कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बबाल ! खतरा ! गर्छु भनेर संगीतमा आएको होइन : तृष्णा गुरुङ  

कान्तिपुर संवाददाता

काठमाडौँ — 'खनी हो यामु'बाट गायिका तृष्णा गुरुङले संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइन् । लोकपप विधामा सक्रिय उनका गीतमा नेपालीपन झल्किन्छ । आफ्ना गीतमा नेपाली शब्द प्रयोग गर्न रुचाउँछिन् तृष्णा । ७ वर्षे सांगीतिक यात्रामा तृष्णाले 'माया पिरती', 'गाइने दाजै', 'साँझको बेला', 'माया मनभरी'जस्ता चर्चित गीत सार्वजनिक गरेकी छिन् ।

बबाल ! खतरा ! गर्छु भनेर संगीतमा आएको होइन : तृष्णा गुरुङ  

बजारलाई पच्छ्याउँदिनन् तृष्णा, आफ्नै शैलीको गीत दर्शकमा पस्किरहन्छिन् । उनको सांगीतिक यात्राबारे रीना मोक्तानले गरेको कुराकानी :

भर्खरै बजारमा ल्याउनुभएको नयाँ गीत 'आघुमै सालै त'को प्रतिक्रिया कस्तो आइरहेको छ ?

प्रतिक्रिया राम्रै छ अहिलेसम्म । अपेक्षा धेरै राखेको थिएनौं हामीले । किनभने यो अलिकति स्लो र सफ्ट गीत छ । त्यही भएर ह्वात्तै जान्छ भनेर धेरै अपेक्षा गरेको थिएन । ठिकै छ ।

चित्तबुझ्दो छ त?

अँ, चित्तबुझ्दो नै छ । अझै गीतहरु पनि गर्नुपर्ने बाँकी छन् । हामीले अहिलेको अवस्थाको लागि यस्तै गीत ठिक हुन्छ भनेर यो गीत ल्यायौं ।

गीतको रचना कसरी भयो ?

यो गीतको मुख्य शीर्षक 'आघुमै सालै त', टिपिकल नेपाली शब्द हो । मेरो आमा, बोजुहरु 'आघुम साल' भनेर बोल्नुहुन्थ्यो । मलाई नेपाली शब्द एकदम राम्रो लाग्छ । उहाँहरु अहिले पनि आघुम साल भन्नुहुन्छ, अर्को साल भन्नुहुन्न । यो गीतमा 'कलकली बग्छ आँधीखोला' भनेर प्रयोग भएको छ । हाम्रो पहाड घर स्याङ्जाको निकै चर्चित खोला हो आँधीखोला ।

भैरहवामा कक्षा ६ मा पढ्दा पहाड गएको थिएँ म । त्यतिबेला मैले घरमा बसेर जे देखें त्यही कुरा सोचेर रचेको गीत हो । साढे तीन वर्ष लाग्यो गीत पूरा गर्न । पहाड घर जाँदा पिँढीमा बस्थें म । पछाडिपट्टि आँधीखोला बग्थ्यो । त्यो खोलाको आवाज, हावा, डाँडालाई नै सम्झेर लेखें यो गीत ।

धेरै समय लागेछ है गीत लेख्न ?

कहिलेकाहीँ त्यस्तै हुँदो रहेछ । कतिपय कुरा मनपरिरहेको हुन्छ । पछि त्यसलाई गीतमा लेखिरहेको हुन्छु । मेरो 'गाइने दाजै' गीत गाइने दाइ देख्ने बित्तिकै घर आएर लेखेको हो । देख्ने बितिक्कै तुरुन्तै रचें त्यो गीत । यो 'आघुमै सालै' पहाडको सम्झनासँग जोडिएको छ । त्यो सम्झना मात्रै पनि होइन । त्यो गीत लेखेर अपुरो थियो, एक दिन घरको छतमा बसेर के शब्द लेखुँ भनेर सोचिरहेको थिएँ, डाँडाको बत्ती देखेर अर्को लाइन कोरें, 'डाँडैको बत्तीहरु हेरिरहेछु ।' साढे तीन वर्षमा त मैले यो गीत कति कोरें, कतिपटक शब्द काटें, कति चित्त बुझेन, कतिमा फिलिङ्स आएन । एक दिन गीत लेख्यो, दुई तीन दिनपछि गाउँदा मज्जा लागेन भने म समय लगाएर म थपथाप गर्छु ।

गीत फाइनल भयो भन्ने कतिखेर लाग्छ त ?

जुन गीत गाउँदा आफूलाई मज्जा लाग्ने हुन्छ नि, 'गुज बम्प' नआएसम्म म लेख्न रोक्दिनँ । बरु शब्द कोर्दै काट्ने गरिरहन्छु ।

भनेपछि हरेक गीतमा यस्तै अनुभव गरिन्छ ?

