कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

कोमल वली भन्छिन्, 'युट्युबबाट गीतै हटाउनु त किन पर्थ्यो र ?'

रीना मोक्तान

काठमाडौँ — हरेक तीजमा गीत ल्याउन नछुटाउने गायिका कोमल वलीलाई यसपटक भने सुन्न पाइने छैन । संघीय संसद राष्ट्रिय सभा सदस्यको जिम्मेवारी र कोरोनाको कहरले गर्दा यो वर्ष तीज गीत ल्याउन नपाएको बताउँछिन् उनी । 

कोमल वली भन्छिन्, 'युट्युबबाट गीतै हटाउनु त किन पर्थ्यो र ?'

तीज नजिकिँदै छ । तीजलाई लक्षित गरेर धमाधम गीतहरु सार्वजनिक हुन थालेका छन् । तर, गायिका वली यसपालि दर्शकलाई आफ्नो पूरानो गीतमै नाच्न सुझाउँछिन् । 'जम्मा भएर नाच्ने, गाउने गर्नु त भएन । किनभने कोरोना संक्रमण अझै पनि छ,' उनले भनिन्, 'एक दुइजना यस्सो भेटेर नाचेर गाएर सामाजिक सञ्जालमा भिडियो राखे भयो । त्यसैले मेरो सम्पूर्ण सुभचिन्तक, दिदीबहिनीलाई तीजको शुभकामना दिँदै भन्छु कि तपाईंहरूले मेरो पूरानो गीतमै रमाइलो गर्नुस् ।'

कोरोना कहरबीच सार्वजनिक भएका केही तीज गीत उनले सुनेकी छिन् । पछिल्लो समय गायिका सोफिया थापाको 'अबको तीज नो व्रत प्लिज' बोलको गीतमा उनले दिएको अभिव्यक्तिलाई लिएर टिकाटिप्पणी भए । धार्मिक संगठनका व्यक्तिहरुले सोफियाको गीतले धार्मिक आस्थामा आँच पुर्‍यायो भनेर विवादमा तानिरहँदा उनले सोफियाको गीतलाई तीज गीतको रुपमा व्याख्या गर्न नमिल्ने बताएकी थिइन् । एक धार्मिक संगठनले चिठी पठाएको भन्दै बुधबार सोफियाको तीज गीतलाई हाइलाइट्स नेपालले प्राइभेट बनाएको छ । युट्युबबाट नहटाइए पनि अहिले यो गीत हेर्न मिल्दैन ।

लोकतन्त्रमा जस्तो पनि गीत गाउन पाउने धारणा राख्दै वली सोफियाको गीत तीजसँग सान्दर्भिक नरहेको कोमल बताउँछिन् । 'मैले त्यसमा कुरा उठाएको चाहिँ तीजसँग त्यति सान्दर्भिक छैन भन्ने कुरा हो,' उनले सुनाइन्, 'संगीतको हिसाबले पनि अलिकति सान्दर्भिक भएन । शब्दको हिसाबले पनि त्यति सान्दर्भिक छैन । पहिरनको हिसाबले पनि तीजजस्तो सान्दर्भिक छैन।' सोफियाको गीतको संगीत आफूलाई मनपरेको बताउँदै उनले थपिन्, 'गीत राम्रो छ सोफियाको । उहाँ आफैले संगीत पनि गर्नु भएको रहेछ । संगीतको पनि राम्रो क्षमता देखिएको छ त्यसमा ।'

तर, तीजको गीतमा भने आध्यात्मक पक्ष पनि हेर्नुपर्ने उनी तर्क गर्छिन् । 'अरुलाई व्रत बस्न पाइँदैन भन्दाखेरि कसैको आध्यात्मिक पक्षलाई, कसैको स्वतन्त्रतामाथि आँच पुर्‍याउने खालको हो कि त भनेर पनि हेर्नुपर्छ,' उनले भनिन् । उनी सोफियाको तीज गीत युट्युबबाट यसरी हटाउन नहुने बताउँछिन् । 'गीत त किन हटाउनु पर्थ्यो र ? तीजसँग व्याख्या नगरेको भने भइहाल्यो । गीत हटाउनु पर्थ्योजस्तो मलाई लाग्दैन । गीत ब्याण्ड गर्नुपर्छजस्तो लाग्दैन मलाई त्यसमा,' उनले भनिन् ।

