१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

रजत जयन्ती मनाएको त्यो पहिलो फिल्म

भुवन केसीको स्मृतिमा 'कुसुमे रुमाल'
रीना मोक्तान

काठमाडौँ — कुनै समय थियो, नेपाली फिल्मको लागि निर्देशक बम्बईबाट ल्याउनुपर्थ्‍यो । फिल्मको स्क्रिप्ट, प्राविधिक टोली सबै बम्बईकै भर पर्नुुपर्थ्‍यो । गीत रेकर्डिङ होस् या डबिङ, फिल्मको पोस्टप्रोडक्सनका लागि बम्बई नै ताक्नुपर्थ्‍यो ।

रजत जयन्ती मनाएको त्यो पहिलो फिल्म

‘जुनी’ त्यही समयको फिल्म हो । भुवन केसीलाई अभिनेताको रुपमा रजतपटमा भित्र्याउने फिल्म पनि यही हो ।

‘जुनी’को डबिङका लागि बम्बई पुग्दा भुवनको भेट संगीतकार रञ्जित गजमेरसँग भयो । बिरानो मुलुकमा नेपाली दाजुभाइ भेटेपछि कुराकानी लम्बिने नै भयो । गफिँदै जाँदा अर्को नाता जोडियो । संगीतकार गजमेरले बानेश्वरको न्यू युनिभर्स बोर्डिङ स्कूलमा भुवनलाई संगीत पढाएका रहेछन् । लामो समयपछि गुरु चेलाको भेट भएपछि दुवै संगीत कक्षाका दिनहरुमा फर्के ।

त्यतिकैमा गजमेरले भने, ‘मेरो विद्यार्थी नायक भएछ, मलाई खुशी लाग्यो । तिम्रो लागि अर्को खुशीको कुरा छ । बम्बईमै बसेको केही भाइहरु फिल्म बनाउँदैछन् । तिमीलाई इच्छा छ ?’

गजमेरको कुरा भुईँमा नखस्दै भुवनले भनिहाले ‘छ नि । कलाकार नै बन्ने इच्छाले फिल्मको डबिङ गर्न यहाँ आएको छु ।’

त्यसपछि गजमेरले शम्भु प्रधान र तुलसी घिमिरेसँग भुवनको परिचय गराइदिए । शम्भु ‘सम्झना’ र तुलसी ‘कुसुमे रुमाल’ बनाउने तयारीमा थिए । यसअघि पनि अभिनेताका लागि उनीहरुले धेरै कलाकार भेटिसकेका थिए । भुवनसँगको भेटपछि उनीहरु प्रभावित भए । दुवैले भुवनलाई फिल्ममा लिने भए ।

भुवनको बम्बई बसाइ लम्बियो । किनकि शम्भुले भुवनलाई लिएर बम्बईमा फिल्मको ‘के सोचे मैले के भयो अहिले’ बोलको गीतको छायांकन थालिहाले । दुईदिनमा गीतको छायांकन सकियो । त्यसपछि उनी नेपाल फर्के ।

यो सन् १९८४ को कुरा हो ।

नेपाल फर्केर ‘सम्झना’को छायांकन सुरु गर्ने कुरा थियो । तर, तुलसीले पहिला ‘कुसुमे रुमाल’को छायांकन सक्ने निर्णय गरे । ‘कुसुमे रुमाल’को सुटिङ दार्जीलिङ र कालिम्पोङमा राखिएको थियो । छायांकनका लागि कलाकार नीर शाह र उनी कालिम्पोङ हिँडे । अन्य सबै कलाकार दार्जीलिङ र कालिम्पोङकै थिए ।

'कुसुमे रुमाल'काे एक दृश्यमा उदितनारायण र तृप्ति नाडकर

फिल्मका लागि अर्का कलाकार थिए, उदितनारायण झा । उनी हिन्दी फिल्मको गायक बन्नका लागि बम्बईमा संघर्षरत थिए । भुवन कालिम्पोङ पुगेकै दिन उदित पनि बम्बईबाट त्यहाँ आइपुगे । भुवन र उदित रेडियो नेपालमा संघर्ष गर्दाका साथी थिए । बम्बईबाट २५ जनाको प्राविधिक टोली जम्मा भएसँगै फिल्मको छायांकन सुरु भयो ।

