लकडाउन असर– रियालिटी शोहरु अपूरै

रीना मोक्तान

काठमाडौँ — हालै अमेरिकन आइडलले पहिलोपटक घरै बसेर १८ औं सिजन सम्पन्न गर्‍यो । लकडाउनले गायन रियालिटी शो असम्भवझैं देखिन्थ्यो । तर, घरबाटै प्रतिस्पर्धीहरुलाई प्रस्तुति दिन लगाएर भए पनि आइडल समापन भयो । नेपालीहरुका लागि पनि यसपालीको आइडल केही विशेष रहृयो । नेपाली गायक दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उपविजेता बने । 

अमेरिकन आइडलको नेपाली फ्रन्चाइज ‘नेपाल आइडल’ले पनि लकडाउनमा यसरी नै कार्यक्रम गर्ने सोचेको थियो । तर, प्राविधिक समस्या आउने देखिएपछि रिस्क लिन नखोजेको निर्देशक सुरेश पौडेल बताउाछन् ।

‘अमेरिकन आइडलझैं गर्न हाम्रो प्राविधिक पक्ष बलियो हुनुपर्थ्यो । सबै प्रतिस्पर्धीको घरमा उस्तै इन्टरनेट स्पीड नहुन सक्छ, त्यसैले जोखिम उठाएनौं,’ उनले भने, ‘ हाम्रो फ्रेन्चाइज दाताले पनि लकडाउन अवधिभर कार्यक्रम नगर्नु भन्यो ।’

लकडाउनको समय स्टूडियोमा दर्शक पनि राख्न भएन । प्रतिस्पर्धी, निर्णायक, दर्शक अनि क्यामेरा क्रुको भेला गराउँदा भीड त्यतिकै जम्मा हुने भयो । त्यसैले शो तत्कालका लागि रद्द गरेको सुरेश सुनाउँछन् । सरकारले लकडाउन घोषणा गर्नुअघि आइडलको दुईवटा श्रृङ्खला प्रसारण भए । लकडाउन घोषणा हुनासाथ प्रतिस्पर्धीहरुलाई आ–आफ्नो घर पुर्‍याइयो ।

वाइल्ड कार्डको प्रस्तुतिपछि आइडल रोकिएको हो । यो श्रृङ्खलापछि शीर्ष पाँच घोषणा गर्ने तयारी थियो । तर, लकडाउनले नतिजा बोकेर बस्नुपरेको सुरेशले सुनाए । ‘शीर्ष पाँचको नतिजा हामीसँग छ । अब कार्यक्रम सुरु भएसँगै नतिजा पनि सुनाउँछौं । अहिले १० जना प्रतिस्पर्धी हुनुहुन्छ,’ उनले भने ।

लकडाउन दुई महिना नाघिसक्यो । लामो समयदेखि रोकिएको आइडलको आगामी प्रसारण पनि लकडाउनमै निर्भर रहेको सुरेशको भनाई छ । लकडाउन खुकुलो भइहाले पनि तीन हप्तासम्म आइडल प्रसारण नगर्न फ्रेन्चाइजदाताले भनिसकेका छन् ।

‘लकडाउनअघि पनि हामीले सुरक्षामा धेरै ध्यान दिएका थियौं । स्टुडियो छिर्ने ढोकामा स्यानिटाइजर राखेका थियौं । स्टुडियो नै स्यानिटाइज गरेका थियौं,’ उनी भन्छन्, ‘अब हामी कार्यक्रम सुरु गरेपछि पनि त्यसलाई निरन्तरता दिन्छौं ।’

लकडाउनले त्यति असर नगरेको गायन रियालिटी हो, ‘द भ्वाइस अफ नेपाल’ । अहिले भ्वाइसको टिम तेस्रो संस्करणको तयारीमा छ । अबको एकाध महिनामा भ्वाइसको डिजिटल अडिसन सुरु हुने फ्रेन्चाइजका नेपाल निर्देशक लक्ष्मण पौड्याल बताउाछन् । ‘हेड अफिसले महामारी नहटे पनि कार्यक्रम प्रसारण गर्न मिल्ने खालको फर्म्याट बनाइसकेको छ । हामी रोक्दैनौं । हाम्रो डिजिटल अडिसन दुई महिनाभित्र सुरु हुन्छ,’ पौड्यालले भने, ‘हामी योजना बनाउँदैछौं ।’

