लकडाउनको मारमा फिल्मका प्राविधिक, सहयोग गर्न अघि सरे कलाकार

रीना मोक्तान

काठमाडौँ — कोरोना भाइरस(कोभिड-१९)को महामारीका कारण फिल्मको काम ठप्प भएसँगै ज्यालादारीमा काम गर्दै आएका प्राविधिकहरुले जीवन चलाउन गाह्रो भएको बताएका छन् ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा केही प्राविधिकलाई बिहान बेलुकाको छाक टार्न नै गाह्रो भएको बताउँछन् । उनले संघले विपन्नता व्यवस्थापन कोष खडा गरेको बताए । कोषमार्फत् प्राविधिकलगायत विपन्न फिल्मकर्मीलाई सहयोग गर्ने पपनि उनले बताए ।


'हामी कसैलाई रकम दिँदैनौं । रकम बराबरको खाद्यन्न वितरण गर्छौं । पहिलो चरणमा छाक टार्न गाह्रो भएका प्राविधिक वितरण गर्छौं, सबै हिसाबकिताब पारदर्शी हुन्छ,' लामाले कान्तिपुरलाई बताए ।


प्राविधिकहरुलाई कलाकारको सहयोग

अभिनेता पल शाहले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्राविधिकहरुका लागि आफूले पाँच लाख सहयोग गर्ने बताएका छन्। 'विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको प्रभावले आम मानिसको जनजीवन प्रभावित भइरहेको छ। नेपाली चलचित्र क्षेत्र पनि यसको मारमा परेको छ र यसको पीडा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ,' उनले लेखेका छन्, 'विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जीवनलाई सहज बनाउनका लागि मैले आर्थिक सकयोग गर्ने घोषणा गर्दछु । मैले व्यक्तिगत तर्फबाट पहिलो चरणमा नगद रू ५,००,००० ( पाँच लाख ) रूपैयाँ सहयोग गर्ने घोषणा गर्दछु।'


त्यस्तै अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि आफ्नो फेसबुक अकाउन्टबाट १ लाख १० हजार सहयोग गर्ने घोषणा गरेका छन् । 'हामीलाई सुटिङको समयमा भोक लाग्दा खाना खुवाउने, गर्मी हुँदा छाता ओढाउने, हामीलाई राम्रो देखाउन गर्हौं लाइट उचाल्ने प्राविधिकहरूको लागि यो कठीन समय हो । अत : सबै मिलेर केही सहयोग गरौं । हाम्रो तर्फबाट रू १ लाख १० हजार दिँदैछौं,' उनले फेसबुकमा लेखेका छन् ।


अभिनेत्री वर्षा सिवाकोटीले पनि लकडाउनको छैटौं दिन प्रधानमन्त्री राहत कोषमा १ लाख जम्मा गर्ने घोषणा गरेकी थिइन् । उनले कोभिड-१९ ले गर्दा दिनरात खान मुश्किल परेकाहरुलाई सहयोग गर्न उक्त रकमको घोषणा गरेको बताएकी थिइन् । अभिनेत्री सिवाकोटीले प्राविधिक संघका अध्यक्ष लामालाई ५० हजार सहयोग रकम दिइसकेको बताएकी छन् ।


लामाले अमेरिकामा रहेको निर्देशक कृष्ण चापागाईँले पनि १ हजार डलर र फिल्मकर्मी गौतम धिमालले पनि २ लाख १५ हजार बराबरको खाद्यन्न सहयोग गर्ने घोषणा गरेको बताए ।

प्रकाशित : चैत्र २१, २०७६ १९:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

साझा समस्या सामूहिकरुपमा समाधान गरौं : अर्थमन्त्री

रासस

काठमाडौँ — अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोरोना रोगको सङ्क्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताएका छन् ।

कोरोना रोगको सङ्क्रमण रोकथाम गर्न चालेका कदमले अर्थतन्त्रमा पारेको प्रभाव तथा आगामी दिनमा चाल्नुपर्ने कदम सम्बन्धमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्य, पूर्वउपाध्यक्ष र स्वास्थ्यविज्ञसँग शुक्रबार अर्थमन्त्रालयमा भएको छलफल मन्त्री डा. खतिवडाले सो कुरा बताएका हुन् ।

उक्त अवसरमा उनले साझा समस्यालाई साझारुपमै समाधान गर्नुपर्ने समय आएकाले सबैले आआफ्नो क्षेत्रमा जिम्मेवार भएर काम गर्नुपर्ने बताए । उनले राष्ट्रिय सोच र दृष्टिकोणलाई एकताबद्ध गर्दै सङ्घीय सरकारले सबै राजनीतिक दल, सबै तहका सरकार र निजी क्षेत्रसँग छलफल र समन्वय गरिरहेको र कोरोनाको सङ्क्रमण रोकथाम तथा लक्षित वर्गसम्म राहत पुर्‍याउने कामलाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।

सरकारले समयमा नै चालेको कदमबाट हालसम्म सङ्क्रमित व्यक्तिको सङ्ख्या सानो रहेको र यसलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सराहना गरिएको सन्दर्भ उल्लेख गर्दै मन्त्री डा. खतिवडाले जनप्रतिनिधिको उपस्थितिले कोरोना जोखिम न्यूनीकरण गर्ने कार्य सहज भएको स्पष्ट पारे । उनले स्थानीय तहलाई सङ्क्रमण रोकथाम र राहत वितरणमा जिम्मेवार र सक्रियरुपमा परिचालित गरिएकोसमेत जानकारी दिए ।

अहिले कोरोना सङ्क्रमण रोक्न जो जहाँ छौँ त्यही बस्ने नै सबैभन्दा उत्तम उपाय भएको उनले उल्लेख गरे । उनले कोरोना सङ्क्रमण रोकथामका लागि अरु मुलुकले चालेका कदमको सूक्ष्म विश्लेषण गर्ने र नेपालले अपनाउनुपर्ने थप सावधानी तथा कोरोना जोखिम समाप्तिपछि अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा प्राविधिकविज्ञसमेत संलग्न गरी अध्ययन समिति गठन गरिने जानकारी दिए ।

छलफलमा सहभागीले सरकारले कोरोना सङ्क्रमण नियन्त्रणका लागि थालेका प्रयास र उचित निर्णयले मुलुकलाई थप जोखिमबाट बचाउन सहज बनेको धारणा राखे । त्यस अवसरमा मीनबहादुर श्रेष्ठ, शङ्कर शर्मा, जगदीशचन्द्र पोखरेल, दिनेशचन्द्र देवकोटा, स्वर्णीम वाग्ले स्वास्थ्य विज्ञ अर्जुन कार्कीले आफ्ना धारणा राखेका थिए ।

प्रकाशित : चैत्र २१, २०७६ १९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×