निर्देशक भन्छन्– अब सुटिङ थाल्ने कि !

लकडाउनमा रोकिएका फिल्म सुरु गर्नेबारे के भन्छन् निर्देशक ?
रीना मोक्तान

काठमाडौँ — 'आजबाट सुटिङ गरियो नयाँ फिल्मको, यस्तो सपना पो देखियो आज' फिल्म निर्देशक मनोज पण्डितले केही दिनअघि फेसबुकमा लेखेको स्टाटस हो यो । यसपछि पनि उनले सुटिङको विषय जोड्दै एकाध स्टाटस पोस्ट गरेका छन् । उनको स्टाटसमा तीन महिनादेखि सुटिङ सेट देख्न नपाएका निर्देशकको छटपटी झल्किन्छ ।

निर्देशक भन्छन्– अब सुटिङ थाल्ने कि !

कोरोनाले गर्दा फिल्म क्षेत्रको सबै काम ठप्प भइसक्यो । लकडाउनअघि सुटिङ थालेका फिल्महरु बीचमै रोकिएका छन् । फिल्मको सुटिङ स्थगन गरेर घरमा बसिरहेका निर्देशकले देख्ने सपना सायद मनोजकोजस्तै होला । अहिले फिल्मकर्मीबीच सुटिङलाई लिएर छटपटी देखिन्छ । जोखिम मोलेर सुटिङ गर्ने अवस्था छैन । बिस्तारै खुकुलो बनेको लकडाउनले गर्दा केही फिल्मकर्मी फिल्मको सुटिङ थाल्ने कि भनेर सोच्न थालेका छन् ।

'ए मेरो हजुर–४'को सुटिङ स्थगन गरेर बसेकी अभिनेत्री एवं निर्देशक झरना थापामा सतर्कतासाथ सुटिङ गर्ने सोच पलाएको छ ।' अझै १०/१५ दिन स्थिति हेरेर रोकिएका काम सकाउन पाए हुन्थ्यो भन्ने छ । सबै प्राविधिकहरुको स्वास्थ्य जाँच गराएर सतर्कता साथ कसरी हुन्छ सुटिङ सुरु गर्नुपर्छ भन्ने लागेको छ,' झरनाले भनिन्, 'छायांकन गरिहाल्ने कि भन्नेमा हामी पनि दोधारमै छौं । तर ४/५ दिनको छोटो सेड्युल बनाएर इन्डोर सुट गरेर केही समय ब्रेक गर्ने अनि स्थिति हेर्दै बिस्तारै फेरि गरौं भन्ने भएको छ । पहिलाकोजस्तो सुटिङ सुरु भएर नसकिएसम्म काम गर्ने अवस्था छैन । डर त छँदैछ ।'

उनको फिल्ममा आबद्ध धेरैजसो प्राविधिकहरु गाउँ गएका छन् । त्यसैले झरनाले प्राविधिकसँग पनि सुटिङ कसरी सुचारु गर्ने भनेर छलफल गर्ने तयारीमा छिन् ।

लकडाउनअघि उनको टिमले पोखरामा फिल्मको ४० प्रतिशत सुटिङ सकेको थियो । त्यहाँ उनीहरुले २० दिनको सुटिङ गरिसकेका थिए । तर लकडाउनअघि नै झरनाले फिल्म सुटिङ स्थगन गरेकी थिइन् ।

झरना थापा

अहिले सानो टिम बनाएर सावधानी अपनाउँदै सुटिङ गर्ने वातावरण देख्छिन् झरना । काठमाडौंमा खिच्नुपर्ने बाँकी इन्डोर सुटिङ यस्तै सानो टिम बनाएर गर्ने सोचमा छिन् । 'अब काठमाडौंमै सुटिङ छ । बाँकी भाग काठमाडौंमै भएको भएर मलाई सुटिङ गर्न त्यति समस्या होलाजस्तो लाग्दैन,' झरनाले भनिन्, 'थोरै समूहमा काम गर्दा सुटिङको दिन लम्बिन सक्छ । अब पानी पर्ने मौसमले दुख दिन्छ कि भन्ने पनि लागिरहेको छ ।'

चलचित्र निर्माता संघका आकाश अधिकारी भने अहिले नै सुटिङ गर्ने वातावरण नरहेको बताउँछन् । 'राज्यबाट ग्रीन सिग्नल पाउनु पर्‍यो । त्यसपछि पनि सुटिङमा जान हामी अक्षम हौंला, ' उनले भने, 'राज्यले भन्ला पीसीआर टेस्ट गरेको व्यक्तिलाई मात्र सुटिङमा लैजाऊ भन्ला । यी सबै रुपरेखा अपनाएर जाँदा निर्माताको बजेट डबल हुन जान्छ । हामीले विकास बोर्डमा सुटिङमा जान अनुमति दिएपछि आवश्यक परेको खण्डमा कलाकारदेखि प्राविधिकको पीसीआर गरिदिनु पर्‍यो भन्ने माग राखेका छौं।'

निर्देशक दीपेन्द्र लामाको पनि सतर्कता अपनाएर सानो समूहमा काम गर्ने सकिने तर्क छ । 'कलाकार र प्राविधिक सबै यतै भएकाले फिल्मले त सतर्कता अपनाएर घरभित्र अथवा सानो टिम बनाएर छायांकन गर्न सकिन्छ । सरकारले अथवा चलचित्र विकास बोर्डले समन्वय गरेर छिटोछिटो सुटिङ गर्न चाहने फिल्मका लागि सुटिङ अनुमति खुलाउँदा हुन्छजस्तो लाग्छ मलाई,' उनले भने ।

