पारिश्रमिक नपाएका कलाकार भन्छन् :  काम गरेको पैसा त देऊ !

रीना मोक्तान

काठमाडौँ — हालै अभिनेता पल शाहले आफ्नो फेसबुक पेजमार्फत कलाकारले समयमा पारिश्रमिक नपाउने समस्याबारे लामो स्टाटस लेखे ।

'फिल्मी क्षेत्रमा नातावाद, कृपावाद, ग्रुपिजम अनि ड्रिप्रेसन, सुसाइडको कुरा चलिरहँदा अर्को एउटा कुरा उठाउन मन लाग्यो । के तपाईंले परिश्रम गरेअनुसार समयमा आफूले पाउनुपर्ने पारिश्रमिक पाइराख्नु भएको छ ?, के तपाईंले आफूले गरेको फिल्मको पैसा पाउन वर्षौं वर्षसम्म डिरेक्टर, प्रोड्युसरसँग दुई हात जोड्नु परेको छ ?' प्रश्न राख्दै पलले लेखेका छन्, 'यो फिल्म गरेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौलां भन्ने सोच गरेको कलाकारलाई त्यही फिल्मको पैसा पाउन वर्षौं वर्ष कुर्नुपर्दा त्यो कलाकारको दिमागमा के असर पर्ला ?'

उनले यो विषय उठाएसँगै फेरि एक पटक सामाजिक सञ्जालमा कलाकारले समयमा पारिश्रमिक नपाएको कुरा छताछुल्ल भएको छ । कलाकारले समयमा पारिश्रमिक नपाउने समस्याबारे यो पहिलो पटक उठेको विषय भने होइन । पारिश्रमिकको विवाद बेलाबखत मिडियामा उठिरहन्छ । केही समय यो विषयले सामाजिक सञ्जाल तताउँछ तर, त्यसरी नै सेलाउँछ पनि । एक वर्षअघि मात्रै 'रोजी'का निर्माता निरक पौडलले फिल्मका अभिनेता प्रदीप खड्का, अभिनेत्री मिरुना मगर, संगीतकार एलिस कार्की र प्राविधिक श्रीकृष्ण श्रेष्ठलाई पूरा पारिश्रमिक नदिएको कुराले यसबारेमा व्यापक चर्चा भएको थियो ।

तर अझै पनि यो समस्या जस्ताको त्यस्तै छ । केही उदाहरणहरु हेरौं । सुरुमा पलकै समस्या पढौं ।

२५ लाख पाएको छैन : पल शाह

अभिनेता पल शाह अभिनित एक फिल्म(नाम खुलाउन चाहेनन्) प्रदर्शनमा आएको २ वर्ष भयो । फिल्मबाट लगभग ७५ प्रतिशत रकम उनले पाएका छैनन् । २५ प्रतिशत एडभान्स फिल्मअघि नै लिएका थिए । फिल्ममा हस्ताक्षर गर्दा आफ्नै समस्या सुनाएर रकम पछि दिन्छु भन्दै निर्माता छेउ लागे । सुटिङको समय पनि त्यस्तै गरेर पन्छिए । उनले बारम्बार आफ्नो कामको पारिश्रमिक मागे । तर, निर्माताले आफ्नो समस्या देखाउँदै पन्छिन सुरु गरे । सम्बन्ध नबिगार्ने सोचले उनले पनि धेरै गनगन पनि गरेनन् । तर, निर्माताले फिल्मको प्रचारसम्म आइपुग्दा अनेक बहाना देखाइरहे ।

अन्तत: फिल्म प्रदर्शनपछि नै पूरा रकम दिने ढाडस दिए । पलले त्यो कुरा पनि स्वीकारे । तर फिल्म प्रदर्शनपछि पनि उक्त निर्माताले समस्या देखाउन छोडेनन् । २ वर्षदेखि विभिन्न बहाना बनाएर निर्माताले पललाई झुलाइरहेका छन् । केही फिल्मका निर्माताले भने किस्ताकिस्तामा कहिले १० त कहिले २० हजार गर्दै रकम दिँदै झुलाइरहेका छन् । उनका कति कलाकार साथीले त ती फिल्मको पारिश्रमिक पाउने आश नै मारिसके । तर आफ्नो आम्दानीको स्रोत नै फिल्म क्षेत्र बनाएका पललाई ती रकम माया मार्न गाह्रै छ । यसरी समयमा पारिश्रमिक नदिएको तीन फिल्मबाट अझै २५ लाख रुपैयाँ पाउन बाँकी रहेको दाबी गर्छन् पल । ती सबै फिल्म चलेकै ब्यानरबाट प्रदर्शनमा आएको थियो ।

कर्मा भन्छन् : निर्माता कहाँ खोज्न जानु ?

