कंगनाको कटाक्ष : स्टारकिड सुन्दर देखिनु करणको गल्ती होइन

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड कलाकार सुशान्तसिंह राजपुतको मृत्युपछि अभिनेत्री कंगना रनावतले बलिउडमा व्याप्त नातावादविरुद्ध अभियान नै चलाएकी छन् ।

एक पुरानो भिडियोमा निर्माता करण जोहोरले स्टारकिड आउटसाइडर (जसको इन्डस्ट्रीमा बुबाआमा वा आफन्त हुँदैनन्) भन्दा सुन्दर देखिने गरेको कुरा बताएका थिए । यसको जवाफ दिँदै कंगनाले स्टारकिडका केही पुराना तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छन् जहाँ उनीहरु खाइलाग्दा देखिएका छन् ।

नातावादको मुद्दा उठ्दा ट्वीटरमा 'पापा है ना' ह्यासट्याग ट्रेण्डिङमै थियो । त्यही ह्यासट्यागको प्रयोग गर्दै एक ह्याण्डलबाट अभिनेत्री आलिया भट्ट, सोनम कपुर, सोनाक्षी सिन्हा र सारा अली खानको तस्बिर सार्वजनिक भएको थियो ।

त्यही तस्बिरलाई सेयर गर्दै कंगनाले लेखेकी छिन्, 'केही व्यक्तिहरु यो बडी सेमिङ हो भन्छन्, यो त्यस्तो होइन । यो मुभी माफियाको लागि रियालिटी चेक हो । करण जोहरजस्तो व्यक्ति भन्छन् कि आउटसाइडर सुन्दर हुँदैनन् त्यो उनको समस्या होइन । यो ब्रेनवासबाट मानिस माथि आउन जरुरी छ ।'

यस्तो पुरानो तस्बिर प्रयोग गरेको भन्दै कतिले कंगनाले बडिसेमिङ गरेको टिप्पणी पनि गरेका छन् । कतिले भने उनको कुरामा सहमति जनाएका छन् । अभिनेत्री कगंनाले अहिले पनि सुशान्तको मृत्यु नभइ मुभी माफियाले योजनाबद्ध ढंगले हत्या गरेको भन्दै उनीहरुलाई यसको जिम्मेवार ठहर्‍याउँदै आएकी छन् ।

प्रकाशित : असार ११, २०७७ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्

गोरोमात्र सुन्दर होइन भन्दै ‘फेयर एन्ड लभ्ली’ को नामबाट ‘फेयर’हटाइने 

कान्तिपुर संवाददाता

काठमाडौँ — सौन्दर्य प्रसाधनका सामाग्रीहरु उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी युनिलिभरले सुन्दरताको परिभाषालाई समावेशी बनाउने निर्णय गरेको बताउँदै गोरो वा सेतो रंगलाई महत्व दिने शब्दहरु आफ्ना उत्पादनबाट हटाउने निर्णय गरेको जनाएको छ ।

युनिलिभरले बिहीबार आफ्नो वेबसाइट मार्फत् 'फेयर-फेयरनेस’,‘ह्वाइट–ह्वाइटेनिङ’ र ‘लाइट–लाइटेनिङ’जस्ता शब्दको प्रयोग आफ्ना उत्पादनको ब्रान्डिङ र विज्ञापनबाट हटाउने घोषणा गरेको हो । फेयर एन्ड लभ्ली क्रिमबाट पनि फेयर शब्द हटाइने भएको र यसको नयाँ नामाकरण केही महिनामा गरिने बताइएको छ ।

कम्पनीका ब्युटी एन्ड पर्सनल केयरका प्रमुख सन्नी जेनले भनेका छन्, 'हामी छालाको कुनै एउटामात्रै रंग सुन्दर हुन्छ भन्ने होइन कि हरेक रंग सुन्दर हुन्छन् र सौन्दर्य कुनै एउटामात्रै रंगमा निहीत छैन भन्ने मान्यता राख्छौं । फेयर, ह्वाइट र लाइट (गोरो र सेतो) शब्दको प्रयोगले एक किसिमको रंग र वर्णलाई मात्र सुन्दरका रुपमा संकेत गर्छ र यो ठिक होइन भन्ने कुरालाई हामी स्वीकार गर्छौं । यी शब्दको प्रयोगलाई नयाँ ढंगले संवोधन गर्न चाहन्छौं ।' उनले भनेका छन्, 'हामी छालाको चमक बढाउने र निखार ल्याउने उत्पादनहरुमा प्रयोग हुने भाषालाई परिवर्तन गर्न चाहन्छौं ।'

उनले एसियाभर बिक्री हुने गरेको क्रिमको विज्ञापनको भाषा पनि परिवर्तन गरिने बताएका छन् । यसको विज्ञापनमा गोरामात्र नभइ अन्य वर्णका महिलाहरुलाई प्रयोग गरिने उनले बताएका छन् । 'हामी कुनै एउटा रंग वा वर्णको होइन व्यक्तिको छालाको चमक र सुन्दरताको पक्षमा छौं, जसमा कुनै एउटा रंगको महत्व हुँदैन,' उनले भनेका छन् । साथै दक्षिण एशियामा बिक्री हुने उत्पादनहरुको प्याकेजिङ पनि परिवर्तन गरिने उनले बताएका छन् ।

सौन्दर्य क्रिम र अन्य उत्पादनहरुले केवल गोरो रंगलाई मात्र सुन्दर ठहर्‍याएर अन्य रंगका मानिसहरुको आत्मसम्मानमा चोट पुर्‍याएको आरोप लाग्दै आएको छ । आफ्नो बजार विस्तारका लागि अन्य रंगका व्यक्तिलाई कमशल वा कुरुप देखाउने विज्ञापनहरुको आलोचना हुँदै आएको छ । यस्ता विज्ञापनका उत्पादनले रंगभेदलाई बढावा दिएको भन्दै प्रतिबन्धको समेत माग हुने गरेको छ ।

यस्ता क्रिमको प्रचारमा देखिने फिल्मस्टारहरुको समेत आलोचना हुने गरेको छ । हालै अमेरिकामा काला जातिका व्यक्तिमाथि रंगका आधारमा भएका हिंसाको विरोध गर्ने कलाकारहरुले गोरो बनाउने क्रिमको विज्ञापनमा पनि अभिनय गरेको भन्दै उनीहरुलाई 'दोहोरो मापदण्ड' अवलम्बन गरेको भनिएको थियो । अश्वेत जर्ज फ्योएडको हत्यापछि उठेको विरोध अभियान 'ब्ल्याक लाइभ्स म्याटर' पछि युनिलिभर यस्तो निर्णयमा पुगेको केही मिडिया रिपोटहरुमा उल्लेख गरिएको छ ।

प्रकाशित : असार ११, २०७७ १८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×