अरुबेला ‘द भ्वाइस अफ नेपाल’को लाइभ कार्यक्रममा दर्शकको पनि उपस्थिति हुने गर्थ्यो । अब भने महामारीलाई मध्यनजर गर्दै प्रसारण हुने कार्यक्रममा दर्शक नराख्ने उनीहरुको योजना छ । ‘लकडाउन रहिरहृयो भने दर्शकबिनै कार्यक्रम प्रसारण गर्छौं । कोच बस्ने मेच पनि सामाजिक दूरी कायम गर्ने खालकै छ,’ उनले भने, ‘हाम्रोमा अडिसन दिन लाइन बस्नु पर्दैन । मोबाइलबाटै गीत गाएर पठाउने हो । अमेरिकन आइडलले पनि केही परिवर्तन गरेर घरबाटै कार्यक्रम गर्‍यो । हाम्रो पनि परिवर्तन भइसकेको छ ।’

अहिले युकेमा ‘द भ्वाइस’ प्रसारण भइरहेको छ । अब आफूहरु बिनादर्शक नै फाइनल गर्न पनि तयार रहेको उनी बताउँछन् । ‘सरकारको नियम पनि केही बनिहाल्यो भने हामी फिनालेसम्म पनि दर्शक राख्दैनौं । अब कार्यक्रम सुरु भइहाले पनि सुरक्षातिर हाम्रो ध्यान हुन्छ । सरकारले जे–जे नियम बनाउाछ त्यही अनुरुप अगाडि बढ्छौं,’ उनले भने ।

दुई महिनाअघि मात्रै लक्ष्मणले अर्को रियालिटी सो ‘डान्सिङ विथ स्टार्स’ घोषणा गरेका थिए । १२ जना प्रतिस्पर्धी कलाकारसँगै निर्णायकमा अभिनेत्री गौरी मल्ल र कोरियोग्राफर/निर्देशक रेनशा बान्तवा राई फाइनल भइसकेका थिए । सबैलाई एडभान्स रकम पनि बुझाइसकेका थिए । लकडाउनको एक हप्ताअघि कार्यक्रम सुरु गर्ने तयारी भइसकेको थियो । नृत्य गर्ने कलाकारको जोडी पनि फाइनल नै भइसकेको थियो । स्टेजको काम सकेर कार्यक्रम सुरु गर्ने तयारी हुँदै गर्दा देशमा लकडाउन भयो ।

लकडाउनले यो शोलाई असर गरेको लक्ष्मण सुनाउँछन् । ‘एकदमै असर गर्‍यो । हाम्रो तयारी लगभग सकिसकेको थियो । अब लकडाउन खुलेको १५ दिनमा कार्यक्रम प्रसारण गरिहाल्छौं,’ उनले भने, ‘खोइ लकडाउन पो कहिले खुल्ने हो । यो कार्यक्रममा पनि दर्शक राख्ने/नराख्नेमा दोधारमा छन् उनीहरु ।

बीबीसी वर्ल्डवाइडले सुरु गरेको यो रियालिटी शो ‘झलक दिखलाजा’को नामले भारतमा चर्चित छ । समयमै कार्यक्रम सुरु गर्न नपाउँदा पनि आफूलाई भाग्यमानी ठान्छन् लक्ष्मण । ‘अरुको तुलनामा हामी भाग्यमानी छौं । हाम्रो कार्यक्रम सुरु भएर बीचमै रोक्नु परेको भए बिजोग हुन्थ्यो । सुरु गरौं भन्ने समयमा लकडाउन भयो,’ उनले भने, ‘अहिले हिाड्न दिइरहेकोछ, बरु भौतिक दूरी कायम गरेर सुरक्षामा ध्यान दिएर काम चाहिा नरोकेको भए यसरी घरमा बस्नु पर्थेन । कलाकारहरुले पनि अभ्यास गर्ने समय पाउँथे ।’