अभिनेता कर्मा नेपाली फिल्म इन्डस्ट्रीमा अब्बल कलाकार मानिन्छन् । अहिलेसम्म उनले १० वटा फिल्ममा अभिनय गरेका छन् । नेपाली फिल्म उद्योगको यो समस्याबाट उनी पनि अछुत छैनन् । अभिनय गरेको ४ वटा फिल्मबाट उनले पनि पूरा पारिश्रमिक पाएका छैनन् । अभिनय गरिसकेको कति फिल्म त अहिलेसम्म प्रदर्शनमा पनि आइसकेको छैन । ती फिल्मको निर्माता अहिले सम्पर्कविहीन भइसके ।

'प्रदर्शनपछि दिन्छु' भन्ने निर्माताले पनि उनलाई झुलारहेका छन् । एक/दुई पटकसम्म मागिसकेपछि दोहोर्‍याएर पैसा मागिरहन उनलाई मन पर्दैन । उनी प्रश्न गर्छन्, 'अब प्रदर्शनमै नआइसकेको फिल्मको पारिश्रमिक कसलाई, कहाँ भन्न जाने हो ? कहाँ हो निर्माता त्यो पनि थाहा छैन । अब कहाँ माग्न जाने ?'

एकैपटक तीन महिनाको भाडा तिर्नुपरेको छ : नाजिर हुसेन

नाजिरलाई पनि २ वटा फिल्मका निर्माताले ७ महिनादेखि झुलाइरहेका छन् । एउटा फिल्मबाट त एक रुपैयाँ पनि पारिश्रमिक नलिएको बताउँछन् उनी । अन्य कलाकारले झैं विश्वासकै आधारमा उनले उक्त फिल्मको काम थाले । तर अहिले निर्माताले उनलाई झुलाउन थालेको महिनौं भयो । निर्माता आफ्नो समस्या देखाउँदै भाग्छन् ।

यसरी आफूले काम गरेको फिल्मको पारिश्रमिक समयमै नआउँदा सबैभन्दा उनलाई घरभाडाको पीर लाग्छ । भाडा दिनुपर्ने समय नजिकिँदै गर्दा अप्ठ्यारो महसुस गर्छन् । घरभाडा तिर्नुपर्ने समय नाघ्दै गर्दा घरभेटीसँग आँखा जुधाउन पनि उनलाई गाह्रो पर्छ । त्यस्तोबेला ढोकाबाट भित्र छिर्दा उनको आँखा सिधै घरबेटी बस्ने तल्लामा पुगिसक्छ । यस्तै समस्याले गर्दा उनले एकपटक तीन महिनाको भाडा एकैपटक दिएका पनि छन् ।

०००

नेपाली फिल्म उद्योगमा चार किस्ता गरेर कलाकारलाई पारिश्रमिक दिइन्छ । सुरुमा एड्भान्स रकम । फिल्ममा हस्ताक्षर गर्दा दोस्रो किस्ता, त्यसपछि सुटिङ भइरहँदा तेस्रो र डबिङ सकिएपछि चौथो किस्ता दिने प्रचलन छ । तर, पछिल्लो समय अधिकांश कलाकारले डबिङको रकम त माया नै मार्नु परेको अवस्था छ । हस्ताक्षर र सुटिङ गर्दाको रकम पनि दिन आनाकानी गर्छन् निर्माता ।

अभिनेत्री केकी अधिकारीले पनि समयमा पारिश्रमिक नपाउँदा तनावपूर्ण अवस्थाको सामना गरेकी छिन् । उनले पनि कति फिल्मको डबिङपछिको रकम त माया नै मार्नुपरेको बताउँछिन् । आफैले बुझेर नदिएपछि निर्मातासँग विभिन्न समस्या देखाएर पारिश्रमिक माग्दै आएकी छिन् उनी । 'अस्पताल जानुपर्‍यो, कतै पैसा बुझाउनुपर्ने भनेर आवश्यकता नदेखाएसम्म पैसा झिक्दैनन् । आफ्नो पारिश्रमिक पाउन विभिन्न कारण देखाइरहनुपर्छ,' उनले सुनाइन्, 'डबिङपछिको किस्ता पाउन एकदमै गाह्रो हुन्छ । त्यतिखेर फिल्मको प्रदर्शनलाई लिएर निर्माता तनावमा रहेको अवस्थामा माग्न पनि अप्ठ्यारो ।'