गीत हटाउन दबाब दिने संगठनका व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा सोफियाको गीत हटाउनुपर्ने चेतावनी दिँदै गरेको भिडियोमा वलीको 'पोइला जान पाम'बोल गीतले पनि सँस्कृतिमाथि प्रहार गरेको कुरा राखेका थिए । उनले भनेका थिए, 'कहिले हाम्रा कलाकार पोइला जान पाम भन्दै प्रहार गरेको छ । पोइलै जाने भए गए भइगो त । शिवजीको नाममा पोइला जान पाम भनेर उफ्रिन पर्थ्यो र ?'

यही प्रसंग निकाल्दा वलीले मुस्कुराउँदै जवाफमा भनिन्, 'ज-जसले मेरो गीत जोड्नु भो उहाँहरुले गीत बुझ्नु भएको छैन । आफूले मन परेको जीवनसाथी छान्नलाई पनि छोरी मान्छेलाई कति समस्या छ । छान्न सक्दिन, जान सक्दिन, त्यस्तो छोरी मान्छेको प्रतिनिधित्व गर्ने एउटा प्रगतिशील गीत हो त्यो मेरो । पोइला जाने भनेको नेपाली शब्दकोषले जस्तो व्याख्या गरे पनि आफूलाई मन परेको जीवनसाथी छानेर विवाह गर्नु भन्ने अर्थ नै हो त्यो गीतको ।'

तस्बिर : अंगद ढकाल

उनले उक्त गीत एउटा व्यक्तिमा केन्द्रित रहेको बताइन् । 'एउटा व्यक्तिमा केन्द्रित थियो त्यो गीत । त्यो एक युवती जो आफूखुशी विवाह गर्न चाहन्छे । र शिवजीसँग प्रार्थन गर्दैछे,' उनले भनिन्, 'त्यो युवतीले योग्य वरको लागि नै शिवजीसँग प्रार्थना गर्छे । अब धेरै माइतीघरमा बस्ने मन छैन अहिलेकै सालमा पोइला जान पाम भनेर उसले आफ्नो प्रार्थना राख्छे । भगवानको अगाडि जे कुरा पनि राख्न पाइयो नि । त्यो व्यक्तिमा मात्रै निहित छ गीत । कसैको छोरी पाइला जाओस् भन्दैन ।'

छोरीको स्वतन्त्रता र न्यायको लागि बनाएको उक्त गीत अझै आफ्नो लागि गर्वको विषय रहेको उनी बताउँछिन् । पछिल्लो समय तीज गीतमा विकृति बढेको भन्दै उनी त्यस्ता गीतलाई नियमन गर्दै जानुपर्ने धारणा राख्छिन् ।

तीजको व्रतको विषयलाई लिएर सामाजिक संजालमा बहस चलिरहेका बेला कोमल आफू यस वर्ष व्रत बस्ने बताउँछिन् । 'थाहा नपाउँदैदेखि बस्न थालेको । त्यो बेला पनि कुनै वर पाउँ भन्नको लागि बसेको थिइनँ । बस्न थालिसकेपछि त्यस्तै आस्था नै भयो कि म व्रत बस्छु भन्ने । मलाई व्रत बसेर स्वास्थ्यको हिसाबले पनि फाइदा भएजस्तो लाग्छ । ओह्हो ! मलाई भगवान शिवजी नै पाएको जस्तो लाग्छ ।' उनी सबै सुख शान्तिका लागि आफू व्रत बस्ने गरेको बताउँछिन् ।

प्रकाशित : श्रावण ८, २०७७ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?