१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

डीजेहरुकाे 'ब्रेकअप'

रीना मोक्तान

काठमाडौँ — लकडाउनअघि डिजे बिक्की पराजुली (बिक्कीकूल) भारतमा थिए । एसिया टुरमा व्यस्त । पहिलो सो सकेर दोस्रो सो हतारहतारमा गरे । किनकि उनलाई नेपाल फर्कनु थियो । दोस्रो सो सोचेजस्तो भएन । त्यसअघि उनले भियतनाममा २ वटा सो गरेका थिए ।

डीजेहरुकाे 'ब्रेकअप'

कोरोना महामारी नभएको भए यतिखेर उनी सिंगापुरमा हुन्थे । क्लबहरुमा फरक गीत संगीत मिसाउँदै त्यही संगीतमा भीड नचाउँदै हुन्थे ।

तर, महामारीका कारण अहिले सबै क्लब, पब, रेस्टुरेन्ट र इभेन्टहरु ठप्प भएकै पाँच महिनाभन्दा बढी भयो। कोरोनाकै कारण डीजे बिक्कीको एसिया टुर रद्द भयो । यो टुरका लागि लगातार पाँच वर्ष उनले मिहेनत गरेका थिए । नेपाली डीजेका लागि यस्तो टुर विशेष हुन्छ । तर, बिक्कीले टुर सुरु गर्न नपाउँदै रोकियो । टुर रोकिँदा ६ लाख बढीको घाटा बेहोर्नुपर्‍यो उनले । 'सो नै गर्न नपाएपछि घाटा नै भयो,' उनले भने ।

डीजे बिक्की

यही टुरका लागि काम गरिरहेका क्लबहरुबाट ब्रेक लिएका थिए बिक्कीले । इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड, फिलिपिन्समा गर्ने भनिएको सो गर्न पाएनन् । १० वर्ष भयो बिक्कीले डीजेको काम गर्न थालेको । उनले ठमेलका अधिकांश क्लबहरुमा डीजे भएर कामको अनुभव बटुलेका छन् । १० वर्षको यो लामो समयमा पहिलोपटक यति लामो समय कामविहीन भएको बताउँछन् बिक्की । कामकै तलतल मेट्न अहिले उनी फेसबुक र इन्स्टाग्रामबाट 'लाइभ सेसन' गरिरहेका छन् । कपीराइटको समस्याले भने लाइभ सेसनमा उनलाई तनाव दिइरहेकको छ । १५ दिनयता उनी लाइभमै चित्त बुझाउँदै छन् ।

महामारीले उनलाई डीजेको विकल्पमा अर्को काम पनि गर्नुपर्छ भन्ने लागेको रहेछ । 'अहिले त सबै बन्द नि। म त पर्फमर हो । हामी सबै समय डीजेमै दिन्छौं । यो महामारीले ब्याकअप एउटा केही न केही कलाकारले गरिराख्नु पर्ने रहेछ भन्ने सिकायो,' उनी सुनाउँछन् ।

विकल्पको कामले महामारी थेग्न सकिन्थ्यो भन्ने उनलाई लाग्न थालेको छ । 'यस्तो अवस्थामा सहयोग हुन्थ्यो होला । अहिलेसम्म बचतको केही रकमले जिन्दगी चलिरहेको छ । अब त्यो पनि सिद्धियो भने केही पनि हुँदैन । आर्थिक समस्या पर्छ ।'

डीजे शिशिर

डीजेका काम भीडहरुमा हुन्छ । कोरोनाले निम्त्याएको सामाजिक दूरी लागू गर्न यो भीडमा सम्भव छैन। त्यसैले अझै क्लबहरु खुल्न समय लाग्ने बताउँछन् अर्का डीजे शिशिर लामा । 'डिजेइङ त बन्द कोठामा गर्ने शो हो । त्यो समय आउनलाई अझै समय लाग्ला । क्लबहरु खोल्न समय लाग्छजस्तो लाग्छ । ओपन एअरको पार्टीहरु सुरु होला चाँडै,' उनले सुनाए ।