केकीले आफ्नो फिल्मी करियरमा ३/४ वटा फिल्मबाट पूरा पारिश्रमिक पाएकी छैनन् । ती फिल्महरुले उनलाई ४ वर्षदेखि झुलाइरहेको छ । अब त उनले आश पनि मारिसकेको बताउँछिन् ।

नेपाली फिल्म उद्योगमा स्थापित हुन खोजेको कलाकारलाई पारिश्रमिक समस्याले सताउँछ भने नयाँ कलाकारका लागि त झनै कठिन रहेको अभिनेता पल सुनाउँछन् । 'तनाव त हुन्छ नि । पाउनुपर्ने रकमलाई लिएर १ वर्षपछि यो गर्छु, २ वर्षपछि त्यो गर्छु भन्ने योजना बनाएको हुन्छ । त्यो योजनाअनुसार चल्न नसक्ने बित्तिकै किन म यो इन्डस्ट्रीमा काम गरिरहेको छु भन्ने अनुभव हुँदो रहेछ,' उनले आफ्नो तीतो अनुभव सुनाए ।

पारिश्रमिकको समस्या नातावादभन्दा ठूलो समस्या रहेको उनी बताउँछन् । 'यो त नातावादभन्दा पनि ठूलो समस्या भइरहेको छ । मानिसहरु विस्थापित भइराखेका छन् । किन कोही कलाकार विदेसिन्छ, अथवा अन्य व्यापार व्यवसायमा लाग्छन् त । यसै कारण हो,' उनले सुनाए, 'पारिश्रमिकको तनावले म ड्रिप्रेसनमा गइनँ । नयाँ कलाकार त डिप्रेसनमा जानुहुन्छ नि । सम्बन्धित निकायले यसबारे सोचिहाल्नुपर्छ ।'

कर्माको मत पनि त्यस्तै छ । 'मजस्तो कलाकार जसले यही क्षेत्रलाई आम्दानीको स्रोत मानेको छ । यही स्रोतबाट जीवन गुजारा गर्न मलाई गाह्रो छ भने काठमाडौंमा भाडा गरेर बस्नुपर्ने कलाकारलाई कस्तो हुँदो हो ?, प्रश्न गर्दै उनले भने, 'मेरो बुवाआमा काठमाडौंमै हुनुहुन्छ । खान लाउनलाई समस्या नुहँदा त समयमा पैसा नआउँदा तनाव हुन्छ ।'

पल पारिश्रमिककै समस्याले पनि कलाकार विदेशिने गरेको तर्क गर्छन् । 'कलाकार विदेशिने कुरामा चर्चापरिचर्चा भइरहन्छ । यही कारणले पनि कलाकार विदेसिन बाध्य हुन्छन्,' उनले सुनाए, 'त्यही निर्माताले हामीलाई बाहिर जान बाध्य गराउनुहुन्छ । कतिञ्जेल बिनापैसा काम गर्ने के ? या एडभान्स रकममा कहिलेसम्म अड्केर बस्ने ?'

नाजिरलाई धेरैले म्युजिक भिडियोमा देखिएको भन्दै टिप्पणी पनि गर्छन् । तर, उनी नेपाली फिल्म उद्योगको यही समस्याले गर्दा जीवन गुजारा गर्न म्युजिक भिडियोमा काम गर्न थालेको बताउँछन् । 'मलाई त अधिकांशले म्युजिक भिडियो किन गरेको भनेर प्रश्न गर्नुहुन्छ,' उनले भने, 'हामीलाई बाँच्नु छ नि त । पारिश्रमिक नपाएपछि काम गर्नै पर्‍यो । अहिलेको समयमा टिक्न जरुरी छ । हाम्रो आयस्रोत भनेको यही एउटा ठाउँ हो ।'

कलाकारहरु प्रचारप्रसारमा उपस्थित नभइदिने पनि पारिश्रमिककै लफडा रहेको कर्मा सुनाउँछन् । 'कलाकारहरु पब्लिसिटीमा नआइदिएको समाचार धेरै सुनिन्छ । समय नभ्याउनु प्रमुख कारण होला। तर पारिश्रमिकको यस्तो समस्याले पनि कलाकारहरु प्रचारमा उपस्थित हुँदैनन्,' उनले भने, 'कलाकारहरुले प्रचारको बेला अनि नआएर बदला लिइदिनुहुन्छ ।'