दुई–टेक

त्यो एनालगको जमाना थियो । मनिटर हुन्थेन । कलाकारले जति टेक खायो, त्यति निर्माताको खर्च बढ्थ्यो । एक वा दुई टेकमा सट फाइनल गर्नुपथ्र्यो । ‘अहिलेजस्तो आफ्नो अभिनय हेरेर रि–टेक गर्न मिल्दैन थियो । क्यामेराम्यानले ओके भनेपछि निर्देशकले पनि ओके भन्नुपथ्र्यो,’ पूराना दिन सम्झँदै भुवनले भने, ‘हामीले कस्तो काम गर्‍यौं भनेर हामीलाई नै थाहा हुँदैन थियो । निर्देशकले क्यामेराको बाहिरबाट हेर्नुहुन्थ्यो ।’

त्योबेला दुईभन्दा बढी टेक लिने कलाकारलाई फिल्ममा लिने चलन थिएन । त्यस्ता कलाकारलाई व्यावसायिक मानिदैन थियो । ‘अहिले त कस्तो अभिनय भयो, हेयर स्टाइल कस्तो भयो, मेकअप कस्तो भयो भनेर मनिटरमा हेर्न पाइन्छ । त्योबेला त हामीलाई केही थाहा हुन्थेन । हामीले एकैचोटी हाम्रो गल्तीहरु हलमा दर्शकसँग फिल्म हेरेपछि नै थाहा हुन्थ्यो । अर्को फिल्ममा त्यो गल्ती सुधार्ने मौका मिल्थ्यो,’ उनले सुनाए ।

त्योबेला न अहिलेको जस्तो एक्टिङ वर्कसप हुन्थ्यो, न नेपालमा फिल्म पढ्ने स्कूल नै थियो । कलाकारले आफूभन्दा पूराना कलाकारबाटै अभिनय सिक्नु पथ्र्यो । भुवनलाई पनि धेरै टेक खाने डर हुन्थ्यो तर उनी विचारपूर्वक मनैदेखि अभिनय गर्ने प्रयास गर्थे ।

‘कुसुमे रुमाल’ विनोद प्रधानले खिचेका हुन् । पछि उनी भारतकै प्रतिष्ठित छायांकारमा दरिए । त्यो बेलाको छायांकनको माहोल वनभोजको जस्तै हुने गरेको भुवन सुनाउँछन् । ‘छायांकन त पिकनिकजस्तै हुन्थ्यो । अहिलेको जस्तो प्रतिस्पर्धा हुन्थेन । हामी त्यही खाना पकाएर खान्थ्यौं । हरेक दिन हाम्रो लागि पिकनिकजस्तो हुन्थ्यो,’ उनले पुराना पलहरु सम्झिए ।

अहिले त छायांकन सुरु गर्नु अगाडि कलाकारलाई कथा सुनाइन्छ । तर भुवन, उदितलाई फिल्मको स्क्रिप्ट नै थाहा हुन्थेन । उनीहरुलाई छोटकरीमा भूमिकाबारे मात्र जानकारी दिइएको हुन्थ्यो । स्पटमा पुगेको आधा घण्टा अगाडि डाइलग पाउँथे । त्यसैलाई याद गरेर टेक दिनुपथ्र्याे ।

तीनताका न फोन थियो, न टेलिभिजन । थोरैको घरमा टेलिफोन हुन्थ्यो । भुवनको घरमा टेलिफोन थियो । त्यही फोनमा बम्बईबाट उनलाई डबिङका लागि बोलाइन्थ्यो । उनी कुरा गरेको भरमा बम्बई पुग्थे । ‘कुसुमे रुमाल’को छायांकन कालिम्पोङ, दार्जीलिङ र टिस्टा बगरमा डेढ महिना लगाएर भयो । फिल्मको पोस्ट–प्रोडक्सनको काम बम्बईमै भयो । डबिङका लागि फेरि भुवन बम्बई पुगे । उनी नेपालबाट पटनासम्म प्लेनमा जान्थे । त्यसपछि २५ घण्टा ट्रेन चढेर आफ्नै खर्चमा बम्बई पुग्थे ।

