कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विद्यालयको पाठ्यक्रममा फिल्मलाई समावेश गर्न प्रस्ताव

फिल्मकर्मी भन्छन्, 'पहल सकारात्मक तर जनशक्तिको अभाव छ'
रीना मोक्तान

काठमाडौँ — चलचित्र बिकास बोर्डले विद्यालय र माध्यमिकस्तरमा फिल्मसम्बन्धी पढाइ संचालन गर्ने विषयमा पाठ्यक्रम विकास केन्द्रसँग छलफल अगाडि बढाएको छ । र, यसमा केन्द्र सकारात्मक देखिएको पनि बोर्डले दावी गरेको छ ।

विद्यालयको पाठ्यक्रममा फिल्मलाई समावेश गर्न प्रस्ताव

'यो प्रास्ताव राखेको धेरै भयो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक र पाठ्यक्रम निर्माण समितिका संयोजकहरुसँग दुई चरणको छलफल भइसक्यो,' बोर्ड अध्यक्ष दयाराम दाहालले भने, 'व्यवसायिक रुपमा फिल्मसँग सम्बन्धित विषय विद्यालयस्तरमा पढाइ हुनुपर्छ भन्नेमा उहाँहरु पनि सकारात्मक देखिनु भएको छ ।'

फिल्म सँस्कृतिको विकास गर्न र यसको बौद्धिक बहसका लागि विद्यालयस्तरदेखि नै पढाइ हुनुपर्ने उनी बताउँछन् । 'विद्यालयस्तरदेखि नै फिल्म सँस्कृतिको विकास गर्नुपर्छ । यसलाई बौद्धिक बहसको विषयमा ल्याउनुपर्छ । त्यसको लागि यो विषय पाठ्यक्रममा समावेश हुनुपर्छ,' उनले भने, 'कथा, कवितालाई किताबमा नराखिएको भए अहिले साहित्यले चर्चा पाउँदैन थियो । त्यसैले फिल्म मनोरञ्जन मात्र नभइ कलात्मक विधा हो, यसले समाजका यावत कुराहरुलाई प्रतिनिधि गर्छ भनेर बुझाउन पनि पढाइ आवश्यक छ ।'

दयाराम दाहाल

पाठ्यक्रममा फिल्मको इतिहासदेखि वर्तमानसम्मका विषय समेटिनुपर्ने अध्यक्ष दाहाल बताउँछन् । 'नेपाली फिल्म सँस्कृतिको विकास गर्ने खालको पाठ्यक्रम समेट्नुपर्छ । प्राविधिक पक्ष, फिल्मको इतिहासका पक्ष, साँस्कृति पक्ष समेट्ने विषय समावेश हुनुपर्छ,' उनले भने । यसका लागि साहित्यकार, संगीत तथा फिल्मसँग जोडिएका विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्नुपर्ने उनी बताउँछन् । शैक्षिक सत्र २०७७ मा यो विषय समेट्ने तयारीकासाथ आफू अगाडि बढेको उनले बताए ।

फिल्म सम्बन्धि अध्यापन गराउने 'ओस्कर इन्टरनेस्नल कलेज'का क्याम्पस प्रमुख एवं फिल्म निर्देशक विनोद पौडेल यो विषयलाई सकारत्मक मान्दछन् । विद्यालयस्तरदेखि फिल्मको पढाई हुँदा समाजमा फिल्मलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै जाने उनले बताए । 'भिजनसहित यो विषय आएको छ भने एकदम राम्रो हो । यसले समाजमा फिल्मलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्दै लान्छ । अहिले आफ्नो सन्तानले फिल्म हेरिरहेको देख्दा कति अभिभावक गाली गर्छन् । फिल्मप्रति हेर्ने दृष्टिकोण नकारात्मक छ । त्यसलाई परिवर्तन गर्ने माध्यम बन्छ यो,' उनले भने ।

उनका अनुसार यसरी पढाई हुँदा फिल्मलाई कलाको रुपमा, करियरकै रुपमा हेर्ने चेत पलाउँदै जान्छ । कक्षा १२ का लागि फिल्मको पाठ्यक्रम तयार पारिरहेका विनोद यसका लागि लामो योजना आवश्यक ठान्छन् । 'हामीले कस्तो विषयवस्तु दिन्छौं त्यसमा चुनौती छ । यो विषयालाई अगाडि बढाउन दक्ष जनशक्तिको आवश्यकता पर्छ,' उनले भने ।

निर्देशक एवं समीक्षक दीपेन्द्र लामा विद्यार्थीलाई सृजनशील बनाउन फिल्मको पढाई महत्वपूर्ण रहेको बताउँछन् । 'कला विषय पढाउन जरुरी छ । विदेशमा यसको अभ्यास पाइन्छ,' उनले भने, 'तर, हाम्रो समाजमा कला भनेको पढ्ने विषय होइन भन्ने दृष्टिकोण छ । विद्यार्थीलाई सृजनात्मक बनाउँछ कलाले । हाम्रो घोकन्ते शिक्षा हटाउनका लागि कलाले सहयोग पुर्‍याउँछ ।'

उनी फिल्म भन्दा पनि ‍कला शीर्षकमा पाठ्यक्रम तयार पार्नुपर्ने बताउँछन् । 'फिल्म बुझ्नका लागि फिल्म मात्र पढाएर हँदैन । फिल्म बुझ्नका लागि कलाका अन्य विधाहरु जस्तै पेन्टिङ, नाटक, साहित्य, संगीत सबै बुझ्नुपर्छ । पाठ्यक्रममा चाहिँ फिल्म भन्दा पनि कला भनेर यो विषय समेट्नुपर्छ । कला भनेपछि पेन्टिङ, संगीत, साहित्य सबै पढाउनुपर्‍यो,' उनी सुनाउँछन् ।

