१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

निर्देशक विनोद पौडेलका फिल्म सिफारिस 

काठमाडौँ — 'बुलबुल' निर्देशन गरेर चर्चा बटुलेका निर्देशक बिनोद पौडेलको लकडान दैनिकी अहिले फिल्म सम्बन्धि पुस्तक पढेरै बितिरहेको छ । फिल्महरु पनि हेर्छन् । दोहोर्‍याएर फिल्म हेर्न रुचाउँछन् उनी । त्यसैले पूराना फिल्महरु दोहोर्‍याएर हेरिरहेका छन् । 

निर्देशक विनोद पौडेलका फिल्म सिफारिस 

घरका काम फिटिक्कै छुँदैन थिए पहिला । अहिले घरको काममा सहयोग गर्न थालेका छन्। कहिले भाँडा माझिदिन्छन् । परिवारसँग समय बिताइरहेका छन् । छतमा गएर सूर्य उदाएको अस्ताएको हेर्न छुटाउँदैनन् । किनकि व्यस्त जिन्दगीले ती सबै कुरालाई बेवास्ता गरिएको अहिले उनलाई आभास भएको छ । त्यसैले घर छेउको रुखहरु, अनि चरा उडेको दृश्य उनी आनन्द मानेर हेर्छन् । योगा गर्छन् । प्रकृतिसँग नजिक हुन पाएका छन् । सामाजिक सञ्जाल चलाउन छोडेका छन् । समाचारहरु भने हेरिरहन्छन् । लकडाउनमा प्रकृतिको सुन्दरतामा रमाइरहेका बिनोदले आज उनलाई मनपर्ने ६ फिल्म यहाँ सिफारिस गरेका छन् ।


एण्ड लाइफ गोज अन

यो फिल्मलाई इरानी निर्देशक अब्बास किरुस्तामीले निर्देशन गरेका हुन् । यो रोड मुभी हो । यसमा एक फिल्म निर्देशक छोरासँग अघिल्लो फिल्ममा अभिनय गरेको बाल कलाकारलाई भेट्न जाँदै हुन्छन् । ईरानमा आएको भूकम्पमा पचास हजारले ज्गान गुमाएका छन् । बालकलाकार बस्ने ठाउँमा पनि भूकम्पले धेरैको ज्यान लिएको छ । त्यसबारे खबर लिन जाँदै गरेका बाबु र छोराको यात्रामा भेटिने धेरै मानिसको दृष्टिकोणलाई फिल्ममा दुरुस्तै देखाइएको छ ।


त्यति ठूलो घट्नामा हजारौं मानिसको ज्यान गएको छ। हजरौं घरविहिन भएका छन् । तर, त्यसबीच पनि जीवन चलिरहन्छ । जीवनका अनेका पाटाहरु सकिएका छैनन् । मानिसको जीवन रोकिएको छैन । भूकम्पलाई लिएर आ-आफ्नै दृष्टिकोण छ । निर्देशकले सबैको भावनाले बढाइचढाइ नगरि देखाएका छन् । यो फिल्मलाई उनले फिक्सन र नन-फिक्सनबीचमा बसेर न्यारेटिभी डिजाइन गरेका छन् ।


अहिले कोरोनाले संसार हल्लाईरहेको अवस्थामा मलाई यो फिल्म सान्दर्भिक लाग्छ । जीवन जोखिममा छ तर रोकिएको छैन। यो फिल्ममा निर्देशकले कुनै एक धारणा देखाउन खोजेका छैनन् । जीवनको सत्यलाई देखाएका छन् । फिल्ममा वास्तविक भूकम्प पीडितहरु नै कलाकार छन् ।


अ साइलेन्ट लाइट

यस फिल्मलाई मेक्सिकन निर्देशक कार्लोस रेगादसले निर्देशन गरेका हुन् । पचास कटेका विवाहित व्यक्ति जसले आफू अर्कै महिलासँग सम्बन्धमा रहेको कुरा श्रीमतीसँग स्वीकारेबाट फिल्मको प्लट सुरु हुन्छ । एकदम कवितात्मक न्यारेटिभ छ फिल्ममा । फिल्ममा 'र' एक्टरहरुको अभिनय छ । शब्दले होइन, दृष्य भाषाले, प्रकाशले, साउन्डले क्यामेराले धेरै बोल्छ फिल्ममा । फिल्ममा लामा सटहरुको प्रयोग छ । ती सटहरुमा धेरै कुराहरुको तह हेर्न सकिन्छ । फिल्मको अन्त्य 'सरियल' (अतियथार्थ) छ । फिल्मको शीर्षक आफैंमा सरियल छ । यसको कथाभन्दा पनि यो फिल्मको कथा भन्ने शैलीले मलाई छोएको हो । मलाई मनपर्ने फिल्ममध्यको एक हो यो । म निर्देशक कार्लोसको ठूलो फ्यान हुँ ।


सम्बन्धको असमानतालाई यति मज्जाले भनेको छ कि अहिलेको अवस्थामा एक्लै बसेर आनन्दले यो फिल्म हेर्दा, सुन्दा ध्यान गरेको अनुभव हुन्छ मलाई ।


