१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

'नातावाद सबैतिर'

रीना मोक्तान

काठमाडौँ — बलिउड अभिनेत्री कंगना रनावतले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याको पछाडि बलिउडमा व्याप्त नातावाद रहेको आरोप लगाएकी छिन् ।

'नातावाद सबैतिर'

७ वर्षे फिल्म यात्रामा बलिउडले सुशान्तलाई कुनै प्रोत्साहन नगरेको भन्दै उनको आत्माहत्यामा नातावादले पनि भुमिका खेलेको बताएकी छिन् ।

'केही व्यक्तिहरु जसको दिमाग कमजोर हुन्छ उनीहरु डिप्रेसनमा आत्महत्या गर्छन् भनेर स्थापित गर्न खोज्दैछन् । जो व्यक्तिले प्रवेश परिक्षामा उत्कृष्ट नतिजा ल्याएको छ त्यो व्यक्ति कसरी कमजोर हुन सक्छ,' भिडियोमा उनले भनेकी छिन्, 'उसको अन्तिम पोस्टहरु हेर्दा क्लियर हुन्छ । उसले भनिरहेको थियो, प्लिज मेरो फिल्म हेर्नुस्, यो इन्डस्ट्रीमा मेरो कुनै गडफादर छैन । मलाई यो इन्डस्ट्रीबाट बाहिर निकालिनेछ ।'

कंगना थप्छिन्, 'आफ्नो अन्तर्वार्ताहरुमा उनले बिन्ती गरिरेका थिए, मलाई किन यो इन्डस्ट्रीले अपनाउँदैन । मलाई यहाँ एक्लै पारियो । के सुशान्तको मृत्युमा यी कुराहरुको आधार छैन ?'

नातावादका विषयमा खरो प्रस्तुत हुँदै आएकी कंगनाले गल्ली ब्वाईजस्तो 'वाहियात' फिल्मलाई अवार्ड दिने तर सुशान्तको 'छिछोरे'लाई नजरअन्दाज गरिदिने बलिउडको वास्तविकताबारे आवाज उठाएकी छिन् । आफूलाई पनि केही व्यक्तिहरुले आत्महत्याको दुरुत्साहन गर्ने गरेको भन्दै उनले भिडियोमा भनेकी छिन्, 'उनीहरुले सुशान्तलाई भने, तिमी अयोग्य छौ, सुशान्तले त्यही ठान्यो ।'

अभिनेत्री कंगनाले नातावादबारे यसरी खरो टिप्पणी दिएपछि नेपालमा पनि यसबारे बहस सुरु भएको छ । अभिनेत्री नम्रता सापकोटाले सोमबार राति फेसबुकमा भिडियो सार्वजनिक गर्दै नेपालमा पनि नातावादको जरा गडेर बसेको बताएकी छिन् ।

'हामी बलिउडमा नातावाद छ, कलाभन्दा पनि आफ्नोलाई साथ दिन्छ भन्छौं। तर हामी नेपालकै कुरा गरौं न । नेपालमा पनि यस्ता व्यक्ति छन् जो कलाकारितालाई भन्दा पनि आफ्नालाई साथ दिन्छन्,' उनले भनेकी छिन्, 'यहाँ फिल्ममा कलाकार चाहियो भनेर घोषणा हुन्छ । अन्तमा फिल्ममा उनीहरुकै छोरा, भतिजा, भाई, बहिनी देखिन्छ ।'

उद्योगको मानिससँग राम्रो पकड भएको कलाकार नै पर्दामा देखिँदै आएको उनले बताएकी छिन् । 'जो संघर्ष गरेर इन्डस्ट्रीमा आएको हुन्छ । त्यसलाई त यहाँ गनिँदै गनिँदैन । जसको अभिनय जिरो छ, जसको लिंक छ इन्डस्ट्रीको मानिसहरुसँग उनीहरु नै पर्दामा देखिन्छन्,' नम्रताले भनेकी छिन् । यसरी आफ्नोलाई प्राथमिकता दिँदा संघर्ष गरेर इन्डस्ट्रीमा आउने कलाकार डिप्रेसनमा जाने उनको तर्क छ । 'मैले अनुभव गरेको कुरा के भने,धेरै होइन ६० प्रतिशत मानिस आफ्नोलाई बढी प्राथमिकता दिन्छन् । र कलाकारहरु डिप्रेसनमा नगएर केमा जान्छन् त ?' अभिनेत्री सापकोटा लामो समयदेखि फिल्मबाट टाढा देखिन्छिन् ।

त्यस्तै अभिनेत्री वर्षा सिवाकोटीले पनि नेपाली फिल्म क्षेत्रमा नातावाद कायमै रहेको कुरा सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी छिन् । उनी लेख्छिन्, 'नातावाद सबैतिर हुन्छ, फिल्म उद्योगमा मात्र होइन । फरक यत्ति हो कि फिल्म इन्डस्ट्रीमा छर्लङ्ग छ । सत्य बोल्ने आँट कमैको छ । किन कि यस्ता अभिव्यक्तिले भोलिका दिनमा करिअरमा असर पर्न सक्छ, कामको अभाव हुन सक्छ ।'

गत वर्ष अभिनेत्री सिवाकोटीले नातावादबारे बोलेकी थिइन् । त्यतिखेर फेसबुकमा स्टाटस लेखेकी थिइन्, 'नातावादले मात्र फिल्म क्षेत्र रुमल्लिएको छैन । यहाँ अरु थुप्रै अवस्था छन, जुन कुरामा ध्यान दिन पनि जरुरी छ, जस्तै ग्रुपिजम, लभ अफेयर्स, कम्प्यारिजन, कलाकार र युट्युबर/पत्रकारबीच अनावश्यक गुटबन्दी । यी कुराको बिगबिगीले पनि नकारात्मक असर पारेको छ ।'

त्यो बेला वर्षाले आफूलाई यी सब कुराको पीडित व्याख्या गरेकी थिइन् । उनले दिएको अभिव्यक्तिका कारण अब उनले फिल्म उद्योगमा काम नपाउनेजस्ता हल्ला पनि चलेको थियो । तर, अवस्था सामान्य हुँदो हो यतिखेर समय दिन नसकेर कति फिल्महरु छोडिसक्नुपर्ने अवस्था आउने वर्षाले लेखेकी छिन् ।

मिहिनेतका साथ काम गर्दै जाँदा यस्ता कुनै पनि वादले छुन नसक्ने उनको तर्क छ । 'तपाईं कुनै काम गर्नु हुन्छ भने पूर्ण मिहिनेत, विश्वास र समर्पणका साथ गर्नुस कि, जहाँ कुनै वादले छुन पनि नसकोस् । तपाईं प्रतिभा सम्पन्न, लगनशील र आत्मविश्वासी हुनुहुन्छ भने एकदिन अवश्य तपाईंको मिहिनेतले कदर पाउने छ । हत्केलाले सूर्यलाई छेकेर छेकिन्छ र ?'

प्रकाशित : असार २, २०७७ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?