

विभिन्न थरीका दाल खुवाउँदा बच्चाको स्वास्थ्य राम्रो हुन्छ । दालमा प्रोटिन, म्याग्नेसियम, क्याल्सियम, लौहतत्त्व, रेसादार तत्त्व र पोटासियम हुन्छ । छ महिनाको बच्चालाई दालको झोल, आठदेखि दस महिनाका लागि दाल हालेको खिचडी खुवाउन सकिन्छ वा राम्रोसँग मिचेर दाल, भात र तरकारी पनि खुवाउन सकिन्छ ।

तरकारी

बच्चाका लागि आलु र सखरखण्ड पनि राम्रो हुन्छ । सखरखण्ड र पिँडालुमा भिटामिन ‘ए’, भिटामिन ‘सी’, भिटामिन ‘बी–६’ कपर, फोसफोरस, पोटासियम र म्याग्नेसियम हुन्छ । सखरखण्डमा रेसादार तत्त्व हुन्छ जसले बच्चालाई कब्जियत हुन दिँदैन र पेट खलास पार्छ । सखरखण्डलाई सुप बनाएर या ससाना टुक्रा बनाएर पकाउन सकिन्छ । यसलाई लिटोमा हालेर खान दिँदा पसलमा किन्नुपर्ने भिटामिन ‘ए’ चाहिन्न । त्यसै गरी फर्सी र कुभिन्डो पनि उसिनेर, पकाएर बच्चालाई दिन सकिन्छ ।

दलिया

बच्चालाई दलियाले पनि शक्ति दिन्छ र पाचन प्रणालीलाई पनि स्वस्थ बनाउँछ । दलिया धेरै पौष्टिक तत्त्वयुक्त आहार भएकाले बच्चादेखि नै खानेकुरामा मिसाएर दिन सकिन्छ । गहुँ, जौ, मकैको टुक्रालाई दलिया भनिन्छ । मकैको दलिया भनेको च्याँख्ला हो । दलिया/च्याँख्लाको पुलाउ या खीर बनाउन सकिन्छ ।

दलियामा घिउ हालेपछि स्वाद बढ्ने मात्र होइन, घिउले भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र ‘के’ शोषण गर्न पनि ठूलो भूमिका खेल्छ । च्याँख्ला, दलिया र जौको चिउरा बच्चाका लागि अडिलो खाजा हो, जसले धेरै शक्ति दिन्छ । यसैले बच्चालाई आठ महिना भएपछि दलिया खुवाउन सकिन्छ । विभिन्न तरिकाले दलिया बनाएर खुवाउँदा बच्चाको रोगसँग लड्ने शक्ति बढ्छ । किनकि यसमा विभिन्न किसिमका खनिज पदार्थ, फोसफोरस, म्याग्नेसियम र लौहतत्त्व धेरै मात्रामा पाइन्छन् । दलिया, च्याँख्ला र चिउरामा रेसादार पदार्थ हुनाले पाचन प्रणाली पनि ठीक हुन्छ ।

फलफूल, अण्डा र अरू अन्न

बच्चालाई दैनिक खानामा आफ्नै ठाउँमा फलेका फलफूल दिँदा विभिन्न भिटामिनको आपूर्ति हुन्छ । टुसा उमारेका विभिन्न गेडागुडी राम्ररी पकाएर र मिचेर दिन सकिन्छ । गेडागुडी पकाउँदा अलिकति बेसार, हिङ, जिम्बु, ज्वानो र जिरा हाल्दा बच्चाले सजिलोसँग पचाउँछ र बच्चाको रोगप्रतिरोधी शक्ति बढ्छ । प्रोटिन बच्चाको हाड, मांसपेशी, रगत र छालाको विकास तथा वृद्धिका लागि अनिवार्य हुन्छ । बच्चालाई उच्चस्तरको प्रोटिन पुगोस् भनी अण्डा उसिनेर दिनु राम्रो हो । सुरुमा पूरै अण्डाको सट्टा एक चम्चा मात्र अनि चार भागको एक भाग दिने र बिस्तारै पूरै दिने । अण्डा सबैभन्दा पौष्टिकमध्ये मानिन्छ । अण्डामा धेरै थरीका भिटामिन, खनिज पदार्थ, उच्चस्तरको प्रोटिन, राम्रो बोसो पदार्थ र अरू महत्त्वपूर्ण पौष्टिक तत्त्वहरू हुन्छन् । आफ्नै घरमा ‘लोकल’ कुखुरा छ भने यसको अण्डा नै सबैभन्दा राम्रो हुन्छ बच्चाका लागि ।