यो समस्या म्युजिक भिडियोदेखि विज्ञापनतिर पनि उस्तै छ । तर, कतिपय समयमा फिल्म नचलिदिँदा पनि पारिश्रमिक पूरा नपाउने गरेको कर्माको अनुभवले भन्छ । 'कतिवटा फिल्मको पैसा त मैले माया मारिसकेँ । अब कसलाई भन्न जाने ? कहाँ भन्न जाने ? धेरैजस्तो पारिश्रमिक पूरै नआएको फिल्म चाहिँ नचलेर पनि हो', उनले भने ।

फिल्म नचल्दा बलिउड कलाकारले पारिश्रमिक नै फिर्ता गरिदिएको कुरा पनि नाजिरसँग धेरै निर्माताले राखेका छन् । तर बलिउडमा फिल्म सुपरहिट हुँदा आम्दानीको रकम पनि कलाकारलाई थपिदिने बताउँदै यो अभ्यास नेपालको हकमा सान्दर्भिक नरहेको बताइदिन्छन् । उनको एउटै माग छ, 'म पैसा थपेर दिनुपर्छ भन्दिनँ । तर, पाउनुपर्ने पारिश्रमिक त समयमा देऊ ।'

पछिल्लो समय कर्मा यस विषयलाई लिएर सजग पनि भएका छन् । अहिले त सुरुमै सबै पारिश्रमिक बुझेर मात्र फिल्ममा हस्ताक्षर गर्न थालेका छन् उनले । प्राविधिक समूहमा पनि पारिश्रमिकको समस्या सुनिन्छ । तर उनीहरुका हकमा तोकिएको समयावधि लम्बियो भने अर्को सम्झौता हुन्छ तर सुटिङ १ महिना लम्बियो भने कलाकारले उही पारिश्रमिकमा काम गर्नुपर्ने विडम्बना छ नेपाली फिल्म उद्योगमा । जुन पारिश्रमिक पाउन पनि कलाकारले अभिनय(नाटक) नै गर्नुपर्छ ।

नाजिरले २ फिल्मबाट अझै ७ लाख पाउन बाँकी छ । उनी यस्तो समस्याले काठमाडौं बसेर संघर्ष गर्ने आफूजस्ता कलाकारलाई पिरोल्ने गरेको बताउँछन् । 'कलाकारहरु कलाकारिताबाट बाँच्न गाह्रो भएर पन्छिन नपरोस् । सपना बोकेर यहाँ आएको कलाकारहरु त्यतिकै फर्केर जानु नपरोस्,' उनले भने, 'म जस्तो धेरै कलाकार हुनुहुन्छ जो काठमाडौंमा भाडा तिरेर बस्नुहुन्छ ।'

समाधान के त ?

अभिनेत्री केकी अधिकारी यो समस्या सुल्झाउन थर्ड पार्टी राखेर सम्झौता गर्नुपर्ने बताउँछिन् । 'जबसम्म हामी राम्रो टिम बनाएर थर्ड पार्टी राखेर सम्झौता गर्दैनौं तबसम्म यो समस्या रहिरहन्छ होला । हाम्रो पीआर टिम हुँदैन । कर्पोरेट कल्चर नभएको हुनाले यस्तो समस्या भएको हो,' उनले भनिन्, 'यो त हाम्रो उद्योगको ठूलै समस्या जस्तो लाग्छ मलाई । हामीले दुईवटा पार्टीबीच नै सम्झौता गरेको हुन्छ ।'

अभिनेता नाजिर निर्माता आफै यस विषयउपर जिम्मेवार भइदिए समस्या समाधान हुने बताउँछन् । त्यसो त कलाकारको समस्या सुनिदिन चलचित्र कलाकार संघ पनि छ । पलले आफ्नो पारिश्रमिकको समस्याबारे धेरैअघि कलाकार संघमा पनि कुरा राखेका थिए । तर, फिल्महरुमा व्यस्त हुँदा कुरा त्यतिमै सीमित भइदियो ।

संघका अध्यक्ष रवीन्द्र खड्का कलाकारले आफ्नो पारिश्रमिकको समस्याबारे संघमा उजुरी गर्नुपर्ने बताउँछन् । 'कलाकारले आफ्नो समस्या संघमा राख्नुपर्‍यो । उजुरी आएपछि हामी दुई पक्षबीच वार्ता गराउँछौं,' उनले भने,'निर्माताले मानेन भने उहाँको फिल्म सेन्सरअघि रोक्न सक्ने अधिकार पनि हामीसँग छ ।'

