कोरोनाविरुद्ध संगीत- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाविरुद्ध संगीत

सुशील पौडेल

काठमाडौँ — चार महिनायता विश्व कोरोनाको महामारीले आक्रान्त छ । यसका लागि अधिकांश देश लकडाउनमा छन् । यो त्रासको माहोलमा आत्मबल बलियो बनाउन धेरैका लागि गीत, संगीत गतिलो सहारा बनिरहेको छ ।

सर्जकहरु लकडाउनमै कोरोनाविरुद्ध सचेतना फैलाउने संगीत सिर्जना गरिरहेका छन् । अरु तिनै गीत सुनेर, हेरेर रमाउन थालेका छन् ।

कोरोना प्रकोप रोकथाममा दक्षिण कोरिया अग्रणी देखिएको छ । औषधि पत्ता नलागे पनि दक्षिण कोरियाले कोरोना संक्रमितलाई उपचारका लागि समेत संगीतको सहारा लिएको छ । म्योंग जी अस्पतालले आइसोलेसनमा भएका विरामीलाई उपचारसँगै आशा जगाउने खालका संगीत कलाकार ल्याएरै प्रत्यक्ष सुनाउन पनि थालेको छ ।

यसमा संलग्न एक भ्वाइलिनिस्ट यूा ह्यूंग जून भन्छन्, ‘चिकित्सक र विरामीहरु दुवै यतिबेला कोरोना भाइरसविरुद्ध लडिरहेका छन् । उनीहरुको मनोबल बढाईराख्नका लागि मैले भ्वाइलिन बजाउन पाएकोमा धन्य छु ।’

कोरोना संक्रमणबारे सचेतनामूलक गीतहरु युट्युबमा अपलोड भइरहेका छन्, रुचाइएका पनि छन् । मार्च २० मा ‘कवि सिंहका देश के नाम सन्देश’ शीर्षकमा अपलोड गरिएको एउटा ‘लकडाउन सङ्ग’ यतिबेला भारतमा चर्चित भईरहेको छ । सवा करोड बढि पटक हेरिसकिएको उक्त म्युजिक भिडियो भारतीय प्रम नरेन्द्र मोदीको लकडाउनका बारेमा दिइएको सन्देशसँगै सुरु गर्दै कवि सिंहले पनि लकडाउन पालना र संक्रमणबाट बच्ने तरिका गीतमार्फत् भनेका छन् ।


विख्यात सांगीतिक ब्यान्ड क्वीनको ‘बोहेमियन र्‍याप्सोडी’ को प्यारोडी भर्सनमा तयार पारिएको ‘कोरोना र्‍याप्सोडी’ पनि यूट्युबमा खुब रुचाइएको छ । मार्च २८ मा अपलोड गरिएको गायक राउल इराबेनको उक्त गीतको शब्द, गायनदेखि भिडियो निर्माणको शैलीलाई धेरैले रुचाएको प्रतिक्रिया दिएका छन् । युट्युबमा अपलोड अधिकांश कोरोनासँग सम्बन्धित गीतका भिडियोलाई कलाकारहरुले लकडाउनकै अवधिमा मौलिक ढंगले तयार पारेका छन् ।

लकडाउनका कारण घरमै बसेका कलाकारहरुले गीत, संगीत तथा भिडियो सिर्जनाका लागि पनि घरेलु उपायहरु अपनाएका छन् । निर्माता टोरिन वेस्टकोटले घरका चम्चा, सिरानी, स्टुलको सहायताले ड्रम बीट तयार पार्दै ट्र्याक बनाए र त्यसमा ‘माई स्यारोना’ को प्यारोडी भर्सनमा गीत रेकर्ड गरे, ‘बाई कोरोना’ ।

सामाजिक सन्जालमार्फत् उक्त गीत सार्वजनिक गरेपछि वेस्टकोटले निकै सुखद प्रतिक्रिया बटुलिरहेका छन् । उक्त गीतले डेढ करोड भन्दा बढि भ्युज पाइसकेको छ । भन्छन्, ‘सुरुमा त ड्रम किट नभएको अवस्थामा घरमै बसेर कसरी संगीत तयार पार्न सकिएला र भन्ने लागेको थियो । तर पछि घरायसी सामानबाटै ड्रमको विकल्प खोज्छु भन्ने घरेलु उपाय निकालें ।’

उनले घरकै किचनदेखि बाथरुमसम्म छायांकन गरेर भिडियो पनि तयार पारे । उनले थपे, ‘मैले यसरी घरका भााडा बजाएर संगीत निकालेको मन परेको थिएन । तर मलाई यही वैकल्पिक तरीकामा नै मज्जा आईरहेको थियो ।’

