खगेन्द्र लामिछानेको रोजाइका १० फिल्म 

रीना मोक्तान

काठमाडौँ — आफैंले लेखेको नाटक 'पानीफोटो'मा व्यस्त थिए कलाकार खगेन्द्र लामिछाने । आफ्नो पहिलो निर्देशन रहेको फिल्मको काम अगाडि बढ्न  सकेन । सरकारले लकडाउन घोषणा गरेसँगै फिल्मको काम स्थगित गरेर उनी घरतिरै छन् ।

नयाँ फिल्मको स्क्रिप्ट लेख्दैछन् । नयाँ प्रोजेक्ट आगामी दशैंबाट छायांकनमा जाने तयारी छ । आफ्नो लकडाउन स्क्रिप्ट लेखेरै बितिरहेको उनी सुनाउँछन् ।


'म काठमाडौंमै छु । दशैंपछाडि गर्ने भनेको प्रोजेक्टको स्क्रिप्टमा छु । अहिले त्यही स्क्रिप्टको रि-राइट गरिरहेको छु' उनले भने । खगेन्द्र 'बधशाला', 'टलकजंग भर्सेज टुल्के' र 'पशुपतिप्रसाद'जस्ता फिल्मबाट स्थापित भएका कलकार हुन् । खगेन्द्र पुस्तकका लेखक पनि हुन् । उनले लेखेको पछिल्लो फिल्म 'धनपति' हो भने उनको कथासंग्रह 'फूलानी' प्रकाशित छ ।


यो लकडाउनको अवधि अधिकांश फिल्मप्रेमी दर्शकका लागि त फिल्म हेर्ने गज्जबको समय नै हो । लकडाउनमा रहेका दर्शकका लागि यहाँ खगेन्द्रले आफूलाई मनपरेका १० फिल्म सिफारिस रेका छन् । यी फिल्महरु उनले कुनै धेरै अगाडि हेरेका हुन् भने केही हालसालै ।



उनी फिल्म हेरेपछि दर्शकले फिल्मप्रति आफ्नै धारणा बनाउनुपर्ने मान्यता राख्छन् । त्यसैले तल दिएका फिल्ममाथि उनले कुनै धारणा दिएका छैनन् । 'यी फिल्म मैले हेरेर रिकमेन्ड गरें, अब दर्शकले आफ्नो तरिकाले हेर्ने हो । दर्शकले फिल्म हेरेर आफ्नो धारणा आफैं बनाउन जरुरी हुन्छ । फिल्ममात्र होइन पुस्तक पढ्दा अथवा नाटक हेर्दा होस्, मूल्यांकन आफैंले गर्ने हो,' उनले भने । लकडाउनको खाली समय फिल्मप्रेमी दर्शकका लागि उनले दिएको फिल्महरु असली खुराक हुन सक्छन् । यस्ता छन् खगेन्द्रको रोजाइका फिल्म :


१. बाइसाइकल थिफ्स, निर्देशक : भिट्टेरियो डेसिका, इटाली

२. द व्बोइ इन्द द स्ट्रिप्ड पाइजामा, निर्देशक : मार्क हरमन, बेलायत

३. द टर्मिनल, निर्देशक : स्टिवन स्पिलवर्ग, अमेरिका

४. द बिज्रेज अफ मेडिसन काउन्टी, निर्देशक : क्लिन्ट इस्टवुड, अमेरिका

५. ह्वाट्स इटिङ गिलबर्ट ग्रेप, निर्देशक : लेसी ह्यालस्ट्रोम, अमेरिका

६. रसोमन, निर्देशक : अकिरो कुरोसावा, जापान

७. प्यारासाइट, निर्देशक : बोङ जोन हु, कोरिया

८. पाथेर पांचाली, निर्देशक : सत्यजित रे, भारत

९. फोरेस्ट गम्प, निर्देशक : रोबर्ट जेमिक्स, अमेरिका

१०. नुमाफुङ, निर्देशक : नवीन सुब्बा, नेपाल

प्रकाशित : चैत्र २२, २०७६ ०९:५८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सुनौं, चुरोट छाड्नेको कथा

खुसी बनाउन धेरै कुरा बटुल्नैपर्छ भन्ने छ र? कुनैकुनै चिज त्यागेर पनि त परिवार खुसी हुँदो रहेछ।
राजेन्द्र कोजु

चुरोट खानुहुन्न भन्ने सबैलाई थाहा छ। तर छोड्ने विरलै पाइन्छन्। यद्यपि छोड्नेहरु पनि छन्। आज छोड्नेको कथा सुनौं।

पहिलो कथा
प्रेमचरा चुरोट खान्थ्यो। खैनी खान्थ्यो। चियाको त के कुरा। प्रेमचरी भने चुरोटखैनीको गन्ध पनि मन नपराउने। दाजुले खैनी खाए दाजुसँगै बाझ्ने, बुवाले खाए थर्काइहाल्ने, कक्षाका साथीहरुले खाए नजिकै नपर्ने। उसका आफ्नै साथीहरुले पनि खाँदैनथे।

