१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भदौदेखि फिल्म हल खोल्ने तयारी, सञ्‍चालक भन्छन्, 'कतिन्जेल यत्तिकै बस्ने ?'

फिल्म हल खोल्ने मोडालिटी सीसीएमसीमा, निर्माता भन्छन्, 'दर्शक आउँछन् भन्ने विश्वास नभइ फिल्म रिलिज गर्दैनौं'
नयाँका साथै पुराना हिट फिल्म पनि प्रदर्शन गर्ने हलको तयारी, दर्शकलाई स्यानिटाइजर र मास्क अनिवार्य
रीना मोक्तान

काठमाडौँ — सरकारले लकडाउन अन्त्य गरेसँगै विभिन्न क्षेत्रको व्यापार व्यवसाय खोल्ने निर्णय गर्‍यो । भदौ १ गतेदेखि विद्यार्थी भर्ना, परीक्षा सञ्चालन र राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान गर्ने सरकारको निर्णयसँगै करिब चार महिनादेखि बन्द भएका फिल्म हलका संचालकहरु पनि हल खोल्ने तयारीमा छन् । सरकारले फिल्म हल कहिलेदेखि खोल्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन । 

भदौदेखि फिल्म हल खोल्ने तयारी, सञ्‍चालक भन्छन्, 'कतिन्जेल यत्तिकै बस्ने ?'

फिल्म हल खोल्ने निर्देशिका तयार पारेर चलचित्र विकास बोर्डमा बुझाइसकेको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान बताउँछन् । 'हल खोल्ने विषयमै हामी छलफल गरिरहेका छौं । बजार बिस्तारै खोलिरहेको छ,' उनले भने, 'सरकार पनि मोडालिटी तयार गरेर छलफल गर्न तयार छ । विकास बोर्डमा गाइडलाइन एउटा बनाएर हामीले पेपर प्रिजेन्ट गरिसकेका छौं । भदौको अन्तिमसम्म हल खुल्छजस्तो छ ।'

चलचित्र बिकास वोर्डका अध्यक्ष दयाराम दाहाल पनि अब चाँडै सानो युनिटमा फिल्मको छायांकन र हल खुल्ने बताउँछन् । 'चलचित्र संघ, निर्माता संघ, प्राविधिक संघ, कलाकार संघले हल खोल्ने भनेर मोडालिटी दिनु भएको थियो । हामीले पनि विभिन्न देशको अन्तर्राष्ट्रिय अभ्यासहरु हेरेर मोडालिटीमा थपथाप गरेर 'कोभिड क्राइसिस म्यानेजमेन्ट कमटी'मा पठाइसकेका छौं । त्यहाँ छलफल पनि भएको छ,' उनले भने, 'मेरो विचारमा अब चाँडै हल खुल्छ । हाम्रो भीडभाड हुने क्षेत्र हो त्यसैले त्यससम्बन्धि निर्देशिका निकालेर सरकारले अनुमति दिन्छ ।'

भदौबाट नै हल खुल्ने छलफल भइरहेको उनले बताए । दसैंका लागि चहलपहल बढाउन हल खोल्ने तयारीमा जुटेको चलचित्र संघका अध्यक्ष प्रधानले बताए । उनले भने, 'चलचित्र क्षेत्रलाई चलायामान बनाउँदै जानु पर्योल । खोल्नासाथ दर्शक पनि तुरुन्त आउने ठाउँ पनि हाम्रो । दसैंका लागि चहलपहल बढाउन हल खोल्ने तयारीमा छौं । हल नखोली कति बस्ने ?'

हल खोलेपछि डिजिटलाइज गरेका पुराना र पछिल्लो समय हिट भएको फिल्म प्रदर्शन गर्ने तयारी रहेको प्रधान बताउँछन् । उनका अनुसार हल सञ्चालकले सुरुमा 'छक्का पञ्जा', 'कबड्डी कबड्डी', 'नाईं नभन्नु ल ५' जस्ता फिल्म प्रदर्शन गर्ने तयारीमा छन् । सुरक्षा व्यवस्थाका लागि हलको ढोकामा स्यानिटाइजर लगाउने, दर्शकले अनिवार्य मास्क लगाउनुपर्ने र हलका कर्मचारीले फेस सिल्ड लगाउनुपर्ने जस्ता निर्देशिका बनाइएको उनले बताए ।

हलभित्र दर्शकहरुबीच भौतिक दूरी कायम गर्न एउटा सिट छोडेर दर्शक राख्ने योजना बनाएको उनी बताउँछन् । अकुपेन्सीका हिसाबले ५० प्रतिशत दर्शक राखेर फिल्म देखाइने प्रधानले बताए । 'अकुपेन्सीको हिसाबले ३३ प्रतिशत राख्ने कुरा चलिरहेको थियो । तर, हामीले बिकास बोर्डमार्फत् ५० प्रतिशत हुनुपर्छ भन्ने माग गरेका छौं सरकारसँग । त्यस्तै ५० प्रतिशत हुन्छ होला,' उनले भने।

