'पार्टी प्रवेश गराउने समय ठिक भएन'
काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठीक नभएको टिप्पणी गरेका छन् । तेह्रौं महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकारअनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य बिग्रिएको सिंहले बताए ।
पार्टीको विधान र नियमावलीले निर्देशित गरेअनुरुप काम नगर्दा पार्टी अप्ठेरो अवस्थामा पुगेको उनले बताए ।
‘१३औं महाधिवेशनबाट जुन नेतृत्व निर्वाचित हनुभयो, निर्वाचित पदाधिकारीले निर्वाचित भइसकेपछि आउने जिम्मेवारी र नेपाली कांग्रेसको विधान र नियमावलीले निर्देशित गरेको काम, कर्तव्य र अधिकार विशेष गरेर पार्टी सभापतिले विधानले गाइड गरेअनुसार गर्नुपर्ने काम कर्तव्य र अधिकारमा उहाँ चुकेको देखिएको छ,’ उनले बुधबार न्युज एजेन्सी नेपालसँग भने, ‘पार्टी सभापति जिम्मा लिएको व्यक्तिले काम गर्न नसकेको कारणले गर्दाखेरी अहिले पार्टीको स्वास्थ्य ठीक नभएको देखा परेको छ ।’
नेता सिंहले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भए पनि प्रजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलापसमेत गर्न नसकेको आरोप लगाए । उनले पार्टी प्रजातान्त्रिक मूल्य मान्यताअनुसार चल्न नसकेको स्वीकार गरे । पार्टीको विधानअनुसार अनुशासनमा नरहने व्यक्तिलाई कारबाही गर्ने कुरा ठीक भए पनि पार्टी सभापतिले समयको ख्याल गर्न नसकेको उनले बताए ।
उनले भने, ‘प्रजातान्त्रिक पार्टीको सभापति भइकन पार्टीको मूल्य मान्यताविपरीत जुन जबरजस्ती गरिराख्नु भएको छ यो अप्रजातान्त्रिक गतिविधि हो । यो ठीक भएन भन्ने कुरा हामीले भनिरहेका छौं । विभाग गठन गर्नेदेखि लिएर आउने महाधिवेशलाई प्रभावित गर्न पद बाँड्ने जस्तो काम भयो ।’
उनले पार्टीभित्रका पुराना नेताहरुलाई कारबाही गर्ने र अन्यलाई प्रवेश गराउने खेलमा सभापति लागेको आरोप लगाए । पार्टी प्रवेश गराउने र कारबाही गर्ने काम समय अनुसार ठिक नभएको नेता सिंहको भनाइ छ । उनले भने, ‘ठिक छ अरु पार्टीबाट प्रवेश गराउने राम्रै कुरा हो तर अहिले समय कस्तो भयो भन्दाखेरी अब टेस्टेड पुराना नेताहरुलाई कारबाही गरेर पार्टीबाट निकाल्ने र अरुहरुलाई प्रवेश गराउने । प्रवेश त गराउनुपर्छ ठिक छ तर यो जुन समय हो ठिक भएन ।’
नेतृत्वले राम्रोसँग काम गर्न नसक्दा निर्वाचनमा पराजित हुनुपरेकाले एकपटक फेल भएको नेतृत्वलाई फेरि अवसर दिन नहुने नेता सिंहले बताए । उनले भने, ‘नेतृत्वले समयको माग बमोजिम सबल नेतृत्व दिन नसकेको कारणले कांग्रेस सेटब्याक निर्वाचनमा भएको छ । अब यसलाई ओभरकम गर्नलाई हामीले के गर्नुपर्यो भन्दाखेरी १४ औं महाधिवेसनमा फेल भइसकेको नेतालाई फेरि दोहोर्याउनु हुँदैन ।’
२०४६ साल यताका सबै नेतृत्वहरु शक्ति र सत्ताको खेलामा लागेकाले पार्टी कमजोर बनेको नेता सिंहले बताए । कार्यकर्तालाई कसरी परिचालन गर्नेभन्दा पनि शक्ति र सत्ताको खेलमा नेताहरु लाग्दा कांग्रेस दुराअवस्थामा पुगेको बताए ।
नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वको सरकारको औचित्य नरहेको बताए । उनले राजनीतिक र वैधानिक रुपमा औचित्य समाप्त भइसकेको बताए ।
प्रकाशित : श्रावण १४, २०७७ १४:३९