१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रशंसकलाई हमालको अनुरोध : कसैलाई चोट पुग्‍ने प्रतिक्रिया नदिनू

काठमाडौँ — अभिनेता राजेश हमालले अभिनेत्री दीपाश्री निरौलालाई 'क्षमा' गरिदिन आफ्ना प्रशंसकसँग आग्रह गरेका छन् । मंगलबार राति भिडियो सन्देश जारी गर्दै दर्शकलाई राजेशले दीपाश्रीलाई क्षमा गरिदिन अनुरोध गरेका हुन् ।

प्रशंसकलाई हमालको अनुरोध : कसैलाई चोट पुग्‍ने प्रतिक्रिया नदिनू

'यो कला क्षेत्र जहाँ हामी विभिन्न कलाकार संलग्न छौं यो क्षेत्र मेरो र अन्य कलाकारहरुको मात्र होइन । यो राष्ट्रको कला क्षेत्र तपाईंहरुको पनि हो । भलै मैदानमा हामी उत्रन्छौं, मैदानमा हामी मिहिनेत गर्छौं । तर त्यसको पछाडि ऊर्जा त हामीलाई तपाईंहरुबाटै मिल्छ,' उनले भनेका छन्, 'त्यसकारण तपाईंहरुको भूमिकामा सदैव हाम्रो सिर्जनामा हाम्रो कलामा अत्यन्तै ठूलो भूमिका खेलेको हुन्छ । त्यसैले पनि म यहाँहरुलाई यो अनुरोध गर्न चाहन्छु कि यो राष्ट्रको कला क्षेत्रका र मानवताका लागि अत्यन्तै सकारात्मक भएर कृपया सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला ।'

भिडियोमा दीपाको नाम नलिई उनले सम्बन्धित व्यक्तिका बारेमा नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् । 'अलिक फराकिलो भएर बृहत् चित्रलाई मनन गरेर अत्यन्त सकारात्मक हिसाबबाट मानवताका लागि र कसैको मानवतामा आँच नपुग्ने गरी आफ्ना अभिव्यक्तिहरु प्रकट गरौं,' उनले भनेका छन्,'कलाकारलाई आफ्नो सिर्जना पस्कने प्रेरित गरिरहनु होला । यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरुलाई यहाँहरुले अगाडि बढ्नका लागि एउटा सहज वातावरण सिर्जना गरिदिनुहुनेछ भन्ने आशामा छु ।'

दीपाको अभिव्यक्तिमा दर्शकले आक्रोश पोखिरहेको कुरा पनि उनले भिडियोमा बताएका छन् । 'हालै यहाँहरु सबैलाई थाहा नै होला कि मेरा सहकर्मी, मजस्तै कलाकारले एउटा सार्वजनिक मञ्चमा मलाई लक्षित गरेर उहाँका केही भनाईहरु राख्नुभयो । र त्यो भनाई र कुराहरुलाई सुनिसकेपछि दर्शक/जनसमुदायहरुले असन्तुष्टि मात्र होइन एक किसिमले आक्रोश पोख्नुभयो । र पोखिराख्नु भएको छ । यो सिलसिला चलेको २/३ हप्ता भयो,' उनले भने ।

दीपाश्रीले पछिल्लो समय कान्तिपुरसँगको कुराकानीमा सामाजिक सञ्जानलमा आएका नकारात्मक प्रतिक्रियाले आफू तनावमा रहेको बताएकी थिइन् ।

राजेश आफैले भिडियोमा दर्शकलाई प्रश्न गर्छन् । 'हामीले अलिकति फराकिलो भएर हेर्यौं भने कि एउटा व्यक्तिले पेशागत हिसाबले होस् या आफ्नो कुनै विशेष इच्छाले सार्वजनिक स्थलमा राख्नुहुन्छ भने एक्कासि यस्ता किसिमको प्रतिक्रियाहरु दिने जसले गर्दा त्यो व्यक्तिको मानवतामा आघात पुगोस्, चोट लागोस् के त्यस्तो कार्य गर्नु सही होला र ?'

अभिनेता हमालले भने जस्तोसुकै प्रतिक्रिया आए पनि आफूमा सहन सक्ने सहिष्णुता रहेको बताउँछन् । 'मलाई व्यक्तिगत हिसाबबाट सोध्नुहुन्छ भने ममा त्यो सहिष्णुता छ । यस्ता किसिमको भनाईहरुलाई अभिव्यक्तिहरुलाई नजरअन्दाज गरेर आफ्नो कार्यमा अघि बढिरहने । त्यो सहिष्णुता यहाँ दर्शकहरुले दिनु भएको ऊर्जाबाटै प्राप्त भएको हो । त्यसैले यसमा तपाईंहरुको अत्यन्त नै ठूलो भूमिका छ,' उनले भने ।

दर्शक र कलाकारको सम्बन्ध नङ र मासुको जस्तै रहेको भन्दै उनले दर्शकले दिने प्रतिक्रियाहरुले कलाकारलाई परिमार्जित र परिस्कृत हुनका लागि प्रेरणा दिने उनले बताए ।

प्रकाशित : असार ३१, २०७७ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?