सेयरका सवालमा भने पहिलो हप्ता ५० प्रतिशत सेयर बाँडफाँड गरिनेछ । भदौदेखि हल खोल्ने छाँटकाँट देखेसँगै हलवालालाई फिल्मको अभाव हुने उनी बताउँछन् । 'हलमा देखाउन त प्रमुख त कन्टेन चाहियो । कन्टेन्ट नै छैन,' अध्यक्ष प्रधानले भने, 'यसपालि नाफामा नगए पनि घाटामा नजान हल खोल्ने तयारीमा लागेका हौं । व्यवसायको स्थिति खराब छ । हल खुल्यो है भन्ने जानकारी दिन पनि हामी हल खोल्छौं ।'

निर्माता, निर्देशक तथा वितरण कम्पनी स्टेसन फाइभका सीईओ प्रचण्डमान श्रेष्ठ हलसँग दर्शक जोड्न नयाँ फिल्मको आवश्यकता पर्ने बताउँछन् । 'दर्शकलाई हलसम्म जोड्नु नै महत्वपूर्ण भएको बेलामा त कन्टेन त नयाँ चाहियो नै । अहिले त ट्रायल फेजमा छौं,' उनले भने, 'पुरानै फिल्म रिलिज गरेर एक हप्तासम्म रमाइलो हुन्छ । तर, त्यसले दर्शक आउँछन्जस्तो लाग्दैन । हल खुल्यो है भन्ने सन्देशचाहिँ जान्छ ।'

क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन अडिगाले हल खोलिसकेपछि टिकटदेखि हलभित्र अनलाइन सिस्टमबाट नै खानेकुरा अर्डर गर्ने व्यवस्था गर्ने तयारीमा रहेको बताए । 'सावधानी अपनाएर हल खोल्न सकिन्छ भन्नेमा छौं । फिल्म पनि हुनुपर्योा । करोडौंको घाटा भएको छ । ‍ सावधानी अपनाएर नै हल खोल्छौं ।'

वितरक प्रचण्डमान भने हल चलाइसकेपछि हल सञ्चालकमा पर्ने भारबारे पनि बिकास बोर्डले ध्यान दिनुपर्ने बताउँछन् । 'निर्देशिका अनुसार हल चलाउँदाखेरी हल सस्टेन हुन्छ कि हुँदैन ? आर्थिक हिसाबले कस्तो हुन्छ ? त्यो सबै प्याकेजमा आउनुपर्छ जस्तो लाग्छ,' उनले भने, 'खोल भन्ने, खोलिसकेपछि २५ प्रतिशत अकुपेन्सीमा खोल भन्दा त हलको भाडा २५ प्रतिशत लिइँदैन । कर्मचारीले पनि पूरा तलब लिन्छ । कर, बिजुली खर्च हलको अकुपेन्सी घट्छ भने आर्थिक चपेटमा हलवाला पर्छन् । हल चलाइसकेपछि हलवालामा पर्ने आर्थिक भारको विषयमा बिकास बोर्डले सोचिदिनु पर्छ ।'

हल खोल्नुमात्र समस्याको समाधान नरहेको उनको तर्क छ । 'सबै व्यापार नै हो । नाफा नभए पनि घाटामा त जानु भएन हल । त्यही हिसाबले नै हल खोल्ने हो । अब खोलेरमात्र चाहिँ समस्या समाधान होलाजस्तो मलाई लाग्दैन,' उनले भने।

फिल्म प्रदर्शन गर्ने मुडमा छैनन् निर्माता

'प्रेमगीत ३' गत चैत २८ मा प्रदर्शन गर्ने तयारी थियो । तर, लकडाउनले गर्दा फिल्मको प्रदर्शन स्थगन भयो । हल खोल्ने तयारीमा हल सञ्चालक लागे पनि आफू अहिले नै फिल्म प्रदर्शन गर्ने मुडमा नरहेको फिल्मका निर्माता सन्तोष सेन बताउँछन् । उनले भने, 'मेरो फिल्मको बजेट ठूलो छ । अहिले हल खोले पनि दर्शक झ्याप्प आउँछ/आउँदैनन् ठेगान छैन । त्यसैले म यो वर्षको अन्ततिर प्रदर्शन गर्ने सोच बनाइरहेको छु ।'

'चपली हाइट ३'का निर्माता अर्जुन कुमार हल खोलिहाल्नु पर्ने अवस्था देख्दैनन् । गत चैत २८ मै प्रदर्शनको तयारीमा रहेको उनको फिल्म पनि कोभिड-१९ ले गर्दा स्थगन भयो । 'नेपाली फिल्मले मात्र हल चल्छ भन्ने पनि छैन । अहिले हल खोलेर दर्शक आउँछन् भन्ने विश्वास पनि छैन । त्यसकारण मैले कहिले फिल्म लगाउने भनेर खास सोच बनाएको छैन,' उनले भने, 'दर्शक नआउनु भनेको त हाम्रो फिल्म त्यतिकै मर्छ । पुरानोमात्र हुन्छ हाम्रो फिल्म ।'

'लक्का जवान'का निर्माता किरण केसी फिल्मलाई दसैं कि त तिहारमा प्रदर्शन गर्ने सोच बनाइरहेको बताउँछन् । 'भदौबाट हल खोल्ने कुरा सुनें । उनीहरु पूरानो फिल्म चलाउने तयारीमा रहेछन् । म अहिले नै फिल्म चलाउने सोचमा छैन । दसैं/तिहारमा प्रदर्शन गर्ने योजना छ ।'

प्रकाशित : श्रावण १४, २०७७ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?