कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सर्जकलाई ‘भर्चुअल प्लेटफर्म’

मधु शाही

बाँके — साहित्यिक कार्यक्रममा सुन्ने र सुनाउनेको जमात जुटाउनै मुस्किल । तोकिएको समयमा न अतिथि सबै आइपुग्ने न त सहभागी । बल्लतल्ल जुटेका स्रोता–दर्शक पनि आसन ग्रहण, माला–खादा, स्वागत र अतिथिका भाषण आउँदा दिक्क मान्थे । कोरोना महाव्याधिले त्यस्ता कार्यक्रममा दिक्क मान्नेलाई विकल्प दिएको छ ।

सर्जकलाई ‘भर्चुअल प्लेटफर्म’

गीत सुन्न होस् वा कविता, कथा पढ्न–सुन्न । विभिन्न कृतिका डिजिटल भर्सन पनि इन्टरनेट पाइने भएकाले रुचिअनुसारका विधा खोज्ने र लाइभ चलिरहेका कार्यक्रममा सहभागिता जनाउने बढिरहेका छन् । भर्चुअल साहित्य संस्कृतिको अभ्याससँगै सहभागितामा रुचि राख्नेहरूले पट्यारलाग्दा कार्यक्रमको विकल्प पाएका छन् । सर्जक त खुसी छन् नै, श्रोता–दर्शक पनि आनन्द मानिरहेका छन् ।

साहित्यकर्मीहरू लकडाउनभरि चुप लागेर बसेनन् । मनभरिका सिर्जना कागजमा उतार्ने अनि सामाजिक सञ्जालमार्फत दर्शकमाझ पस्किँदै आएका छन् । पछिल्लो समय खासगरी काठमाडौं बाहिरका सर्जकहरूलाई भर्चुअल माध्यमले हौसला मिलेको छ । इन्टरनेटको माध्यमबाट प्रस्तुति स्रोता–दर्शकमाझ लैजाँदा कार्यक्रम आयोजनाको खर्च पनि जोगिएको छ । देशविदेशमा विभिन्न पेसामा रहेर साहित्यमा आफ्नो रुचिलाई माझ्न चाहनेलाई पनि मौका मिलेको छ । जो जहाँ भए पनि नजिकै भए जसरी आफ्ना सिर्जना पस्किरहेका छन् ।

कोहलपुरमा सक्रिय हाम्रो पूर्णिमा साहित्य समाजका गतिविधिमा लकडाउन र निषेधाज्ञाका बाधाले कुनै असर परेन । यसमा आबद्ध सर्जकले भर्चुअल माध्यममा रचना वाचन कार्यक्रम, पुस्तक विमोचन र हाइकु लेखनको प्रशिक्षण दिन भ्याएका छन् । प्रतिष्ठानले गत शुक्रबार हाइकु वाचन कार्यक्रम जुममार्फत गर्दा सातै प्रदेशका स्रष्टा समेटिए । यसमा बेलायत, इजरायल, जापानका स्रष्टा पनि जोडिए । यदि यस्तै कार्यक्रम भौतिक उपस्थितिको परम्परामा गर्नुपरेको भए झन्डै ४ लाख रुपैयाँ खर्च हुने समाजका अध्यक्ष महानन्द ढकालले बताए । ‘भर्चुअल माध्यमबाट थोरै खर्चमा धेरै ठूलो कार्यक्रम गर्न सकिने रहेछ,’ उनले भने, ‘यसले मोफसलको साहित्यलाई ग्लोबल बनाइदिएको छ ।’

भर्चुअल माध्यमबाट प्रतिष्ठानले कृति विमोचनका अतिरिक्त चारवटा ठूला साहित्यिक गतिविधि गर्न सफल भएको छ । कोहलपुरका हरि ढकालले भर्चुअल माध्यमबाटै आफ्नो कृति हाइकु ‘चन्द्रविन्दु’ ल्याए । फागुनमै तयार हाइकु विशेष कार्यक्रममाझ विमोचन गर्ने उनको सपना थियो । महामारीले भेला, बैठकमा बन्देज भएपछि खुला कार्यक्रम गर्न सम्भव भएन । ढकालले भर्चुअल माध्यम अपनाएर हाम्रो पूर्णिमा साहित्य समाजको सहयोगमा कृति विमोचन गराए । कृति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पाएको प्रतिक्रिया देखेर उनी दंग छन् । ‘बन्द कोठामा गरिने कार्यक्रमभन्दा भर्चुअल साहित्य फार बेटर लाग्यो,’ उनले भने ।