आ–आफ्नो ठाउँमा जे अन्न पाइन्छ, त्यही खान दिँदा बच्चा स्वस्थ हुन्छ । कोदो र फापरजस्ता खानामा रेसादार तत्त्व, क्याल्सियम, लौहतत्त्व, प्रोटिन र अरू कतिपय भिटामिन तथा खनिज पदार्थ पाइन्छन् । कोदो र फापर खान दिँदा थोरैबाट सुरु गर्नुपर्छ ।राम्रोसँग पचिसकेपछि कोदो वा फापरमा अण्डा घोली रोटी (प्यानकेक) बनाएर दिन सकिन्छ । यो दुई–तीन वर्षको बच्चाका लागि राम्रो खाजा हो ।

अरू पोषणयुक्त खाना

दस महिना पुग्नुअगाडि नै बच्चालाई आफ्नो भान्सामा पाकेको खानेकुरा राम्ररी मिचेर दिन सकिन्छ । दिउँसोको खाजामा आलु र उमारेको केराउ वा चना हालेर जौको चिउराको पुलाउ खुवाउँदा स्वादिष्ठ र पौष्टिक हुनुका साथै यसबाट बच्चाको दाँत र गिजाको पनि व्यायाम हुन्छ । बच्चा चार–पाँच वर्षको हुँदा शरीरमा प्रोटिन पुगोस् भनेर हरियो वा सुकेको भटमासको तरकारी बनाएर खुवाउन सकिन्छ । भटमासमा रेसा तत्त्व, प्रोटिन र ओमेगा–३ फ्याटी एसिड पाइन्छ । भटमास र गहुँलाई छुट्टाछुट्टै सफा गरेर, भुटेर, अलग–अलग पिसेर, धूलो बनाएर हावा नछिर्ने बट्टामा बन्द गरेर राख्ने र खुवाउने बेलामा तातोपानीमा मिसाएर खुवाउन सकिन्छ । यसमा कुनै फलफूल मिसाउन सकिन्छ । पहिला थोरै र पचाउन सक्ने भएपछि अलि बढाएर दिनुपर्छ । भटमास र गहुँको धूलो तरकारीमा हालेर त्यसलाई पोषण र भिटामिनयुक्त बनाउन सकिन्छ ।

स्वस्थ बालक

कति अभिभावक बच्चा दुब्लो भयो भनेर चिन्ता गर्छन् र मोटो पार्ने भिटामिनको खोजीमा हुन्छन् । यदि बच्चालाई ज्वरो आउने र झाडापखाला लाग्ने गरेको छैन, सक्रिय छ, राम्ररी खेल्छ र दौडिन्छ भने चिन्तित हुनुपर्दैन । माया गरेर, आफ्नो हातले बनाएको पौष्टिक खाना दिँदा बच्चा छिटो हुर्किन्छ । प्याकेटको तयारी चाउचाउ बच्चालाई दिँदा न पारिवारिक ममता झल्किन्छ, न त बच्चाले पोषणयुक्त परम्परागत खाना पाउँछ । यसरी त बाल्यकालको पूर्वार्द्धमै नेपालका बालबच्चालाई आफ्नो सांस्कृतिक परिवेशबाट अलग्याउने प्रवृत्तिको सुरुआत हुन्छ ।

