सुशान्तका फ्यानको समर्थन गर्न सलमानको आग्रह 

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछाडि बलिउडमा व्याप्त नातावाद (नेपोटिजम) जिम्मेवार रहेको भन्ने बहस चर्किन थालेपछि यसको असर धेरै सेलिब्रिटीलाई पर्न थालेको छ । अभिनेत्री कंगना रनावतले बलिउडमा नेपोटिजमको झन्डा बोकेर हिँडिरहेको आरोप लगाएका निर्देशक करण जौहरपछि यो बहसको तारो अभिनेता सलमान खान बन्न पुगेका छन् ।

शुसान्तका प्रशंकले सलमानको फिल्म बहिष्कार गरौं भन्ने अभियानदेखि सलमानमाथि सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् । अर्कोतर्फ सलमानका फ्यान पनि उनको समर्थनमा आवाज उठाउन थालेका छन् । यसबीच अभिनेता खानले ट्विट गर्दै आफ्ना फ्यानलाई सुशान्तका फ्यानको साथ दिन अपिल गरेका छन् ।

'मेरो सबै फ्यानलाई सुशान्तको फ्यानलाई साथ दिन अनुरोध गर्दछु । उनलाई कुनै पनि किसिमको गालीगलौज र अपशब्द प्रयोग नगर्नुस,' उनको ट्विटरमा लेखिएको छ, 'कृपया उनको परिवार र फ्यानलाई साथ दिनुस् किनकि कोही गुमाउनु पीडादायी हुन्छ ।'

यसअघि 'दबंग' निर्देशक अभिनव कश्यपले सामाजिक सञ्जालमा सुशान्तको आत्माहत्यामा विस्तृत अनुसन्धानको माग गर्दै सलमानको परिवारमाथि गम्भीर आरोप लगाएका थिए । 'सुशान्त सिंह राजपुतको आत्माहत्याले एकदमै ठूलो समस्या बाहिर ल्याइदिएको छ । जसको सामना हामीमध्ये धेरैले गरिरहेको छौं,' उनले लेखेका छन्, 'सलमान खानको परिवार विषालु सर्पको शीरजस्तै हो । कसैलाई डर देखाउनको लागि अवैध धन, अन्डरवर्ल्ड कनेक्सनको मिश्रणलाई चतुराईपुर्वक प्रयोग गर्न उनीहरु सक्छन् ।'

सलमानका भाइ अरबाज खानले निर्माण गरेको र सलमानले अभिनय गरेको 'दबंग' सफल भएपछि यसको दोस्रो भागको निर्देशन अभिनवको सट्टा अरबाज आफैंले गरेका थिए ।

सुशान्त १४ जुनमा मुम्बईको बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका थिए । रिपोर्टहरुमा उनले आत्महत्या गरेको बताइएको छ ।

प्रकाशित : असार ७, २०७७ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणले थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी छत्रकोट गाउँपालिकाका वडा नं ५ का ६९ वर्षीय पुरुष रहेका छन् । ती पुरुषको मृत्युबारे आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म मृत्यु हुनेको संख्या २३ पुगेको बताए । ती पुरुष प्यारालाइसिस उपचार गरेर जेठ २५ गते नेपाल आएका थिए । उनी होम क्वारेन्टइनमा बसेका बेला असार ५ गते घरमै मृत्यु भएको थियो । उनको सोही दिन नमुना संकलन गरिएको थियो र ६ गते कोरोना पुष्टि भएको थियो ।

उनको सेनाको सहयोगमा दाहसंस्कार गरिसकिएको छ ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका २, बाराका १, ललितपुरका १, अर्घाखाँचीका २, दैलेखका १, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका १, चितवनका १, विरगन्जका १, पर्साका १ र गुल्मीमा १ जनाको मृत्यु भएको हो ।

प्रकाशित : असार ७, २०७७ १६:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×