कोरोना भाइरसको महामारीपछि ‘लिभिंग रुम कन्सर्ट’ को शैली धेरै कलाकारले अपनाउन थालेका छन् । भारतीय कमेडियन जोनी लिभरकी छोरी जामी लिभरले पनि यही शैली पच्छाउादै अभिनेता धनुषले गाएको भाइरल सङ्ग ‘कोलाभेरी डी’ को प्यारोडी भर्सन ‘ह्वाई दिस कोरोना डिजिज’ ल्याएकी छन् । आफ्नो गीत रुचाइएपछि खुशी हुँदै जामी भन्छिन्, ‘यो सबै मैले मान्छेहरुलाई मनोरन्जनका साथै सूचना पनि होस् भनेर गरेकी हुँ ।’ त्यसो त उनकै बुबा जोनी लिभरले पनि कैंयन बलिउड फिल्मका क्लासिकल म्युजिकको प्यारोडी बनाउँदै पोष्ट गरिरहेका छन् ।

कोरोना प्यारोडी गीत बनाउनेको अहिले विश्वभर लहर नै चलेको छ । क्यानडेली कमेडियन चन्तल डेस्जार्डिन्सले आफ्नै घरको कुकुरलाई फिचरिंग गर्दै ग्योरिया गेनुरको ‘आई वील सर्भाइभ’ को प्यारोडी भर्सन ‘द पेट्स वील थ्राइभ’ निकालेपछि चर्चा बटुलिरहेका छन् भने अमेरिकी गायक क्रिसम्यानले एडेलीको हिट नम्बर ‘हेल्लो’ मा ल्याएको प्यारोडी ‘हेल्लो हाउ आर यू’ पनि निकै रुचाइएको छ । बी गिजको ‘स्टे इन अलाइभ’ मा ब्रेन्ट म्याक्कोलफको टीमले तयार पारेको प्यारोडी गीत ‘स्टे इन इन्साइड’ युट्युबमा धेरै हेरिने मध्येको गीत बनिसकेको छ ।

युट्युबमा यतिबेला चन्दन रैनाको ‘माइ नेम इज कोरोना’, आईमार्केजको ‘कार्डी बी कोरोना भाइरस’, मो भ्लगरको ‘कोरोना भाइरस सङ्ग’, प्रियंका नेगी टीमको ‘आवारा कोरोना’ लगायत गीत चर्चामा छन् ।

नेपाली कोरोना गीत पनि थुप्रै

नेपाली कलाकारहरुले पनि लकडाउनको सदूपयोग गर्दै कोरोनाका बारेमा चेतनामूलक र मनोरन्जनात्मक गीत बनाउन थालेका छन् । रोग भन्दा बढि त्रास फैलिएको भन्दै सुरक्षात्मक उपाय सुझाउँदै सबिन लामाले रचना गरेको ‘कोरोना भाइरस’ गीत यतिबेला युट्युबमा २० लाख भन्दा बढी पटक हेरिसकिएको छ । जसलाई मेलिना राई, विनय कार्की, शासन काडेल र सविन लामाले गायका हुन् ।

बाबु जिम्बाको रचनामा रहेको लोकभाकामा आधारित अर्को चेतनामूलक गीत ‘आयो कोरोना’, गण्डकी प्रदेश सरकारले पुरुषोत्तम न्यौपाने, माया गुरुङ्ग, ज्योती लोहनी, इश्वर सिंहको स्वरमा ल्याएको ‘कोरोना भाइरस रोकथाम’ बोलको लोकदोहोरी गीतले पनि महामारीविरुद्ध चेतना फैलाउने प्रयास गरेका छन् । ‘डराउनै पर्ने त हैन हैन, ख्याल ठट्टा नी गर्ने हैन है’ भन्दै नरेश खाती र एलिना चौहानले ल्याएको कोरोना भाइरस गीत पनि युट्युबमा रुचाइएको छ । जसलाई गोमा परियारले रचना गरेकी हुन् भने संगीत नरेश खाती कै रहेको छ ।

त्यसैगरी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहितका दर्जन कलाकार राखेर बनाइएको अर्को जनचेतनामूलक गीतमा डेभिड शंकर र वेनिशा पौडेलले स्वर दिएका छन् । यसलाई सरोज वलीले लेखेका हुन् भने दीपक शर्माले संगीत भरेका छन् ।