हो त्यसरी नै लेख्छु । कतिबेला त आँशु पनि झर्छ । मन पनि दुख्छ । 'आघुमै सालै त'मा पनि लेख्ने बित्तिकै मन दुख्यो, आँशु झर्यो । भावनामा डुबेर गाउँदा आँशु झर्छ । (मुसुक्क मुस्कुराउँदै)

भिडियाे कुराकानी हेर्नुहाेस् :

तपाईंलाई पानी परेको बेला गीत फुर्छ होइन ?

हो, पानी परेको बेलामा म गीत लेख्छु । पानी परेको बेलामा सितल मौसम, कालो बादल लाग्ने, मीठो हावा चल्ने भएर होला मलाई त्यो हेर्दै गीत लेख्न मज्जा लाग्छ ।

तपाईंका प्राय: गीतमा नेपालीपन झल्किन्छ । अरुभन्दा फरक गरौं भन्ने लागेर हो ?

म सबै विधाको गीत सुन्थें । मैले गीतमा जति नेपाली शब्दहरु लेख्दै गएँ, नेपाली भाषाको महत्व बुझ्दै गएँ । अहिले र्‍याप छ, रक सबै विधा चल्छ नेपालमा । मेरो गीतमा लोक र वेस्टर्न फ्यूजन ‍हुन्छ । मैले गर्छु भनेर गरेको होइन तर मलाई त्यो मन परेको हुनाले गीतमा त्यो मिसिहाल्छ । मेरै गीतले त भन्दिनँ तर यस्तो गीतले नयाँ पुस्तालाई आकर्षित गर्छजस्तो लाग्छ । योचाहिँ नेपाली गीत हो भनेर उहाँहरुले स्वीकार्नुहुन्छ जस्तो लाग्छ ।

तपाईंको संगीतको स्वाद फेरिइरहन्छ हो ?

मेरो म्युजिकको टेस्ट फेरिइरहन्छ । म जति लोकगीत सुन्छु, रक गीत सुन्छु अन्तमा मलाई लोक नै मनपर्छ । समयसँगै मेरो म्युजिकको टेस्ट फेरिरहेको छ ।

भन्नाले लोकगीत मन पराउनुहुन्छ ?

लोकमात्र होइन नेपाली पाराको, नेपाली शब्द मिसिएको गीत छ भने मलाई त्यस्तो गीतले छुन्छ । वेस्टर्न पाराको गीत तयार पारिरहँदा के नपुगेको–नपुगेको हुन्छ । नेपाली शब्दहरु मिसाउँदा रमाइलो लाग्छ । नयाँ पुस्ताले पनि यो गीत रुचाइदिनु भएको छ । हामी जहाँ भए पनि, जुन देशमा भए पनि हामीले हाम्रो भाषालाई आदर नगरे कसले गर्ने ? हामीले नै गर्नुपर्छ ।

तपाईंका गीतमा गाउँका कथा मात्रै जोडिन्छ नि किन ?

मलाई मात्र होइन सबै नेपालीलाई आफ्नो देश र सँस्कृति मनपर्छ । नेपाली सँस्कृति, नेपाली भाषा मनपर्छ । गाउँघरको दिनचर्या एकदमै मनपर्छ । भविष्यमा मौका पाएँ भने म गाउँमा जीवन बिताउँछु । जेहोस् बुढेसकालमा डाँडामा घर बनाएर बस्ने सोचेको छु ।

अहिले आइरहेका गीत र संगीतको बजारलाई कसरी हेरिरहनु भएको छ ?

म सबै विधाको गीत सुन्छु, अघि नै भनें । म एकान्त रुचाउँछु । आफ्नो मनको लेख्छु । मनले जे भन्छ त्यो लेख्छु । यस्तो गीत ट्रेन्डिङमा छ, यस्तै गीत बनाउँछु भनेर बनाएकै छैन । मेरो मनलाई जे मनपर्छ त्यसैअनुसारको गीत लेख्छु । कति गीतलाई दर्शकले मन पनि पराइदिनु भएको छ ।

बजारलाई पछ्याउँ भन्ने लाग्दैन ?

मलाई त लाग्दैन । 'खनी हो यामु'को उदाहरण लिउँ, त्यो गीत ल्याएको ६ वर्ष नाघिसक्यो । त्यो गीत ल्याउँदा यो शैलीको गीत त्यतिबेला नयाँ भइदियो । नेपाली गीत यस्तो पनि हुँदो रहेछ है भन्ने पनि भयो । म त्यस्तो खालको गीत रुचाउँछु ।

बजारको पछाडि नलाग्दा केही फरक परेको छ ?