कतिपय अवस्थामा सम्झौता नगरी विश्वासकै आधारमा यसरी अगाडि बढ्दा पनि पारिश्रमिकको समस्या देखिने गरेको अध्यक्ष खड्काले बताउँछन् । 'संघमा जानकारी आएपछि हामी मुठ्ठी बाँधेर बस्दैनौं । उहाँहरुका लागि अगाडि बढ्छौं । तर कति अवस्थामा उहाँहरु विश्वासको आधारमा काम गर्नुहुन्छ । त्यसले पनि समस्या पार्छ' उनले भने ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारी कलाकारसँग पारिश्रमिकको सम्झौता पत्र छ भने सिधै संघमा सम्पर्क गर्न आग्रह गर्छन् । 'कसैलाई पनि मार पर्नु भएन । न कलाकार न प्राविधिक । निर्मातालाई पनि मार पर्नु भएन,' उनले भने, 'कलाकार र निर्माताले साथीभाइ सम्बन्धको आधारमा नभई व्यावसायिक हिसाबले नै सम्झौता गरेको हुनुपर्‍यो ।' प्रकाशित : असार १०, २०७७ १४:३८

प्रतिक्रिया
पठाउनुहोस्

सडक छेउ खाना खाने सावित्राको पीडा

रीना मोक्तान

काठमाडौँ — भक्तपुरको सूर्यविनायस्थित शभकामना पार्टी प्यालेस छेउमा २०/२५ जनाको समूहमा खाना खाँदै थिइन् सावित्रा बराल । ११ बजेको पारिलो घाममा समूहभन्दा केही पर बसेर उनी गिट्टीको थुप्रोमाथि बसेकी थिइन् । समूहका मानिसहरु भने सडक छेउको रुखको छाहारीमा बसेर खाँदै थिए । 

घाँटीमा सानो सल र आँखामा गाजल लगाएकी उनी असिनपसिन भएर खाँदै थिइन् । नजिकै गएर उनीसँग गफिन जाँदा सुरुमा झस्किएको थिइन् । कुरा गर्न थालेपछि उनलाई खुल्न त्यति गाह्रो परेन ।

१४ वर्षीया उनी लकडाउन सुरु भएदेखि नै परिवारसँगै त्यहाँ खाना जाने गरेकी रहिछन् । दैनिक ज्यालादारी गरेर छाक टार्ने उनको परिवारले लकडाउनको सुरुवातका दिनमा जसोतसो भोक मेटेका थिए । लकडाउन लम्बिएसँगै खाद्यान्‍नको अभाव हुन थालेपछि उनी आफ्‍ना बुवाआमासँग खाना खान आउन थालेकी रहिछन् ।

उनका बुवा आमा निर्माण क्षेत्रमा ढलानको काम गर्दा रहेछन् । घरमा खाद्यान्‍न अभाव भएपछि भोकै हुने अवस्था आइसकेको थियो । छिमेकी एकजनाले व्यक्तिले सूर्यविनायकमा मानव आश्रमले खाना खुवाउने गरेको थाहा पाउनसाथ उनीहरु स-परिवार त्यहाँ जान थाले । २ महिनासम्म उनीहरुले त्यही खाना खाए । आश्रमले बिहानको साढे १० देखि साढे ११ बजेको बीचमा खाना बाँड्ने काम गर्थ्यो ।

त्यसैले उनको परिवार १० बजे नै खाना खान सूर्यविनायकको दार्जलिङ हाइटबाट हिँड्थे । कहिले लामो समय कुर्थे । कहिले ११ बजे नै खाना खुवाउने समूह आउँथ्यो । अभावका बीच आश्रमले बाँडेको खानाले छोरीहरुको भोक मेटेको देख्दा सावित्रका बुवा नेत्रहरि र सविता खुसी हुन्थे ।

त्यहाँ सविताको परिवारसँगै भक्तपुरकै विभिन्न स्थानमा ज्याला मजदुरी गर्नेहरु खाना खान आउँथे । लकडाउनको ७३ दिनमा सावित्रासँग भेटहुँदा उनका बुवा आमा त्यहाँ थिएनन् ।

भक्तपुरमा चहलपहल बढ्न थालेसँगै सावित्रा बुवा आमा ढलानको काममा हिँड्न थालिसकेका थिए । उनी भने दुई बहिनी गीता(११) र कोपिला(७) लिएर खाना खान त्यहाँ आइपुगेकी थिइन् ।