रेशम सापकोटा र मन्जु गुरुङ्गले संयुक्त गाएको अर्को लोकभाकाको गीतले कोरोना भाइरसबाट बच्ने उपाय सुझाएको छ । गायक राजु परियारले पनि मन्जु सुनारसाग मिलेर ‘भोकमरी त थियो थियो, रोगमरीले पिर्नू पिर्यो’ भन्दै लक डाउनकै अवधिमा नयाा कोशेली ल्याएका छन् । यसको रचना रोमहर्ष भण्डारीले गरेका हुन् ।

कोरोना संगीतकै पंक्तिमा साहस शाक्यले आफ्नै संगीतमा ‘मेरो विश्व मेरो घर’ बोलमा उत्प्रेरणात्मक गीत ल्याएका छन् । नेपालमा पनि केही प्यारोडी, र्‍याप शैलीमा पनि कोरोना विषयक गीत सिर्जना गरिएका छन् ।

स्टार नेपाल च्यानलबाट अपलोड गरिएको ‘कोरोना कोरोना संसारभरी फैलियो कोरोना’ बोललाई फिल्म ‘ए मेरो हजुर ३’ को ‘परान परान’ गीतको प्यारोडीमा प्रस्तुत गरिएको छ भने भिडियो पनि ओर्जिनल गीतकै प्रयोग गरिएको छ । जसमा अनमोल केसी र सुहाना थापाले नाचेका छन् ।

रामु विरहीले रचना, संगीत, गायनदेखि भिडियो निर्देशन र आफ्नै अभिनयमा ‘भागोस् कोरोना हामी सोझा जनतादेखि भागोस्’ भन्दै भिडियोसहित गीत तयार पारेका छन् भने चिरन्जिवी सापकोटाले आफ्नै संगीत, रचना तथा र्‍याप प्रस्तुतीमा ‘भाग कोरोना’ ल्याएका छन् ।

प्रकाशित : वैशाख २९, २०७७ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्

आमा अनुभव 

जीवनको उत्तरार्द्धमा विवाह गरे पनि अभिनेत्री मिथिला शर्माले मातृसुख अनुभव गरेकी छैनन् 
सुशील पौडेल

काठमाडौँ — फिल्म ‘विश्वास’ मा तीन मिनेटको नृत्य शिक्षकको भूमिका निर्वाह गर्दै फिल्ममा होमिएकी अभिनेत्री मिथिला शर्माले तीन दशकभन्दा लामो करिअरमा सयमाथि फिल्म खेलिसकिन् । प्रायः चरित्र अभिनयमा रमाइरहेकी मिथिला यतिबेला ‘आमा’ की आमा भएर आएकी छन् । निर्देशक दीपेन्द्र के. खनालले उनलाई शीर्ष भूमिकामा प्रस्तुत गरेका हुन् । शुक्रबार फिल्म रिलिजको पूर्वसन्ध्यामा भेटिएकी अभिनेत्री शर्मा फिल्मलाई लिएर उत्साहित थिइन् ।

‘एउटा कलाकारलाई आफ्ना हरेक फिल्मको रिलिजमा एक्साइटमेन्ट हुन्छ नै । फरक यत्ति हो, ति फिल्ममा बोनसको रूपमा मात्रै हुन्थ्यौं । दर्शकलाई हामी फिल्ममा छौं भन्ने पनि कमै थाहा हुन्थ्यो,’ शर्माले कान्तिपुरसँगको कुराकानीमा भनिन्, ‘मैले फिल्ममा छोरी, बहिनी, दिदी, भाउजूका चरित्रमा निकै फिल्म खेलें । यसपटक आमाको नयाँ परिचयमा छु ।’

१० वर्षको उमेरमै २०३० सालदेखि रंगमञ्चमा देखिएकी अभिनेत्री शर्मा ‘आमा’ का लागि पहिलो रोजाइमा भने थिइनन् । सूर्यमाला खनाललाई लिएर निर्देशक खनालले केही दृश्य छायांकनसमेत गरिसकेका थिए । तर पूरा फिल्म वर्षामा खिच्ने तय गरिएको ‘आमा’ को छायांकन लम्बिने छाँटकाँट देखिएपछि सूर्यमालाले लामो समय दिन नसक्ने भइन् । अमेरिकामा रहेकी गर्भवती बुहारीलाई भेट्न जानुपर्ने थियो । त्यसपछि मिथिला शर्माले आमाको भूमिका पाइन् । ‘सौभाग्यले मेरो भागमा परेको हो,’ दीपेन्द्रको ‘पशुपतिप्रसाद’ दोहोर्‍याएर हेरेकी मिथिलाले उनैको फिल्म नखेल्ने कुरै थिएन, ‘उहाँले नै ‘आमा’ बनाउँदै हुनुहुन्छ, सुटिङ भइरहेको छ भन्ने पनि थाहा पाएको थिएँ । सूर्यमालाजी बुहारीलाई भेट्न अमेरिका जानुपर्ने भएपछि मलाई प्रस्ताव गरियो । स्क्रिप्ट पाएँ । दीपेन्द्रजीको लेखाइमा कताकता मैले शिव रेग्मीजी, कताकता नवल नेपालजीको जस्तो मार्मिकता पाएँ । चरित्रलाई पढें । पछि खेलें । उता, सूर्यमालाजी हजुरआमा बन्नुभयो, म यता ‘आमा’ बनेँ ।’

