‘यसपालि पोहोरकै तीज गीतले काम चलाउनुपर्ला’ 

लकडाउनको असर
रीना मोक्तान

काठमाडौँ — अवस्था पहिलेझैं सामान्य भइदिएको भए यतिबेला रेकर्डिङ स्टुडियोहरुमा तीज गीत रेकर्ड गराउनेको भीड हुन्थ्यो । म्यूजिक भिडियोका लागि सुटिङ सुरु भइसकेको हुन्थ्यो । वैशाख/जेठ तीज गीत गाउने सिजन हो ।

‘यसपालि पोहोरकै तीज गीतले काम चलाउनुपर्ला’ 

तर, यसपाली सिजन सुरु हुन नपाउँदै कोरोनाको प्रवेश भयो । गत वर्षको दृश्य यसपालि दोहोरिन पाएन ।

लोकगायक पशुपति शर्मा देशमा जारी लकडाउनले गर्दा तीज गीतको रेकर्ड सम्भव नरहेको बताउँछन् । ‘गाह्रो छ यसपालि । यतिबेला त गीत रेकर्ड गर्ने समय हो । तर, अहिले त स्टुडियोहरु नै बन्द छन् । स्टूडियो बन्द भएपछि गीत रेकर्ड नहुने भो । गीत नै नभएपछि भिज्युअलको काम पनि हुँदैन । यसपालि तीजका गीत रेकर्ड गर्ने सम्भावना मैले कम देखेको छु,’ उनले भने, ‘कोरोनाको संक्रमण संख्या बढेको देख्दा अब त्यस्तो माहोल नहोला भन्ने मलाई लाग्छ । यसपालि पोहोरकै गीतले काम चलाउनुपर्लाजस्तो मान्या छु ।’

तीज गीतमा व्यस्त हुने गायक शर्मा यतिखेर गृहजिल्ला स्याङ्जातिरै छन् । ‘तीजमात्रै होइन, दशैंपछाडिका सांगीतिक कार्यक्रम नै होला/नहोला टुंगो छैन । कोरोनाले संगीत क्षेत्रलाई एकदमै असर गर्‍यो । यो वर्ष सर्वसाधारण भेला गराएर गर्ने कार्यक्रम पनि कमै होला । मान्छे भेला गर्न नपाइने भएपछि सम्भावना कम देख्छु,’ उनी थप्छन् ।

लकडाउनले विदेशको तीज कार्यक्रममा पनि असर गरेको अर्का गायक दुर्गेश थापा बताउँछन् । गत वर्षको तीजमा गायक थापाले गाएको ‘बीच्चबीच्चमा...’ले वर्चश्व कायम गरेको थियो । ‘अस्ट्रेलियामा तीज कार्यक्रमको लागि जाने पक्का भइसकेको थियो । त्यहाँ आठवटा सो हुने कुरा थियो । अब लकडाउनले त्यो कार्यक्रम पनि हुँदैन होला,’ गायक थापाले भने, ‘तीजमात्रै होइन, यसपाली कोरोनाले दशैं महोत्सवमा पनि असर गर्ने देखिन्छ ।’

उनले यो तीजमा पनि नयाँ गीत ल्याउने सोचेका थिए । अब लकडाउनले गर्दा गीत रेकर्ड गर्ने उचित माहोल नभएको उनी बताउँछन् । अहिले उनी लकडाउनको समय बिताउन बाग्लुङ पुगेका छन् ।

तीज गीतमा अत्यन्तै व्यस्त रहने गायिका राधिका हमाल कोरोनाले गर्दा कलाकारको जीवन नै धरासायी भएको बताउँछिन् । ‘लकडाउनले संगीत क्षेत्रलाई अत्यन्तै असर गरेको छ । स्टेज सोमा भर परेर बाँचिरहेका हुन्छन् कलाकारहरु । रेकर्डिङ र दोहोरी साँझको कलाकारहरु त्यसरी नै बाँचिररहनु भएको थियो,’ उनले भनिन्, ‘अहिले हरेक काम सबै ठप्प हुँदा धरासयी नै छ । कलाकारको जिन्दगी झन महाधरासयी बनेको छ ।’

यो वर्षको तीजमा उनी आफ्नै गीत ल्याउने योजनामा थिइन् । अब त्यो योजना पूरा नहोला भन्ने उनलाई चिन्ता छ । कुनैबेला वर्षमा तीज गीत मात्रै ५३/५४ वटा गाउँथिन् राधिका । अरुका गीतमा स्वर दिन उनलाई भ्याइनभ्याइ हुन्थ्यो । गत वर्ष उनले १३ वटा तीज गीत बजारमा ल्याएकी थिइन् । अरुका ११ वटा तीज गीतमा स्वर दिएर आफैंले ‘जीवनसाथी’ र ‘भाग्यमानी’ बोलको दुइवटा गीत सार्वजनिक गर्न भ्याएकी थिइन् । देशमा लकडाउन नहुँदो हो त अनामनगरमा रहेको उनको स्टूडियो म्यूजिक बैंक नेपालमा अहिले गीत रेकर्डिङ गराउनेहरुको घुइँचो हुन्थ्यो । लकडाउनले गर्दा संगीत क्षेत्र नै ठप्प परेको उनी बताउँछिन् ।

