कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

ऋषि कपूर र इरफानले एकसाथ खेलेको त्यो फिल्म, ऋषि बनेका थिए दाउद इब्राहिम 

काठमाडौँ — बुधबार बलिउडले अभिनेता इरफान खान गुमायो, बिहीबार ऋषि कपूर । ऋषि र इरफानले ‘डी–डे’मा एकसाथ अभिनय गरेका छन् । सन् २०१३ मा प्रदर्शन भएको यस फिल्मले व्यावसायिक रुपमा सफलता हासिल गरेन तर सकारात्मक प्रतिक्रिया बटुल्यो । ऋषि र इरफानको यो फिल्मको तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

ऋषि कपूर र इरफानले एकसाथ खेलेको त्यो फिल्म, ऋषि बनेका थिए दाउद इब्राहिम 

‘डी–डे’मा ऋषि कपुर कुख्यात अन्डरवर्ल्ड डन दाउद इब्राहिम बनेका छन्, पात्रको नामचाहिँ गोल्डम्यान राखिएको छ । उनी पाकिस्तानको कराँचीमा लुकेर बसेका हुन्छन् । भारतीय एजेन्ट बनेका इरफानचाहिँ उनकै निगरानीको लागि ९ वर्षदेखि कराँचीमा भेष बदलेर बसिरहेका हुन्छन् । गोल्डम्यानलाई मार्न भारतीय खुफिया एजेन्सीले कराँचीमा अन्डरकभर अपरेसन गर्छ, जसलाई इरफानले सघाउँछन् ।

यो फिल्मलाई भारतीयको स्वप्न मिसनका रुपमा प्रचार गरिएको थियो किनभने सन् १९९४ देखि भारतले दाउदलाई मस्ट वान्टेडको सूचीमा राखेको छ तर पक्रन सकेको छैन । भारतले दाउदलाई सन् १९९३ को मुम्बई आतंकवादी हमलाको मुख्य योजनाकार भन्दै आएको छ । दाउदको टाउकोको मूल्य २ करोड ५० लाख अमेरिकी डलर तोकिएको छ ।

तर, दाउदसँगको ऋषि कपुरको सम्बन्ध ‘डी–डे’को अभिनयमा मात्र सीमित छैन । फिल्ममा दाउद बन्नु २५ वर्ष अगाडि अर्थात् सन् १९८८ मा उनले दाउद इब्राहिमलाई प्रत्यक्ष भेटेका थिए । यसको खुलासा ऋषि स्वय:ले गरेका हुन् । सन् २०१७ मा प्रकाशित उनको बायोग्राफी ‘खुलम खुल्ला : अन्सेन्सर्ड ऋषि कपुर’ मा यो प्रसंग पढ्न पाइन्छ । पुस्तकको प्रमोशन दौरान इन्डिया टुडे टेलिभिजनसँगको अन्तरवार्तामा पनि ऋषिले दाउदसँगको भेट सविस्तार वर्णन गरेका छन् ।

उक्त अन्तरवार्तामा ऋषिले बताएअनुसार दाउदसँग उनको भेट दुबईमा भएको थियो । उनी एउटा इभेन्टका लागि दुबई पुगेका थिए, विमानस्थलमा ओर्लनेबित्तिकै एक जनाले ‘भाइ तपाईंसँग कुरा गर्नुहुन्छ’ भनेर फोन थमाइदियो । ‘कोही फ्यान होला भनेर कुरा गरें तर दाउद साहब रहेछन्,’ ऋषिले त्यो क्षण सम्झिएका छन्, ‘उनले मसँग भेट्न चाहन्छु, चिया पिउन आउनुहुन्छ भनेर सोधे । त्यसपछि म उनको घर गएँ ।’ त्यो समय दाउदको चिनारी ग्याङस्टारका रुपमा मात्र थियो, मुम्बई आक्रमण भइसकेको थिएन । ऋषिले अगाडि भनेका छन्, ‘उनी जेलमा थिएनन्, समाजमा हाम्रै वरपर घुमिरहेका थिए । अभिनेताको रुपमा यस्ता व्यक्तिसँग हामी सिक्छौं ।’ दाउदलाई त्यतिबेला भेटेकाले ‘डी–डे’मा अभिनय गर्न फाइदा भएको ऋषिको भनाइ छ ।

दाउदले ऋषिको राम्रो खातिरदारी गरे, चिया–बिस्कुट खुवाए । घरको ठेगाना थाहा नहोस् भनेर घुमाउँदै लगेका रहेछन् । दाउदले उनलाई भेट्नुको कारण रहेछ, फिल्म ‘तबायफ’ । सन् १९८५ मा प्रदर्शन भएको यस फिल्ममा ऋषि कपुरले हिरोइनलाई वेश्या बन्नबाट रोक्छन् । र, उनको चरित्रको नाम हुन्छ, दाउद । ‘तिमीले मेरो नाम सहि तरिकाले चिनायौं भन्दै खुशी व्यक्त गरे,’ ऋषिले भनेका छन्, ‘चार घण्टाको भेटमा मैले उनलाई मुम्बई आउन भनें तर यहाँ न्याय मिल्दैन भनेर आउन नचाहेको बताए ।’ दाउदसँग आफूले उपहार वा कुनै खालको सहयोग नलिएको ऋषिको भनाई छ ।

त्यसपछि ऋषिको दाउदसँग कहिल्यै भेट भएन तर पिता राज कपुरको निधन भएपछि दाउदले दुबईबाट एक जना आफ्नो मान्छे पठाएर संवेदना प्रकट गरेका रहेछन् । उक्त व्यक्ति आफ्नो घरमा आएर भेटेको र दाउदको सन्देश सुनाएको ऋषिले बताएका थिए ।

प्रकाशित : वैशाख १९, २०७७ ०१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?