कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कलाकारको तीज युट्युबमै

कोरोनाका कारण गत वर्षसम्म देश तथा विदेश पुगे र आफ्ना गीत सुनाएर दर्शक नचाउने कलाकार यसपालि घरभित्रै खुम्चिए ।
सन्जु पौडेल

तिलोत्तमा — बटौली शब्द जोडेर धेरै तीजका गीत बनेका छन् । हरेक वर्ष मुलुकको मध्य भागमा रहेको बुटवल सहर तीजका नयाँ–नयाँ भाकामा झुम्ने गरेको छ । स्थानीय कलाकारबीच नयाँ गीत सार्वजनिक गर्ने होड चल्दै आएको छ ।

कलाकारको तीज युट्युबमै

तीज आउनु एक महिना पहिल्यै यहाँ आफ्ना गीत सार्वजनिक गर्ने चलन छ । मुलुकको अन्य क्षेत्रमा सार्वजनिक गीतसित यहाँका रैथाने भाकाले प्रतिस्पर्धा गर्दै आएका छन् । यसपालि माहोल भिन्न छ । कोरोना महामारीको चपेटामा चाडपर्व पनि परेका छन् । सार्वजनिक कार्यक्रममा रोक लागेको छ ।

महामारीबाट जोगिन पनि यस्ता कार्यक्रम आयोजना गर्न सम्भव छैन । यस्तो बेला यहाँका कलाकार युट्युबमा सीमित बनेका छन् । यस वर्ष नयाँ गीत सार्वजनिक गरिए पनि बजारमा हल्लीखल्ली भएन । अर्कोतर्फ तीज कलाकारका लागि आम्दानीको स्रोत पनि हो । यसपालि कोरोनाका कारण गत वर्षसम्म देश तथा विदेश पुगेर आफ्ना गीत सुनाएर दर्शक नचाउने कलाकार यसपालि घरभित्रै खुम्चिए । उनीहरूले दर्शकसित साक्षात्कार हुने अवसर गुमाए । स्वास्थ्य सुरक्षाका हिसाबले जमघट, भीडभाडले संक्रमण सर्न सक्ने भएकाले घरभित्रै चाडपर्व मनाउने भनी सरकारले सूचना जारी गरिसकेको छ । वर्तमान परिस्थितिले लाखौं रुपैयाँ खर्च गरी गीत बनाएका कलाकारले सामाजिक सञ्जाल युट्युब र फेसबुकबाट गीत सार्वजनिक गरे । अहिले पनि आफ्ना गीत सुनिदिन सामाजिक सञ्जालबाटै आग्रह गरिरहेका छन् ।

विषम परिस्थितिलाई पनि अवसर मानेर अघि बढ्नुको विकल्प नरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश ५ का अध्यक्ष डिल्लीनारायण पाण्डेयले बताए । ‘समयअनुसार आम्दानी मात्र नभई आफ्नो प्रतिभा रचना सुनाउन पाएँ भनेर खुसी हुनुपर्छ,’ उनले भने, ‘अहिले स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो ।’ जीवन रहे चाडपर्व अन्य वर्ष पनि आउने अध्यक्ष पाण्डेयले बताए । यो चुनौतीलाई अवसर मानी परिवारमै रमाउने, अरुका गीत सुन्ने मात्र नभई आफैंले रचना गर्ने, घरका बालबालिकालाई पुराना गीत सुनाएर त्यसको मर्म बुझाउने र रचना गर्न सिकाउने आदि कार्य गर्न सकिने भन्दै उनले यही बेलामा कलाकार बन्न सक्ने सिकाइ र अभ्यास नयाँ मानिसले गर्न सक्ने बताए ।

समयलाई मध्यनजर गर्दै कोरोना, सलह किरा र सामाजिक विकृतिविरुद्धका गीत आएकाले ती गीत घरमै बसेर पनि हेर्न, सुन्न सकिने खालका भएकाले कलाकारले दर्शक, श्रोतासमक्ष आफ्नो कोसेली पुगेको छ भनी चित्त बुझाउनुपर्ने उनको भनाइ छ । ‘विषम परिस्थिति आउनुअगावै आफ्ना रचना तयार गरेका कलाकारलाई माहोल साम्य हुन्छ भन्ने लागेर गीत निकालेका हुन्,’ उनले भने, ‘तीज नजिकिँदै गर्दा अवस्था झन् गम्भीर बन्दै गयो ।’ दशकौंदेखि गीत गाएरै परिचित गायिका देविका वन्दनाले अन्य गीतसँगै तीजका भाकासमेत गुनगुनाउने गर्छिन् ।