दीपेन्द्र आफै भने '२ नम्बरी'को सुटिङको लागि यो अवस्था उचित नरहेको बताउँछन् । 'सतर्कता अपनाएर सुटिङ गरिहाल्ने स्थिति छैन । कलाकार भुटानदेखिका छन् । अन्तर्राष्ट्रिय उडान पनि खुल्नु पर्‍यो । क्यामेराम्यान सुशन प्रजापति हङकङ पुगेका छन् । उनी फर्कनु पर्‍यो । अब विदेशबाट आएको मानिस १४ दिन त क्वारेन्टाइनमै बस्नुपर्ने होला ? उनले भने ।

लकडाउन खुलिहाले पनि १ महिना अवस्था हेरेर मात्रै छायांकनमा जाने उनको टिममा छलफल भएको छ । उनले भने, 'फिल्मको सुटिङका लागि ४०/५० जनाको टिम चाहिन्छ । सरकारले लकडाउन खोले पनि कतिजनासम्म भेला हुन पाइने भनेर मापदण्ड आउनसक्छ।' निर्देशक लामा फिल्मकर्मीका लागि सरकारले सहुलियत पनि दिनुपर्ने बताउँछन् । 'सरकारले २५ जना, ५० जना भेला गर्न पाउने सिमा तोकिदिए पनि फिल्म क्षेत्रको लागि भीडभाड नतोकेर सहुलियत दिनुपर्छ भन्ने मेरो भनाइ हो। त्योचाहिँ चलचित्र विकास बोर्डबाट अनुमति पाएको फिल्मको सुटिङ हुनेगरी सरकारले छुट्टै किसिमको नियम बनाउनु पर्‍यो,' उनले भने ।

दीपेन्द्र लामा

लामा '२ नम्बरी'को सुटिङ सानो टिम बनाएर पनि गरिहाल्ने अवस्था देख्दैनन् उनी । कारण उनको फिल्मको सबै सुटिङ कास्कीमा सकाउनुपर्छ । अहिले सानो टिम बनाएर कास्की जाँदा पनि गाउँमा भय सिर्जना हुने उनले सुनाए। 'काठमाडौंबाट १५/२० जनाको टिम गाउँ पुग्दा गाउँलेहरु पनि डर नमान्ने वातावरण भइसक्नुपर्छ । गाउँमा छिर्नै दिइएन भने बर्बाद हुन्छ,' उनले भने, 'त्यही भएर समयको प्रतिक्षा गर्नै पर्छ । मेरो विचारमा दसैं र तिहार अगाडि सुटिङ हुने सम्भावना कमै छ । तिहार सकिएपछि नै सुटिङ सुरु हुन्छ होला ।'

उनले लकडाउनअघि फिल्मको २५ प्रतिशत सुटिङ सकाइसकेका छन् । कास्कीमा सुटिङ गरेको १० दिन बितिसक्दा देशमा कोरोना प्रवेश भइसकेको थियो । अब फिल्मको सुटिङ सक्न ३० दिन लाग्ने उनी बताउँछन् ।

फिल्मको सुटिङ बीचमै रोकेर बसिरहेका दीपेन्द्रलाई अपुरो काम पूरा गरौं भन्ने भएको छैन । अहिले उनी बाँकी रहेको स्क्रिप्टलाई माझ्ने काम गर्दैछन् । 'अब फिल्म बन्न त एक वर्ष लाग्छ । एक वर्षमा दर्शकको पनि अपेक्षा उच्च हुन्छ । त्यो समयलाई छुन स्क्रिप्टलाई अपडेट गर्दैछु । निखार्दै छु,' उनले सुनाए ।

सत्यराज चौलागाईं

कोरोनाले गर्दा सुटिङ बीचमै स्थगन गरेर बसेको अर्को टिम 'विच्छेद'को हो। लकडाउनअघि फिल्मको टिम रामेछापको एउटा गाउँमा थिए । फिल्मको सुटिङ थालेको ६ दिन भएको थियो । १५ प्रतिशत सुटिङ सकिएको थियो । सरकारले लकडाउन घोषणा गर्दा निर्देशक सत्यराज चौलागाईंसहित ३४ जनाको टिम उतै फसे । पाँच दिन अड्किए । जसोतसो पास बनाएर फर्के । आफूहरुले सुटिङका सबै उपकरण उतै छोडेर आएको निर्देशक चौलागाईं सुनाउँछन् । अहिले उनलाई तीन महिनादेखि उतै छोडेर आएका उपकरणको चिन्ता छ । 'ठूलै घाटा भयो नि । सुटिङ उपकरण सबै उतै छोडेर आयौं,' निर्देशक चौलागाईंले भने, 'हामी प्रोजेक्टको बिमा गर्दैनौं । यतिखेर प्रोजेक्टको बिमा गरेका थियौं भने त लकडाउनले पुर्‍याएको क्षतिपूर्ति त पाउँथ्यौं नि । अहिले त्यो कुरा खट्केको छ ।'

निर्देशक चौलागाईं पनि सुटिङ गरिहाल्ने अवस्था देख्दैनन् । 'पहिला त स्वस्थ नै हुनुपर्‍यो । तत्कालै सुटिङमा जाने सोच छैन,' उनले भने, 'अवस्था कत्तिको सहज हुँदै जान्छ निर्माता संघलाई नै पच्छाएर अघि बढ्ने सोच छ । आफूखुसी जाने अवस्था पनि छैन । जोखिम मोल्न पनि भएन ।'

प्रकाशित : असार १९, २०७७ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?