अभिनेत्री शर्मालाई ‘पशुपतिप्रसाद’ औधि मन परेको फिल्म हो । त्यसमा एक कर्तव्यपरायण छोराले आफ्नो बाबुलाई वैतरणी पार गर्न गरेको संघर्ष दर्साइएको छ भने ‘आमा’ ले पनि सन्तान र आमाबीचको सम्बन्धलाई नै व्यक्त गरेको छ । यसमा पनि सन्तानको कर्तव्यकै विषय प्रमुख छ । तर अभिनेत्री शर्मा भने यी दुई फिल्मबीच तुलना नहुने जिकिर गर्छिन् । बरु ‘आमा’ बारे नै भन्छिन्, ‘यो हामीले दिनरात भोगिरहेको आधुनिक समाजको एउटा पाटो हो । प्रत्येक व्यावहारिक मान्छेका लागि फिल्म सान्दर्भिक लाग्नेछ ।’

फिल्म मनोरञ्जनकै लागि हेरिन्छ । तर मिथिला शर्मा आँखाबाट आँसु झारेर होस् वा आफूले भन्न चाहेर पनि भन्न नसकेका कुरालाई फिल्ममार्फत हेरेर मन हलुंगो पारेर पनि मनोरञ्जन लिन सकिने जिकिर गर्छिन् । ‘म स्वयं यस्तो खालको मनोरञ्जन लिन रुचाउँछु । ‘आमा’ यस्तैमध्येको एक फिल्म हो,’ उनले भनिन् ।

अभिनेत्री शर्माको आमासँगको सम्बन्ध भने अनौठो छ । उनी आफ्ना तीन आमा भएको जिकिर गर्छिन् । आमा पूर्णलक्ष्मी शर्माले जन्म दिइन् । ठूलीआमा देवीका शर्माले हुर्काइन् र दिदी मधुरिका शर्माले संसार चिनाइन् । ‘आमा मैले थाहा नपाउँदै बित्नुभयो । आमाको दिदीले हुर्काउनुभयो । त्यसैले म कर्म दिने आमासँग धेरै नजिक छु,’ जन्म दिनुमा भन्दा कर्म दिनुलाई महत्त्वपूर्ण ठान्ने अभिनेत्री शर्माले तर्क गरिन्, ‘मातृ हृदयले सिन्चेको, हुर्काएको सन्तान अझ नजिक हुन्छ । आफैंले जन्माएको सन्तानप्रति कर्तव्य निर्वाह गर्नुपर्ने सामाजिक डर, बाध्यता पनि हुन्छ । तर मातृहृदयले हुर्काएको सन्तानमा केवल आमाको ममता हुन्छ । त्यसमा ग्रहणतत्त्व बढी हुन्छ ।’ आमाको भूमिकामा दिदीलाई पनि कम नदेख्ने शर्माले थपिन्, ‘तीनवटा आमा पाउने म कति भाग्यमानी ?’

तर जीवनको उत्तरार्द्धमा विवाह गरे पनि मिथिला शर्माले मातृसुख अनुभव गरेकी छैनन् । तर उनी आफूप्रतिको यस्तो अभिव्यक्तिलाई ठाडै नकार्छिन् । किन त ? भन्छिन्, ‘ईश्वरले मभित्र यति धेरै मातृत्व भरिदिएका छन् कि आफ्नै कोखबाट सन्तान नजन्माए तापनि म धेरै सन्तानकी आमा हुँ । ती सन्तानलाई पनि मैले जन्माएको भए सायद यति माया र साथ पाउँदिन थिएँ होला । नजन्माउँदा पनि त्यति नजिक र माया पाएकी छु । यसैमा खुसी छु ।’ उनले व्यक्तिगत रूपमा धेरै बालबच्चालाई सन्तानका रूपमा पालिरहेकी छन् । तर यसलाई प्रचारबाजी गर्न भने चाहँदिनन् ।