गायक रामकृष्ण ढकाल, आलोकश्री र अन्जु पन्त निर्णायक रहेको गायन रियालिटी सो ‘नेपाल स्टार’को सात श्रृङ्खला यो लकडाउनमा प्रसारण भइसक्यो । लकडाउन सुरु हुँदा शोको तेस्रो श्रृङ्लखा प्रसारणमा आएको कार्यक्रम निर्देशक रवि श्रेष्ठ बताउँछन् ।

लकडाउन अवधिभर पनि यो शोको प्रसारण रोकिएको छैन । रविका अनुसार श्रृंखला दोहोर्‍याएर भए पनि प्रसारण रोक्न दिइएको छैन । ‘नेपाली स्टार टिभीमा आइरहेको छ । हामीले लकडाउनमा देखाउन बन्द गरेको छैनौं । अडिसनको श्रृफ्ला पहिल्यै खिचिएको थियो,’ उनले भने ।

‘नेपाल स्टार’ले काठमाडौं अडिसन भने अहिले नै प्रसारण नगर्ने निर्णय गरेको छ । काठमाडौंको अडिसनका श्रृंखला पनि तयार छ । तर त्यसलाई भने लकडाउनपछि देखाउने सोचेका छन् । रवि भन्छन्, ‘काठमाडौंको अडिसन लकडाउनमा उपयुक्त हुँदैन भनेर नदेखाएको हो । लकडाउनपछि कार्यक्रमलाई निरन्तरता दिन काठमाडौंको अडिसन आवश्यक पर्छ ।’

अहिले नयाँ कार्यक्रमको सुटिङ गर्न नपाएको बताउँदै रविले आगामी कार्यक्रमको योजनामा लकडाउनले असर गरेको बताए । ‘सबैजनाको कार्यक्रम रोकिएको छ । हाम्रो पनि रोकियो,’ उनले भने, ‘हामीले जुन मितिमा कार्यक्रम फाइनल गर्ने सोचेका थियौं । त्यो समय पछाडि धकेलियो ।’

अनिश्चित लकडाउनले गर्दा ‘नेपाल स्टार’को नयाँ श्रृंखलाहरु कहिले बन्ने हो रवि अनुमान लगाउँदैनन् । उनलाई यत्ति थाहा छ, अवस्था सामान्य भइसकेपछि सात प्रदेशका प्रतिस्पर्धीलाई काठमाडौं बोलाउँदा सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्नेछ ।

यो कुनै फ्रन्चाइज नभई नेपालमै बनेको गायन रियालिटी सो हो । प्रकाशित : जेष्ठ १४, २०७७ १८:५२

प्रतिक्रिया
पठाउनुहोस्

अभिनेत्रीको नक्कली अश्लील भिडियो, आँचल शर्मा भन्छिन्– ‘दोषीले सजाय पाओस्’ 

रीना मोक्तान

काठमाडौँ — सोमबार अचानक अभिनेत्री आँचल शर्मालाई एक फेसबुक साथीले मेसेन्जरमा लिंक पठाइन् । उनको टाउको जोडेर बनाइएको अश्लिल भिडियो थियो त्यहाँ । नक्कली भिडियो हेरेर सुरुमा अचम्म मानिन् ।

‘भारतीय नागरिककै काम हो कि ? दुई देशको झगडमा नेपाली अभिनेत्रीलाई यस्तो नगर्नुपर्ने हो ?’ उनको मनमा अनेकन प्रश्न उब्जियो, जब मेसेन्जरमै ती साथीले फेरि ‘इन्डियन स्पाइडर स्क्वाड’ समूहको एउटा पोस्ट आँचललाई पठाइन् ।