लेखक सागर गैरे लकडाउनभरि खाली बसेनन् । फुर्सदको समय साहित्यमा कलम चाएर सदुपयोग गरे । ५ महिना लगाएर उनले लकडाउनकै विषयमा संस्मरणात्मक निबन्ध संग्रह निकाल्दै छन् । उनी पनि आफ्नो कृति भर्चुअल माध्यमबाटै सार्वजनिक गर्ने सुरमा छन् । भर्चुअल साहित्यिक गतिविधिले पाका स्रष्टालाई प्रविधिमैत्री बनाउँदै गएको प्राज्ञ सभा सदस्य हरि तिमल्सिनाको दाबी छ । कापीमा लेखेर दुई/चार सय जना मान्छेको भेलामा सुनाउने परिपाटी फेरिँदै छ । यसले कहिल्यै सामाजिक सञ्जालमा अभ्यस्त नभएका स्रष्टाले प्रविधि सिक्न थालेको उनले सुनाए । फोन र म्यासेन्जरकै भरमा तुरुन्तै विश्वभरका साहित्यकार एकै थलोमा देखिन पाउनुले साहित्यकारमा थप ऊर्जा मिलेको कोहलपुरका लेखक पुष्कर रिजालले बताए । ‘नलेख्नेहरू पनि लेख्न थालेका छन्,’ उनले भने, ‘नेट चलाउन नजानेका कतिपय साहित्यकार प्रविधिको महत्त्व बुझ्न खोज्दै छन् ।’

नेपालगन्जका केही साहित्यिक सर्जक मिलेर ‘कथा सुन्ने र सुनाउने’ मासिक कार्यक्रम गर्दै आएका थिए । दुई वर्षको अवधिमा १५ वटा कार्यक्रम गर्न भ्याए । कथाकारले निम्तो गरेर घरमा बोलाउने र आएका स्रष्टालाई चिया–बिस्कुट खुवाउँदै कथा सुनाउने परिपाटी थियो । नेपालगन्जमा दुई वर्षअघि पाका साहित्यकार सनत रेग्मीको घरबाट यो परम्परा सुरु भएको थियो । अहिले त्यो कथा वाचन शैलीसमेत भर्चुअलमा परिणत भएको छ । घरमा जाने, जम्मा हुने र सुनाउने संस्कृति इन्टरनेटमा फेरिएको छ । लकडाउनको बीचमा यहाँका स्रष्टाले भर्चुअल माध्यम अपनाएर कथा सुनाउन थालेका छन् । प्रत्येक आइतबार सामाजिक सञ्जालमार्फत ‘कथा सुनौं र सुनाऔं’ आयोजना हुँदै आएको छ । ‘अहिले कथा सुन्न कथाकारको घरसम्म पुग्नु पर्दैन,’ साहित्यकार रिर्चा लुइँटेलले भनिन् ।

भर्चुअल साहित्यिक संस्कार बसालेपछि बाँके, बर्दियादेखि काठमाडौंसम्मका इच्छुक कथा सर्जकसमेत जोडिन थालेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव सनत रेग्मी काठमाडौंमा भइरहने साहित्यिक गतिविधिमा सक्रिय हुन्थे । महामारीपछि लकडाउन सुरु भएलगत्तै उनी आफ्नै जन्मथलो नेपालगन्जमा छन् । तर, उनको साहित्यिक दिनचर्या उस्तै सक्रिय छ । उनी घरमै सुरक्षितसाथ बसेर भर्चुअल माध्यमबाट काठमाडौंमा आयोजना भइरहेका साहित्यिक कार्यक्रममा सहभागी भएका छन् । उनले यसको सबैभन्दा राम्रो पक्ष भनेको कार्यक्रम भइरहेका बेला कानेखुसी गर्ने, होहल्ला गर्ने खालका डिर्स्टवेन्स नहुनु रहेको सुनाए । ‘भर्चुअल साहित्यमा रियल दर्शक मात्रै भेटिने हुँदा राम्रो लाग्यो,’ उनले भने, ‘सुन्ने र सुनाउने दुवै सभ्य पाएँ ।’

प्रकाशित : भाद्र २४, २०७७ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?