चक्र बम भन्छन्-  'ओए काजल ! लकडाउनले कमाल गर्‍यो'

रीना मोक्तान

काठमाडौँ — कोरिया जाने निहुँमा २०६९ मा कर्णालीबाट काठमाडौं आए चक्र बम । मनमा गायन क्षेत्रमा प्रवेश गर्ने हुटहुटी थियो । तर परिवार उनलाई व्यवसाय गर्न हौस्याउँथे । दुईजना दाइ व्यवसाय र अर्का सेनाका जागिरे । उनलाई आफ्नो करियर संगीतमै बनाउनु थियो ।

चक्र बम भन्छन्-  'ओए काजल ! लकडाउनले कमाल गर्‍यो'

काठमाडौंमा आएर सुरुमै सेनामा भर्ती हुनका लागि दरखास्त दिएका थिए तर सफल भएनन् । त्यसपछि परिवारको करले उनले कोरियन भाषा पढे । उनको ध्यान पढाइतिर कम संगीततिर बढी जान थाल्यो । सुदूरपश्चिमका कलाकारसँग नजिक हुने, स्टुडियो जाने माहोल बन्न थाल्यो । ५० हजार बढी खर्चेर पहिलो गीत निकाले । गीत खासै चलेन । परिवारलेसमेत गीत सार्वजनिक भएको ४ महिनापछि मात्रै थाहा पाए ।

गीत रेकर्ड गर्न काठमाडौं गएको कि विदेश जान ? पहिलो गीतबारे सुनेपछि परिवारले उनलाई सोधेका थिए । उनी अनुत्तरित भए । त्यसबीच कोरियन भाषा परीक्षा ईपीएसमा उनको नाम निस्केन । परिवारलाई अन्य देश जाने प्रकिया चालेको बहाना गर्दै दोस्रो देउडा गीत रेकर्ड गराए । त्यो पनि दर्शकको नजरमा परेन । दुईवटा गीत निकालिसकेपछि कुन क्षेत्रमा करिअर बनाउने ? चक्र अलमलमा परे । गाउँ फर्कने मन भएन । काठमाडौंमै बस्ने निधो गरे । एकजना दाइको सहयोगमा दोहोरी साँझतिर काम थाले । 'कोठा भाडा तिर्नकै लागि दोहोरी साँझमा काम गरेँ । परिवारसँग खर्च माग्‍न पनि भएन । मलाई संगीतमै केही गरेर देखाउनुथियो,' उनले पुराना दिन सम्झिए ।

सुदूरपश्चिममा देउडा चल्छ । उनलाई दोहोरीमा त्यति मेसो थिएन । मादल बजाउन आउँथ्यो । दोहोरी साँझमा उनलाई मादल मात्रै बजाउन दिइन्थ्यो । माइकमा गाउन देलान् कि भन्ने आश चाहीँ थियो । तर चार महिना मादल बजाएरै बित्यो । मादल बजाउँदा उनले लोकदोहोरीको भाका टिपिसकेका थिए । तर नयाँ गायकलाई कसले पत्याउने ? ग्राहकबाट देउडाको अफर आउँदा बल्ल माइक समाउन पाउथे चक्रले ।

विस्तारै उनले स्टेजमा दोहोरी गाउन सुरु गरे । ३ वर्ष दोहोरी साँझमा काम गर्दै ११ वटा गीत रेकर्ड गराए । ती सब गीत लोक देउडा थिए । न गीत चल्यो न उनको चर्चा । 'मलाई प्रशंसा बटुलिहालौं । मेरो नामको वाहवाह होस् भन्ने चाहन्थें, ' गीत नचल्दाको क्षण सम्झँदै भने, 'त्योबेला गाउँमा आफ्नो गीत पनि मोबाइलमा आफैंले देखाइदिनु पर्थ्यो । मलाई के लाग्थ्यो भने मेलामहोत्सव र कन्सर्टमा फलानो आउनुपर्छ भन्दा पहिलो सूचीमै मेरो नाम परोस् । त्यस्तो भइरहेको थिएन ।'

लगातार लोक देउडा गीत गाइरहँदा केही नयाँ गरौं भन्ने नसोचेका होइनन् चक्रले । जब उनी आफ्नो गीतमा र्‍याप मिसाएर अग्रजलाई सुनाउँथे उनीहरु यस्ता गीतले विकृति फैलिने, मौलिक कुरा मर्ने भन्दै उनलाई हतोत्साहित गर्थे । एक दर्जन गीत खासै चर्चामा नआएपछि उनले दुबई जाने निर्णय गरे । प्रक्रिया चाले ।

दुबई जानुअघि अन्तिम गीत निकाल्ने सोचे । त्यसपछि सार्वजनिक भयो 'नाच मेरी झुमा' । र्‍याप मिसिएको डान्सिङ गीतलाई सुदूरपश्चिममा अधिकांशले रुचाए । दसैंमा गाउँ जाँदा रातभरि गाडीमा आफ्नो गीत बजेको सुन्दा उनलाई संगीत क्षेत्रमै केही गर्छु भन्ने ऊर्जा थपियो । दुबईको सबै प्रक्रिया बीचमै रद्द गरे । त्यसमा परिवारको साथ र सहयोग पाए ।

