कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अभिनय छाडेर कुटोकोदालो

कुम्भराज राई

ओखलढुंगा — हास्य टेलिशृंखला ‘मेरी बास्सै’ मा सुवास नेम्वाङ बनेका कलाकारलाई कतिको सम्झनु हुन्छ ? उनको नाम कल्याण राई हो । घर ओखलढुंगाको रुम्जाटार । लकडाउनयता उनलाई काठमाडौंबाट बोलावट बन्द छ । उनी पनि आफूखुसी झरेका छैनन् ।

अभिनय छाडेर कुटोकोदालो

यी कलाकार आइतबार घरै नजिक बारीमा सुठुनी (सखरखण्ड) रोप्दै गरेका भेटिए । सुठुनीकै छेउमा दुई अढाई सय बोट स्ट्रबेरी थिए । भुइँस्याउको बोट झ्याम्म थियो । अरू दर्जनौं फलफूलका बोटहरूमा मल र सिँचाइ गरेको प्रस्टै देखिन्थ्यो ।

दुई दशकदेखि क्यामेरा फेस गर्दै आएका उनले विभिन्न चलचित्र र दर्जनौं टेलिसिरियल, म्युजिक भिडियोमा अभिनय गरेका छन् । राजधानीको बसाइँ चटक्कै छाडेर घर फर्केको तीन वर्ष भयो । तर कलाकारिता छाडेका थिएनन् ।

‘बीच–बीचमा सुटिङका लागि आउजाउ भइरहन्थ्यो,’ सुठुनी बारीमै कुराकानीका क्रममा उनले भने, ‘कोरोना महामारी सुरु भएदेखि ढुक्कै गाउँमा छु । गाई र सुँगुर पालेको छु । यसपालि आफ्नै हातले खेत जोतेर धान रोपियो । आनन्द लागेको छ ।’

बिहान एक भारी दाउरा ल्याउने र बेलुकी ४० मिनेटको बाटो हिँडेर नाम्लो लगाएर घाँसको भारी ल्याउँछन् । सबैभन्दा आनन्द गाउँघरमै बसेर कृषिकर्म गर्दा लाग्ने गरेको उनले सुनाए । ‘माटो खोस्रिएर अन्न फलाउनु जस्तो मज्जा त अरू कुनै काममा देखिएन,’ उनले भने, ‘कोरोना महामारी त्यसका लागि झन् अवसर बनेर आयो । अबचाहिँ कलाकारिता सहायक पेसा र कृषि कर्म मुख्य पेसा बनाउने सोच्दै छु । आखिर अप्ठ्यारो गाह्रोसाह्रोका बेला गाउँ नै प्यारो हुने रहेछ । सहर त पाहुना जस्तो रहेछ ।’

सोलुखुम्बु माप्य दूधकोसी–६ वाकुका गणेशकुमार राई लकडाउनको पहिलो महिनासम्म काठमाडौंमै थिए । कविता, साहित्य, पत्रकारिता र अध्ययनमा रमाइरहेका गणेशकुमारले भविष्य राजधानीमै खोजिरहेका थिए । पहिलो महिनाको लकडाउनपश्चात् गाउँ फर्केका उनको सोच अहिले सर्लक्कै बदलिएको छ ।

२६ रोपनीमा २ हजार बोट कफीका बेर्ना रोपिसके । अकबरे खुर्सानी फल्न थालिसक्यो । ‘अहिले त यी बोटबिरुवा स्याहार्दास्याहार्दै अब आफ्नै हातले नस्याहारे चित्तै नबुझ्ला जस्तो हुन थाल्यो,’ उनले भने, ‘सहरमै रमाउने सपना यसपालिदेखि देख्नै पो छोडियो हौ । अब धेरैजसो गाउँमै कृषिमा केही गर्ने भनेर पसिना बगाउन थालेको छु ।’

सोलुखुम्बु सोताङका भद्रगोल किराती पनि साहित्य र कलाकारिता पेसामा छन् । उनी लकडाउन सुरु भएपछि गाउँ फर्केका थिए । लकडाउनकै बेला गाउँको एक जना बिरामी काठमाडौं लाने काममा राजधानी पुगेका उनलाई कहिले राजधानीको लकडाउन खुल्ला र गाउँ फर्कौं भइरहेको छ ।

‘अब गाउँमै अलिअलि घाँसखेती गर्ने योजना छ,’ किरातीले भने, ‘गाउँमा बूढीआमाले गर्नु भएको निर्वाहमुखी पशुपालन र खेतीलाई व्यावसायिक कसरी बनाउन सकिन्छ भन्ने योजना बनाइरहेको छु ।’ कोरोनाले उनलाई एउट पाठचाहिँ के सिकायो भने, ‘गाउँघर र कृषिको विकल्प अरू छैन । त्यसैले पक्कापक्की अब धेरै समय गाउँमै बिताउनेछु ।’

यी केही प्रतिनिधि पात्र मात्र हुन् । सहरमा डेरा गरेर स–साना पेसा गर्दै आएका धेरैजसो अहिले गाउँ फर्किएका छन् । अधिकांशले कृषि र पशुपालनमा हात हालेका छन् । सम्भावनाको अध्ययन गरिरहेका छन् ।

एक दशकदेखि बाँझो भएको र जंगल पलाएको खेतबारीमा यस वर्ष खनजोत भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका सूचना अधिकारी हेम आलेमगरले भने ‘बितेका वर्षहरूमा ८० प्रतिशत रोपाइँ हुन्थ्यो भने यो वर्ष शतप्रतिशत खेतमा रोपाइँ भएको छ ।’

प्रकाशित : भाद्र २२, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?