माथि उल्लेख गरिएका खानेकुराहरू ध्यानमा राखी पर्याप्त मात्रामा दूध खुवाएर अभिभावकले बच्चालाई हुर्काए बजारु खाना, भिटामिनका ट्याब्लेट र झोलमा पैसा खेर फाल्नुपर्दैन । सन्तुलित पौष्टिक आहारबाट पाइने भिटामिन सबैभन्दा प्रभावकारी हुन्छ र यसले बच्चाको शरीरलाई रोग प्रतिरोधात्मक शक्ति दिएर स्वस्थ बनाउँछ । स्वस्थ बच्चालाई हत्तपत्त रोग लाग्दैन र रुघाखोकीले पनि छुँदैन । पौष्टिक आहारविहीन बच्चाहरू बिरामी भैरहन्छन् र हाच्छिउँ गर्नेबित्तिकै नानाथरी एन्टिबायोटिक खानुपर्ने हुन्छ । बच्चाको सफल, उत्साहयुक्त, चनाखो र सुखी भविष्य सुनिश्चित गर्नका लागि उसको पालनपोषण र खानपिनमा ध्यान दिनुहोस् । आखिरमा आजकल धेरैजसोले विरलै दुई जनाभन्दा बढी बच्चा जन्माउँछन् र पहिलेजस्तो धेरै सन्तान हुर्काउनुपर्ने भार परिवारमा छैन पनि । बच्चा र आमा (परिवार र अरू परिवारजन) स्वस्थ भएर घरमा बनाएको पोषिलो खाना खान पाए र स्वास्थ्य उपचारमा धेरै खर्च गर्नुपरेन भने जीवनले अर्कै सुखद मोड लिन्छ, यसमा कुनै शंका छैन । घरका सबै जना फुर्तिला हुन्छन्, राम्रोसँग खान्छन् र चाहिने कुरामा मात्र पैसा खर्च गर्नुपर्ने हुन्छ । स्वस्थ बच्चाले पढ्न र खेल्नमा बढी ध्यान दिन्छ अनि उसको समग्र मस्तिष्क र शारीरिक विकास राम्ररी भइरहेको हुन्छ ।

अन्तमा

अहिले पश्चिमा मुलुकले नेपालजस्तो विकासोन्मुख देशका परम्परागत खाना, बाली र अन्नका पौष्टिक गुणहरू पत्ता लगाउँदै हाम्रो खाने तरिका अपनाउँदै छन् । हामीचाहिँ यही समयमा बजारमा पश्चिमाले नकारेका खानाहरू खान तत्पर भएका छौं । बजारमा पत्रु खाना पस्कने व्यापारिक घरानाले आफ्नै बालबच्चालाई खुवाउन बन्देज गर्ने यस्ता जोखिमपूर्ण प्रशोधित तयारी खाना/खाजा आफ्नो बच्चालाई खुवाउँदा के गर्दै छौं आफ्ना सन्तानलाई, एक–एक बाबु–आमा जोडीले विचार गर्ने कुरा हो ।

कोभिड–१९ महामारीले हामीलाई बुझाएको छ, सकेसम्म घरेलु खाना, आफूवरिपरि फलेका फलफूल, सागपात र परम्परागत चलनचल्तीका मसलाबाटै हाम्रो जीउ र ज्यानको रक्षा हुन्छ । यो कोभिड–१९ प्रतिको प्रतिरोधात्मक शक्ति मात्रै होइन, अरू जुनसुकै महामारीसँग पनि लड्ने शक्ति हो । यो परम्परालाई रक्षा गरौं, सानैदेखि बच्चामा राम्रो खाने बानी बसालौं र स्वस्थ नेपाल बनाऔं । हामी हरेकले ठोस कदम चाल्यौं भने यो देशव्यापी अभियान हुनेछ, पत्रु खानाको बजार खस्कनेछ र पूरै मुलुकको स्वास्थ्यको कायापलट हुनेछ ।

प्रकाशित : भाद्र २६, २०७७ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×