भिडियो कुराकानी हेर्नुहोस्

गाउँतिर चलिरहेको एउटै शैलीको गीत भन्दा केही फरक गर्न चाहन्थे चक्र । 'नाच मेरी झुमा'पछि डान्सिङ खालका गीत निकाले । त्यसपछि उनका 'डिजे वाले दाइ', 'विद्यानाश', 'दारु सड्क्याउने' जस्ता गीतले चर्चा कमाउन थाल्यो । त्यसपछि उनलाई लगातार स्टेज कार्यक्रमका अफर आउन थाल्यो । स्टेज कार्यक्रमका लागि गत वर्ष उनी कोरिया पनि पुगे । कोरियन भाषासँगै पढेका साथीहरु पनि उनलाई त्यहाँ भेट्न आएका थिए । नाम निकाल्न नसके पनि गीतको माध्यमबाट कोरिया पुग्दा उनको खुशी दोब्बर भएको थियो ।

ओए काजल – लकडाउनको कमाल

स्टेज कार्यक्रममा उस्तै किसिमका गीत प्रस्तुत गरिरहँदा चक्रलाई नयाँ शैलीको गीत ल्याउने मन थियो । गीतका केही शब्दहरु लेख्न बसिसकेका थिए । तर बीचैमा लकडाउन भयो । गीत पूरा गर्ने समय पाए उनले । मेलोडी गीत बनाउने क्रममा 'ओए काजल' तयार भयो । सर्वाधिक चर्चामा रहेको यो गीत टिकटकदेखि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती सुन्न पाइन्छ । यो गीत सार्वजनिक भएको तीन दिन त खासै राम्रो भ्यूज थिएन । तर तेस्रो दिनबाट टिकटकमा भिडियो बन्न थालेपछि अत्याधिकले गीतलाई रुचाइदिएको चक्र बताउँछन् । 'लकडाउनमा गीतको रचना गरेँ । अहिले सबैले मनपराइदिनु भएको छ । लकडाउनले कमाल गर्‍यो,' खुशी हुँदै उनले सुनाए ।

यो गीतमा सबैले टिकटक भिडियो बनाउन थालेपछि युट्युबको भ्युज पनि ह्वात्तै बढ्यो । नेपालीले मात्र होइन यस गीतमा भारतीय र पाकिस्तानी टिकटक प्रयोगकर्ताले पनि भिडियो बनाएका छन् । आफ्नो गीतले चौतर्फी चर्चा पाउँदा उनी दंग छन् ।

'ओए काजल' मा कुमाउ/गढवाल र आसामी गीतको स्वाद मिसिएको छ । कतिले सुरुमा आफ्नो गीतका शब्द नबुझेको चक्र बताउँछन् । 'कतिले गीत सुनेर यो भाषा कहाँ हो भन्न भ्याएका छन् । नेपालमा त भाषामा विविधता छ । धेरैले बुझेका छैनन् । कुमाउ/गढवालसम्म आफ्नो गीत पुगोस् भन्ने चाहन्थे । यो गीतले सपना पूरा गरिदियो । गीतबाट अध्याधिक चर्चा पाएँ । छुट्टै धारमा गीत बनाउने गायक चक्र बम पनि रहेछ भन्ने कुरा स्थापित गराइदियो,' उनले भने ।

लकडाउनमा भीडभाड गर्न नमिल्ने भएर गीतको भिडियोमा मोडल गीता ढुंगाना र गायक चक्र आफैंले अभिनय गरेका छन् । आसामी गीतबाट प्रभावित भएर भिडियो बनाएको गायक चक्र सुनाउँछन् । सानैदेखि नाचगानमा अगाडि हुने चक्र आफ्ना गीतको भिडियोमा आफैं देखिन रुचाउँछन् ।

यसअघि गायक चक्रले गाएको थारु डान्सिङ गीत चर्चामा आएको थियो । 'पहाडिया बिग्रियो जाँडको झोलमा'बोलको थारु गीतले उनको चर्चा प्रदेश २ मा मात्र सीमित गरेन । थारु समुदायमा पनि उनले आफ्नो गायकीबाट चर्चा कमाए ।

उनी आफ्ना गीतमा सुदूरपश्चिमेली भाषा र देउडाको मेलोडी मिसाउँछन् । 'प्रदेश २ मा मात्र होइन, ६ र ७ प्रदेशमा पनि बोलिन्छ खस भाषा । भाषा त संस्कृति हो नि । त्यही भाषामा बोलिने ठेट शब्दलाई बोल्दा मिठो सुनिन्छ । तर के भन्या हो भनेर बुझ्न खोज्छन् नि । त्यसैले मैले त्यो ठेट भाषालाई गीतमा राखेर पृथकता दिन खोजें,' उनले भने ।

बेलाबखत देउडामा र्‍याप मिसाएको भन्दै उनी आलोचना खेपिरहेका हुन्छन् । २८ वर्षीय गायक बमलाई अहिले यस्ता आलोचनाले खासै फरक पनि पार्दैन । 'देउडा आफैंमा मौलिक बोकेको गीत त्यसमा र्‍याप, क्लबमा सुटिङ अनि रक्सी देखाएर सुटिङ गरेको भनेर आलोचना गर्छन् । तर मैले दर्शकलाई नयाँ स्वाद दिन यस्तो गरेको हुँ,' उनले भने ।

उनलाई कोरोनाको प्रभाव नभएको भए यो गीतले स्टेज तताउँथ्यो जस्तो लागेको छ । अहिले उनलाई गलत समयमा पो गीत सार्वजनिक गरेछु कि भन्ने लाग्छ हिजोआज । 'अहिले यो गीत ननिकालेको भए हुने रहेछ भा'छ। आयोजकहरुले सम्झने बेलामा आएको भए म मेला महोत्सवमा व्यस्त हुन्थे,' उनले भने, 'आफ्नो गीत चलिरहेको बेलामा डिमान्ड गर्न पनि सजिलो हुन्छ । यो सही समय थिएन कि भन्ने पनि लाग्यो ।'

प्रकाशित : श्रावण १२, २०७७ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?