अब पनि काम सुरु नभए डीजेहरु आर्थिक चपेटामा पर्ने संकेत देखिएको छ । १७ वर्षदेखि डीजेमा सक्रिय लामा भन्छन्, 'जसोतसो मिलाइरहेका छौं । अझै लम्बियो भने गाह्रो पर्छ ।' लकडाउनअघि उनी प्राइभेट पार्टी(बिहे,लाइभ, व्रतबन्ध, जन्मदिन)मा डीजे गर्थे । इभेन्ट म्यानेज पनि गर्थे । काम टुटेकै थिएन । १५० जनाको सनडाउन पार्टीमा डीजे गर्थे । तर यी पार्टीहरु लकडाउन हुनुअघि नै बन्द हुन थालिसकेको थियो । लकडाउनले गर्दा ७ वटा बिहेको पार्टी रद्द भए । अहिले त काम नगरेकै ६ महिना नाघिसक्यो ।

यो डीजे शिशिरको मात्र समस्या होइन । रातमा क्लब, पब, रेस्टुरेन्ट र प्राइभेट पार्टीहरुमा डीजे गर्नेहरुको साझा समस्या हो यो ।

डीजे पुनित

डीजे पुनित विक्रम शाहलाई भने रातमा निन्द्रा नपरेर समस्या छ अहिले । १० वर्ष भयो उनले रातमा डीजेको काम थालेको । रातको ११ बजेदेखि बिहानको पाँच बजेसम्म 'डिजेइङ'मा समय बिताउँथे उनी । सँधै बिहान भएपछि घर पुगेर निदाउँथे । तर, १० वर्षको यो अन्तरालमा उनको जीवनशैली फेरिएको छ । अबेर बिहान आएर निदाउने पुनित रातमा सुत्न थालेका छन् । 'पहिला त बिहान भएपछि सुतिन्थ्यो । बानी नभएर राति सुत्न गाह्रो हुन्छ । पहिलाको बानी छुटेको छैन । घर बसेरै बोरिङ भइसकें,'उनले सुनाए ।

डीजे पुनित लकडाउन अगाडि प्लेब्वाई लाउन्ज एण्ड क्लबमा 'डिजेइङ' गर्थे । अहिले उनलाई आफ्नो काम मिस हुन थालेको बताउँछन् । अहिले उनी संगीतकै काम गरिरहेका हुन्छन् । म्युजिक प्रोडक्सन गर्नतिर समय लगाइरहेका छन् । उनी यो वर्ष आफ्नो काम सुरु नहुने बताउँछन् । 'अहिले अरु कुरा खोले पनि नाइट लाइफ चाँडै खुल्छ जस्तो लाग्दैन । अन्तिम अवस्थामा खल्ने भनेको यही इभेन्टहरु हो, जहाँ धेरैजना भेला हुनुपर्छ । २०२० मा त सम्भव छैन । अब २०२१ मा चाहिँ खुल्छ भन्ने आशा गरौं,' उनले भने ।

डीजे अमन

डीजे अमन केसीले भने यसबीच बिक्कीलेझैं कामको तलतल मेट्न 'लाइभ डिजेइङ' गरे । ६ महिनादेखि कामविहीन भएका अमन लकडाउनअघि इभिजा लाउन्ज र लेभल थ्रीमा काम गर्थे । उनको काम पनि रातको ११ बजेबाट नै सुरु हुन्थ्यो । लकडाउनबीच उनले साथीहरुको बर्थ डे र प्राइभेट पार्टीमासमेत डीजेको काम गरे । उनले सन् २०१४ मा एसएलसी सक्नासाथ डीजे पेसा अंगालेका थिए ।

प्रकाशित : भाद्र २५, २०७७ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?