तीज आउने बेलामा विभिन्न क्लब, संस्था र टेलिभिजन च्यानलका दर खाने कार्यक्रममा समेत सक्रिय सहभागिता जनाउने उनले अहिलेको तीजमा सुरक्षित रही बुटवलस्थित घरमै बसेर मनाउने बताइन् । ‘विश्व आक्रान्त बनेको बेलामा बच्नु नै सबैभन्दा ठूलो कुरा हो,’ उनले भनिन्, ‘कलाकारले सिर्जना प्रत्यक्ष सुनाउन नपाए पनि अरू माध्यम प्रयोग भएका छन् ।’ यस वर्षको तीज गीतका लागि धेरैले आग्रह गरे पनि आफूले काठमाडौंबाट पठाएको गीतको भाका र शब्द फोनबाटै सुनी गृहजिल्लामै रेकर्ड गरेर मिक्सिङका लागि पुनः उतै पठाई गीत तयार गरेको भन्दै उनले भिजुअलमा पनि आफू देखिएर गाउने गरेता पनि कोरोनाकै कारण आफू सुटिङ स्थलमा सहभागी हुन नपाएको बताइन् । नेपाली लोक संगीतमा लामो समयसम्म योगदान गरेकी गायिका सपना गाहाले तीजका गीत घन्किएर रमाइलो हुने समयमा घरभित्रै बस्नु र जताततै सुनसान हुनु नै नरमाइलो अवस्था भएको बताइन् । ‘कति समय रहला र भन्ने लागेको थियो,’ उनले भनिन्, ‘कलाकार मात्र नभई वर्ष दिनमा माइतीले विशेष मानेर बोलाउने चेलीबेटी माइत जानसमेत नपाउने स्थिति आउँदा निराशा छाएको छ ।’

कलाकारका लागि पनि विशेष अवसरकै रूपमा आउने तीजमा कोठाभित्र गीत सुनेर नाच्ने बाध्यता रहँदा एकातर्फ दर्शक, श्रोतासँग प्रत्यक्ष भेटघाट छुटेको र अर्कोतर्फ आम्दानीको श्रोत पनि कम हुँदै गएको गाहाले बताइन् । बजारमा गीत आए पनि सामाजिक सञ्जालको पहुँचमा सबै श्रोता नहुने भएकाले आफ्ना गीतको पहुँचसमेत इन्टरनेटमा बाँधिएको उनले बताइन् ।

तीजकै अवसरमा गीत गाएर लगानी उठाउने र थप आम्दानीसमेत गर्ने गरेका कलाकारले यस वर्ष गीतको लगानी उठ्न नसक्ने बताएका छन् । चर्चित कलाकारका हिट गीतले युट्युबबाट कमाउने सम्भावना भए पनि सामान्य कलाकारका लागि कोरोनाले नकारात्मक असर पारेको गायक पुरुषोत्तम पौडेलले बताए ।

‘विगतका वर्षमा ३ लाख रुपैयाँसम्म तीजका बेला मञ्चमा गाएरै कमाइएको थियो,’ उनले भने, ‘अहिले सबैतिरको समस्या हेरेर चित्त बुझाउनुपर्ने भयो ।’ यस वर्ष आफूले भोगेको कोरोना कहरलाई गीतमार्फत ल्याएको र युट्युबमै राम्रो सफलता पाइरहेको पौडेलले बताए । बुटवलबाट काठमाडौं गएका उनलाई घरबेटीले सहजै घरमा पस्न नदिएको र देशका क्वारेन्टाइनमा रहेको समस्यालाई गीतमा उठाएकाले फोन र सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाएको उनले बताए ।

प्रकाशित : श्रावण २९, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?