अभिनेत्रीहरुको लकडाउन : फिल्म, खाना र परिवार

रीना मोक्तान

काठमाडौँ — सँधै फिल्ममा व्यस्त हुने अभिनेत्रीहरुले लकडाउनको समयलाई मुश्किलले पाइने छुट्टीका रुपमा लिइरहेका छन् ।

अभिनेत्रीहरुको लकडाउन : फिल्म, खाना र परिवार

घरको काम र ध्यानमा व्यस्त रेखा

जाडो छल्नलाई तिहारमा आमा मोरङ गाउँ गएदेखि म घरमा एक्लै छु । एक्लै भएपनि दिक्क लागेको छैन । म पहिलेदेखि नै अनुशासनमा बस्ने मान्छे हुँ । बिनाकाम लखरलखर हिँड्ने मेरो बानी छैन ।


बिहानै उठेर व्यायाम गर्छु, योगा गर्छु । लकडाउनदेखि नै घरको सहयोगी दिदीलाई घरमै सुरक्षित भएर बस्‍नुस् भनेर छुट्टी दिएकी छु । यसैले घरका काम सबै म आफैं गर्छु । घरको काम मेरालागि एकखाले हिलिङजस्तै भएको छ । र, मैले उहाँको जीवन र दुख्ख बुझ्ने मौका पनि पाएँ । आफूले खाएको, लाएको कुरा आफैंले सफा गर्नु एकप्रकारको ध्यान नै रैछ । ध्यान पनि गरिररहेकी छु । आसनमा बसेर आँखा चिम्लनुमात्र ध्यान होइन । जे काम गर्छौं, त्यसमा दत्तचित्त हुनु पनि एक किसिमको ध्यान नै हो ।


म स्थानीय तह, वडा अध्यक्ष र मेयरसँग सहकार्य पनि गर्दैछु । हाम्रो वडामा कसरी मानिसलाई सुरक्षित गर्न सकिन्छ भनेर योजना बनायौं । घर बसेरै काम भइरहेको छ । यतिखेर म सरकारकै मुख ताक्नेहरु देख्छु । सरकारको मात्र आलोचना गरेको देख्छु । जुन गलत हो । यो बेलामा भ्रष्टाचार नै गयो रे, यो कोरोनाको त्रास सकिएपछि हिसाब गर्दा भो त । अहिले मानव जीवन नै धरापमा छ । हाम्रोमाथि मृत्यु मडारिइरहेको छ । यो बेला मजाक र छेडखाड गर्ने बेला होइन। तर किन मानिसहरुले बुझिरहेका छैनन् ।


हाम्रो वडामा हरेक तीसवटा घर लक गरेर एकजना लिडर छानिदिएका छौं । त्यहाँको रेखदेख भइरहेको छ । यसरी को–को बाहिरबाट आए, थाहा हुन्छ । वुहानमा पनि यही गरेको होइन त ? यहाँ हावातालमा आलोचना भइरहेको जस्तो पनि देखिन्छ । सबलाई कुर्सी चाहिएको छ । मलाई यो कुरा ठीक लागिरहेको छैन ।


यो कोरोना कहिले जान्छ थाहा छैन । रोग, त्रासबाट मुक्त भए पनि भोकमरिले मर्ने सम्भावना छ । डायनोसरको जस्तो हाम्रो अस्तित्व होला भन्ने पीर छ । म यी सब हेरिरहेको छु ।


मानिसमा सन्तुलित भोजन अभ्यास छैन । सन्तुलित भोजन खानुपर्‍यो । यो बेला तनाव, चिन्ता बढ्नसक्छ । मन बिचलित हुनसक्छ । यो लकडाउनको समयलाई सहज रुपले लिनुपर्छ । सिंगो पृथ्वी लकडाउनमा छ, हामी मात्र होइन । यसरी बसेर हामीले मानवजाति र प्रकृतिको सुरक्षा गरिरहेका छौं भन्ने अनुभव गर्‍यौं भने तनाव कम हुन्छ ।


अरु बेला त पैसा र शक्तिका लागि दौडधुप गर्दा कसले आफ्ना लागि समय छुट्यायो त ? कसैले छुट्याएन । जन्मियो, पढाई, जागिर, त्यसपछि बुढेसकाल त्यसपछि त सकियो जीवन । यो यति सुन्दर समय छ हामीसँग । यो समयमा आफूले आफूलाई भेट्ने कोशिस गर्नुपर्छ । जो व्यक्तिले आफूलाई भेट्छ, उसले संसार जित्छ ।


यो भयभीत अवस्थामा मानवजातिको रक्षा गर्न सक्यौं भने हामी एकदम राम्रो युगमा प्रवेश गर्छौं । यो त मानवले मानवता के हो भन्ने कुरा बुझ्ने अवसर होजस्तो लाग्छ । मै खाउँ मैं लाउँ भन्ने अमानवता अब नयाँ युगमा प्रवेश गर्नेछ भन्ने आशमा छु । होला, यो बेला हाम्रो अर्थतन्त्र ध्वस्त होला । हामी बाँचे मिलेर देशलाई उठाउन लागीपरौंला नि !