‘यतिखेर गीतको रेकर्डिङ भइरहेको हुन्थ्यो । रेकर्डिङपछि मिक्सिङ र इडिटिङ गरेर असारको अन्तिमतिर बजारमा सार्वजनिक हुन्थ्यो । तयारी चाहिँ पहिल्यैदेखि गर्नुपर्छ । रेकर्डिङपछि पनि भिडियो सुटिङ गर्दा त समय लाग्थ्यो । लकडाउन थपिँदै जाँदा यसपालि गीतसंगीतको काम पनि ठप्प हुने भयो । त्यही पूराना गीत सुन्दै बस्नुको विकल्प छैन,’ राधिकाले सुनाइन् ।

अझै पनि उनको मनमा तीज गीत गाउन पाउँछु कि भन्ने झिनो आशा छ । ‘कोरोना भाइरसबाट जोगिएछ भने फेरि राम्रो भइहाल्ला । आशा त मर्दैन । अझै पनि अवस्था राम्रो भयो भने रेकर्ड गर्न मिलिहाल्छ कि भन्ने छ । बाँचेपछि नाचिन्छ,’ उनी भन्छिन् । हुन त उनका पति कृष्ण पुन संगीत एरेन्ज गर्छन् । नयाँ गीत ल्याउनै परे पतिले नै एरेन्ज गरिदिन्छन् । तर, म्यूजिक भिडियो नै बनाउने अवस्था नरहेपछि उनी गीत रेकर्डिङ गरिहाल्ने मुडमा छैनन् ।

कोरोनाले गर्दा उनले पनि विदेशका धेरै स्टेज सोहरु छाडिन् । हरेक तीजमा विदेशका स्टेज सोमा व्यस्त रहने राधिका यो वर्ष विदेश कार्यक्रम पनि टुंगो नरहेको बताउँछिन् । ‘तीज कार्यक्रमको लागि अस्ट्रेलिया जाने कुरा भइरहेको थियो । अब त जानी कुरा पनि भएन,’ उनले भनिन्, ‘विदेशको कार्यक्रम पनि नेपालबाट गएका एनआरएन दाजुभाईले आयोजना गर्नुहुन्थ्यो । अहिले उहाँहरुले पनि यस्तै अप्ठ्यारो परिस्थिति सामना गर्नुपरेको छ । अब त विदेश कार्यक्रम गर्न गाह्रै पर्ला ।’

तीजको म्यूजिक भिडियोका लागि दौडधुप गर्न व्यस्त हुन्थिन्, मोडल करिश्मा ढकाल । लकडाउनले उनलाई पनि यतिबेला फुर्सदिलो बनाइ दिएको छ । तीजको सिजन सुरु भएसँगै सुटिङ गर्दाका झल्कोले उनलाई सताइरहेको छ । ‘सुटिङ त एकदम धेरै मिस हुँदो रहेछ । यतिबेला हामी एकदमै व्यस्त भइन्थ्यो । घर बस्ने समय हुँदैन थियो । दिनमा ३/४ वटा गीतको सुटिङ हुन्थ्यो,’ उनले भनिन् ।

गत वर्ष करिश्माले ६० भन्दा बढी तीज गीतमा नृत्य गरेकी थिइन् । रातदिन सुटिङ गर्न उनलाई भ्याइनभ्याई हुन्थ्यो । ३/४ दिनमा एकपटक घर आउँथिन् । सुटिङले गर्दा निदाउने समय पाउँथिनन् । खाना खानेबेला झुपुक्क एकछिन निदाउँथिइन् । मेकअप गर्दागर्दै निदाउँथिन् । उनलाई अहिले लाग्न थालेको छ, त्यसरी नै काम गर्न पाएको भए ?

करिश्मालाई पनि लकडाउन चाँडै खुले केही गीतमा काम गर्न पाउने आशा छ । ‘लकडाउन खुल्यो भने भ्याइन्छ कि केही भए पनि भन्ने आश छ । तर खोइ, देशको अवस्था यस्तै छ । योपालिको तीज त यत्तिकै हुन्छजस्तो लागिसक्यो,’ उनले भनिन् ।

लकडाउनले तीजका म्यूजिक भिडियोमा नृत्य गर्ने कलाकारलाई असर परेको उनी बताउँछिन् । ‘तीजमा लगभग १० लाखभन्दा बढी कमाउँथें । मलाई मात्र होइन म्यूजिक भिडियोमा नाच्ने सबैलाई लकडाउनले गर्दा यसपालि बेफाइदा भयो,’ उनले भनिन् ।

प्रकाशित : वैशाख २५, २०७७ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?