तपाईं के सोचेर यो क्षेत्रमा लाग्नु हुन्छ भन्ने प्रमुख हो । मचाहिँ यस्तो बबाल गर्ने, खतरा गर्ने, वाउ गर्ने भनेर लागेको होइन । मलाई गाउन मनपर्ने । मैले कोरेको शब्दहरु दर्शक समक्ष पुग्यो भने कसरी मेरो अनुभव उहाँहरुले बुझ्नुहुन्छ भनेर सोच्थें । त्यसैले लेख्न थालें, गाउन थालें । जति भइरहेको छ म यतिले नै खुशी छु । सबैलाई मेरै गीत, मेरै शैली मनपर्छ भन्ने छैन । मेरो स्वादलाई मन पराउनेहरु पनि हुनुहन्छ, म खुशी छु ।

तपाईंले ब्यान्ड स्थपाना गरेको दुई वर्ष भयो । ब्यान्डसँगको नयाँ गीत कहिले सुन्न पाइन्छ ?

नयाँ गीत ब्यान्डसँग गर्ने भनेर तयारी गर्दागर्दै यतापट्टि अफिसियल गर्ने भन्यो नि त ! अनि त्यो काम रोकियो । अब चाँडै ल्याउँछौं ।

कतिको गाह्रो हुँदो रहेछ ब्यान्डसँग हिँड्न ?

मलाई त्यस्तो गाह्रो अनुभव भएको छैन । हामी स्टेज कार्यक्रमका लागि हिँड्दा पनि वनभोज गएजस्तो हुन्छ । एकदमै रमाइलो हुन्छ । ६ जनाको ब्यान्ड छ । भाइहरु एकदमै राम्रा हुनुहुन्छ । उहाँहरु मैले भनेको कुरा बुझ्नु हुन्छ । मैले राखेको आइडियामा सकारात्मक छलफल हुन्छ ।

तपाईंलाई फिल्मको गीत गाउन पनि अफर आउँदो हो नि ?

अँ, पहिला आएको थिएँ । आइटम गीतको अफर आएको थियो । मलाई त्यस्तो गीत सुन्नमात्रै राम्रो लाग्छ, गाउने सोचिनँ ।

संगीतमै करियर बनाउने कुरा कसरी सोच्नु भयो ?

मेरो घरबाट कुनै निश्चित क्षेत्रमा नै करियर बनाउनुपर्छ भनेर दबाब थिएन । बाबाले पढ्नुपर्छ चाहिँ भन्नुहुन्थ्यो । आमा केही भन्नु हुन्थेन । ठूलो दाइ आफ्नो मनलाई पच्छ्याउ भन्नुहुन्थ्यो । मलाई गाउन मनपर्ने, लेख्न मनपर्ने । मलाई गीतहरु यस्तो पनि हुन्छ है भन्नु मन थियो । आफन्तहरूले चाहिँ गीतार बजाएर मात्रै के बसेको विदेश जाउ कि जागिर गर भन्नुहुन्थ्यो । त्यतिबेला 'ह्या' भन्ने हुन्थ्यो । मेरो मनमा के छ मलाईमात्र थाहा थियो । मलाई संगीतले नै तान्यो । मेरो पहिलो गीत चलेपछि उहाँहरुले पनि बुझ्न थाल्नुभयो ।

यो लकडाउनको अवधि पनि तपाईंलाई फलदायी भयो कि, सृजनाको निम्ति ?

सुरुको २ महिना एकदमै रमाइलो भइरहेको थियो । पहिला काममा व्यस्त भएकोले घरमा बस्ने मौका कम पाइरहेको थिएँ । हाम्रो पेशामा यात्रा धेरै गर्नुपर्छ । लकडाउनको सुरुवातमा म त एकदम खुशी थिएँ । घरमा आमासँग समय बिताउन पाएँ । उहाँलाई सहयोग गर्दै समय बिताएँ । हरेक दिन संगीत अभ्यास गर्थें । बेलुकी पाँच बजे गीतार लिएर गाउँदै बस्थे । दुई महिना कटेपछि चाहिँ अलिकति तनाव भयो, स्टुडियो जान नपाएर । स्टुडियो जान पाए केही त गरिन्थ्यो भन्ने हुन थाल्यो । अनि स्टुडियोको एकजना दाइलाई फोन गरें । त्यतिबेला नयाँ गीत घरबाटै भए पनि गर्ने सल्लाह भयो । लकडाउन खुकुलो भएपछि स्टुडियो गएर गीत तयार पार्यौंफ । त्यो गीत 'आघुम सालै त' हो ।

प्रकाशित : श्रावण १६, २०७७ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?