युट्युबबाट परिकार बनाउन सिक्दै वर्षा

घरमै बसिरहेको छु । खाली समयको उपयोग गरेर फिल्म हेर्ने, खाना पकाउने । लकडाउनमा खासै विशेष त केही भएको छैन । फिल्महरुमा व्यस्त हुँदा परिवारसँग समय बिताउन पाइरहिएको हुँदैन । अहिले त्यो समय पाइएको छ । लकडाउनपछि मेरो दुइटा फिल्मको सुटिङ सुरु हुँदैछ । झन व्यस्त हुने समय छ । त्यसैले पनि यो खाली समयको मलाई महत्व छ ।


युट्युबबाट नयाँ-नयाँ परिकार बनाउन सिक्दैछु । यसरी नै यो लकडाउनको समयको सदुपयोग गर्दैछु । आफूलाई के-के पकाउन आउँदैन त्यो सब सिक्दैछु । मनपर्ने फिल्महरु हेर्दैछु । वर्षैंसम्म कुरा नगरेको पूराना साथीहरुसँग पनि भिडियो कल गरेर कुरा गर्दैछु । लकडाउनको सुरुवातमा त बोरिङ लागेको थियो । अहिले त यही जीवनसँग बानी परेको छ । अब लकडाउन खुल्यो भने चाहिँ कसरी बाहिर निस्कने भन्ने समस्या होलाजस्तो छ । सामान्य जीवनमा आउन केही समय त पक्कै लाग्ला ।


यसरी घरमा बसिरहँदा सुटिङ सेटको रमाइलो मिस हुँदो रहेछ । घरमा त जिम्मेवारी हुन्छ नि ! अहिले सुटिङ सेटभन्दा पनि हाम्रो स्पटब्वाई, किचनको दाइ, मेकअपको सहयोगी साथीहरुको जीवनमा अपठ्यारो पर्‍यो होला भन्ने सोच आइरहेको छ । किनकि उहाँहरु त दैनिक काम गरेर आफ्नो जीवन चलाउनुहुन्छ। काम नहुँदा गाह्रो भयो होला ।


यो दुई हप्तामा दुईतीन पटक जति योगा गरें हुँला । लकडाउन यसरी नै बितिरहेको छ ।


फिल्म हेरेर समय बिताउँदै रिमा

हुन त हाम्रो कामको प्रकृति नै फरक छ । हामी बाहिर काम गर्छौं । त्यसैले यति लामो समय घरमा बस्ने अवसर खासै मिल्दैन। यसपालि लकडाउनले अरु साथीहरुले लकडाउनमा बोर लागेको भन्नुहुन्छ । खासमा मलाईचाहिँ रमाइलो लागिरहेको छ । मनमा एक किसिमको डर त छ । त्यो सबैमा छ ।


हुन त हामी सँधै सुटिङको लागि बाहिर-बाहिर हिँडिरहेका हुन्छौं । चाडवर्पमा पनि भ्याइनभ्याई हुन्छ । परिवार र साथीभाइलाई दिने समय पनि खासै पाइदैन । लकडाउनले परिवारलाई दिने समय मिलाइदिएजस्तै भएको छ ।


अहिले सबैको मनमा कसरी सुरक्षित बस्ने भन्ने चिन्ता छ । मैलेचाहिँ हरेक कुरालाई सकारात्मक भएर हेर्छु । यसैले अहिले लामो बिदा पाएको ठानेकी छु । फिल्म त म अरुबेला पनि हेरिरहेकी हुन्छु । अहिले समय पनि अलि बढी भएकले अलि धेरै फिल्महरु हेर्दैछु । त्योबाहेक मैले 'चाणक्य' भन्ने पुस्तक पनि पढी सीध्याएँ । म भान्सामा त्यति छिर्ने मान्छे त होइन । योपटक भान्सामा गएर कुकिङ पनि गर्दैछु ।

प्रकाशित : चैत्र २३, २०७६ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?