पारिश्रमिक पाएनन्

भुवनले पारिश्रमिक नलिइ काम गरेका हुन्, ‘कुसुमे रुमाल’मा । फिल्ममा अनुबन्धित गर्नु अगाडि नै तुलसीले उनलाई भनेका थिए, ‘दुःख गरेर फिल्म बनाउँदैछौं । तिम्रो सहयोग चाहिन्छ । मुनाफा भयो भने केही पारिश्रमिक दिन्छु ।’

सम्झौता पत्रमा हस्ताक्षर हुने समय थिएन त्यो । विश्वासकै भरमा काम हुन्थ्यो । भुवनले सोचे, मुनाफा भए पारिश्रमिक पाइहाल्छु नि । तर, पूरा फिल्म बनेपछि नेपालबाट उद्धव पौडेलले यो फिल्म किने । पहिला दार्जीलिङको ब्यानरबाट बनेको थियो । त्यसपछि उद्धवले नेपालमा दर्ता गरे । फिल्म किनबेच भएपछि पारिश्रमिक पाउने भुवनको आश मर्‍यो ।

‘उद्धवजीसँग पारिश्रमिक मागे तुलसी घिमिरेलाई देखाउनुहुन्थ्यो । तुलसी घिमिरेसँग मागे, उद्धवलाई देखाइदिनु हुन्थ्यो । मैले त्यो फिल्मबाट पारिश्रमिक नै पाइनँ । तर, यो मेरो गुनासो चाहिँ होइन,’ उनले भने, ‘किनकी त्यो फिल्मबाट मैले सर्वाधिक हिट फिल्मको नायक हुन पाएँ । फिल्मले जय नेपालमा सिल्भर जुब्ली मनायो । त्यसैले पारिश्रमिक नपाउँदा पनि अत्यन्तै खुशी थिएँ ।’

त्यतिखेर काठमाडौंमा पाँचवटा फिल्म हल थिए । जय नेपालले भुवनलाई लोकप्रिय नायक भनेर सम्मान नै गर्‍यो । जय नेपालमा फिल्म छ महिना चलेको थियो । त्यसपछि सिल्भर जुब्ली मनाउने हिट कलाकार भनेर भुवन चर्चामा आए । फिल्मको सफलताले निजी क्षेत्रमा व्यापारिक दृष्टिकोण फेरिदिएको भुवन बताउँछन् ।

‘यसअघि अगाडि शाही नेपाली चलचित्र संस्थानले ४-५ वर्षमा एउटा फिल्म बनाउँथ्यो । 'माइतीघर'पछि निजी क्षेत्रबाट बनेको यो फिल्मले नाफा हुन्छ भन्ने व्यापारिक दृष्टिकोण निर्माण गर्‍यो,’ दंग हुँदै भुवन भन्छन्, ‘नेपाली फिल्म क्षेत्रको इतिहासमै पहिलो रजत जयन्ती मनाउने फिल्म बन्यो । यसले नेपाली फिल्मलाई आजको ठाउँमा पुर्‍याउनलाई योगदान दिएको छ ।’

जतिबेला मानिसहरु निजी क्षेत्रमा लगानी गर्न डराउँथे, त्यतिबेला यो फिल्मले बाटो खोलिदियो । त्यसअघि निजी क्षेत्रबाट एक–दुई फिल्म बने तर उति व्यसायिक सफलता हासिल गरिरहेको थिएनन् । आज पनि ’कुसुमे रुमाल’ भन्नासाथ भुवनलाई जय नेपालले रजत जयन्ती मनाउने नायक भनेर दिएको सम्मानको सम्झना आउँछ । ‘कुसुमे रुमालमा उदित, तृप्ती नाडकरसँग काम गरेको सम्झना आउँछ मलाई । आजसम्म पनि लोकप्रिय रहेका गीतहरु याद आउँछ । फिल्मका गीतहरु उदित, दिपा झा र आशा भोस्लेले गाउनु भएको थियो,’ पुराना दिन सम्झँदै उनले सुनाए ।

प्रकाशित : वैशाख १७, २०७७ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?