घुम्रिएको कपाल, छोटो दाह्री, बाक्लो आँखीभौं, हँसिलो अनुहार, छरितो ज्यानमा गोलगला टिसर्ट रजिन्स, कन्भर्स जुत्ता। प्रेमचरा देखेपछि प्रेमचरीको मनमा अनौठो लहर चल्यो। सायद कसैले त्यत्ति आकर्षण गरेकै थिएन होला, जत्ति त्यो केटाको हेराइले गर्‍यो। थाहै नपाई मिठो मुस्कान फर्काइदिई। गहुँगोरो, सुलुत्त परेको अनुहार, मुठ्ठा पारेको कपाल, लिपिस्टिक नै नलाए पनि टल्किने ओठ, हल्का गाजलमा अति सुन्दर आँखा, खिरिलो ज्यानमा जिन्स र टिसर्ट। खुल्ला आवाजमा हाँस्दा वातावरण नै भरिलो बनाउने बानी। प्रेमचरीले केटोलाई प्रेमचरो बनाइहाली। देखादेखमै केही हप्ता बित्यो।

प्रेमचरी साथीसँग हिँड्दै थिई। प्रेमचरोसँग भेट भयो। मसक्क हाँस्दै हाईहेल्लो चल्यो। हिँड्दै दुवैबीच केहीबेर कुरा भयो। उत्साह, रोमाञ्च, मक्ख, हतास र अलिअलि डरसँगै दुवैको पहिलो भेटघाट टुंगियो।

चिया पसलमा दोस्रो भेट भयो। अलि नजिकिए। दुवैले चिया खाए। प्रेमचरोलाई चुरोटको तलतल लागिसकेको थियो। प्रेमचरीको चुरोटप्रतिको धारणा थाहा पाइनसकेकाले सहेरै बस्यो। रमाइला कुरा गर्दागर्दै समय बितिहाल्यो।

भेटघाट र कुराकानीमा प्रेमचरीले चुरोट मन नपराउने र खाएको मान्छे पनि मन नपराउने कुरा उसले थाहा पायो। यसबीच दुवैमा गाढा माया बसिसकेको थियो। प्रेमचरोले आफ्नो चुरोट खाने बानीबारे भनेको थिएन।
एक दिन चुरोट खाइसक्नासाथ झ्वाट्टै प्रेमचरी देखापरी। प्रेमचरी नजिकै गएर के भन्न मात्र लागेकी थिई, ह्वास्सै चुरोटको गन्ध आयो।

‘चुरोट खाएको? मलाई चुरोट खाने मान्छे पट्टक्कै मन पर्दैन।’ यत्ति भनेर फन्‍किँदै ऊ हिँडिहाली। अब प्रेमचरोलाई फकाउन धौधौ भयो। यसो भन्यो, उसो भन्यो। अहँ, मानेकै होइन।

एक-अर्काप्रतिको माया गहिरो थियो। प्रेमचरो त झन् मायाको सागरमा डुबेकै थियो। संसार त्याग्न सक्ला, प्रेमचरीलाई चाहिँ, नाइँ। अन्तमा आफ्नी प्यारी प्रेमचरीको लागि चुरोट त्याग्ने निष्कर्षमा पुग्यो। आज चुरोटलाई ऊ हेर्दा पनि हेर्दैन। दुवै खुसी छन्। दन्तमञ्जनको विज्ञापनमा जस्तै दुवैले एक-अर्काको सास अधिक मन पराउँछन्।

दोस्रो कथा
एक भद्र पुरुष कता-कताबाट चुरोटको लतमा परिहाले। खानुहुन्न भन्ने थाहा छ। आफूले खाएको न श्रीमतीले मन पराउने, न छोरीले। कहिलेकाहीँ आमाछोरीले कुरा काटेको पनि सुनेका छन्। छोड्छु भन्छन्, सक्दैनन्। कमसेकम श्रीमती र छोरीको अगाडि त नखाऊँ भनेर कोसिस गरे तर साथीभाइ सँगै हुँदा, एक्लै हुँदा खाइहाल्ने।

आत्मग्लानि, श्रीमती र छोरीको मन नपराइ, स्वास्थ्यमा नराम्रो असर, कुनै महत्वपूर्ण बैठकमा कसैको नाक खुम्च्याइ, १०/२० रुपैयाँ गर्दै हजारौं खर्च, तलतलले गर्दा खानु नहुने ठाउँमा छटपटी। यस्ता कारणले गर्दा एक दिन निर्णय गरे– भगवान्, म तिमीलाई साक्षी राखेर चुरोट छोड्छु। यो मेरो भाकल पनि भयो।

र, त्यही भगवान्‌को मन्दिरमा पुगेर चुरोट त्यागिदिए। आज, भद्र पुरुष त खुसी छँदै छन्। श्रीमती छोरी अझै धेरै खुसी छन्।

‘खुसी बनाउन धेरै कुरा बटुल्नु नै पर्छ भन्ने छ र? कुनैकुनै चिज त्यागेर पनि त परिवार खुसी हुँदो रहेछ।’ आज उनी यसो भन्दै हिँड्छन्।