उक्त पोस्टमा लेखिएको थियो, ‘अरु कलाकारको पनि यस्तै भिडियो चाँडै लिक हुँदैछ । हामी १२ जना नेपाली कलाकारको डिभाइसभित्र छिरिसकेका छौं । कालापानी, लिम्पियाधुरा र लिपुलेक इन्डियाको हो । तिमीहरु बाँच्न चाहन्छौं भने कोभिड–१९ सँग लड, भारतसँग होइन ।’

यस किसिमको धम्कीसहितको अश्लिल भिडियोले आँचल डराइन् । दर्शकले भिडियोलाई वास्तविक पो ठान्ने हो कि भनेर उनको मन बैचन भयो । ‘गाउँ/गाउँका दर्शकले टाउको जोडेर भिडियो बनाइएको हो भनेर थाहा पाउनु हुन्न । नराम्रो छाप पर्ला भन्ने डर भयो,’ उनले सुनाइन् ।

भिडियोबारे थाहा पाउनसाथ सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले पोस्ट पनि गरेकी थिइन् ।

‘आफ्नो देशको बारे बोल्दा राष्ट्रिय एकताको विषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपालीले यस्तो सहनुपर्ने ?’ उनले लेखेकी थिइन्, ‘जसले त्यस्ता प्रकारका अश्लिल भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका छन्, तीनीहरुको विरुद्धमा एक भएर अघि बढ्न जरुरी छ । यतिबेला तपाई साथीभाइको अनि शुभचिन्तकको साथको जरुरी छ मलाई ।’

उनको पोस्टले फिल्म क्षेत्रमा यस विषयबारे चर्चा भयो । धेरै अभिनेत्रीहरुले यसको विरुद्धमा आवाज उठाए । हुन त पति उदिप श्रेष्ठले विदेशका सेलिब्रेटीको पनि यस्ता भिडियो बनिरहने कुरा बताएपछि उनलाई आफूमात्रै पीडित होइन भन्ने लागेको थियो । तर, त्यतिकैमा अन्य अभिनेत्रीहरुका त्यस्तै भिडियो सार्वजनिक हुन थालेपछि भने उनलाई कानुनी बाटो अपनाउनुपर्ने लाग्यो ।

मंगलबार कलाकार संघका अक्ष्यक्ष रवीन्द्र खड्काले उनलाई फोन सम्पर्क गरेर नआत्तिन ढाडस दिए । त्यसपछि कलाकार संघले महानगरीय अपराध अनुसन्धान महाशाखामा यसविरुद्ध उजुरी दिएको छ । आँचल संघकी कार्यसमिती सदस्य पनि हुन् । प्रविधिको दुरुपयोग गरेर चलचित्रसँग सम्बन्धित कलाकारको चरित्र हत्या गर्ने प्रयास भइरहेको र यसबारे आवश्यक अनुसन्धान गरी यस्ता गतिविधि रोक्न र पीडितलाई न्याय दिन मागसहित उजुरी दिएको खड्काले बताए ।

अभिनेत्री शर्मा यस्तो गलत काम गर्ने अपराधीले सजाय पाओस् भन्ने चाहन्छिन् । ‘मलाई त यो कसको काम हो भन्ने बुझ्ने मन छ । यस्तो तल्लोस्तरको काम कसले गर्‍यो पत्ता लागेको छैन । जसले यस्तो गलत काम गर्‍यो, त्यसले सजाय पाओस्,’ उनले भनिन् ।

महाशाखाका एसपी होविन्द्र बोगटीले अनुसन्धान सुरु भइसकेका जनाएका छन् । ‘कलाकारको अश्लिल भिडियो पोर्नसाइटमा बदनाम गरेर हाल्यो भनेर अपराध महाशाखामा उजुरी आएको छ । कलाकार संघले उजुरी गरेको हो । भिडियोको इडिटिङ नक्कली किसिमको देखिएको छ । अनुसन्धान सुरु भइसकेको छ ।’

प्रकाशित : जेष्ठ १४, २०७७ १७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×