गीता र कोपिला पनि समूहसँगै खाना खाँदै थिइन् । आमा बुवा खोइ त ? भन्‍ने प्रश्‍नमा सावित्राले भातको गाँस मुखमा लाँदै भनिन् 'अहिले उहाँहरु आउनुहुन्न ।'

उनीहरु आफैं आमा र बुवाका लागि त्यहीँबाट खान लगिदिन्थे । खाना खाएपछि सवित्राकी माइली बहिनी गीताले आमा र बुवाको लागि थालभरी खाना बोकिन् । त्यसै दिन आश्रमले खाना खानेहरुबीच घोषणा गर्‍यो, 'आजदेखि हामी यहाँ खाना बाँड्दैनौं । तपाईँहरु संयमित भइदिनु भएको भए अझै खाना खुवाउँथ्यो । अब हामी अर्कै ठाउँमा खाना खुवाउँछौं । तपाईंहरुलाई हामी त्यतै बोलाउँछौं ।'

आश्रमलाई खाना बाँड्न सहयोग गर्दै आएका सुर्यविनायककै नीरज भट्टुले यस्तो घोषणा गरेपछि खाना खानेहरुको अनुहारमा निराशा छाएको थियो । सावित्रालाई पनि चिन्ता भयो । 'अब भोलिदेखि कहाँ आउनु अंकल ?' सावित्राले प्रश्न गरिन् । निरजको समूहले भोलि जानकारी दिने भन्दै सम्पर्क नम्बर बटुले । सावित्राले पनि आमाको नम्बर टिपाइन् । खासमा त्यहाँ खाना खान आउनेहरु विभिन्‍न निहुँमा झगडा गरेर होहल्ला मचाउन थालेपछि स्थानियले नै आश्रमलाई खाना खुवाउन बन्द गर्न लगाएका थिए । त्यसैले उनीहरुले खाना बाँड्ने काम बन्द गर्ने निर्णय गरेको भट्टुले सुनाए ।

नम्बर टिपाएर हामी लाग्यौं सावित्रा बस्ने कोठातिर । बाटोमा हिँड्दै गर्दा बहिनी कोपिलाले सावित्रालाई भन्दै थिइन्, 'दिदी भोलिदेखि खान दिँदैनन् हो ? अब घरमै खाना बाँड्न आउँछन् हो अंकलहरु ?' सावित्राले बहिनीको प्रश्नमा 'हो' मात्रै भनिदिइन् । करिब आधा घण्टा हिँडेपछि सावित्राको कोठा आइपुग्यो ।

कोठाका भित्ताहरुमा कपडाहरु झुण्ड्याइएको थियो । चिसो भुईंमा सानो पातलो कपडा विच्छाइएको थियो । कुचुक्क परेको कोठामा पानीको जार, खेलौनाहरु र एउटा सानो ग्यास चुल्हो थियो । चारवटा थालहरु चुल्हो छेउ ढल्काएर राखिएको थियो । करिब दुई महिनादेखि बन्द भएको चुल्होमाथि धुलो जमेको प्रष्टै देखिन्थ्यो ।

आमा बुवाको काम पहिले झैं सुरु भए त्यो चुल्हो सजिलै बल्ने थियो । तर, लकडाउनले गर्दा सावित्राको आमा बुवाको काम अनिश्चित छ । अहिले त बल्ल तल्ल काम पाउँछन् । पहिला त ढलान गरेर उनको बुवा हजार त आमा सात सय भए कमाउँथें । अहिले काम अनिश्चित भएपछि खाना खान गाह्रो परेको सावित्राकी आमा सविताले सुनाइन् । 'अहिले त गाह्रो छ । काम पनि पाउन गाह्रो, खान पनि गाह्रो ।'

आश्रमबाट फोन आउने आशमा थियो उनका परिवार । तर नयाँ ठाउँमा खाना खुवाउने घोषणा गरेयता आश्रमले सावित्राको आमाको नम्बरमा फोन गरेन । आक्कल झुक्कल पाउने कामकै भरमा उनीहरुको परिवारको पेट भर्दै आएको थियो । तर, अहिले त खानलाई नै धौधौ परेको सावित्राकी आमाले सुनाइन्,'चामल पनि सिद्धियो । कतै राहत दिइयो भने सम्पर्क गरिहाल्नु है !'

प्रकाशित : असार ८, २०७७ २१:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×