सम्पदा मल्ल

स्क्रिप्ट राइटर सम्पदा मल्ल फिल्मसम्बन्धी पढाईले यो क्षेत्रमा 'स्कोप' बढाउँदै लाने बताउँछिन् । 'फिल्मको पढाई विद्यालयदेखि भयो भने यसले क्रियटिभ करियरमा स्कोप छैन भन्ने धारण हटाउँदै जान्छजस्तो लाग्छ,' उनले भनिन् ।

सन् २०१५ मा ओस्करबाट फिल्म सम्पादनमा दीक्षित भएकी आश्मा पोख्रेल फिल्म लिट्रेसी बढाउन पनि यो विषय विद्यालयस्तरदेखि पढाउनुपर्ने धारणा राख्छिन् । 'फिल्म साक्षरता भएका मानिस कम छन् यहाँ । विद्यालयस्तरबाट पढायो भने दर्शकमा पनि फिल्म साक्षरता बढ्छ,' उनले सुनाइन् । ओस्करमा फिल्म सम्पादन पढाउने आश्मा यो विषय विद्यालस्तरमा पढाउँदा फिल्म करियर देख्ने विद्यार्थीलाई सहज हुने बताउँछिन् । 'पहिला नै फिल्मबारे ज्ञान भएको भए हामीलाई धेरै नै सजिलो हुन्थ्यो । हामीले त फिल्मको ज्ञान नै नभएको बेला यो विषयमा पढियो । पहिलो वर्ष त फिल्म बुझ्न नै समय लाग्छ,' उनले सुनाइन् ।

उनीसँग फिल्म पढ्ने कति साथीहरुले पढाई बीचमै पनि रोके । फिल्मबारे विद्यालयमै पढाइ हुँदो हो त उनीहरु बुझेर यो क्षेत्रमा आउँथे भन्ने उनलाई लागेको छ । 'यदि उनीहरुले पहिला नै फिल्मको ज्ञान भएको भए त्यो यता खर्च हुन्थेन होला,' उनले भनिन् ।

दक्ष जनशक्तिको अभाव

त्रिभुवन विश्वविद्यालयले पुनर्गठन गरेको फिल्म सम्बन्धित पाठ्यक्रम निर्माण समितिमा पनि चलचित्र विकास बोर्डको प्रतिनिधित्व छ । अब समिति नेपालमा फिल्म सम्बन्धी पढाइने क्याम्पसको पाठ्यक्रमलाई परिमार्जित र अत्याधुनिक बनाउन अग्रसर हुने अध्यक्ष दाहालले बताए । स्नातकदेखि स्नातकोत्तरसम्म पनि फिल्मको पाठ्यक्रम समावेश गर्नेतर्फ पनि योजना अगाडि बढाइएको उनले बताए ।

विनोद पौडेल

यसरी पाठ्यक्रममा फिल्मको विषय समावेश गर्दा बृहत छलफल गरेर अगाडि बढ्नुपर्ने बताउँछन् अभिनेता दीपकराज गिरी । 'भारतमा फिल्म कल्चर हो । नेपालमा त्यस्तो भएको छैन । त्यसैले कल्चरको रुपमा अगाडि बढाउन बृहत छलफल गरेर पाठ्यक्रममा समावेश गर्नुपर्छ यो विषय,' उनले भने ।

फिल्म पढाउने विषय अगाडि बढाउँदा दक्ष जनशक्तितर्फ पनि ध्यान पुर्‍याउनुपर्ने निर्देशक विनोद पौडल बताउँछन् । 'पाठ्यक्रम मात्र भएर पुग्दैन । त्यसका लागि दक्ष जनशक्ति चाहिन्छ । हामीकहाँ जनशक्ति कम छ । अहिले पनि राम्रो इडिटिङ पढाउने जनशक्ति छैन । राम्रो क्यामेरा पढाउने शिक्षक छैन,' उनले भने, 'विद्यालयमा पाठ्यक्रम त आउने भो तर त्यसलाई पढाउने शिक्षक भएन भने काम भएन । नत्र कृषि विषय पढाउने थुप्रै कलेज भए पनि देश नामको मात्र कृषि प्रधान भएको जस्तै हुन्छ ।'

दक्ष जनशक्तिका लागि राज्यबाट नै चासो बढाउनुपर्ने उनको तर्क छ । 'फिल्मसँग सम्बन्धित संघसंस्थाबाट पढाई पूरा गरेका विद्यार्थीलाई मास्टर्स गर्न विदेश पढाउनु पर्‍यो । बाहिर पढेर आएकाका विद्यार्थी छन् भने उनीहरुलाई स्थान दिनुपर्‍यो । राज्यले नै जनशक्तिमा लगानी गर्‍यो भने पछि त देशमै जनशक्ति जन्मन्छ,' उनले भने ।

भुटानको उदाहरण दिँदै उनले थपे, 'त्यहाँ राज्यले नै फिल्म पढ्न आफ्ना नागरिकलाई बाहिर पठाउने गर्छ । पछि फर्केर उनीहरुले पनि देशमै काम गर्छन । त्यसैले अब फिल्म पढाउन जनशक्तिको निर्माण गर्नु पर्‍यो,' उनले भने ।

प्रकाशित : भाद्र १२, २०७७ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?