मिथिलाकी दिदी भन्नुहुन्छ रे, ‘एउटा सन्तान जन्मायो भने त्यही एउटा सन्तानलाई हुर्काउने र पढाउने मात्र ध्याउन्न हुन्छ । तर सन्तान नजन्माईकनै पनि कसैलाई पढाइन्छ, हुर्काइन्छ र सफलतामा पुर्‍याइन्छ भने त्यो जस्तो महान् काम अरू केही हुन सक्दैन । एउटा आत्माले अर्को आत्मालाई चिनेर मार्गदर्शन गर्नुजस्तो ठूलो धर्म अरू केही पनि हुन सक्दैन ।’ अभिनेत्री शर्माको जीवनमा पनि यही कुराले निकै प्रभाव पारेको छ ।

फिल्मको ट्रेलरपछि धेरै जनाले आमालाई फोन गरेको सुनाउँदा मिथिला खुसी भइन् । ‘अझ फिल्म नै हेरेपछि त पक्कै पनि टाढा रहेका छोराछोरीहरू नजिक हुनेछन् भन्ने विश्वास छ । कता कता रुमल्लिरहेका सन्तानलाई फिल्मले आमा सम्झाइदिनेछ,’ त्यसो त मिथिला स्वयं नै ‘आमा’ को ट्रेलर हेरेपछि सिधैं आमालाई भेट्न पुगेकी थिइन् । ‘आमा धेरै केही चाहदिनन् । केवल एक पल, एक क्षण, एक शब्द खोज्छिन् । सन्तानहरू उडेर जहाँसुकै जाऊन्, तर एक कल फोन गरिदिँदा संसार जितेजस्तो अनुभव गर्छिन्,’ उनी सन्तान र आमाबीचको सम्बन्ध लट्टाई र चंगाको जस्तै हुनुपर्ने तर्क गर्छिन्, ‘तर चेट् चाहिँ हुनुभएन ।’

मुग्लान जानुपर्ने वा बिदेसिनुपर्ने संस्कृति नयाँ हैन । पहिले मदनहरू मुना र आमालाई छोडेर भोट जानुपर्थ्यो । अहिले मदनसँगै मुनाहरू पनि आफ्नो सन्तानको उज्ज्वल भविष्यका लागि बिदेसिनु परिरहेको छ । तर मिथिला टाढा हुनुमा समस्या ठान्दिनन् । ‘कर्तव्य निर्वाह गर्न टाढियो भन्दैमा भावनात्मक, आत्मीय सम्बन्ध टुट्छ भन्ने छैन । टाढिनु अहिलेको आधुनिक समाजको एउटा बाध्यता हो । टाढिनु भनेको अलग्गिनु हैन । स–शरीर नभेट्दैमा हृदयमा आमाबाबु हुँदैनन् भन्ने हैन,’ उनले फेरि चंगा र लट्टाईको उदाहरण सम्झाउने गरी थपिन्, ‘बाआमा भनेको लट्टाईको धागोजस्तै हुन् । चंगालाई माथि–माथि उड्न सजिलो होस् भन्नका लागि धागो दिँदै जाने । सन्तानले आफ्नो कर्तव्य कति पालना गर्छन् वा गर्दैनन्, अलग कुरा हो तर प्रत्येक आमाबाहरू सन्तानको प्रगतिसँग रमाउँछन् ।’

छायांकन गरिरहँदा पनि धेरै ठाउँमा मनमा गाँठो पारेकी अभिनेत्री शर्माले भनिन्, ‘सुटिङमा ‘आमा’ चरित्रलाई छोडेर आएपछि पनि मिथिला शर्मालाई नै सम्हाल्न गाह्रो पर्थ्यो । आफू भएरै भक्कानिएको छु । मलाई लाग्छ, फिल्मले संवदेनशील मान्छेलाई हल्लाउनेछ ।’ पटकथासमेत आफैंले तयार पारेका निर्देशक खनालले ‘आमा’ आफ्नै आमालाई रिलेट गरेर लेखेको बताउँछन् । ‘सानोछँदा आमालाई यसो गर्छु, उसो गर्छु, विश्व घुमाउँछु भनेर सोचिन्थ्यो । तर अहिले केही गर्न सकिरहेको छैन । आफ्नै समस्यामा अल्झिइएको छु । झन् बिहे अनि सन्तान भएपछि आफ्नै जीवनमा रुमल्लिने रहेछ । अनि आमा त छुट्दै छुट्दै जाने रहिछन्,’ निर्देशक खनालले ‘आमा’ आफ्नै आमासँग बसेर हेर्ने योजना बनाएका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×