रेन कोट

यस फिल्मका निर्देशक रितुपर्नो घोस हुन्। फिल्मको कथा ओ हेनरीको कथाबाट एडप्ट गरिएको हो । बलिउडको फर्मुलाभन्दा केहिमाथि, रोमान्टिक ड्रामालाई सुक्ष्म तरिकाले बुनिएको फिल्म हो यो । अजय देवगन र ऐश्वर्य राय बच्चनलाई लिएर मिठो कला सृजना गरिएको छ । हेर्दा मिठो अनुभुति दिएर जान्छ फिल्मले । दुई पात्र, एउटै कोठा अनि वर्षालाई लिएर मिठो संयोजन गरिएको न्यारेटिभ छ । यसमा पानी अर्को पात्रजस्तो लाग्छ । अजय र ऐश्वर्यको केमेस्ट्री एकदम नेचुरल लाग्छ । कम बजेटमा, सानो सेटिङमा यति बाँधिरहने र कलात्मक फिल्म छ यो । मैले धेरै पटक हेरेको छु यो फिल्म । मेरो फिल्मप्रतिको अन्तरदृष्टि फेरेको फिल्म हो यो ।


द्‍याट अब्स्क्योर अब्जेक्ट अफ डिजायर

यो कमेडी ड्रामा फिल्मलाई लुइस बनेल्सले निर्देशन गरेका हुन् । यो फ्रेन्च भाषाको फिल्म हो । खासगरि लुइस 'सरियल' न्यारेटिभको एकदम विचारशील निर्देशक मानिन्छन् । आफू ८० वर्षको हुँदा उनले यो फिल्म बनाएका थिए । आफ्नो उमेर अनुसारको पात्रको मनोविज्ञानको फिल्मबाट देखाएका छन्, मलाई यो फिल्म मन पर्ने कारण पनि यही हो । एक ६० वर्षको केटाको १९ वर्षकी केटीसँग शारीरिक सम्बन्धको इच्छासँगै फिल्म बडो रोचक तरिकाले सुरु हुन्छ । ट्रेनमा म्याथिउ गइरहेका हुन्छन् । अचानक एकजना १९ वर्षको युवती पनि उनको पछि दौडेर आइरहेकी हुन्छे । म्याथ्युले ट्रेनभित्रको शौचालयबाट बाल्टीमा पानी भरेर त्यो युवतनीमाथि खनाइदिन्छन् । युवती ढल्छिन् । ट्रेनमा यात्रा गरिरहेका सबैजना अचम्ममा पर्छन् । फिल्म यहींबाट सुरु हुन्छ । बीचमा फ्ल्यासब्याकको पनि प्रयोग हुन्छ ।


मलाई मनपरेको कुरा, शारीरिक इच्छालाई, पुरुष मनोविज्ञान र महिलाको मनोविज्ञानबाट सुक्ष्म ढंगले फिल्ममा केलाइएको छ । फिल्मको अन्तिम दृष्य एकदम 'सर्रियल' छ । ओपन इन्डिङ छ ।


यो अन्तिम दृश्यले पूरा फिल्मको यात्रा नै अति यथार्थ ढंगले जोडेको छ । फिल्मको प्रमुख पात्रभित्र भवगान र राक्षसको गुण मिसिएको छ । यो फिल्मले कमर्सियल फिल्मले जसरी बाँधेर राख्छ । सन् १९७७ मा बनेको यो मास्टरपिस हेर्दा हाम्रा फिल्म कत्ति पनि छेउ नपुगेको देख्दा दु:ख लाग्छ ।


एट एण्ड हाफ

फेडेरिको फेलिनीले निर्देशन गरेको यो फिल्म मास्टर पिस हो । एकजना चर्चित इटालियन निर्देशकले साइन्स फिक्सन फिल्म बनाउँदै हुन्छन् । यही दौरान उनी अचानक 'डिरेक्टर्स ब्लक'को सिकार हुन्छन् । उनले एउटा समीक्षक हायर गर्छन् तर उसको बुझाई र निर्देशकको बुझाई मिल्दैन । फेलिनीले आफ्नो वास्तविक जीवनमाथि यो फिल्म बनाएको पनि भनिन्छ । फिल्मको न्यारेटिभ सर्रियल छ । भूत र वर्तमानलाई सरियल डिजाइन गरिएको छ । फिल्मको सुरुवात एकदम गजब्बको सर्रियल डिजाइनबाट सुरु हुन्छ । निर्देशक ट्राफिक जाममा फँसेको छ । अचानक त्यो भीडमा उ उड्न थाल्छ । उड्दै गर्दा उसको खुट्टामा धागोले बाँधेर तल खसालिन्छ । यो दृश्यले धेरै अर्थ राख्छ । यो फिल्म हेरेपछि फिल्मलाई हेर्ने मेरो दृष्टिकोण फरक भएको थियो । म त्योबेलासम्म फिल्मलाई एउटै दृष्टिले हेर्थें । त्यसैले हरेक फिल्ममेकरले फेलिनीको फिल्म हेर्नुपर्छ भन्छु म ।


मिरर

आन्द्रेई तारकोवस्की मास्टर निर्देशक हुन् जसले फिल्मको सबै दृष्टिकोण नै बदलिदिए । उनले फिल्मले लिट्रेचरको साहयता लिनुपर्दैन, फिल्म आफैंमा ठूलो सम्भावना हो भनेर घोषणा गरेका थिए । उनले फिल्म पनि लिट्रेचर हो भन्ने कुराको विरोध गरे । उनले फिल्मलाई आत्मिक कुरासँग जोडेर हेर्छन् । उनको फिल्मको संरचना पूरै नन-लियर हुन्छ । 'मिरर'ले तारकोवस्कीको बाल्यकालको सम्झनाहरुलाई देखाएको छ । फिल्मले प्रि-वार, वार-टाइम र पोस्टको यात्रा भन्छ । मुख्य पात्र वरिपरि नै फिल्मको कथा घुमेको छ ।

प्रकाशित : चैत्र २३, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?