सुशान्तको अन्तिम फिल्म जुलाई २४ देखि डिज्नी प्लसमा

एजेन्सी

बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित अन्तिम फिल्म 'दिल बेचरा' को ओटीटी(ओभर दि टप) प्रदर्शन
मिति तय भएको छ । मुकेश छाब्रा निर्देशित फिल्म आगामी जुलाई २४ मा डिज्नी प्लस हटस्टारमा प्रदर्शनमा आउने भएको छ ।

सुशान्तको अन्तिम फिल्म जुलाई २४ देखि डिज्नी प्लसमा

सुशान्तबिना यो फिल्म प्रदर्शन गर्नुपर्ला भन्ने आफूले कहिल्यै नसोचेको भन्दै फिल्मका निर्देशक मुकेश छाब्राले सामाजिक सञ्जाल इन्स्टाग्राममा भावुक पोस्ट गरेका छन् । 'सुशान्त केवल हिरो थिएन तर ऊ प्रिय साथी पनि थियो । जसले हरेक राम्रो नराम्रो अवस्थामा मेरो साथ दियो,' उनले लेखेका छन्, 'काइ पो चे'देखि 'दिल बेचरा'सम्म हामी एकदमै मिल्ने साथी भयौं ।'

उनले थप लेखेका छन्, 'उसले वाचा गरेको थियो मेरो पहिलो फिल्म गर्छु भनेर । हामीले एकसाथ कयौं योजना बनाएका थियौं । कयाैं सपना एकसाथ देखेका थियौं ।'

'दिल बेचरा' हलिउड फिल्म 'द फल्ट इन आवर स्टार्स'को रिमेक हो । हलिउड फिल्म भने जोन ग्रिनको त्यही नामको पुस्तकमाथि आधारित थियो । छाब्राका अनुसार सुशान्तको प्रतिभाको उत्सव मनाउनका लागि यो फिल्मभन्दा अरु कुनै उपाय हुन सक्दैन ।

फिल्म नि:शुल्क मिल्ने

निर्देशकका रूपमा मुकेशको यो पहिलो फिल्म हो । सुशान्तसँगै फिल्ममा सञ्जना सांघीको प्रमुख भूमिका छ । सञ्जनाले फिल्मबारे सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेकी छिन्, 'सुशान्तको माया र फिल्मप्रतिको उनको प्रेमका लागि यो फिल्म सबै सब्सक्राइबर र नन-सब्सक्राइबर्सका लागि उलपब्ध गरिनेछ ।'

यसको अर्थ बिना शुल्क यो एपबाट दर्शकले सुशान्तको अन्तिम फिल्म हेर्न पाउनेछन् । यसअघि डिज्नी हटस्टारले पनि सुशान्तको विरासतको उत्सव मनाउन फिल्म प्रदर्शन गर्ने निर्णयसहितको पोस्ट इन्स्टाग्राममा सार्वजनिक गरेको थियो ।

प्रकाशित : असार १२, २०७७ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?