तेस्रो कथा
८५ वर्ष पुगेका हजुरबाले ६० मा चुरोट छाडे। बालखैमा खान थालेका रहेछन्। तमाखु र बिँडीबाट लत बसाएका उनले गैंडा, याकसम्म भ्याए। सूर्य त तान्नै पाएनन्।
‘कसरी छोडियो त बा?’
‘खानुहुन्न पनि थाहा थियो। हानिकारक छ पनि थाहा थियो। तैपनि छोडेको थिइनँ। कसैको कुरा सुन्न पनि सुन्दिनथेँ।’
‘अनि?’
‘एकदिन फुच्चे केटोले सोध्यो- अनि हजुरबा, हामीलाई चाहिँ खानुहुन्न भन्नुहुन्छ, आफूचाहिँ तान्ने? मेरो मनमा च्वास्सै बिझ्यो। यो फुच्चेले सोधेको प्रश्नमा पनि मैले ढाँट्ने? आफैलाई त ढाँटे, ढाँटे। यिनलाई चाहिँ ढाँट्नुहुन्न भनेर चटक्कै छोडेँ।'
आज हजुरबाले सुनाइरहनुछन् यो कथा। त्यो फुच्चे अहिले ठूलो भइसक्यो। अरुलाई चुरोट नखान उसले पनि यो कथा जोडिइरहन्छ।

चौथो कथा
कलेजका युवतीहरु विभिन्न भावभंगीमाका साथ चुरोटको धुवाँ उडाउँदै गफिँदैथे।

‘अस्तिको पार्टी त बब्बाल थियो, दुई जनालाई क्या बिल्ला गरियो।’
चुरोटको धुवाँ सहन नसक्नेले भनी, ‘कति चुरोट तानिराख्या? दुइटा सिध्याइसक्यो।’
‘मज्जा हुन्छ नि। तँ पनि तान् न। बोल्ड पनि देखिन्छ क्या।’
अर्कीले भनी, ‘रमाइलो गर्नुपर्‍यो नि। केटाहरुले मात्र खाने भन्ने त छैन नि यार्।’
‘मलाई बोल्ड पनि हुनुछैन। खानु पनि छैन। मेरो दिदीले पहिला कलेजमा साथीहरुसँग खाने गर्थी। घरमा थाहा पाउँदैनथे। मलाई थाहा भए पनि दिदीले भन्न दिँदैनथी। ऊ त पार्टीमा बियर, वाइन पनि मस्त पिउँथी।’
‘तैंले सिकिनस्?’ हाँस्दै अर्कीले सोधी।

‘अनि सुन् न, कुरा। डेढ वर्षअघि दिदीको बिहे भयो। भेना पनि खाने भएकाले खासै चुरोटको कुराकानी भएन। दिदी प्रेग्नेन्ट भएपछि जँचाउन गई। स्वास्थ्यकर्मीले भनेछन्- चुरोट खानुहुँदो रहेछ, यसले आमा र पेटभित्रको बच्चालाई निक्कै खराब गर्न सक्छ। बच्चाको वृद्धि विकासमा खराब असर पर्नेदेखि जन्मजात रोगी हुन हुन सक्छ। चुरोट छोडिहाल्नोस्। चुरोटको लती भएकाले दिदीले यसलाई गम्भीर रुपमा लिइन। सबैले चुरोट त्याग्ने सुझाव दिए। सायद उसले मातृत्वको महसुस गरी। शिशुको कल्पना, सपना, भविष्य सबै झल्झल्ती देखी होला। रोगी शिशु जन्मेको कल्पनाले मुटुमै गाँठो पर्‍यो सायद। तब उसले तत्काल धूमपान र मद्यपान छोड्ने निर्णय गरी। रमाइलो कुरो त भेना पनि दिदीकै पछि लागे र सब कुलत त्यागे।’

कुरा सुन्दै गरेकी एउटीको त आँखा रसाइसकेछ। पुछ्दै भनी, ‘यार् तैंले त रुवाइस्।’
‘तलाई रुन नि आउँछ?’
‘के मेरो हृदयमा मातृभाव आउँदैन र?’ (उसको केही दिनअघि मात्रै टीकाटालो भइसकेको थियो)।
'नो, वी मस्ट गिभ इट अप (होइन, हामीले त्याग्नैपर्छ),’ अर्कीले भनी।
*****
प्रेमचरी होस् वा भगवान्। फुच्चे केटा होस् वा ती बहिनी। हजारौं सकारात्मक संवाहक छन् हाम्रो समाजमा। जो चुरोटको कुलत छोडाउन लागिपरेका छन्। मात्र हामीले मनन गर्नुपर्‍यो। सलाम ती संवाहकलाई, जसले सयौंको ज्यान बचाएका छन्। हजारौंलाई बिरामी हुन दिएका छैनन्। लाखौं परिवारमा खुसी ल्याइदिएका छन्। तपाईं पनि यस्तै संवाहक बन्न सक्नुहुन्न र!

प्रकाशित : चैत्र २२, २०७६ ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×